बाबु बुधशम्सेर राणा र आमा मोहनकुमारीको पाँचौ अर्थात् कान्छो सन्तानको रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ सालको असार २२ गते मेरो जन्म भएको हो । मेरो बाजे पाल्पाको बडा हाकिम भएर त्यता बस्दा हाम्रो परिवार उतै थियो र त्यसैबखत मेरो जन्म पाल्पामा भयो र ६ महिनाको शिशुअवस्थामै म थापाथली (काठमाडौँ) ल्याइएँ । सम्पन्न राणा परिवारमा कान्छो छोरोको रूपमा जन्मिएकोले मेरो बाल्यकाल कुनै कमी नभई बित्यो । सबैले मप्रति चासो लिन्थे रे तर यसलाई पढाउनुपर्छ भनेर चाहिँ कसैले सोचेनन् र काठमाडौँ छँदा मेरो पढाइ हुनसकेन । अर्को कुरा जागिरे बाबुको कारणले पनि मैले पढ्न पाइन । मलाई स्कुल भर्ना गर्यो कि बुबा बडाहाकिम भइहाल्ने अनि उहाँसँगै जानुपर्ने । बुबा वडाहाकिम भएर वीरगञ्ज बस्दा वीरगञ्जमा स्कूल नै थिएन, भारतको रक्सौल गएर पढ्न त सकिन्थ्यो होला । त्यसबेला भारत छोडो आन्दोलन सुरू भइसकेको थियो, स्कूल जान पनि खद्दर लाएर जानुपर्ने, हामी पर्र्यौं अंग्रेजजस्तै अंग्रेजको विरोध गर्न नसक्ने । यसले गर्दा पढ्न पाइएन । त्यसपछि काठमाडौँ फर्केर पाटनमा भर्ना हुन खोजँे, फेरि बुबाको हनुमाननगर (सप्तरी) मा सरूवा भयो । मैले भने नि तत्कालीन परिस्थितिले गर्दा मैले स्कूल गएर पढ्न सकिनँ । सुख-सयल, सुविधा सबै भएपनि मेरो बाल्यकाल र किशोरावस्था पढ्ने सङ्घर्षमै बित्यो, एउटा असफल सङ्घर्षमा ।
वि.सं. १९९९ मा बुबाको निधन भएपछि मैले जागिर खानैपर्ने बाध्यता आइपर्यो । लप्टन पदमा सेनामा प्रवेश गरेको केही समयमै नौ महिने शैन्य तालिमका लागि बाहिर जाने अवसर पाएँ । सेनामा छँदा मेजरसम्म बन्न पाएँ । तत्कालीन परिवेश, नेपाली काङ्गे्रसले चर्काएको आन्दोलन, राणाहरूमा देखिएको विभेद अनि मलाई घरैमा पढाउन आउने बड्ढाली मास्टरको राजनीतिक पे्ररणाले गर्दा म पनि उद्वेलित भएँ । बिहे गरेको ७ वर्ष पनि नबित्दै, सेनामा जागिर खाँदाखाँदै नेपाली काङ्गे्रसको चारतारे झण्डा लिएर म राणाशासन विरूद्ध आन्दोलनमा होमिएँ । सरकारी जागिर खाएर सरकार विरूद्ध नै आन्दोलनमा उत्रिनु जोखिमपूर्ण काम थियो, फलस्वरूप कोर्ट मार्शलको सजायँ पाई सिंहदरबारको गारदमा थुनिनुपर्यो । गारदमा मसँगै बालकृष्ण सम, जनार्दन सम, पवन शम्शेर, मणि शम्शेर आदि थिए । गारदमा थुनिएको एक महिना नबित्दै सात सालको क्रान्ति सफल भएपछि हामी बन्दी जीवनबाट मुक्त भयौँ । मुक्त भएपनि पनि राम्ररी बस्न सकिएन बाहिरी वातावरण झन खुला जेलजस्तो लाग्यो, जाने ठाउँ कहीँ छैन, जागिर छैन, चिन्ने मान्छे पाउन पनि हम्मे पर्यो । केही समय बेरोजगार भएर भौँतारिरहेको थिएँ त्यत्तिकैमा श्री ५ त्रिभुवनबाट दरबारमा बोलाई बक्सेपछि सेनामा मेरो आवश्यकता परेको मर्जी भयो र पहिलेकै मेजर पद लिएर सेनामा फर्कें ।
वी.पी.ले जे भन्नुभयो मैले त्यही गरेँ
म त्यतिबेला सेनामा सुधार गर्न गएको थिएँ । अयोग्यलाई पदबाट हटाउने, योग्यलाई राम्रो पदमा बसाउने र सैनिक सेवामा ठूलो परिवर्तन गर्ने गरी मैले कसैको अुनुहार नहेरी काम गरेँ । यसरी काम गर्दा कतिलाई राम्रो भयो, कतिलाई नराम्रो, जागिर छुटेपछि कतिको घरमा महिनौसम्म चुल्हो नबलेको पनि देख्नुपर्यो र अझसम्म पनि त्यो घटनाले मन नरमाइलो हुन्छ । बाध्यतावश २०११ सालमा मैले सैनिक सेवाबाट राजीनामा दिएँ र राजनीतिमा सक्रियपूर्वक लागेँ । वि.सं. २०१७ सालमा राजा महेन्द्रले नेकाको सरकार विघटन गरी राजनीतिक हस्तक्षेप गरे । यसपछि धेरैजना पक्राउ परे मैले पनि जेल बस्नुपर्यो । म परिस्थितिले गर्दा नेपाली काङ्गे्रसमा लागेको थिएँ । त्यतिबेला मलाई तत्कालीन प्रशासकले “मैले विराएँ” भनेर जाहेर गर्नुस् छुट्नु हुन्छ पनि भने तर मैले के बिराएको थिएँ र ? त्यसैले मैले “विश्वेश्वर बाबुको नेतृत्वमा बसेको म, उहाँले जे भन्नुभयो मैले त्यही गरेँ” भनेर लेखिदिएँ । यसपछि त मलाई यस्तो ठाडो कुरा गर्ने भनेर हप्काए ।
राजा मान्ने कि नमान्ने भनेर सोधियो
यहाँनिर म एउटा प्रसड्ढ उल्लेख गर्न चाहन्छु । त्यो के भने २०१७ सालमा थुनामा पर्नुअघि म बस्ने घर कोपुण्डोलको बाटो राजा महेन्द्र जावलाखेलबाट र्फकँदै रहेछन् र मलाई देखेर मेरो घरमै आए । मेरो व्यवहार देखेर यी त अझै काङ्गे्रसमै झुकाव राख्दा रहेछन् भन्ने ठानी फर्केर गए । त्यसपछि त म पक्राउ परिहालेँ । ६ वर्षसम्म जेल बसियो । यसबीचमा बयान दिइरहनुपर्यो । एकपटक हामीसँगै जेल बसेका बलराम प्याकुरेलले अञ्चलाधीश भएर मसँग बयान लिए । त्यतिबेला मलाई “राजा मान्ने कि नमान्ने ?” भनेर सोधियो । मैले “हाम्रो पार्टीले राजालाई स्थान दिएकै छ नि ।” भनेर बयान दिएपछि म छुटेँ । त्यतिबेलाको समय नै बेग्लै थियो, कडा समय, अहिलेको जस्तो कहाँ हो र ? ६ वर्ष जेल बसेर छुटेपछि काम पाइएन र तराई गएर बसेँ, तराइको गर्मीले बस्ने सकिन, काठमाडौँमा सि.आई.डी. पछि लागेर हैरान पार्थे । केही वर्ष त मैले पाउनु दुःख पाएँ ।
कृति मेरो प्रकाशित भयो हप्की अरूले खाए
डायमन शम्सेर राणालाई डायमन शम्सेर भनेर चिनाएको क्षेत्र त साहित्य हो । साहित्य क्षेत्रमा म यहाँसम्म आउँदा धेरै सङ्घर्ष गर्नुपर्यो । मेरो लेखनको कारण मेरो कृति छापेबापत् अरूले पनि खप्की खानुपर्यो । मेरो पहिलो उपन्यास ‘वसन्ती” (२००६) छापिएपछि ‘राणा भएर राणाविरोधी कुरा लेख्ने भनेर मेरो बढुवा पनि गरेनन् । पहिलो कुरो त म साहित्यमा कसरी लागेँ त्यो नै बताऊँ । म प्राज्ञिक चिन्तन भएको मान्छे होइन, औपचारिक शिक्षासमेत नपाएको मान्छे तर मलाई पढ्ने खुब रहर थियो । वीरगञ्ज छँदा बुबाले एक जना बड्ढाली शिक्षक राखिदिनु भएको त थियो तर उसले पढाउने कामभन्दा चाकडीमै ध्यान दिन्थ्यो । वीरगञ्ज रहुञ्जेल मैले खासै पढ्न पाइन । पछि मदनशम्सेर जवरालाई पढाउन एकजना बड्ढाली शिक्षक झिकाइएको थियो । एकदम विद्वान, धुरन्धर शिक्षक थिए । मैले तिनैसित अंग्रेजी साहित्य पढेँ । अंग्रेजी साहित्यको अध्ययनले मात्र होइन राणा शासनका कुरीतिलाई लेखनबाट सार्वजनिक गर्नुपर्छ भन्ने भावना ममा थियो । यसैको फलस्वरूप ‘वसन्ती” उपन्यास लेखेँ (२००१ सालतिर) यो २००६ मा प्रकाशित त भयो तर पढ्ने पाठक खोज्न सङ्घर्ष नै गर्नुपर्ने । टोलटोलमा बी.ए. पास गरेका मान्छेलाई पढ्न दिँदासमेत पढिदिएनन् । बल्ल बल्ल लेखेर छपाएको किताब किन्ने त के पढ्ने पाठकसमेत नपाउँदा म निराश भएँ । पछि ‘सेतो बाघ’ चर्चित भएपछि ‘वसन्ती” पढ्ने पनि देखिए । २५ वर्षसम्म त ‘वसन्ती’ को पाठक पाउनै लाग्यो ।
सत्र सालमा नख्खु जेल बस्दा मसँगै थुनामा पर्नेमा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला),तारिणीबाबु (तारिणीप्रसाद कोइराला) पनि हुनुहुन्थ्यो । जेलमा बस्दा उहाँहरूले डिक्सनेरी लेख्न थाल्नुभयो । यसबाट मलाई पनि लेख्नुपर्छ भन्ने लाग्यो र ‘सेतो बाघ’ लेखेँ । लेख्न त मलाई मनै थिएन, वसन्तीको पाठक नपाएकोले मन खिन्न थियो । जेल जीवनको वातावरण र न्यास्रो लाग्ने हुँदा लेखन उपयुक्त माध्यम बन्यो समय कटाउने, बौद्धिक चिन्तन गर्ने । ६ वर्ष जेल बस्दा ‘सेतो बाघ’ जेलमै लेखियो । जेलबस्दा मैले अन्य थुनुवा, जेलर, सिपाही सबैलाई ‘सेतोबाघ’ सुनाएको थिएँ । जेलमुक्त हुँदा ‘सेतोबाघ’ लाई त्यहीँ छोडिदिएँ पछि जेलरले ‘सेतोबाघ’ लिएर जान आग्रह गर्यो मैले नाइनास्ती गरेँ र उसले मलाई विश्वका ठूलाठूला मानिसले जेलमै बसेर ठूला ठूला ग्रन्थ र चर्चित कृति लेखेको उदाहरण दिएपछि मेरो मन परिवर्तन भयो । एउटा सिपाहीलाई लिन पठाएर ‘सेतो बाघ’ मेरो हातमा थमाइदियो ।
सेतोबाघ दश हजार रूपियाँमा साझालाई दिएँ
जेलबाट पाण्डुलिपिको रूपमा ल्याएको ‘सेतोबाघ’ मैले छाप्न चाहेकै थिइन । जेलबाट छुटेपछि बाहिरी संसार नै उज्यालो लाग्दो रहेछ । काम पनि थिएन, जाने ठाउँ पनि थिएन । एकदिन मदन शम्सेरको घरतिर घुम्दै थिएँ म त साझा प्रकाशनको अफिस पो पुगेछु । त्यहाँका हाकिमले मलाई बोलाएर भनिहाले -“तपाईंले जेल बस्दा ‘सेतोबाघ’ लेख्नु भएको छ रे! त्यो हामीलाई दिनुस् हामी छाप्छौँ ।” मलाई चाहिँ दिन मन थिएन । पछि पारिश्रमिक पनि पाउने कुरो भएपछि त्यतिबेलै १० हजार रूपियाँ पारिश्रमिक पाउने भएपछि मैले ‘सेतो बाघ’ साझा प्रकाशनलाई नै दिएँ । ‘सेतो बाघ’ छापेपछि साझा प्रकाशन अप्ठेरोमा पर्यो, त्यहाँका हाकिमले पनि बयान दिन जानुपर्यो । एकदिन त साझाले मलाई बोलाएर “तपाईंको किताब सबै तपाईं लानोस्, हामीले दिएको पैसा पनि तपाईं राख्नुस्” भनेर किताब फर्काइदियो । पछि यो किताब रत्न पुस्तकले मागेर फेरि छाप्यो । लेखेर पनि जीवन निर्वाह गर्न सकिन्छ भने उदाहरण मै भएको छु । ‘सेतोबाघ’ र ‘वसन्ती’ उपन्यासबाट मात्र वर्षको ५० हजार रूपियाँ र्वायल्टी पाउँछु म । वसन्ती (२००६), सेतोबाघ (२०३०) प्रतिबद्ध (२०३४), सत्प्रयास (२०३८), अनीता (२०४६), धनको धब्बा (२०५१), गृह प्रवेश (२०५९) समेत गरी मेरा सातवटा उपन्यास प्रकाशित भइसके । यही उपन्यासले आज म बाँचेको छु, सम्मानित जीवन बाँचेको छु, देश-विदेशमा चिनिएको छु । विभिन्न पुरस्कार पाएको छु । ‘वसन्ती’ प्रकाशनपछि झेलेको सङ्घर्ष ‘सेतोबाघ’ को प्रकाशनपछि झेल्नु परेन मलाई । बरु जगदम्बाश्री, लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएको छु, मेरा उपन्यासहरू विभिन्न भाषामा अनुवाद भएका छन्, देश विदेशमा नाम कमाएको छु, सम्मान पाएको छु ।
९२ वर्षको उमेर त्यो पनि भर्खर मुटुको अप्रेसन गरेर बसेको म अचेल लेखनमा लाग्न सकेको छैन । ललितपुरको कोपुण्डोलमा डाक्टर छोरी गीताको घरमा बसेको छु, छोरा रघु बारम्बार भेट्न आइरहन्छ, उसैले मलाई मेरो ‘वसन्ती’ सधैँ दुई घण्टा पढेर सुनाउँछ । अचेल म आफ्नै कृति सुनेर आनन्दको जीवन बाँचिरहेको छु । विगतका सङ्घर्ष सम्झेर परिवारका साथ रमाएर बाँचेको छु ।
प्रस्तुती ः जयदेव भट्टराई
