Skip to content


अठ्तीस वर्ष पढाएको शिक्षकले शब्द र समयका किनाराबाट अनेकौँ उथलपुथल देखेको हुन्छ । विद्यार्थीहरूका अनेकौँ समय-रचना देखेको हुन्छ । गुरुपूर्णिमाको धार्मिक चलनको कुरा म मान्दिनँ । त्यसो त नवऐतिहासिकतावादीहरू भन्छन्- इतिहासको एकल आयाम हुँदैन । त्यो बर्लिनको पर्खालजस्तो हुन्छ जसलाई भत्काएर यताउता गर्नुपर्छ । यस दिन गुरुलाई सम्झिनु भनेको पटकपटक लेखेको एउटा कागतमाथि फेरि लेखेको ‘प्यालिम्पसेस्ट’ पाठ पढ्नुजस्तै हो ।

विद्यार्थीका पाठहरू मोबाइल स्त्रिनमा कोपिलाजस्तो फुत्तफुत्त निस्कँदै थिए । एउटा नाम सङ्गीता थापाको आयो । चकित परेँ । मैले तिनलाई कहिल्यै पढाइनँ । सिद्धार्थ आर्टग्यालरी प्रख्यात बनाएकी, धेरै समयदेखि कलामा संलग्न ती कला क्युरेटर र समीक्षकको मोबाइलपाठले कस्तो अभिवादन गर्छ त ? खोलेर हेरेँ । तिनले दुई दिन पहिला त्रिचन्द्र क्याम्पसमा विद्यार्थीबीचको गोलीकाण्ड, आगजनी र मारामारको कुरा लेखिछन् । तिनका पाठको सन्देश थियो- तिमी गुरु हौ । त्यो कलेजको पुस्तकालयमा पाकिस्तानी कलाकार अब्दुर रहमान चुघ्ताई (१८९७-१९७५) का दुईवटा चित्रकलाहरू छन् । ती चित्र केशरशम्शेरले दिएका हुन सक्छन् । तिनको महत्त्व धेरै छ । माओवादी, काङ्ग्रेस र एमाले सबैतिर तिम्रा विद्यार्थी छन् । ती कला बचाउनुपर्‍यो । तिमीले सक्छौ भन्ने लागेर लेखेकी ।

सङ्गीता थापाको चिन्ताले चक्रबात ल्यायो । असंपृक्त महलहरू, मन्त्रालय, प्रज्ञाप्रतिष्ठान र कलेजका कोठा र कुइनेटाहरूमा नेपाली कलाकारहरू सम, अमर चित्रकार र विदेशीका महत्त्वपूर्ण चित्रकलाहरू उपेक्षित भएर फालिएका देखेको छु । चुघ्ताईका चित्रकलाहरू नेपालका राणाहरूका घरमा ठूलो संख्यामा रहेको कुरा सङ्गीताले पहिले भनेकी हुन् । चुघ्ताईको सङ्गत बङ्गाल स्कुल अभ् आर्टको ब्रिटिस पद्धतिसँग सिधै थिएन । अवनिन्द्रनाथ ठाकुरको प्रभाव भने यिनमा थियो । यिनले लाहोरमा बसेर अकबरका पालादेखिको मुस्लिम परम्पराको कलामा काम गरे । चुघ्ताईका कलाहरूमा सलिल, भावजन्य कोमल रेखा र स्वाभाविक चित्ररचना अनि रङ्गको संयोग अत्यन्तै प्रभावकारी हुन्छ । तिनका पेन्टिङमा काव्यजनिन चेतना हुन्छ । तिनले कवि गालिबका कवितामाथि पनि चित्र गरे । ती कलाकारका चित्र राणाहरूले विभाजनपूर्वको लाहोरबाट किन र कसरी ल्याए मलाई थाहा छैन ।

त्यही बेला वा सन् १९१८ मा चन्द्रशम्शेरले बोलाएर चन्द्रमान मास्केलाई कलकत्तामा कसरी कला सिक्न पठाएका थिए र यसरी बोलाउँदा मनमा के-के तर्कनाहरू भएका थिए, उनले मलाई सुनाएका थिए । जङ्गबहादुर राणाले सन् १८५० मा युरोपमा सँगै लगेका भाजुमान चित्रकारले बनाएका चित्रकलाहरू पनि यी महलहरूमा छन् । देवशम्शेरका पुत्र स्व. एम्के मुसुरी राणा भन्ने हाम्रा पाका मित्रको माइतीघर डिलमाथिको घरमा भाजुमानका टन्नै चित्रहरू थिए । मैले जोन ह्वेल्पटन भन्ने ब्रिटिस साथीको किताब जङ्गबहादुर इन् युरोपको निम्ति तिनका फोटा खिचेँ । अहिले तिनको किताबमा छापिएका चित्रमात्र तिनका प्रमाण छन् । नेपाली कलाकारका ती महान् कृति कि बिदेसिए कि यतै कतै अल्भिएका छन् । आजको दिन यही लेखबाट अपिल गर्न चाहन्छु । मेरा विद्यार्थीहरू जो-जो छन्, जे-जे दलमा छन् उनीहरूले सहयोग गरून् । यी सबै चित्रकलाहरू छाउनी म्युजियममा रेकर्ड राखिएर, सम्झौटो लेखिएर सबै जाउन् । जे जस्तो समयमा बनिएका भए पनि, ज-जसले बनाएका भए पनि ती यो देशका मूल्यवान सम्पदा हुन् । सबैले बुझौँ । म पनि यसमा काम गर्न तयार छु ।

गुरुको प्रसङ्गतिर फर्किन्छु । गुरु हुनुको अनुभूति एउटा पखेरामा उडिहिँड्ने कुइरोका चोक्टाहरूले बोकेर चलेको समयजस्तो लाग्छ मलाई । ती कुइराले अनेकौँ आकार लिन्छन् अनि फेरि भत्किन्छन् । तर तिनले बनाएको भावनात्मक आयाम बलियो हुन्छ । गुरुका आपना खुसी र भावनाका कुइनेटाहरू त भइहाल्छन् । मेरा अनेकौँ उदाहरण छन् यस्तो कुइनेटाका । एक दिन बाटोमा सानो बालक डोहोर्‍याउँदै एउटी केशराशि फुलेकी महिला अगाडि आएर खुँडे- जूनजस्ता दाँतले हाँसिन् । सोधिन्, ‘सर्, सम्झिनुहुन्छ ? म सर्की विद्यार्थी हुँ । यो मेरो नाति ।’ अर्को घटना छ । एकजना अलिक पेट लागेका अर्ध फुलेकै मानिस अगाडि आएर उभिए । तिनले सोध्न नपाउँदै मैले ती पहिलेका विद्यार्थी भनेर चिने । तिनका दुईवटा सन्तान भएछन् अनि मेरो आशीर्वादले ती अमेरिका गएछन् । छोरा टेक्सस्मा अनि नानी मिनसोटामा । नानीको उतै बिहे भएछ । उनले सोधे, सरका कतिजना ? भने, दुईजना छोरा । सोधे, अनि बाबुहरू उतै ? उतै मण्डिखाटारमै छन् आज, मैले भनें । उनले अमेरिका भनेका रहेछन् । पछि थाहा भो । अहिले च्वाँक्, बबाल, हरिप भनेजस्तै ‘उतै’ भन्ने चल्तीको लब्जा भइसकेछ ।

मेरा सबै विद्यार्थीका जीवन र जगत् हेर्ने दृष्टि आ-आफ्नै हुन्छन् । ‘मलाई चिन्नु भो, अभिसर ? म तपाईंको विद्यार्थी,’ नेपाली माओवादी आन्दोलनका विश्वले हेरेका नेताले भन्छन् सभामा । यी तिनै प्रचण्ड थिए जसको विषयमा केही समयपहिले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछिको समारोहमा गिरिजाबाबुले भनेका थिए, ‘हामीले प्रचण्ड भनेको कोही डरलाग्दो अतिमानव सोचेका थियौँ । तिमी हामीजस्तै रहेछन् यी पनि ।’ मेरो निम्ति ती डरलाग्दा अतिमानव थिएनन् । ती पाटन कलेजका एक शान्त र शालीन विद्यार्थी थिए । ती अहिले अति दक्षिणपन्थी र अति वामपन्थीले उठाएका चक्रबात चिरेर दिनदिनै निस्केको देख्ता सुस्ताउन लागेको समयलाई ती ज्यान दिँदै छन् कि जस्तो लाग्छ । तिनले बीपी कोइरालालाई बुझेको र सम्मान गरेको कुराले म झन् बढी प्रभावित भएको छु । अरू कुरा राजनीति जान्नेले भनुन् । म एउटा दलनिरपेक्ष शिक्षकका भावना बोल्दै छु ।

सबैथरी राजनीतिमा कोही न कोही विद्यार्थीहरू नेता भएको देखेको छु । उदाहरणलाई एउटा अर्को कथा भन्छु । कमल थापा राजा ज्ञानेन्द्रको समर्थनमा गृहमन्त्री भए त्रिसठ्ठी सालमा । म चकनाचुर भएँ । तिनले म भएको सभामा बोल्दा मलाई छुट्टै सम्बोधन गर्थे गुरु भनेर । तीजस्तो प्रतिभाशाली मानिसले राजनीतिमा केही गर्नेछन् भन्ने मेरो विश्वास थियो । राजनीति शक्तिको खेल हो । कमल थापा अहिले इतिहासको कुइनेटोमा पूर्वराजा ज्ञानेन्द्रको भारी हालेर बित्थामा असनको कुल्लीजस्तै मुस्किलले हिँडिरहेको देख्ता दुःखित हुन्छु । तिनले एक दिन आफ्नो बाटो पाउनेछन् भन्ने मलाई लाग्छ ।

अरू निकै विद्यार्थी ठूला लेखक, कलाकार, बुद्धिजीवी भएका छन् । दरबार छाडेपछि ज्ञानेन्द्रले ‘सञ्जीव उप्रेतीको घनचक्कर पढेर सकेछन्’, (सूचक, कात्तिक २०६५) । म ती विद्यार्थीको उपन्यासको बाटोबाट शक्तिको मनोग्रन्थी हेर्न थाल्छु । सबै विद्यार्थीले मानिस र यो देशलाई राम्रोमात्र गरेका छन् भन्दिनँ । कसैले धेरै गलत काम पनि गरेका छन् । नजिक भएका विद्यार्थीको चर्चा बढी गर्न मन लाग्ने रहेछ शिक्षकलाई ।

विद्यार्थीहरूले उन्नति गरून् भन्नेबाहेक अरू केही चाहना छैनन् । तर मेरा मनहरू पनि कतिपटक दुखेका छन् । म शब्द र चोटले घायल भएको छु । मैले आफूमाथि बादलहरू घोडा भएर खसेको उत्तेजना पीडामा बदलेको अनुभव गरेको छु । रातभरि पानी परेपछि बिहानी खोलाका भिजेका किनारै किनार विद्यार्थीसँग चित्त दुखाएर दौडेको छु । तिनले मायाले हो कि किन हो कुटीमा सानो आगो झोसिदिएर परबाट मैसँग उभिएर त्यसलाई हेरेका छन् । विद्यार्थीसँगका सम्बन्धलाई उजागर गरेर काठमाडौंमा महायात्रा- ‘ओडिस्सी’ हरू लेखेको छु । विद्यार्थीहरूले नै मायाले मेरो ‘ओडिस्सी’ मञ्चन गरेका छन् ।

समयको घामले थिचेपछि शिक्षक पनि पाकेको दाडिमजस्तै खुसी र पीडाले फुट्ने रहेछ । फुटेको छु । तर विद्यार्थी नै मित्र र समय अभिव्यञ्जना हुन् । पछिल्लो सहयात्राको नाटक विद्यार्थी शिव रिजाल मञ्चन गर्दै छन् । सुनेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *