सुन सुन साना साना बालबालिका
तिमी नै हौ कर्णधार भोलि देशका ।
पढ लेख नानी बाबु आँखा उघार
हुर्की बढी बोक्नुपर्छ भोलि देशको भार ।
असल महान् कुरा सिक्न मन लगाउ
हाँस खेल नानी बाबु देश हँसाउ ।
सुन सुन नानी बाबु साना कोपिला
तिमी नै हो रङ्गीचङ्गी फूल कलिला ।
ठूलो बन्छु भन्ने होइन असल मान्छे बन
साथीभाइलाई यही कुरा भन ।
सफासुग्घर बन्न सिक फोहोर नबन
यो देशको भोलि तिमी असल मान्छे बन ।
सुन सुन बिहानीका घामका किरण
तिमी नै हौ भविष्यका देशका किरण ।
फोहोर कुरा सिक्ने हैन असल कुरा सिक
जनता र देशलाई माया गर्न सिक ।
अल्छी बन्नुहुन्न बाबु मेहनती बन
तिम्रा साथीहरूलाई यही कुरा भन ।
सुन सुन नानी बाबु बालबालिका
तिमी नै हौ कर्णधार भोलि देशका ।
