Skip to content

देशको छ चिन्ता, तिमी माया माया भन्छौं

  • by


‘आज बाल वृद्ध युवक नरनारीहरूले भेला भएर जुन आदर प्रकट गर्नुभयो यसले मेरो मन आश्चर्यचकित गद्गद छ । यत्रो आदर गर्न योग्य म छैन तर जनताको भावनाले नै ढुँगोले पनि देवत्व प्राप्त गर्दछ । यसबाट देशमा एकता बढ्ने छ । राष्ट्रभाषाको सेवा गर्दै आएको छु र शक्तिले भेटेसम्म गर्दै रहनेछु । सरकारतर्फबाट प्रधानमन्त्रीज्यूले जुन ५ हजार दिनु भयो सो साहित्य भवनका निम्ति अर्पण गर्दछु । आवाल वृद्ध सबैलाई धन्यवाद छ ।’

वि.सं. २०११ सालको पुस २० गते कवि शिरोमणि लेखनाथ पौड्यालको रथयात्रा एवं अभिनन्दनको क्रममा उहाँद्वारा अभिव्यक्त भावना हुन् यी । वि.सं. २०११ साल पुस २३ गतेको गोरखापत्रमा लेखनाथ रथयात्राको समाचारले अति महìव पाएको छ । उहाँका यी अभिव्यक्ति मात्र होइन त्यतिबेलाको रथयात्रा र अभिनन्दनबारे गोरखापत्रमा प्रकाशित समाचारका केही अंश मात्र उल्लेख गर्ने हो भने रथयात्राको भव्यता र अभिनन्दनको हार्दिकता, जनसहभागिताबारे प्रष्ट हुन्छ।

———————–
काठमाडौँ, पौष २२ गते । अस्ति दिउँसो १ बजे कवि शिरोमणि लेखनाथज्यूको रथयात्रा लैनचौरबाट प्रारम्भ भएथ्यो । ११ बजेदेखि नै लैनचौरमा कवि, लेखक र नरनारीहरू भेला भएका थिए । मन्त्रिगण पनि उपस्थित हुनुहुन्थ्यो । सबैमा एउटा अलौकिक उत्साह र रथ तान्नमा होड देखिन्थ्यो ।

हिमालय, खोलाहरू र छाँगाहरूको दृश्य अंकित भएको रथ बडो भव्य र कलात्मक थियो । पांग्राहरूमा सत्य, शिव, सुन्दरम, कला साहित्य संगीत लेखिएको थियो । बीचमा कौच राखिएको थियो । रथमा माला र घण्टीहरू झुण्डाइएका थिए । ठीक १ बजे कविज्यूलाई रथमा राखियो । कविज्यू लवेदा सुरुवाल, बन्दगलाको कालो कोट, मख्खि बुट्टे नेपाली टोपी र पश्मिनाको ओढ्ने र दुबो र फूलको मालाले सुशोभित हुनुहुन्थ्यो ।

रथ तान्नेहरूमा नेपालका प्रमुख कविहरू र लेखकगण सर्वश्री देवकोटाज्यू, समज्यू, सिद्धिचरणज्यू, रुद्रराजज्यू, भिक्षुज्यू आदि र मन्त्रीहरू तथा अमेरिकन विद्धान फादर मोरान पनि हुनुहुन्थ्यो ।

जुलूसको अगाडि ८ जना घोडचढी महिलाहरू थिए, अनि चारोटा बालचर दल झण्डा र बर्दी सहित थिए त्यसपछि धीमेबाजा बजाउने दुई दल थिए अनि रथ थियो । रथपछि सैनिक व्याण्ड अनि सपत्निक प्रधानमन्त्रीज्यू र सपत्निक सल्लाहकार सभाका अध्यक्षज्यू बसेको मोटर थियो । त्यसपछि हजारौं जनता ।

जुलूस ठमेल, असन, इन्द्रचोक काठमाडौँ नयाँ सडक हुँदै टुँडिखेलमा पुग्यो । यो रथयात्रा अनौठो र नयाँ थियो ।

गोरखापत्र २०११ पुस २३
———————–

स्रष्टा सम्मानको थालनी त्यतिबेला नेपाली शिक्षा परिषद्का गोपाल पाँडे ‘असीम’ को सोचाइ र सक्रियतामा थालियो स्रष्टाको अभिनन्दन र रथ यात्रा गरेर त्यतिबेला ७० वर्ष टेकेका कविशिरोमणि लेखनाथको जुन सम्मान भयो त्यो ऐतिहासिक बन्न पुग्यो र स्रष्टा सम्मानको ‘माइलस्टोन’ बन्न पुग्यो ।

सम्मान र अभिनन्दनको यो अभियान आज ५५ वर्ष पुरानो भइसक्यो । ५५ वर्षमा स्रष्टा साधकहरूको सम्मान, अभिनन्दन रथयात्राको यात्रा बढिरहेको छ । यसबीचमा थुप्रै स्रष्टा अभिनन्दित बन्न पुगे । राष्ट्रकवि माधव घिमिरेको वि.सं. २०६० असोज ६-७ गते भएको बृहद् अभिनन्दन कार्यक्रम अर्को उल्लेख्य अभिनन्दन हो । यद्यपि तय भइसकेको उहाँको रथयात्रा गर्ने कार्यक्रम भने तत्कालीन अवस्थामा हुनसकेन । स्रष्टा साधकहरूप्रति सम्मान दर्शाउने क्रममा थुप्रै सङ्घसंस्था देखापरे । यतिखेर स्रष्टा अभिनन्दनको चटारो छ । वरिष्ठ साधक कृष्णप्रसाद पराजुलीको ७५ औँ वर्ष प्रवेशको अवसर पारेर उहाँको भव्य अभिनन्दन गरिने भएको छ आउँदो बुधबार यस्तै, आगामी शुक्रवार अर्का साधक दैवज्ञराज न्यौपाने अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । छिन्नलता पुरस्कार गुठीले हिजो मात्र वरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ ।

अभिनन्दन, सम्मान, पुरस्कार, रथयात्रा आदि स्रष्टा-साधकको कदर गर्ने उपयुक्त माध्यम मानिएको छ । अभिनन्दनप्रति देखिएको यो उत्साह चासो जत्तिकै चासो स्रष्टाको सन्तुष्टिमा पनि लिन सक्ने हो भने बाँचुञ्जेल स्रष्टा सुखले बाँच्न पाउँथे । उपेक्षा र पीडा भोगेर बाँचेका स्रष्टालाई अभिनन्दनको भन्दा शोधखोज र चासोको खाँचो छ । मृत्युको मुखैमा परेर बाँच्न सफल हुनुभएका कृष्णप्रस्ााद पराजुलीको स्वास्थोपचारमा, अनेकौं रोगसँग लड्दै अशक्त जीवन बाँचिरहनु भएका दैवज्ञराज न्यौपानेको उपचारमा हामीले के कति सघाउन सकेका छौँ । यो राष्ट्रले उहाँहरूप्रति कस्तो सद्भाव राखेको छ ? यस्ता प्रश्नहरूको उत्तर त्यति सहज नहोला ।

काव्य, जीवनी, समालोचना, भाषा व्याकरण कथा, गीत आदिमा उल्लेख्य कृति दिएर नेपाली भाषा र साहित्यको क्षेत्रमा समर्पित साधक कृष्णप्रसाद पराजुली । निरन्तर साधनारत, नेपाली भाषाका उत्कृष्ट साधक, सफल कवि र बाल साहित्यमा ख्याति कमाउने कृष्णप्रसाद पराजुली जस्ता साधकको अभिनन्दन हुनुपर्छ । साथै,उहाँको स्वास्थोपचारमा पनि यस्तै उत्साहका साथ सोच्नुपर्छ हामीले ।

कविता काव्य, समालोचना, बालसाहित्यका क्षेत्रमा उत्कृष्ट सिर्जना गर्नुहुने स्रष्टा दैवज्ञराज न्यौपाने यस्तै उल्लेख्य स्रष्टा हुनुहुन्छ । दुःखको कुरो उहाँले अस्वस्थ जीवन बाँचेको केही वर्ष त साहित्यिक जगत्ले अत्तोपत्तो समेत पाएन । स्वास्थ लाभ गरेर सक्रिय जीवन बाँच्ने इच्छा निश्चय पनि उहाँमा होला । अभिनन्दनबाट उहाँ समानित हुनुहोला, खुसी हुनुहोला । स्रष्टा दैवज्ञको उपचारमा अब हामीले सोच्ने कि नसोच्ने ।

अभिनन्दनको उत्साहमा, अभिनन्दनको चटारोमा स्रष्टाको पीडालाई पनि सम्झन सकियो भने, बुझ्न सकियो भने सुनमा सुगन्धै हुनेथियो ।

कवि शिरोमणि लेखनाथ पौड्यालको रथयात्रा अभिनन्दनमा तत्कालीन सरकारले आधा बिदा दिएको थियो, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला रथ तान्न आइपुगेका थिए, जनलहर उर्लिएको थियो । त्यसपछिका अभिनन्दनमा, रथारोहणमा यस्तो उत्साह किन देखिएन ? मुलुकका लागि योगदान दिनेहरूको सम्मानमा राष्ट्र पनि जुट्नुपर्छ । तर ५५ वर्षको इतिहासमा यतातिर त्यति ध्यान गएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *