
मोरङ्नीले बेवारिसे महिलालाई सुरक्षित सुत्केरी गराउने र बच्चाको सालनाल काट्ने काम गरिन् । नयाँ तन्ना, सारी र म्याक्सी ल्याइन । सरसफाई गर्ने काममा कुनै कसर बाँकी छाडिनन् ।
सुत्केरीलाई झोलिलो र पोषिलो खाना खुवाउने, पाँच दिनसम्म परिवारको सदस्यझैँ पालनपोषण गर्ने काम गरिन् । अन्त्यमा मानव सेवा आश्रमसम्म पुर्याउने काम समेत गरिन् ।
आश्रम पुर्याउने दिन चोकमा मानिसहरू झुम्मिएका थिए । प्रहरी, प्रेस, प्रशासन प्रमुख र अभियानकर्मीहरूका गाडी लस्करै थिए । कोही बच्चालाई बोकेर फोटो खिचाइरहेका थिए । केही महिलाको गालानजिकै लगेर सेल्फी लिइरहेका थिए । सेल्फी खिच्नेको भीड देख्दा लाग्थ्यो, उनी मनोरोगीबाट मोडल भइसकेकी छिन् ।
बहुलाही भनिने ती महिला दुई जिउकी हुँदा राजमार्गस्थित विसनपुर, कल्याणपुर, कठौना, शम्भुनाथतिर मागेर हिंड्थिन् । दिनभरि सडकमै भौतारिरहन्थिन् ।
उन्मत्त साँढेझैँ उफ्रँदै भाग्ने, कराउने, निर्वस्त्र हुँदै आफ्नै संसारमा रम्दै नाच्ने, गाउँने गर्थिन् । घरि चण्डी दुर्गाजस्ती त घरि समुद्रझैँ शान्त हुन्थिन् । साँझ परेपछि मठ मन्दिर, देवालय, चौतारामा आश्रय लिन्थिन् । चिसो भुइँमा सुत्थिन् । पाए दुवै हातले खान्थिन्, नपाए भोकै बस्थिन् ।
गर्भवती हुँदा अनौठो नमान्नेहरूको भीडले बच्चा जन्मेपछि मनोरोगीलाई आश्रम लैजाने दिन अनौठो मानेर घेरेका थिए । स्थानीय अनलाइनमा समाचार सार्वजनिक भएपछि अभियानकर्मीहरू पनि अग्रसर भएका थिए ।
बेवारिसे आमा र बच्चाको अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात आश्रमले असल नागरिक बनाउने जिम्मा लिएको थियो ।
भोलिपल्ट लाजै पचाएर धेरै जनाले सामाजिक सञ्जालमा बच्चासँगको फोटो पोस्ट्याउँदै लेखेका थिए– ‘मैले जीवनमा गरेको सबैभन्दा पुण्यको काम ।’ त्यसैलाई आधार मानेर केही समाचारका पानाहरू पनि रंगिएछन् ।
सामाजिक सञ्जालमा पुहँच नभएका निस्वार्थी मोरङ्नीलगायत भने ओझेलमा कतै बिलाएकी थिइन् ।
मनोहर पोखरेल
राजविराज ६, सप्तरी
