हाम्रो रूस यात्रा पूर्णरूपले साहित्यिक उद्देश्यको थियो । त्यसैले यास्नाया पोल्याना पुगेर फर्केपछि हाम्रो हृदयमा टाल्स्टाय भरिए । अघि पनि थिए, आज झन् प्रगाढ भएर बसे । उनलाई भेटेर फर्किएपछि मनमा अरू तिर्खा उठे । अब गोर्कीलाई यसैगरी भेट्न पाए, पुस्किनकोमा पुग्न पाए, चेखवलाई हेर्न पाए, अरू पनि धेरै छन्, ती महान स्रष्टाहरू नाबाकोन, लेर्मोन्तोव, दोस्तोएब्स्की, सोल्झेनित्सन । तर एकरातको छोटो निद्रा छ, यति धेरै सपना कहाँ फिजाउन सकिएला ? तैपनि उत्साहले हाम्रो मन ठेगानमा थिएन । पुस्किनमा पुगेर यो अडियो ।
पुस्किनमा अडिने एउटा आकर्षक कारण पनि थियो । हाम्रा पथप्रदर्शक कृष्णदाइले बिहानै सुनाएका थिए- आज विश्वसाहित्यमै एक अविस्मरणीय दिन ! विशेष सम्झना र श्रद्धाले भिजेको दिन ! आज पुस्किनको दुई सय दसौं जन्मदिन । अरू पनि धेरै संयोग परेका थिए । यता भानुभक्तको १९६ औं जन्मजयन्ती नजिक आइपुगेको बेला हामी त्यता पुगेका थियौं, महाकविको सत्वाषिर्की मनाउने क्रममा देश-विदेशका नेपाली जातिद्वारा अभिव्यक्त प्रेम र श्रद्धाले भरिएका कर्मको साक्षी बस्न त्यहाँ पुगेका थियौं । हाम्रा समस्त कर्मलाई साहित्यकारको जीवन वरिपरि जोडेर अथ्र्याउन खोज्यौं ।
आज हाम्रो भिन्न लक्ष्य थियो । हामीलाई मस्कोको भूमिगत रेलमा चढाएर क्रेमलिन स्क्वायर लाने, लेनिनको समाधिको दर्शन गराई कुनै म्युजियम वा आर्ट ग्यालरीतिर लाने । मौसम पनि अति सुन्दर छ । बाटो काट्दै, डिलैडिल तर्किंदै हामी एक रेल्वे स्टेसनमा पुग्यौं । स्टेसन पुगेर घिरिरी गर्दागर्दै रेल छुटिहाल्छ । त्यहाँ पनि दोहोरिलत्ता मान्छेको घुइँचो र कँुडुलो । रेलभित्र बस्नेभन्दा उभिनेहरू, स्टेसनमा पर्खिनेभन्दा उड्नेहरू । थकथकाउँदो, सलबलाउँदो बगिरहने लहरजस्तो ।
तीन-चार स्टेसन एउटाबाट ओर्लिंदै फेरि अर्कोमा चढ्दै गर्यौं, भित्रभित्रै । तर कहाँबाट कहाँ पुगियो, कुनै पत्तो भएन । भाषाको अज्ञानताले, भीडसँग ठोक्किँदै हिँडे पनि सबै बिरानु लाग्छ, साँच्चैको अन्यताको भावले छोप्छ । यस्तोमा कतै छुटियो भने कहीं हराइयो भने के हुन्छ ? डरडर पनि लाग्छ । तर त्यसलाई प्रकट नगरी खेमको पछि लाग्यौं, प्रवीण र रमेशलाई पछ्यायौं । अन्त्यमा एउटा छ्याङ्ग उघे्रको सफा चोकमा पुग्यौं । तुबेस्काय पार्क । वरिपरि कति फराक ग्रेनाइट पत्थर र बज्रलेपले बनेका अजंगका घरहरू । ग्रिसो-रोमन वास्तुकलाका अपूर्व नमुना, सफा, फराक, मधुर आनन्दकारी चन्दन रंगका ।
पार्कको वरिपरि फराक चौडा बाटा, सफा र चिल्ला । ठूलठूला भवन, वरिपरि ससानो फूलबारी उम्लिरहेको । त्यसको ठीक सामुन्ने उभिएको एक भीमकाय सालिक अलेक्सान्द्र पुस्किनको अत्यन्तै अग्लो सिंगमरमरको फलामजस्तो बस्टमाथि उभिएका तीन मान्छे अग्लो कलिला घाममा बलेको अनुहार अलिकति कुपि्रएझंै देह ।
फेरि कृष्णप्रकाश बोलेको सुन्यौं- पुस्किन रूसी साहित्यका भानुभक्त हुन् । उनी रूसी साहित्यमा स्वर्णयुगका आरम्भकर्ता जसले मातृभाषामा काव्यशक्ति उत्पन्न गरेर देखाए । त्यसैले उनले रूसी भानुभक्तलाई काव्यात्मक नेपालीमा प्रस्तुत गरे, त्यो एक अतुलनीय कर्म हो । जङ्गव चौहानले पनि अर्को प्रशंसनीय कर्म गरे । हामी पुस्किनसँगै उभियौं । त्यो एक पत्थर वा धातुमा भनौं जडवस्तुमा कलाले भरेको व्यक्तिको प्रतिछायामात्र थियो । तर हाम्रो मनले पुकार्यो यिनै हुन्, जीवित पुस्किन । हामीलाई विश्वास भयो, यिनै हुन् उभिएका जीवन्त पुस्किन । हिमाल पर्वतभन्दा उताका काराकोरम हिन्दकुश पर्वतमालामाथि उडेर हामी यिनैलाई भेट्न आएका थियौं । हाम्रो मन अब रूसका अनेक म्युजियम हेर्ने र त्यहाँ अनेक साहित्यकारलाई भेट्नेतिर ढल्कियो ।
नभन्दै बेलुका यात्रापथको पुस्तिका पल्टाएर हेर्यौं- पुस्किन स्टेट म्युजियम । के त्यो संग्रहालय डुल्ने समय निस्केला ? उनका निजी स्केचले भरिएको, उनका सिर्जनाका प्रथम संस्करण राखिएको, चिठ्ठीपत्रहरू, उनका निजी प्रयोगका सरसामानहरू त्यो भव्य भवनमा सुरक्षित । विस्तारमा रूसी लेखकका संग्रहालयबारे बुझ्दै जाँदा एउटा जुनीले हेरेर, पढेर, घुमेर नभ्याइने रहेछ । एउटै स्रष्टासमेत अनेक संग्रहालयमा छन् । पुस्किनले आफ्नी नयाँ पत्नीसित एक वसन्त बिताएको आर्वातमा एउटा, पुस्किन मेमोरिअल अपार्टमेन्टमा अर्को । टाल्स्टायका नामका अनेक म्युजियम । हामीले नसुनेको स्टेट म्युजियम अर्को जहाँ उनी हिउँदका महिना बिताउने गर्थे, जहाँ बसेर उनले द डेथ अफ इभान इल्यिच, द पावर अफ डार्कनेसजस्ता अमर कृतिको सिर्जना गरेका थिए ।
हामीले चेखव सम्भिmयौं । मस्कोमा अवस्थित चेखव हाउस म्युजियम पुग्नसके ! कल्पना उम्लेर आयो । त्यहाँ पुग्नसके ती डाक्टरको काउन्सलिङ रुम, लेखक व्यक्तित्वको स्टडी, उनका प्रथम संस्करण, निजी सामग्री र आफन्तहरू देख्न पाइन्छ भन्ने जानकारी भयो । अरू महान रूसी साहित्यकारका लहर उठेर मनमा भरिए, दोस्तोएब्स्की आए । उनले दुःखपूर्ण बाल्यकाल व्यतीत गरेको अपार्टमेन्टमा स्थापित दोस्तोएब्स्की म्युजियम । आफ्नै पारिवारिक घरमा स्थापित । मान्छेका मन-मुटु हल्लाउने साहित्यका सर्जक दोस्तोएब्स्की उनको नाटकीय र दुःखपूर्ण जीवन, यातना, कारावास अनि मृत्युदण्डको छाया भोगेका महान साहित्यकार । उनका बाल्यकालका डायरी र वर्णनलाई आधार बनाएर पुनःनिर्माण गरिएको उनको घर । दाजुभाइको साँगुरो कोठा, बाबुआमा सुत्ने एउटा चेप । आज त्यो देख्न सकिन्छ । त्यहाँ उनका काठका खेलौना, स्कुल बुकहरू, परिवारको पुस्तकालय र उनको प्वाँखको कलम र हस्ताक्षर देख्न पाइन्छ । स्रष्टाको कत्रो सम्मान हुने देश !
ठीक त्यसै रात अनलाइन खबर पढ्यौँ- तनहुँमा आदिकविको घर भत्कियो । अनि लाग्यो- हाम्रोमा केही छैन, कोही सुरक्षित छैन । भानु, मोती, लेखनाथ, देवकोटा, सम, रिमाल कुनै महान धरोहर बचेनन् । बचाउन सकिएको छैन । ठाउँ-ठाउँमा होचा मूर्तिहरू छन्, ती पनि भत्काइने भयले प्रकम्पित तर कुनै पाठकले नेपाली साहित्यकारको सङ्ग्रहालय देखेँ भन्ने सुनेको छैन ।
आज बोल्दा नेपालका सर्वोच्च सांस्कृतिक निधि भनी महाकविको नाम लिन्छौं, तर अधिकांश पाठकले उनको वासस्थान कहाँ र कस्तो थियो भन्न सक्तैन । महाकविको नाममा द्रव्यहरू आर्जन र संकलन हुँदो छ, उनको नाममा धेरैथोक बिकिरहेको छ, तर ती साराको मुटु कहाँ थियो, कसरी कहाँ बसेर उनले जीवन बिताए, केमा खाए, कहाँ सुते, कस्तो कपडा लगाए, कुन कोठामा बसेर लेखे, कुन कलम-मसीले कस्तो कागजमा, उनका प्रथम संस्करण कस्ता थिए, पाण्डुलिपि कस्ता थिए भन्ने कुरा कसैले देख्न पाएन । उनको घर किन म्युजियम बन्न सकेन, केले रोक्यो, किन त्यो प्रकाशमा आउँदै छैन । उनको रोयल्टीमात्र पनि कति पुग्यो होला । त्यो कहाँ जाँदो होला । उनले यो देशको लागि गरेका थिए, उनका सारा कृति र सम्पत्ति सारा देशकै होइनन् ? आफ्नो देशको सांस्कृतिक दारिद्रय सम्झेपछि मलाई ठूलो शरमले छोप्यो ।
चेखव हाउस म्युजियम जाने इच्छा थियो, लेर्मोन्तोव हाउस म्युजियम जाने इच्छा थियो, फ्युचरिस्ट कवि मायाकोब्स्कीको म्युजियम जाने इच्छा थियो । अरू पनि थिए पास्टरनाक, स्टानिस्लाभ्स्की तर मेरो मनलाई अनेक शरम र दुःखले डढाउन थाल्यो । आफ्नो खेतबारी सारा बाँझो छ, झारले डम्मै छ, काँडा उम्रेर त्यो पसिनसक्नु छ, अर्काका बगैंचामा पाकेका फल गन्दै, फूलको वासना लिँदै मस्को सहरमा उचालिएर हिँड्नुको अर्थ अब के हुन्छ ?
महाकविको सङ्ग्रहालय नहुनु राष्ट्रिय दरिद्रता थियो, जातीय स्वाभिमानको अन्त्य र एक लामो अन्धकार । वास्तवमा हामी संकीर्ण राष्ट्रवाद जप्दा-जप्दा सगरमाथाको आडमा बुद्ध बसाएर आडम्बरभित्र आफैं मुकुर्रिएर डल्लो परेका रहेछौं, तर लाग्छ, हामी कतै छैनौं । हे महाकवि, तिम्रो सत्वाषिर्की भनेको गाउँमा बलेको आकाशबत्ती हो । टाढाबाट हेर्नेहरूलाई पुग्ने भ्रान्ति उत्पन्न गरेका छौं, लिङ्गाको फेदमा सम्पूर्ण अँध्यारो छ, आडम्बरले ढाकेको । हजार मूर्ख भेला भएर यहाँ तिम्रो गीत गाइरहेका छौं । भोलि रूसी प्राज्ञहरूको भेटघाट छ । उनीहरूले सोध्नेछन्- नेपाली साहित्यमा कुन-कुन स्रष्टाका सङ्ग्रहालय छन् ? एक्लै निरुत्तर भएर शरीरमा पसिना आउन थाल्यो र सम्झेँ भोलि बिहानै नेपालतिर छड्किन पाए हुन्थ्यो ।
