पोखिएर घामको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है ।
सयपत्री फूलसितै फक्री आँगनीमा
बतासको भाखा टिपी बोलुँ बोलुँ लाग्छ है ।
प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको कालजयी सङ्गीत र स्वर सम्राट नारायण गोपालको कर्णप्रिय स्वरमा कवि एवम् गीतकार हरिभक्त कटुवालको यो गीत आज पनि त्यत्तिकै सुमधुर र कर्णप्रिय छ । हरिभक्तका हरेक गीतहरूले सङ्गीतका जो कोही स्रोताहरूलाई आत्मकेन्द्रीत र एकाग्र बनाउन पुग्छ । गीत र कवितामा सङ्गीतको प्राण भर्न सक्ने कटुवाल नेपाली साहित्यका अत्यन्त चर्चित लोकप्रिय एवम् निडर व्यक्तित्वका रूपमा सुस्थापित व्यक्तित्व हुन् ।
गीतमा प्रयुक्त शब्द तथा लय विधान हेर्दा कटुवालका गीतहरूका भावभूमि र शिल्प सौन्दर्य विशेष उल्लेखनीय मात्र छैनन् । तत्कालीन समयको देश, काल परिस्थिति र समयको मूल्यवोधका हिसावले उनी निक्कै उम्दा गीतकारको रूपमा प्रतिष्थापित छन् । उनको गीति व्यक्तित्व अनेक प्रकारबाट विभाजन गर्न सकिन्छ । प्रारम्भिक कालका गीतमा कटुवाल केही अपरिपक्व देखिए पनि उनको गीति लेखनको मध्यकाल र पूर्वार्धतिर निक्कै सशक्त र कालजयी गीत रचना गर्न पुगेका छन् । जीवन एकदम कष्टकर र लथालिङ्गमा चलाएका कटुवालले सिर्जना शक्ति भने अत्यन्त व्यवस्थित, मर्यादित र मर्मस्पर्शी बनाएर प्रस्तुत भए । उनका हरेक रचना पाठकको मन मस्तिष्कमा झङ्कृत पार्न सक्ने सामथ्र्यले भरिपूर्ण छन् ‘मलाई नसोध कहाँ दुख्छ घाउ ?’ ‘डाली डाली फूल फूल्यो’ ‘मेरो आँखालाई राख्ने’ … जस्ता चर्चित गीतहरू हरिभक्तका शब्दमा आयपर्यन्त पनि उत्तिकै सञ्चार माध्यमबाट बजिरहेको छ । सबै तहका पाठकलाई तान्न सक्ने सुवोध र सुपाच्य सिर्जना गर्न सक्ने कटुवाल अनुप्रासको उच्चतम प्रयोक्ताकाका रूपमा निकै सफल कवि तथा गीतकार हुन् ।
सरल शब्दमा मीठा मीठा गीत र कविता रचना गर्न सक्ने कटुवाल आधुनिक नेपाली कविताका तेस्रो चरण प्रयोगवादी धाराका प्रखर कालमा देखिए पनि आधुनिक नेपाली कविताको चौथो चरण समसामयिक धाराका केन्द्रीय कविका रूपमा सुपठीत छन् । कटुवालको कविता पनि निक्कै पठनीय छन् ।
नेपाली कविताप्रेमीहरूलाई हरिभक्त कटुवाल भन्ने नाम उच्चारण गर्नासाथ ‘यो जिन्दगी खै के जिन्दगी ? भन्ने कविताको स्मरण हुन्छ । पाठकस्रोताप्रति अति उत्तरदायी कविका रूपमा सुविख्यात कटुवाल अत्यन्त अस्तव्यस्त जीवन गुजारा गर्दासमेत तत्कालीन राजा महेन्द्रबाट दिइएको जागिरलाई अस्वीकार गरिदिएका थिए । महेन्द्रले प्रज्ञा प्रतिष्ठानमा जागिरको प्रस्ताव गर्दा कवि कटुवालले एकेडेमीमा जागिर खानुभन्दा लेकाली भान्सा घरको भानसे हुनु वेस । भन्ने आठै जवाफ फर्काइदिएका थिए । तथापि महेन्द्रले पुनः उनलाई जग्गा दिने लोभ पनि नदेखाएका होइनन् तर उनले सरकार कविले हलो जोत्नु कि कलम घोट्नु ? भनेर महेन्द्रले राखेको जग्गा दिने प्रस्ताव समेत स्वीकारेनन् ।
तत्कालीन राज्यव्यवस्थाका कडा आलोचक कटुवाललाई राज्यबाट देखाइएको कुनै प्रलोभन स्वीकार्य भएन । उनी त राजनीतिक परिवर्तनका लागि सडक कविता आन्दोलन मार्फत् जनतामा तत्कालीन व्यवस्थाप्रति खरो उत्रन सङ्गठित भए । आर्थिक अभावले दैनिक गुजारा चलाउन हम्मे हम्मे भएका कटुवाल अन्ततः रक्सीका अत्याधिक अम्मली भएर निस्के । उनको नशामोह नेपाली साहित्यमा निक्कै चर्चित छ ।
उनको ‘भित्रीमान्छे बोल्न खोज्छ कविता सङ्ग्रह’, ‘सम्झना गीत सङ्ग्रह’, ‘सुधा खण्डकाव्य’, ‘पूर्व किरण कविता सङ्ग्रह’, ‘यो जिन्दगी खै के जिन्दगी ?’ र मृत्युपश्चात् ‘बदनाम मेरा आँखाहरू’ गीति कविता सङ्ग्रह प्रकाशित छन् ।
जनमुखी साहित्य सिर्जना गर्ने स्वाभिमानी कवि हरिभक्त आफ्नो कित्तामा अत्यन्त सजग, स्वविवेकी र निर्लोभी कविका रूपमा स्वणर्ाक्षरले लेखिएका व्यक्तित्व हुन् । आम पाठकलाई सुरुचीपूर्ण सिर्जना दिन सक्ने सरल कवि हुन् । भाषालाई दुरुह, भद्दा र किलष्ठबाट जोगाउन उनले सरल र छोटा मीठा सिर्जना गर्ने एउटा गतिलो धारको निर्माण गरे । प्रवासी नेपाली भएर नेपाली साहित्यमा हरिभक्तले लगाएको गुण नेपाली कविता प्रेमी र पाठकहरूले कदापि चुक्त गर्न सक्दैनन् । सेवा गर्ने त मेवाको आश नगर्ने कवि कटुवाल आसामको डिवु्रगढ भन्ने ठाउँमा जन्मिएका थिए । सङ्खुवासभा जिल्लाबाट उनका पूर्वज भारतको आसाममा बसाई सरेका थिए ।
२०३७ साल जेठमा आसाममा बाबुको निधन भएको खबरले आसाम गएका कवि कटुवाल अन्ततः पुनः नेपाल फर्किएनन् । त्यसको ठीक तीन महिनापछि अर्थात् २०३७ साल भदौ २५ गते कवि हरिभक्त कटुवाल निधन भएको खबरले सम्पूर्ण नेपाली साहित्यप्रेमीको मन कुँडियो उक्त खबरले एउटा कालजयी गीतकार, जनप्रेमी कविताका लोकप्रिय स्रष्टा र मृदुभाषि स्वरका धनी व्यक्तित्व नेपाली साहित्यले सदाका लागि गुमाउनु पर्यो ।
शनिबार, गोरखापत्र
भदौ २०, २०६६
