Skip to content


आज अधिकांश नेपाली नारी पानीसम्म नखाई व्रत बसेका छन् । कोही भोकै-तिर्खै छमछमी नाचिरहेका होलान् भने कोही घाममा मन्दिरमा लाम लाग्दा फड्को भएर ढलिरहेका होलान् । धपक्क सजिएर मन्दिर र सार्वजनिक ठाउँमा जाँदा कतिका गहना लुछिन्छन् । कतिका ब्याग तानिन्छन् । कतिका मोबाइल चोरिन्छन् । तर पनि कोभन्दा को कमको फुर्तीसाथ खाली-पेट रमाइलो चलिरहेको छ ।

पतिको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै महिलाले आफूलाई यसरी सास्ती दिइरहेका हुन्छन् । यसका पीडित त अझ वृद्धा, सुत्केरी र गर्भवती हुन्छन् । आधुनिक महिलाले बिस्तारै पानी र फलफूलसम्म खान थाले पनि परम्पराप्रति कट्टर हजुरआमा-आमाहरू फिटिक्कै मान्दैनन् । बरु भन्छन्- ‘खाना खायो भने पतिको मासु खाएको जस्तो हुन्छ, पानी पियो भने रगत ।’ नेपाली महिला कुनै न कुनै रोगबाट पीडित हुन्छन् । केही नभए ग्यास्टिक त अवश्य हुन्छ । त्यो ग्यास्टिक यस्तो पापी रोग हो जसमा भोकै बस्नै हुँदैन । त्यसैले यो दिन कति वृद्धा र वयोवृद्धा ग्यास्टिकले पेट पोलेर पटुका कस्दै बसिरहेका हुन्छन् । एक दिन तीजको कठोर व्रत बस्दा महिना दिनसम्म स्वास्थ्य सन्तुलनमा ल्याउन गाह्रो पर्छ ।

व्रत बस्दैमा पतिको दीर्घायु हुन्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन । महिलालाई दासी बनाउने पुरानो जमानामा पत्नीले वर्षमा एक दिन कठोर कष्ट सहन ‘सक्छे कि सक्दिन’ भनेर यस्तो परीक्षा लिइएको हुन सक्छ । हिन्दु महिला साह्रै इमानदार छन् । त्यस्ता परीक्षामा उनीहरू सहर्ष सहभागी भए र शतप्रतिशत अंक ल्याई उत्तीर्ण भए । एक्काइसौं शताब्दीमा आएर पनि उनीहरू त्यही परीक्षा दिइरहेका छन् । उसरी नै पास भइरहेका छन् । बरु यसको अर्थ, औचित्य, सान्दर्भिकता आदि खोज्नतिर उनीहरू लागेकै छैनन् । पुरुषलाई पत्नीको दीर्घायुको कामना गर्दै यसरी नै भोकै-तिर्खै व्रत बस्न भनियो वा त्यस्तै कुनै चाड बनाइयो भने खप्न सक्छन् त ? अहँ । श्रीमतीले श्रीमान्को दीर्घायुका लागि यति कष्ट खप्छे भने श्रीमान्ले श्रीमतीका लागि त्यही अग्निपरीक्षा दिन किन सक्दैन ? किनकि, प्रायः नियम र संस्कार पुरुषले बनाउँछन् । र, उनीहरूलाई कष्ट हुने नियम न बने, न बन्नेछन् ।

हुन पनि हाम्रा धर्म र संस्कृति महिलाका लागि भेदभावपूर्ण छन् । हिन्दु पण्डित तुलसी बाबाले भनेका थिए- ‘पुरुषको सेवा गर्न नजान्ने वा नसक्ने महिला कि पशु हुन्छे कि पापिनी ।’ कतिपयको दृष्टिमा विकास र सभ्यताले स्वतन्त्रता मात्र होइन, विकृति पनि भित्र्याउँछ । तर, ग्रन्थहरू पढ्दा धार्मिक एवं पौराणिक युगको हालत एक्काइसौं भन्दा गए गुज्रेको पाइन्छ । त्यो बेला खुला यौन, गुरु-चेला यौन, पत्नी साटासाट, यौनका माध्यमबाट अतिथि सत्कार, सुन्दरीका लागि काटमार, कसैको हत्या गरी पत्नी लुट्ने कामजस्ता विकृत घटना खुबै हुन्थे । कतिपय देवता र ऋषिमुनिले बाल-बहु-अनमेल-जबजस्ती-छलकपट विवाह, बलात्कार, उसकै पतिको रूप धारण गरी अर्काकी श्रीमतीसँग सम्भोग, श्रापको भय देखाई बलात्कार गरेका घटना छन् । महिला किनबेच, भागबन्डा, दान, खेताला, साझा श्रीमतीजस्ता विकृति पनि त्यसबेला खुबै थिए । केही उदाहरण- पौराणिक राजा शश बिन्दुका १० हजार ब्याइते रानी थिए भने ल्याइते त नगण्य थिए । राजा स्वयनले ५० हजार युवतीले दरबार सजाएका थिए भने सगरका ६४ हजार सन्तान थिए । राजा जनकले देशमा लामो खडेरी परेपछि एकातिर रानी र अर्कातिर राजपण्डितलाई जुवामा नारेर आफूले हलो जोतेका थिए । त्यसपछि पानी परेको थियो रे !

हाम्रो धार्मिक र पौराणिक परम्परा नै महिलालाई खेलौनाका रूपमा उपयोग गर्ने छ । त्यो अवस्थामा महिलामाथि विभिन्न प्रयोग गरिन्थे । पुरुष हरेक कुरामा स्वतन्त्र थिए भने महिलाले भक्ति र पवित्रताका परीक्षा दिइरहनुपथ्र्यो । तीज यस्तै एउटा अवशेष हुन सक्छ । हो, परम्परा मान्नुपर्छ तर त्यसका विकृति, विसंगति र पीडा हटाएर समयसापेक्ष सुधार गर्नुपर्छ । अहिलेको जमानामा पनि भोकै-तिर्खै व्रत बस्न सुहाउँदैन ।

अर्कातिर, पतिका लागि शरीरलाई खती पुर्‍याइने यो चाडमा गाइने सबै गीतमा पति र घर-परिवारलाई व्यंग्य गरिएको हुन्छ । जसका लागि भोकै बस्ने उसैलाई तथानाम गाली गर्ने यो विरोधाभास हाम्रा दिदी-बहिनी, हजुरआमा-आमाले अझै बुझेका छैनन् । बरु पतिको प्रशंसा गरेर गीत गाऔं अनि पत्नीको प्रशंसा गर्ने पनि अर्को चाड बनाऔं । तब पो चाडले परिवारमा मेलमिलाप बढाउँछ । चिकित्सकहरूका अनुसार आराम गरेर बस्दा पनि महिलालाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । खानपिन नगर्दा शरीरमा ग्लुकोजको मात्रा घट्न गई टाउको दुख्ने, रिँगटा लाग्ने, उल्टी हुने, पसिना आउने, बेहोस हुने आदि समस्या देखा पर्छन् । त्यसैले नखाई शरीरलाई कष्ट दिने होइन, आफूलाई मन पर्ने खाना पेटभरि खाएर नाच्नुपर्छ । तब पो यो चाड उमंगको हुन्छ । पेट कसेर मुखमा मुस्कान छर्नु त सजाय हो । पीडा, भोक, प्यास र सजाय खप्नु पनि कुनै चाड हो र ?

२०६६ तीज

Leave a Reply

Your email address will not be published. Required fields are marked *