
सोल्टिनी,
तिमीले मसँग
मीठा मीठा,
मन मिल्ने कुरा गर्थ्यौ,
ठुस्का ठुस्की पनि गर्थ्यौ,
भाउज्युको आँखा छलेर
मेरो पाखुरामा चिमोट्थ्यौ
साह्रै दुख दिन्थ्यौ,
काउकुती पनि लगाउँथ्यौ,
मलाई नदेख्दा दुखी हुन्थ्यौ
खुट्टा पनि बजार्थ्यौ
तिमी साह्रै चञ्चल थियौ,
तिम्रो चञ्चले स्वभाव
तिम्रो उत्ताउलोपन देखेर
म मक्ख पर्थे,
म छक्क पर्थे,
म दोधारमा पर्थे,
त्यसबेला
तिमीलाई हेर्ने मेरो आँखा अर्कै थियो,
तिमीसँगै सास फेरे पनि
धडकन मेरो अर्कै थियो,
तिमीसँगै हिँडे पनि
गन्तव्य मेरो अर्कै थियो ।
आज धेरै वर्षपछि
सोल्टीनी,
तिमीलाई नै सम्झिरहेको छु,
तिम्रै अतितको गीत गाइरहेको छु,
तिमीले चिमोटेका दागहरू सुम्सुम्यारहेको छु,
जब तिम्रो र मेरो भेट होला
तिमीसँग बसेर
मीठा मीठा कुरा गर्न मन लागेको छ,
मन खोलेर हाँस्न मन लागेको छ,
भाउज्युको आँखा छलेर
तिमीलाई जिस्काउन मन लागेको छ,
तिमीलाई पनि बेस्सरी चिमोट्न मन लागेको छ,
सोल्टिनी,
त्यो रमाइलो क्षण
अब कहिले आउला ?
त्यो वैंशालु योवन
अब कहिले आउला ?
बी बी ठकुरी
