Skip to content


अचेल बेलाबेला जमघट, छापा वा केही सभा समारोहहरूमा उठ्ने गरेको प्रश्न हो- नेपाली साहित्यको स्तर कति र के कस्तो छ ? प्रश्न सरल र उत्तम छ, तर हेर्दा र गुन्दा भने त्यति नै हास्यास्पद र निरर्थक देखिन्छ, जति मान्छेको मूल्य पशुसँग दाँज्नु । यो तिक्तता होइन, यथार्थ हो । हामीले नेपाली साहित्यको स्तर दाँज्ने हो भने सर्वप्रथम त्यस्तो एउटा मापदण्ड तयार गर्नुपर्छ, जसबाट सजिलै साहित्यिक विधागत मूल्याङ्कन गर्न सकियोस् । त्यस्तो छैन भने यसको मापन कसरी गर्ने नेपाली साहित्यको स्तर कति छ ?

हुन त छापाहरूमा अहिले हेरिने हो भने साहित्यले पनि रङ्गीचङ्गी स्थान ओगटेर आफ्नो पदको महत्तालाई प्रदर्शन गर्न नथालेको होइन । छापाको एकातिर यौन जनित फोटो होस् वा कन्डमको विज्ञापन, मदिराको सूचना होस् वा नगरपालिकाको फोहोर अभियान विज्ञापन- यी सबैसँग साहित्य पनि ससम्मानित छापिने गरेको देखिन्छ, तर यो स्तरको कुरो होइन, उदाहरण मात्र हो । त्यस्तै अर्को समकालीन उदाहरण के हो भने त्यस्ता प्रदर्शित वर्गाकार दृश्यहरूको कतै लाम्चे, पातले कुनो बाकसमा एउटा भव्य मुहारको छविचित्र र त्यस छविचित्रसँग गरिएको वार्ता-विनिमय थुप्रो वाक्य संसारभित्र गर्न त नेपाली साहित्यबारे नै चर्चाको आशय उत्पत्ति गरिएको भान पर्छ, तर त्यहाँ विद्वत्ताले ओतप्रोत ती महाशयवृन्दले स्वदेशको कुनाको कुनै कुरो होइन, अन्य संसारका भएभरका नाउँ सुनेका, नसुनेका महान् ग्रन्थको नाउँ र त्यस ग्रन्थका विश्वचर्चित ग्रन्थकार आफूले पढेको र पढेर आकषिर्त प्रभावित रहेको कुरो बडो सुस्पष्ट र विश्वकीर्तिमान ढङ्गमा बोलेको देखिन्छ । त्यहाँ नेपाली साहित्यको स्तर त कतै च्यापिएको ‘साइटिका’ खालको नसा पो बन्न पुग्दो हुन्छ त । के यो ठूलो स्तर होइन र नेपाली साहित्य पढ्नु व्यर्थ र मानकहीन हुनु भन्ने भाव दर्साउँदै विश्वग्रन्थको सङ्कलन, पठन र विवेचन गर्नु ? अब भन्नोस्- नेपाली साहित्यको स्तर जे जस्तो भए पनि नेपाली पाठकको स्तर विश्वसाहित्यअनुरूप छैन त ? एकातिर यस्ता खाले पाठक दैनिक उम्रँदो च्याउसरि देखिन्छ भने अर्कोतिर त्यस्ता पनि महान् पाठकको वर्ग फेलापर्दछ, जो विज्ञापन र चर्चाले मण्डित भएको भण्डाफोर मार्काको पुस्तक होस् वा गुटसापेक्ष, सम्पन्नता सापेक्ष पद सापेक्ष, चर्चा चर्चित पुस्तक मात्रै पढेको, खोजेको, किनेको भेडे ताँती अनेक प्रदर्शनीहरूमा उपस्थित हुँदो देखिन्छ । यो पाठकीय कर्मकाण्डीय दैनिकी पनि लेखन र छापासँगसँगै बगेको छ यहाँ । अझ कतिपय छापामा त समकालीन विश्वका कुनै पनि कुनामा प्रदर्शित, घटित साहित्य लेखन, प्रकाशनलाई विद्युतीय सरणिबाट तानेर छापामा भँगेरा मार्ने ठूलाठूला ढुङ्गाभन्दा ठूलो अक्षरमा तेर्सो धर्को रङ्गीचङ्गीमा थुपारिएको ज्ञानभण्डार नै देख्न सकिन्छ । अब त्यस्तो ज्ञान भण्डारमा नेपाली साहित्य भनेको कुरा महत्त्वपूर्ण भावबिचरो हो र उदाहरणार्थ लिनु ? यहाँ नेपाली साहित्यको स्तर यसरी पनि निर्धारण हुँदो हो ।

यो किन त ? प्रश्नसँगै सोच्न सकिन्छ । हामीकहाँ जेके रोलिङका ‘हृयारी पोटर-शृङ्खला’ बढीभन्दा बढी मूल्यमा लाइन बसेर आफ्ना सन्तानका लागि किनिदिएको नेपाली साहित्यक अभिभावकले गर्व र दर्पका साथ संवादसरणि गरेका पनि देखिएकै हो, तर त्यहीँनिर सन्तानलाई ‘हृयारी पोटर’ दिँदै कुनै पनि अभिभावकले-हेर नानी हो, ‘हृयारी पोटर’ जस्तै स्तरको नभए पनि त्यस्तै विषयको रोचक लाग्दो नेपाली उपन्यास ‘वीरचरित्र’ हामी कहाँ उहिल्यै लेखिइसकेको मात्र होइन, प्रकाशनै पनि भएको हो-भनेर बोलेको वा सम्झाएको कतै पनि देखिएन । यो नेपाली साहित्यको गौरव चरित्र हो । यस्तै गौरव चरित्रले नेपाली साहित्यको स्तर कसरी निर्धारण होला त ? यद्यपि नेपाली साहित्यले छापाहरूमा साप्ताहिक, पाक्षिक, मासिक गरेर स्थान नपाएको त होइन, पाएकै हो, पाई नै रहेको पनि छ, तर त्यहाँ स्थान हेरिने हो भने ‘मोफसलवाद’, ‘राजधानीवाद’ आदि लाञ्छित उपमालाई छोडेर हेर्दा छापिने साहित्यवस्तु र साहित्यिक जन्तु कि त छापावालाको निकटस्थ हुन्छन्, कि त ओहोदावत् पदस्थ हुन्छन् । त्यस्ता महाज्ञानी साहित्यिक विद्वान् विश्वको कुनै पनि कुना पुगे पनि पुगेर पठाएका जस्तासुकै रचना पनि यथास्थान मात्र होइन, बडो जतन र लगन अनि प्राथमिकताका साथ छापिएको देखिन्छ । सुनिन्छ, हुन त त्यस्ता महान् सर्जक जस्तो पो हुनु, जस्ले छापका केही स्वनामधन्य प्रकाशनयोद्धालाई नगरकोट ‘गुड फ्राइडे’ कार्यक्रममा रातबिसाइ गरेको हो वा खाममा नगदसौगात लिनु दिनुको सौजन्य नत्थीबद्ध दिइएको हो । त्यस्ताको मात्र रचना वा पुस्तकै समीक्षा पनि कुनै समय अन्तराल नलगाई तुरुन्त छाप्ने परिपाटीमा साप्ताहिक रचनासंसार देखिन्छ, अनि त्यहाँ सही र असली साहित्य कहाँ बिलाउँछ कहाँ ? भनेर केही दुःखेसा वाणी फाल्ने साधकसमूह पनि नभएको-नदेखिएको होइन, देखिएकै हो । यो कुरो सत्य होस् वा नहोस्, तर परिपाटी भने के हो ? यो सोचनीय स्वतः किन पनि छ भने छापामा समकालीन चेतनाको रचना आफ्नो प्रकाशनकर्ताको सोचाइ अनुकूल नभएर हो वा स्तर अनुरूप सोच्ने सामथ्र्य नभएर हो, छाप्न कठिन पारेर सीमान्तमा पठाइदिने प्रक्रिया पनि बढ्दो छ । अनि त्यहीँनिर त्यस्ता महामना ज्ञानी प्रकाशनकर्ता सीमान्तकृत, सबअल्टर्न, डायस्पोरा, उत्तरआधुनिक, विनिर्माण, लीलावाद, जिन्दाबाद आदि जति पनि छन्, सांसारिक नवीनातिनवीन साहित्यरङ्का विशेषताहरू, त्यसको विशेषण फलाक्तै ‘अहिले राम्रो साहित्य नै आउँदैन छापिन, खै के छाप्ने’ भन्दै आफ्नो अनुकूल व्यक्तिसम्बन्धनको रचना जस्तै स्तरहीन भए पनि स्तरअनुरूप छाप्ने गरेका छन् । यो पक्षरत सोचाइ सबै पत्रिका र प्रक्ाशनकर्तामा लागू हुँदैन, तर जतिमा यथार्थतः लागू हुन्छ, त्यसले नेपाली साहित्यको स्तरलाई कहाँ पुर्‍याएको छ त ? उल्टो प्रश्न गर्न सकिन्छ ।

यस्ता केही शाश्वत सत्यार्थ उदाहरणहरू हेर्दै देशको अर्को कुनातिर हेर्ने हो भने हामीले देख्ने भनेको समकालीन राजनीति हो । राजनीतिले अब बन्ने संविधान निर्माण प्रक्रियामा जाँदा साहित्यको पनि उचित स्थान आधान गरिनुपर्छ भन्ने आवाज मत्थर रूपमै भए पनि बेलाबेला गुनासायुक्त स्वरले उठ्न थालेको छ । हो, राजनीतिले सुनिदिएर नयाँ संविधानमा स्थान दिएछ भने नेपाली साहित्यको स्तर केही होला, तर त्यहाँ साहित्यभन्दा पनि बढी संलग्न हुनखोज्ने साहित्यकर्ताले लाभ लिन लागे भने स्तर फेरि उही हो- स्तरहीन तर्क …जस्तै । यसो भन्नाको कारण अरू होइन, साहित्यकर्ता राजनीति र दलगतको खल्तीमा घुस्रेर पदहरू ताक्ने गरेको महिमापुराण हामीकहाँ समयसमयमा प्रदर्शित भइरहेको कारण एवं दृश्य देखिएर हो । राज्यले पनि साहित्यलाई मध्यपूर्वकालदेखि थोपरिँदै आएको विशेष्य महिमा अनुत्पादकशील भाव नथोपरी यो उत्पादनशील हो र राष्ट्रिय निर्माणप्रपञ्चमा यसको भूमिका दरिलो हुन्छ भन्ने सोच लिए त ठीकै हो । अन्यथा कुनै पनि राजनीतिक महामनाहरूले पुस्तकको गातोखोलाइ समारोहमा बोल्ने गरेको भावार्थ – खोइ, म त साहित्य जान्दिनँ, तर तपाईंहरू देशलाई माया गरेर लेख्नोस्, है त ? भन्ने वाक्यांश वाणी जस्तै दोहोरिएछ भने न त साहित्यको स्तर रहने हुन्छ, न रूप नै ।

अब बेला आएको छ, नेपाली साहित्यको स्तर निर्माण र निर्धारण गर्ने, यसका लागि आयातित विदेशी राजनीति तर्कवाद जस्तो उपमा पैंचो नलिई देशअनुकूलन कुनै पनि साहित्यरचनालाई ससम्मान दृष्टिप्रक्षेप गरी स्थान दिनुपर्छ, नत्रभने फेरि उही ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विचार’ को प्रकोपले ग्रसित नेपाली साहित्य स्तरको त कुरै छोडौं रूपैमा पनि आकारहीन र अनुल्लेख्य भएर सडकमैलाको ढ्वाङमा फ्याँकिँदो बन्नेछ ।

यस गन्थनको सारसंक्षेप यही हो, नेपाली साहित्यको स्तर नेपाली साहित्यबाटै निर्धारण गरिनुपर्छ र गरिनेछ भन्ने आशाको किरणवत् सोचाइ हो, नत्रभने साहित्य युगौंदेखि लेखिँदै आएको हो, फेरि युगौंसम्म लेखिँदै जानेछ र लेखनप्रक्रिया यथावतै रहनेछ, अनि यसो कुनै उपमा-मूल्याङ्कन अभिलेख्य भने कतै हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *