Skip to content

तारिणीप्रसाद कोइरालाका क्रान्ति-कथाहरू

  • by


परिचय तथा प्रवृत्ति- वि.सं. १९७९ वैशाख १८ गते एक होनहार पुत्रको जन्म नेपालमा भयो, ती व्यक्तित्व हुन्- तारिणीप्रसाद कोइराला । उनी आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन् । वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए । वी.पी. बाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ््खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ- उनका कृतिहरूका अध्यात्मबाट । उनका आठवटा उपन्यास र थुप्रै फुटकर कथाहरूले नेपाली साहित्यको ढुकुटीलाई भरिपूर्ण पारिदिएका छन् । उनमा साहित्यिक व्यक्तित्वको साथसाथै राजनीतिक व्यक्तित्व पनि थियो । विश्वविख्यात राजनीतिज्ञ भएर पनि आफ्नो साहित्यलेखनमा त्यसको एउटा छिटो पनि पर्न नदिनु वी.पी. को विशेषता हो भने त्यसबाट बच्न चाहिँ तारिणीप्रसाद कोइरालाले नसकेको स्पष्टै देखिन्छ । किनकि उनका अधिकांश आत्मसंस्मरणात्मक कथाहरूमा राजनीति नै मुख्य विषयवस्तु बनेको प्रतीत हुन्छ । उनी राजनीतिज्ञ व्यक्तित्व भएकै कारणले अन्याय र अत्याचारी शासकहरूका विरुद्धमा पाइला चाल्दा र आवाज उठाउँदा उनले काठमाडौँ जेलको हावा खानु परेको थियो । उनी अङ्ग्रेजी, हिन्दी र फ्रेञ्च गरी तीनवटा विदेशी भाषाका ज्ञाता थिए । २००७ सालको जनक्रान्तिमा सक्रियता देखाउने तारिणीप्रसाद कोइरालाले पूर्वी मोर्चाको एक सशक्त सिपाहीको भूमिका निर्वाह गरेका हुन् । प्रजातन्त्र रेडियो नेपालका संस्थापक व्यक्तित्व पनि उनी नै हुन् । अनि २००८ सालतिर रेडियो नेपालको बाल कार्यक्रम (बालप्रोग्राम) सञ्चालक बनी कार्यक्रम चलाउन उनको साहसी कार्यलाई प्रशंसा गर्नुपर्छ । उनका क्रान्तिकथा निकै नै उत्कृष्ट छन् र त्यसबाट हामीले पनि देशको अस्तित्व बढाउन तथा जनताको हितका लागि के गर्नुपर्दछ भन्ने प्रेरणा प्राप्त गर्न सक्ने छौँ ।

२०२० सालतिरको कुरा हो, म करिब ११ बजेतिर जयवागेश्वरीस्थित कोइराला निवासमा पुगेकी थिएँ । वी.पी. बाबु सुन्दरीजल-कारागारमा थिए । तारिणी बाबु त्यहाँ रहेछन् । उनीसँगको परिचय भनौ वा भेट मेरो पहिलो थियो । टकटकाउँदो सेतो चुडीदार सुरुवाल र कुर्ता अनि हल्का खरानी रङको इष्टकोट पहिरिएका, अति गोरा होइनन्, मसिनै खालका, फुर्तिला, हंसमुख तथा रसिक व्यक्तित्वको प्रवेश हामी प्रतीक्षारत कोठामा भयो । मेरा दाजु गोविन्दप्रसाद कोइरालाले भने “विन्दु! तारिणीबाबु उहाँ नै हुनुहुन्छ । मैले जुरुक्क उठेर ‘जय नेपाल’ को अभिवादन गरेँ । उनले मेरो अभिवादनलाई स्वीकार गर्दै सुरिलो तथा मीठो स्वरमा आफ्नो भाव व्यक्त गरे- “बस-बस, उठ्नु पर्दैन ।” अनि उनकै साथमा रहेकी रोशा कोइरालाले प्रफुल्ल मुद्रामा रहेर भनिन्- “तपाईंले चिन्नुभएको छैन ? ऊ हाम्री भतिजी हो, विन्दु कोइराला क्या!” अनि त तारणीबाबुले मलाई ग्याम्मै अँगालो मारेर “छोरी तिमीलाई चिनेको थिइँन है!” भन्दै सोफामा आफूसँगै बसाई मेरो ढाडमा सुम्सुम्याएर खुब माया गरे । अनि मलाई लाग्यो- ओहो, नि! कति महान् मिलनसार व्यक्तित्व र कति रसिलो आत्मीयता देखाएका तारिणीबाबुले! हो त्यतिबेला मैले अनुपम सङ्गमको अनुभव गरेकी थिएँ । त्यसपछि “ल, त छोरी, आज हामी सान्दाइलाई भेट्न सुन्दरीजल जाँदैछौँ, आउँदै गर है ।” उनीसँगको दोस्रो भेटको इच्छा पूरा हुन नपाउँदै २०३१ मा उनको देहावशानको दुःखद खबरले मलाई पीडित र मर्माहत बनायो ।

कथाकार तारिणीप्रसाद कोइरालाका खास प्रवृत्तिलाई कोट्याउँदा मनोविज्ञान, यौनमनोविज्ञान, तत्कालीन सामाजिक, राजनीतिक यथार्थको प्रस्तुति, सरलता, सहजता र सरसता नै हुन् भन्ने देखिन्छ । सानैदेखि प्रवासी बन्नुपरेका कारणले गर्दा होला भाषामा हिन्दीको प्रभाव छ । वी.पी.ले भनेका छन्- “तारिणीको भाषा राम्रो छ, सर्र जाने वा राम्रो लेख्ने व्यक्ति उनी हुन् तर ईश्वर बल्लभले चाहिँ दुवै दाजुभाइको भाषालाई राम्रो मानेका छैनन् र अप्ठ्यारो ठानेका छन् । यौनवादी प्रयोगमा कथाकार तारिणीलाई वी.पी. कोइरलाकै अर्का रूप हुन्भन्दा गल्ती नहोला । छोटो कथानक र थोरै पात्रको प्रस्तुतिमा पनि तारिणीको चातुर्य वी.पी. अनुरूप नै देखिन्छ ।

कथाको विवेचनः-

क्रान्तिकथा -१,

सञ्चित ज्वालामुखी

‘मुकुट’ मासिक २०२८ आषाढ, वर्ष ४, अङ्क ३ र पूणर्ाङ्क १५ मा प्रकाशित ‘सञ्चित ज्वालामुखी’ तारिणीप्रसाद कोइरालाको आत्मसंस्मरणात्मक कथा हो । तत्कालीन राजनीति तथा कोइरालानिवासको परिवेशलाई च्यापेर लेखिएको यस कथाको विषयवस्तु क्रान्तिको ज्वालालाई नै मान्नुपर्दछ । कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि त्यसको पूर्वतयारी हुनु आवश्यक ठानिन्छ । २००७ सालको क्रान्तिलाई सफल तुल्याउन सुनियोजित ढङ्गले हातहतियारको बन्दोबस्त गरिएको विषय कथा यसको आधार हो ।

कथाका लागि पात्रहरू खोज्न समाजभित्र पस्नु नपर्ने सुगम तरिका कथाकारले अँगालेका छन् अर्थात् कोइरालानिवासकै पात्रले यस कथाको सेरोफेरोलाई ढाक्न सकेका छन् । आज आएर यस कथालाई कोट्याउँदा ऐतिहासिक विषयवस्तुमा आधारित कथा भन्न करै लाग्दछ । यसलाई मैले डायरीकथाको नामकरण गर्ने धृष्टता पनि गरेकी छु । तारिणीका क्रान्ति-कथामध्येको यो पहिलो भाग भएर हो वा किन हो ? यसको कथानक क्षणिक छ ।

भनिन्छ साहित्यकार भविष्यवक्ता वा दूरदर्शी हुन्छ । त्यस्तै तत्कालीन समय वा २०२८ मा लिखित यस कथामा अतीत र आजका कार्यकर्ताहरूका बीचमा पाइने अन्तर देखाउन सक्नु कथाकार कोइरालाको विशेषता हो, खुवी हो । उनको पालाका राजनीतिक-कार्यकर्ताहरूको समक्ष आजका ऐयासी र चम्चे व्यक्तिहरूले घुँडा टेक्नुपर्ने आवश्यकता खड्काइदिएको छ- यस कथाले । आफ्नो पालाका राजनीतिक- कार्यकर्ताहरूको इमानदारीपन र लगनशीलतामाथि कथाकारले राम्रोसँग प्रकाश पारेका छन् । अनि पुरुषको समानान्तर भएर काम गर्ने, निडर, साहसिला र आगामी पुस्तालाई समेत नेतृत्व दिन सक्ने क्रान्तिकारी नारीको आदर्श प्रस्तुत गर्न कथाकार यहाँ अत्यन्त नै सफल भएका छन् ।

राजनीतिमा अहिले आएको विकृति र विसङ्गति जस्तो त्यसबेला थिएन, क्रान्ति भनेको नारा मात्र होइन र यसका लागि ठूलो त्याग र तपस्या गर्नुपर्दछ भन्नु पनि यस कथाको अर्को पक्ष हो । क्रान्तिको कथा- ‘सञ्चालित ज्वालामुखी’ को मुख्य उद्देश्य वर्तमान, भूत र भविष्य सबै प्रथामा मार्गदर्शन गराउनु रहेको देखिन्छ ।

क्रान्ति-कथा-२

सञ्चित ज्वालामुखी

यो कथा पनि क्रान्ति-कथा १ कै परिपूरकका रूपमा क्रमशः आएको छ । राजनीतिमा सक्रियता देखाउने उही कोइराला-परिवारको भूमिकाले परिवेष्ठित छ- यो कथा पनि । जस्तोसुकै आपत्ति आई परे पनि पछि नहट्ने तत्कालीन नेपालीको दृढ अठोट कथाकारले यहाँ व्यक्त गरेका छन् । सास फेर्न पनि गाह्रो र रोक्न पनि कठिन स्थितिको सामना गरी खनिएको खाल्डोले एकातिरबाट आफूलाई शत्रुको नजरबाट सुरक्षित हुने भरोसा दिइरहेको थियो भने अर्कातिर राणा शासकको चिहान बन्ने सङ्केत पनि गरिरहेको थियो । कथाकारको यो पनि आत्मकथा नै हो र यसमा प्रथम खण्डकै पुनरावृत्ति पाइन्छ ।

क्रान्ति-कथा-३

मृत्यु-क्रीडाको रोमान्स

यो पनि ‘मुकुट’ वर्ष-५ अङ्क-२, २०२९ चैत्र, पूणर्ाङ्क-१९ मा प्रकाशित कथा हो । यो कथा पनि क्रान्तिकै विषयवस्तुलाई अँगालेर लेखिएको छ । मैनालीका कथामा पाइने चित्राङ्कन यसमा पनि विद्यमान छ । यसको खास परिवेश रङ्गेलीको कारागार हो । क्रान्तिको रोमाञ्चकताले यो कथा रङ्गएिको छ । अनि हरेक कार्यमा नाटकीयता थप्ने काम विश्वबन्धु थापाले गरेका हुनाले उनको चरित्रचित्रण यहाँ विशेष किसिमले हुन गएको छ ।

निरङ्कुश राणाहरूको १०४ वर्षसम्म चलेको शासन पद्धतिलाई उखेल्न सानोतिनो बलले सहज थिएन । यिनीहरूको विरुद्धमा पाइला चाल्नु पनि ज्यानको आहुती चढाउनु थियो । यस्तो सङ्कटकालीन अवस्थामा कुनै पनि साहसी वीर पुरुषको जेलयात्राले जनताका पक्षधरहरूको मुटु हल्लिनु स्वाभाविकै थियो । त्यसैले त रङ्गेलीमा पक्राउ परेका नायक गिरिजालाई सम्झेर विश्वबन्धु थापा आफ्नो वेदना यसरी पोख्छन्- “उनी थुनिए भनेर होइन, उनी थुनिएर क्रान्तिलाई क्षति हुने भयो ।”

यो कथा पढ्दै जाँदा रोचक, चाखलाग्दा र साहसपूर्ण घटनाहरू एकपछि अर्को हुँदै फुत्तफुत्त निस्किरहन्छन् । जस्तै कि कथाका नायकले बेलुका दिसा गर्ने बानी बसाल्नु, दिसा गर्दा भेटिएको सिर्कनाले उनलाई भाग्नमा ठूलो मद्दत पुर्‍याउनु, सात कोशको बाटो रातारातै पार गर्नु, खागीको गञ्जी र सेतो कमिज लगाउनु तथा जतापट्ट िपुलिस र ब्यारेक छन्, त्यतैतिर भाग्नु आदि गिरिजाका क्रान्तिकारी चातुर्यका परिचायक बन्न पुगेका छन् कथामा ।

अति भएपछि जुनसुकै वस्तुले पनि विषको काम गर्छ रे! त्यस्तै अत्याचारको सीमा नाघेको तत्कालीन राणा-शासन पनि भित्रभित्रै खोक्रिएको वा धमिराले खाइसकेको थियो भन्ने तथ्य यस कथाले देखाउँछ । सुवेदारले भेट्दा पनि उनलाई नपक्रिनुबाट तत्कालीन शासकको पराजित अवस्था एवं मानसिकतालाई उदाङ्ग पार्न कथाकार सफल देखिन्छन् ।

यस कथामा देखिएकी आमालाई कुनै एक व्यक्तिकी आमाका रूपमा मात्र स्वीकार्नु अन्यायपूर्ण बन्न जान्छ जस्तो मलाई लाग्दछ । किनकि यिनले त सम्पूर्ण नेपाली जनताकी आमाको रूपधारण गरेकी छन् । गिरिजाको लडाइँको रणनीतिमा पोख्त चरित्र बोकेर यहाँ उभिएकी आमाले कालो वस्त्र स्पष्टताको चिन्ह हो, त्यसैले खाकी लगाउनुपर्छ, खाकी भन्नु उनको बुद्धिमत्ताभित्र पर्ने विषय बन्न पुगेको छ ।

आखिर आमाले जतिसुकै कठोर बज्रसमान र आत्मसंयमी बन्न प्रयत्न गरून् तर मातृहृदय कोमल हुन्छ, यो कहिलेकाहीँ पग्लिन्छ पनि, त्यसैले त नायक जेलबाट भागिसकेपछि चलेको ढ्याङढ्याङ! गोलीको आवाज सुन्दा आमा आँखा चिम्लिन्छिन् र उनको मुटु दुखेकै हुन्छ तर मातृवात्सल्य पग्लिए पनि उनको निडरपन चाहिँ जीवितै देखिएको छ ।

समयले कसैलाई पनि पर्खंदैन । त्यसैले होला, कथाकारले यस कथामा पनि प्रत्येक पलपलको आतुरता र महìवमाथि प्रकाश पार्नका लागि ३३-३३-३३, ३२-३२, ४० आदि मिनेट-मिनेटको ख्याल राखेका छन्- यस्तो प्रतीत हुन्छ । तत्कालीन राणा शासकले कोइराला- वंशको कम खेदो खनेका होइनन्, त्यसैले उनीहरूको इतिहासलाई बङ्ग्याउन खोजेको बेलामा कथाकार तारिणीले तत्कालीन व्यवस्थाप्रति व्यङ्ग्यको झटारो पनि हानेका हुन्, यस्ता वाक्यहरूलाई यहाँ उध्दृत गर्ने जमर्को गरिन्छ- ‘इतिहासमा युद्ध समय अङ्कित गराउनको निम्ति ज्यानसँग खेलबाड गर्दैन । इतिहास त जुन व्यक्तिको निम्ति लेखिन्छ, त्यसको गुलाम हो । इतिहासको गुलाम त्यो व्यक्ति होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *