Skip to content

गणेशध्वजबाट प्रेमध्वज भएँ

  • by


मेरो जन्म १९९३ साल जेठ महिनामा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । बुबाको नाम रत्नध्वज प्रधान र आमाको प्राणदेवि प्रधान हो । म सानै छँदादेखि बुबा काठमाडौँमा व्यापार गर्नुहुन्थ्यो आमा चौतारामा नै बस्नुहुन्थ्यो । मामाघर काठमाडौँ असन टोलमा हो ।

तीन वर्षको उमेरमा म आमासँग काठमाडौँमा आए । २००१ सालमा जतिखेर म सात वर्षको थिएँ आमासँग काठमाडौँमा आए । २००१ सालमा जतिखेर म सात वर्षको थिएँ वा आमा अलग अलग बस्न थाल्नुभयो । औपचारिक रूपमा नै सम्बन्ध विच्छेद गरेर । हुन त उहाँहरूको लभ म्यारिज हो । घरमा रहनसहन मिलेनछ आमा तुलाधर बुबा प्रधान । तुलाधरले छोएको प्रधानले नखाने प्रधानले छोएको तुलाधरले नखाने प्रचलनले गर्दा बाजेले बुबाको अर्को विवाह गरिदिनुभयो । सानी आमा मास्के थरको हुनुहुन्थ्यो ।

दिनभरी बुबा बिहान बेलुकीसँग

बाबु आमाको एक्लो छोरा म । उहाँहरू अलग अलग बसिदिएपछि म समाचारमा परें । दिनभरी बुबासँग बस्थें, बिहान बेलुकी आमाकहाँ । बुबाको न्यूरोडमा पसल थियो आमा डेरामा बस्नुहुन्थ्यो । म गाउने बजाउने साथीभाइसँग भेटघाट आमा कहीँ नै गर्थें । सानो उमेर तर दुवैतिर आतेजाते गर्नुपर्ने जिम्मेवारी मलाई आइपर्‍यो । हुन त सम्बन्ध विच्छेद भए पनि बुबा कहिले काहीँ आमा कहीँ आउनुहुन्थ्यो । लभ परेको हो नी पहिले त उहाँहरूको । परिवार सङ्घर्ष सम्बन्ध के हो भन्ने कुरा सानै उमेरदेखि थाहा भयो ।

प्रेमबहादुरले नाम परिवर्तन गरिदिए

पठनपाठन पनि मेरो सहजरूपमा अघि बढेन । धेरै सङ्घर्ष उत्तार चढाव गर्नुपर्ने अवस्थाको सिर्जना भयो । ८-९ वर्षसम्म क ख पनि पढिएन । पछि नीलरत्न कंसाकारको घरमा क ख सिकेको हो । पसलमा काम गर्दै गर्दा कक्षा १ मा विश्व निकेतनमा भर्ना भए । विश्व निकेतनले मलाई अक्षर मात्र सिकाएन नयाँ पहिचान बनाइदियो । विद्यालयका प्रिन्सिपल प्रेमबहादुर श्रेष्ठ रहेछन् । उनले पति राम्रो पुच्छे रहेछ तिम्रो नाम प्रेमध्वज प्रधान हो भनिदिए । त्यसपछि मेरो त्यस अघिको नाम गणेशध्वज हरायो म प्रेमध्वजको नामले चिनिएँ । बीचमा धेरै स्कूल फरेर २०१० सालमा प्रौढ शिक्षा निकेतनबाट एकएलसी दिएँ तर सात नम्बर नपुगेर संस्कृतमा फेल भए । पढाइ अघि बढेन । साथीभाइसँग घुम्न दिल्ली बम्बई गएँ । जहाँ विभिन्न मुलुकका मानिससँग भेट भयो । अङ्गे्रजी बोले नौलो लाग्यो त्यसपछि त मलाई पनि पढाई अघि नबढेकोमा चिन्ता लाग्यो । त्यसपछि अठोट गरें आखिर गीत गाएरै खाने भए पनि स्नातकसम्म त गर्नुपर्छ । चुनौतीको सामना गर्दै सङ्घर्ष गर्दै अघि बढे ।

तीन वर्षपछि फेरि एसएलसी पास गरे

२०१३ सालमा मैले फेरि एसएलसी दिएँ पदमोदय हाइस्कुलबाट । राम्रै अङ्क ल्याएर पास भएँ । धेरैको सुझाव अनुसार मैले त्रिचन्द्र कलेजमा आइएस्सी पढंे । तर बीचमा लामो समय बिरामी भएकोले पठनपाठन अघि बढाउन सकिन । पछि फेरि मैले सरस्वती क्याम्पसबाट आइ.ए. र बी.ए. पास गरें ।

आमाकै लागि जागिर खानुपर्ने बाध्यता

२००९ सालबाट मैले गायन थालेको हो । रेडियो नेपालमा जागिर देउ भनेको पनि भएन । अन्यत्र पनि जागिर खोजें मिलेन । आमाकै लागि पनि जागिर खानुपर्ने अवस्था भयो मेरा लागि किनभने आमाले अर्को बिहे गरेर जानु भएन । म नै भनेर बस्नुभयो । त्यसपछि २०१६ सालमा मेरो जागिको जोहो जुर्‍यो अमेरिकन लाइबे्ररीमा । रेडियो नेपालबाट पनि गीत गाए बापत पैसा पाइन्थ्यो । पैसा म खासै खर्च गर्दैनथें । आमालाई नै दिन्थें । आमा पनि पुतली बनाउने काम गर्नुहुन्थ्यो । खासमा भनांै म आमासँग धेरै बसें । आमाको आर्थिक अवस्था कमजोर थियो । सम्बन्ध विच्छेद हुँदा बाले आमालाई सात सय रुपियाँ दिनुभएको रहेछ । पछि यो पेसा तिमीले हराउन सक्छौ म मोटर किनेर काम गर्छु भनेर फकाएर लैजानुभयो । मलाई याद छ यो कुरा । आमा अलि सोझो हुनुहुन्थ्यो । हाम्रो परिवारमा धेरै कलाप्रति आवद्ध छन् । आमा पनि गीत गाउनुहुन्थ्यो । बाजे पनि शास्त्रीय सङ्गीतमा रुचि राख्नुहुन्थ्यो । छोराहरू पनि गीत गाउँछन् । क्यासेट निकालेका छन् । धेरैले मलाई रेडियो नेपालको जागिरेभन्दा रहेछन् । मैले रेडियोमा करारमा काम गरेको हुँ । गीत गाउँदा पैसा पाउने । मैले हालसम्म लोकगीत भजन नेवारी आधुनिक गीत राष्ट्रिय गीत गरी सात सय जति गीत गाएँ । सानैदेखि गायनमा मेरो रुचि थियो । त्यसैले एसएलसीको जाँच अघि पनि म गाउनमा व्यस्त थिएँ । सात आठ वर्ष भयो गीत रेकर्ड गर्न सकेको छैन । उमेर धेरै भएपछि गीत गाउन सक्ने कुरा पनि त भएन ।

गीत सङ्गीतमा लाग्दाको फाइदा अहिले पनि लिँदैछु

राम्रो गायकका रूपमा स्थापित हुन पनि धेरै सङ्घर्ष गर्नुपर्छ । नत्र कहीँ स्थापित हुनु । धेरै गीत रेकडिङ गरिए पनि रेडियो एफ.एम.ले बजाए पनि त्यसबापत रोयल्टी दिने चलन छैन । गीतकार सङ्गीतकार यसबाट पीडित छन् । फेरि सबैको आर्थिक अवस्था राम्रो हुन्छ भन्ने पनि त छैन । यसमा पनि अब सङ्घर्ष गर्नुपर्ने अवस्था छ । सिर्जना कहाँ सजिलो कुरा छ र ? फेरि अहिले जस्तो सहजरूपमा रेकर्डिङ गर्न सक्ने सुविधा पनि त उति बेला थिएन चलचित्रको गीत गाउँदा होस् या आधुनिक रेकर्डिङका लागि बम्बई जानुपर्ने अवस्था थियो । कला क्षेत्रमा अनेक असुविधा त भइहाल्छ । कहिले १० औँ पटक एउटै गीतका लागि गाउँदा गाउँदा स्वरै सुक्छ त कहिले जागिरबाट दिउँसो भागेर पनि रेकडिङ गर्नुपर्छ । सङ्घर्ष दुःखका कुरा जति गरे पनि सकिने होइन । गीत सङ्गीतमा लागेको फाइदा रहेछ । रिटायर लाइफमा पनि खासै समस्या नहुने । यसो फुर्सद भयो कि गीत सङ्गीतमा रम्यो समय बितिहाल्छ । यसो अनुमान गर्छु अन्य क्षेत्रका व्यक्तिहरूलाई त गाह्रो हुन्छ होला तर मलाई त १५ वर्षको रिटायर लाइफ पाँच वर्षजस्तो लागेको छ ।

बुबा आमा परलोक हुनुभयो । छोराहरू अमेरिका बस्छन् । मैले पनि बस्ने सुविधा पाएको थिए । ३३ वर्ष अमेरिकन लाइबे्ररीमा काम गर्ने फेरि के अमेरिकामै बस्ने भनेर बसिन । घरायसी कामकाजमा दिनचर्या बित्छ । घरायसी तहमा मुद्दा मामिला बाँकी छन् तर पनि के गर्ने जीवन भनेकै अनेक उकाली ओराली घुम्ती मोडको संयोग हो । जीवनको पर्याय नै सङ्घर्ष हो । जीवनमा अनेक सङ्घर्ष आउँछन् फेरि सङ्घर्षसँग जुध्ने बानीले जिन्दगी सफल पनि हुन्छ ।

प्रस्तुति ः शेषकान्त पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *