नेपालीहरूको महान् चाड दसैँ पर्वले हाम्रा घरआँगनमा प्रवेश गरिसकेको छ । हिजो शनिवारदेखि घर एवं शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गरिएको यो पर्व यही असोज १२ गते सोमबार विजयादशमीको दिन समाप्त हुनेछ ।
नौदिनसम्म शक्तिस्वरुपिणी माता भगवतीको उपासना गरी मनाइने यस पर्वलाई शक्तिउपासनाको पर्व पनि भनिन्छ । दसैँपर्वको धार्मिक र सामजिक पृष्ठभूमि जे जस्तो भए पनि मूलभूत उद्देश्य व्यक्तिगत जीवनदेखि समाज र राष्ट्रोन्नतिको चाहना राख्ने सबैले आपसी शक्तिलाई समन्वय गरी सदुपयोग गर्नुपर्छ भन्ने सन्देश दिनु नै हो ।
निःसन्देह व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवनममा शक्तिकै विशेष भूमिका रहने गर्दछ तर त्यो त्यत्तिकै प्राप्त हुने कुरो पनि होइन र त्यसलाई सदुपयोग र समन्वय नगरी इच्छितफल प्राप्त गर्न सकिने कुरो पनि होइन । त्यसैले हामी जति बेलासम्म एकअर्कोप्रति सहयोगी बन्न सक्दैनौं, एकले अर्काप्रति श्रद्धा, सद्भाव र सहानुभूति राख्न सक्दैनौं र अरुले के दिए भन्नुभन्दा पनि मैले के दिन सकें भन्ने अवस्थामा पुग्न सक्दैनौ! त्यतिबेलासम्म सही अर्थमा शक्तिको उपासना, त्यसको समन्वय र सदुपयोग हुन सकिरहेको हुँदैन ।
यसका लागि पहिलो कुरो त सबैले मन पवित्र र छाती विशाल बनाउन सक्नुपर्छ । अनि दोस्रो कुरो सबैले अन्तरआत्मादेखि नै ठूलाले सानामाथि स्नेह, सद्भाव राख्ने र सानाले ठूलालाई आदर, सम्मान गर्ने परम्पराको विकास गराउने प्रयास गर्नुपर्छ । नौदिनसम्म शक्तिमाताको उपासना गरी दशमीको दिन विसर्जन गरी प्रसादको रूपमा मान्यजनहरूको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने पम्परा बोकेको दसैँपर्वले हामीलाई यही नै सन्देश दिएको छ । शास्त्रीय भनाइअनुसार प्रभाव, मन्त्र र उत्साह गरी शक्तिको तीन रूप देखिएका छन् । यसलाई अमरकोषकारले ‘प्रभावोत्साह मन्त्रजा’ भनेर व्याख्या गरेका छन् तर व्यावहारिक अर्थमा आन्तरिक र वाहृय गरी शक्तिको दुई रूप मात्र देखा पर्दछन् ।
यसमध्ये आन्तरिक शक्तिलाई आध्यात्मिक शक्ति र व्यावहारिक शक्तिलाई भौतिक शक्ति पनि भन्ने गरिएको छ । आन्तरिक शक्तिको स्रोत मानिस आफै पर्दछ भने वाहृयशक्तिको स्रोतमा यिनै भौतिक संसार नै पर्दछ । जीवनमा उन्नति र प्रगति चाहने सबैलाई यी दुवै शक्तिको आवश्यकता पर्छ । जतिबेलासम्म हामी शक्तिका उपरोक्त स्रोतलाई असल आचरण र क्रियाकलापद्वारा स्वस्थ राखी आफु अनुकूल बनाउन सक्दैनौं त्यतिबेलासम्म कसैको पनि आवश्यकता पूरा हुन सक्दैनन् । विशेषगरी नवरात्रपर्वमा अपनाउनु पर्ने आहारविहारसम्बन्धी जे जस्ता शास्त्रीय प्रावधान छन्, तिनीहरूको मूलभूत उद्देश्य भनेकै शरीरलाई स्वस्थ र शुद्ध राख्न हो । किनभने जसले शरीरलाई शुद्ध र स्वस्थ राख्न सकेको हुन्छ उसैले नै प्रभावशक्ति र उत्साहशक्तिलाई बढाउने काम गरिरहेको हुन्छ । त्यस्तै वाहृयशक्तिका निम्ति पनि नवरात्रीय विधान त्यति नै महत्त्वपूर्ण छ । मूलतः संसारलाई आफू अनुकूल बनाएर शक्तिशाली हुन काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य, घृणा, तिरस्कार र आपसी वैमनस्यलाई बलिदान दिएर सर्वहितकारी भावनाको विकास आवश्यक छ । शक्तिउपासनाको क्रममा आएको बलिदानको प्रसङ्गले हाम्रो ध्यान त्यतैतिर आकषिर्त गर्ने प्रयास भएको छ ।
निःसन्देह शक्तिको स्रोत संसारलाई आफु अनुकूल बनाएर फाइदा लिने हो भने सबैले जीवनलाई मर्यादित र अनुशासित बनाउनैपर्छ । आफू अरुको अनुकूल हुन सके मात्र अरु आफू अनुकूल हुन्छन् । हामी सबैले आ-आफ्नो जीवनलाई मर्यादित र अनुशाति बनाई आ-आफ्नो दायित्वलाई मनन मात्र गर्नसक्ने हो भने निःसन्देह समाज आजको जस्तो अशान्त हुने छैन । जहाँ माथिल्लो तहमा रहेका व्यक्तिहरूमै दायित्वबोध हुँदैन त्यहीँ नै बढी समस्या देखापर्दछ । त्यसमाथि झन् उनीहरूमा मुढेबल प्रवृत्ति नै हावी हुने गरेको छ भने त स्थिति बौलाएको बाँदरलाई चर्कने कमिलाले टोकेको अवस्थामा पुग्छ । अहिले भएको त्यही नै हो ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार प्राचीनकालमा दानवहरूले देवताहरूलाई दुख दिएका थिए । यसबाट मुक्ति पाउन छलफलमा जुटेका देवताहरूको शरीरबाट शक्ति निस्केर ठूलै थुप्रो लाग्यो । पछि सोही शक्तिपुञ्जबाट उत्पन्न भएकी माता भगवतीको सहयोगमा उनीहरूले दानवीय शक्तिमाथि विजय पाएका थिए । यो प्रसङ्ग हिजो जति महत्त्वपूर्ण थियो आज पनि यसको महत्त्व त्यति नै छ ।
आज पनि दानवीय शक्तिकै कारण (दानव भनेको कुनै व्यक्तिविशेष नभई प्रवृत्तिको नाम हो) मानवसमाज अशान्त हुन पुगेको छ । हत्या, हिंसा, आतङ्कले सारा विश्वसमाज आक्रान्त छ । यस्तो भयावह अवस्थाबाट मुक्ति पाउन हामीले पनि एकआपसमा मिलेर सत् चिन्तनमा लाग्नैपर्ने भएको छ । नवरात्र पर्व मनाइरहँदा हाम्रो ध्यान त्यतातिर पनि जानैपर्ने भएको छ ।
असोज २०६६
