साँच्चै भन्ने हो भने म अहिले बाँच्न सङ्घर्ष गरिरहेको छु । ८८ वर्षको उमेर टेक्नै लागेको त्यसमा पनि अनेकौँ समस्या र रोगले मेरो जीवन सङ्घर्षमा बितिरहेको छ । जीवनभर साथ दिने श्रीमतीको ६ महिनाअघि निधन भयो र आफ्नै काखमा हुर्केको छोरो रमेशको ६५ वर्षको उमेरमा ४ महिनाअघि निधन भएपछि अचेल म बढी पीडित बन्न पुगेको छु । जहानको निधनले त एक्लो एक्लो जस्तो भएको छु । साहित्यिक यात्रामा सँगै हिँडेको भाइ विजयबहादुर मल्लको निधन पनि मेरा लागि त्यत्तिकै पीडादायी बन्न पुग्यो । यस्तो स्थितिमा अचेल म बाँच्न सङ्घर्ष गरिरहेको छु न बाहिरफेर घुम्न जान सकिन्छ, न त लेखेर बस्न सकिन्छ । जीवनमा आइपरेका अनेकौँ उतारचढावले गर्दा मैले राम्ररी लेख्न नसकेको, यो क्षेत्रमा आफ्नो सक्रियता देखाउन नसकेको पनि धेरै भइसक्यो । साहित्य क्षेत्रमा मेरो रूचि केटाकेटी अवस्थादेखिकै हो । अहिले यो अवस्थामा आइपुग्दा भने लेख्नसकेको छैन ।
शारदाको प्रकाशनले प्रेरणा मिल्यो
हाम्रो घरमा पहिलेदेखि नै साहित्यिक वातावरण थियो र जमघट पनि भइरहन्थ्यो । साहित्यकार बुबा सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमायाको जेठो छोरोको रूपमा मेरो जन्म भएको हो – काठमाडौँको ओमबहालमा । वि.सं. १९७९ को असार २६ गते जन्मिएको मेरो बाल्यकाल सुखसयलमै बित्यो । ठूलो परिवारमा जन्मिएकोले बाल्यकाल खेलकुद रमाइलोमै बित्यो । एउटा साहित्यिक वातावरण भएको घर, ठूलाठूला साहित्यकारहरूको आउजाउ अनि बुबाले सुरू गर्नुभएको ‘शारदा’ पत्रिकाको प्रकाशनले मलाई लेखनमा अभिप्रेरित गर्यो र यसैको फलस्वरूप ‘शारदा’ पत्रिकाबाटै मेरो साहित्यिक यात्राको थालनी भयो । सुरूका दिनमा कविता लेखनमा लागेपनि मैले आफ्नो लेखनलाई कथा, उपन्यास र नाटकमा केन्दि्रत गरेँ । यी तीनै विधामा मेरा सङ्ग्रहहरू प्रकाशित भएका छन् ।
प्रजा परिषद्को पर्चा टिपेका कारण सिंहदरबार लगियो
राणाशासनको बखत स्वतन्त्रता थिएन । लेखपढ गर्न गाह्रो थियो । मेरो पहिलो रचना ‘ममता’ (कविता) ‘शारदा’ मा छापिन लागेको थियो । त्यसैबखत राजनीतिक पर्चाबाचीको सम्बन्धमा मलाई सिंहदरबार बोलाइयो । वास्तवमा भन्नुहुन्छ भने त्यतिबेला बाटोमा फालिराखेको प्रजा परिषद्को पर्चा टिपेको कारणले म केरकारका लागि सिंहदरबार पुर्याइएको थिएँ । त्यतिबेला साहित्यकार भवानी भिक्षुले कविता छािपएपछि मैले झन् बढी सजायँ पाउँला भन्ने डरले गोविन्दको माने पत्ता लगाई मेरो नाममा ‘गोठाले’ राखिदिनुभएको हो । त्यसैबेलादेखि म गोविन्द ‘गोठाले’ को रूपमा लेखन क्षेत्रमा लागेको हँु । यसरि पहिलो रचना छपाउँदै सङ्घर्ष गर्नुपर्ने स्थिति आइपर्यो- तत्कालीन अवस्थाको कारण । लेखनलाई व्यायवसायिक रूप दिन नसके पनि शोखको रूपमा लेख्न थालेको पनि सात दशक हुन लागिसक्यो । सात दशकसम्म लेख्दापनि आफूले चाहेको लेख्न सकेको छैन । तपाईंलाई थाहै छ केहि समयदेखि अलमल अलमल हुने भएकोे मैले लेख्न पनि सकेको छैन, लेख्छु भन्छु, लेख्न खोज्छु र पनि सकेको छैन – सङ्घर्ष गरेर पनि लेख्न सकेको छैन । आफूलाई लागेको वा अभिव्यक्त गर्न खोज्दा पनि नसक्दाको मानसिक सङ्घर्ष, वृद्धावस्था र एक्लो महसुस गरेर झन् कमजोर भएको छु । पहिले त आफैले विचार गरेर लेख्नुपथ्र्यो, कडिकडाउ समय थियो । लेखनमा त्यति वास्ता गर्ने पनि थिएनन, लेख्ने पनि कम थिए, सोचाइ पनि सीमित थियो । जति लेख्नु थियो लेखियो, अब त लेखेको थिएँ भने पनि बिर्सिसके … अब त मृत्यु मात्र सम्झेको छु ।
लेखनलाई पेसा बनाउन नसकिएको हाम्रो मुलुकमा लेखक साहित्यकारले केही न केही गर्नैपर्छ र मैले पनि जोर गणेश प्रेसमा केही वर्ष बिताएँ । जीवनको धेरै वर्ष त मैले जागिरमा बिताइन, लेखनमै लगाएँ । लेखनमा पनि आफ्नै समस्याले गर्दा चाहेजति लेख्न सकिनँ, जे-जति लेख्नसकेँ पाठकसमक्ष आइसकेकै छ । मेरा पिताजीले राणाशासनको बेलामा पनि ‘शारदा’ पत्रिकाको प्रकाशन सम्पादन गरेर थाल्नुभएको कार्य तत्कालीन अवस्थामा सङ्घर्ष नै थियो । यही ‘शारदा’ बाट साहित्यमा लागेँ, चार वर्षसम्म यसको सम्पादक भएँ । लेखनलाई र प्रकाशनका लागि मलाई त्यस्तो समस्या परेन, बरू लेखनबाट धेरैको माया र सम्मान पाएको छु, पाठकलाई आफूले चाहेर पनि धेरै दिन नसकेकोमा भने आफैलाई नरमाइलो लाग्छ । अर्को दुःखको कुरै भनुँ न नेपाली साहित्य र पत्रकारितामा महìवपूर्ण योगदान दिने ‘शारदा’ र ‘आवाज’ जस्ता पत्रिका पैसाको अभावले गर्दा बन्द गर्नुपर्यो त्यतिबेलै । ‘शारदा’ का लागि मैले निकै मिहिनेत गर्थेँ ।
अचेल आफ्नै टोल छिमेकका मानिस पनि चिनिदैन
शरीरले सकुञ्जेल लेखपढ, घुमफिर, जागिर सम्पादनमा बिताएँ अहिलेको अवस्थामा धेरै कोठामा ओहोरदोहोर गरेर बिताउँछु । भेट्न आउनेहरूसँग यसो कुराकानी गर्यो, कहिलेकाहीँ छोरीहरूको आग्रह र सहयोगमा उनीहरूको घर गयो । आफ्नो उमेरका धेरै त गइसके, बाँचेका पनि कतिपय रोगले थल्लिएका छन् कति अशक्त छन् त कतिसँग चाहेर पनि भेट्न सकिँदैन । समय अब पहिलेजस्तो छैन, पहिले सिङ्गो काठमाडौँमा प्रायः सबै चिनिन्थ्यो, अचेल आफ्नै टोल छिमेकलाई पनि चिन्न गाह्रो छ । आफ्नै साथीभाइसँगभेटेर कुराकानी गर्ने कुरो त अब रहर मात्र ।
विषय धेरै छन् तर लेख्नै सकिरहेको छैन
मेरो लेखनको विषयमा मैले बारम्बार आफ्ना अन्तर्वाताहरूमा भन्दै आएको छु – लेखनमा यसरी नै लागेँ भनेर त म भन्न सक्तिँन । अध्ययन भने यस विषयमा पहिलदेखि नै गर्थेँ । धेरैजसो उच्च वर्ग र मध्यमवर्गकै मनोवैज्ञानिक चित्रण गर्छु । तल्ल्ाो श्रेणीको चित्रण गर्न अलि विश्वास लाग्दैन, उनीहरूको दुःख दर्दलाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्तिन भन्ने लाग्छ, किनभने मानिसको जिन्दगी कुनै हिसाब किताब हैन न उनीहरू मनोविज्ञानका निर्धारित घेराभित्र नै आउँछन् । लेखनमा म बढी कथा, नाटक र उपन्यासमा केन्दि्रत छु । लेख्ने विषय थुप्रै छन् र पनि लेख्न सकिरहेको छैन । लेख्न त मन छ तर लेख्नै सक्तिन । लेख्न बस्यो कि अनेक कुरा सम्झन्छु र लेख्न खोजेको कुरा सबै बिर्सिन्छु एक किसिमले भन्नुहुन्छ भने दिमाग नै खाली जस्तै भएको छ । लेखेर जीवन बिताएको एउटा स्रष्टालाई लेख्न नसक्दाको पीडा भोग्दैछु म अहिले ।
प्रस्तुति ः जयदेव भट्टराई
