विनिमय बजारको चर्पीमा
कविता ठस्किरहेछ-
‘मलाई कोही किन्दैन
जति दिन पर्खिए पनि चिन्दैन
कुनै पुरस्कार पाउँदिन ।’
बूढो प्राध्यापकको पेटमा
कविता अभद्र हाँसिरहेछ-
“म यहाँ छु, कोही वास्ता गर्दैन
किनकि सबै
कालो पाटीमा अङ्कित
सतही कुरामा मस्त छन् ।
राष्ट्र सङ्घको सुन्दर सभाकक्षमा
कविता चुपचाप झोक्राएको छ-
‘मेरो करा कोही सुन्दैन
विश्वका आवाजहरू
भीषण भाषणमा पोख्त छन् ।’
व्यस्त सडकमा
कविता एक्लै हिँडिरहेछ-
‘मलाई कोही भेट्दैन किनकि
विज्ञापन पाटीको झिलमिलमा
हराएको छु म ।’
नयाँ काव्यकृतिको पृष्ठमा
लुकामारी खेलिरहेछ कविता-
‘म विशेषण, क्रियापद
र विराम चिन्हहरूमा लुकेर
अशाब्दिक चेतनाद्वारा गरिने
आविष्कार पर्खिरहेछु ।’
-अनुः क्षेत्रप्रताप अधिकारी
