Skip to content


महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिमा, घर-घरमा, सभा-समारोहमा, प्रतियोगिताहरूमा, सामान्य ज्ञानका सन्दर्भमा, राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ । देवकोटाको स्थान नेपाल बाहिर के-कस्तो छ, उनलाई नेपाल बाहिरको मुलुकका पाठक, समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन्, यो सबैका लगि चासोको विषय बन्नसक्छ । यदाकदा सुनिन्छ र धेरै विद्वान्हरू यस भनाइसँग सहमत पनि देखिन्छन् कि देवकोटाजस्तो विलक्षण प्रतिभा नेपालजस्तो गरिब, र बौद्धिकताको कदर गर्न नजान्ने देशमा नजन्मिएर कुनै अर्कै देशमा जन्मिएका भए आज विश्वसाहित्यमा उनको स्थान धेरै ऊँचो र सम्मानित हुने थियो । राहुल सांकृत्यायनलाई सायद थाह थियो, देवकोटाजस्तो विलक्षण प्रतिभा एक जुगमा एकपटक आउँछ र विश्वलाई नयाँ बाटो दिएर जान्छ । हो सबै लेखक सोफोक्लिस, होमर, दाँते, शेक्सपियर, टोल्सटय र वर्डस्वर्थ हुन सक्दैनन् । उनीहरू लामो कालखण्डमा जन्मन्छन् र संसारलाई ज्ञानको दिव्य आलोकले प्रज्वलित पारेर जान्छन् । प्रस्तुत लेखले नेपाल बाहिर र विषेश गरी पश्चिमी विद्यार्थी, प्राज्ञ र समालोचकहरूको दृष्टिमा देवकोटालाई हेर्ने चेष्टा गरेको छ ।

वास्तवमा देवकोटाको देशमा जति चर्चा भए पनि परदेशमा निश्चय नै कम र फाट्टफुट्ट मात्रै चर्चा भएको छ । हामीले देवकोटाको प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेर यसो भएको हुनसक्छ ।

अमेरिकाको कोलोम्बिया विश्वविद्यालयले प्रकाशित गरेको, डेभिड रुबनद्वारा अनूदित देवकोटाको एउटा कविताकृतिमाथि टिप्पणी गर्दै समालोचक अलेन थ्रेसरलले देवकोटालाई नेपाली साहित्यको वास्तविक विकासका एक महत्वपूर्ण सिल्पी मानेका छन् । उनी भन्छन्ः नेपाली साहित्यको इतिहास पाँच सय वर्षभन्दा पुरानो भए पनि यसको वास्तविक विकास बीसौँ शताब्दीमा आएर मात्रै भएको हो र यो कालका महानतम लेखक लक्ष्मीप्रसाद देवकोटा हुन् । उनले विभिन्न विधाहरूमा रचनाको विशाल निधि तयार पारे र उनी अङ्ग्रेजी छायाँवादी कविहरूबाट प्रभावित थिए । उनीहरूलेझैँ देवकोटाले पनि स्वच्छन्दता, सलिलता र भावपरकतालाई प्राथमिकता दिए ।

देवकोटा हृदयप्रधान कवि हुन् । उनको स्वभाव पनि त्यस्तै थियो । उनी भावनाका लहरमा उन्मुक्त उडान भर्थे र स्वभाव पनि त्यस्तै थियो भनिन्छ । थ्रेसरले देवकोटाको लेखकीय स्वभावको बारेमा यसो भनेका छन- “उनी आˆना रचनाहरूको पुनरलेखन गर्दैनथे, र कतिपय अवस्थामा उनको हस्तलेखन नबुझेर उनका प्रकाशकहरू खाली छोडिदिन्थे ।”

देवकोटाको महत्वलाई नेपालको भौगोलिक सीमाको परिधिभित्र हेरिनु उनका विचारको सार्वभौमिकतालाई खुम्च्याइनु हो । थ्रेसरले देवकोटाको यो पक्षलाई पनि उजागर गरेका छन् उनले भारतीय भूखण्ड र मिश्र, दुवै क्षेत्रका प्राचीन मिथकमा आधारित धेरै लामा पद्य कथा लेख्नुका अतिरिक्त सामाजिक विद्रोह, बालकविता, गान्धीको निधनमा अङ्ग्रेजी सोनेटहरूको एक शृङ्खला, प्राकृतिक सौन्दर्य, पारम्परिक, लोकगायकहरूको अनुकरणमा रचना, र गरिबी र मृत्युमाथिका विलाप आदि विषयमा कविता पनि लेखे ।

नेपाली वाङ्मयमा देवकोटालाई विभिन्न काल र विभिन्न परिस्थितिसँग जोडेर हेरिएको छ । जी. एन. यु. फ्री. डक्युमेन्टेसन अनुमति पत्रअन्तर्गत प्रकाशित नेपाली साहित्यबारे एक अनलाइन लेखमा देवकोटालाई नेपाली साहित्यमा क्रान्तिपूर्व काल भनेर उल्लेखित कालखण्डमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालासँगै अत्यन्त महत्वपूर्ण लेखकका रूपमा हेरिएको छ ।

देवकोटा क्लिष्ट पनि छन्, सरल पनि । उनको भाषा सरल होला तर भाव भने अवस्यै गम्भीर छ । यो यथार्थलाई कतिपय लेखकहरूले ठाउँठाउँमा औंल्याएका छन् । पल्लव रञ्जनले देवकोटाका कविताकृति ‘यात्री’ को अनुवाद गर्नेक्रममा महाकविका बारेमा लेखेका छन्- “देवकोटाका लेखहरूको मूल भावलाई बुझ्नु भनेको हुस्सुमा वाष्प देख्नु वा हजारौँ जुनकीरीहरूको उज्यालो एकैचोटि हेर्नु जत्तिकै कठिन छ ।” जून २२, १९९५ मा पिपल्स रिभ्युमा प्रकाशित एम. आर. रोस्को एउटा लेखमा भावको यो क्लिष्टताका बाबजुद देवकोटालाई नेपालकै सर्वाधिक लेकपि्रय कवि भनिएको छ ।

देवकोटा अङ्ग्रेजीमा पनि लेख्थे र उनको यो खुबीले उनलाई अन्तर्राष्ट्रियरूपमा आफूलाई स्थापित गर्न सहयोग गर्‍यो । निश्चय नै उनका नेपाली कृति वा तिनको अनुवादभन्दा बढी मूलरूपमै अङ्ग्रेजीमा लेखिएका कृतिहरू बाहिर बढी वितरित र चर्चित भए । अक्टुबर ५, २००० मा बीबीसीबाट प्रसारित दक्षिण एसियाली साहित्य विषयक बहसमा देवकोटा र अन्य दक्षिण एसियाली स्रष्टाहरूका बारेमा यसो भनिएको छः हरिवंश राय, मुल्कराज आनन्द, माइकल ओन्दात्जे र लक्ष्मीप्रसाद देवकोटाले अङ्ग्रेजीमा उत्कृष्ट सामग्रीको श्रृष्टि गरेका छन्, जुन आफैँमा विशिष्ट छन् तर अङ्ग्रेजी भाषामा एउटा महाकाव्य र धेरै कविता लेख्ने पहिला नेपाली लेखक देवकोटा र हिन्दी कविहरू पन्त, प्रसाद र निरालामा एउटा छुट्टै मिठास् पाइन्छ, जसले उनीहरूका रचनालाई अन्य अङ्ग्रेजी भाषाका लेखकहरूका रचनाभन्दा पृथक् बनाएको छ ।

देवकोटा महान् छन्, यस कुरामा मतभिन्नता छैन तर यस्ता विलक्षण प्रतिभा विषेश कार्यक्रमको सेरोफेरो र पाठ्यक्रमले सिर्जना गरेका बाध्यात्मक स्थितिबाहेक आज आम पाठकको चयनमा पर्दैनन् भन्ने कुरालाई स्वदेशी मात्र नभई विदेशी विद्वान्हरूले पनि औँल्याएका छन् । २००३, अपि्रलको अन्तिम सातातिर हिमाल एसोसिएसनले काठमाडौँमा आयोजित नेपाली साहित्यबारेको एक अन्तर्क्रियामा माइकल हटले देवकोटाको ऐतिहासिक महत्व ठूलो भए पनि उनी अहिलेका पाठकको चयनमा पर्न छोडेको बताएका थिए ।

देवकोटाको योगदानलाई साहित्यमा जति महत्वका साथ हेरिन्छ, नेपाली भाषाको परिस्कार र सामाजिक मूल्य मान्यताको जगेर्नाका सन्दर्भमा पनि उत्तिकै महत्वका साथ हेरिन्छ । कोर्नेल विश्वविद्यालयले एसियाली भाषाको पाठ्यक्रम निर्देशिकामा नेपाली भाषाको उल्लेख गर्दै भनेको छ- “लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य र लेखनाथ पौड्यालजस्ता लेखकहरूले नेपाली भाषालाई एक साहित्यिक भाषाको रूपमा स्थापित गरे ।” उता देवकोटाको सामाजिक मूल्यप्रतिको प्रतिबद्धताका बारेमा पनि पश्चिमी जगत्मा यदाकदा चर्चा गरिएको पाइन्छ । अक्स्फोर्ड इन्स्टिच्युट अफ एजिङ्ले प्रकाशित गरेको एउटा कार्यपत्रमा लेस्ली कर्कलीले देवकोटाले नेपालमा ज्येष्ठ नागरिकप्रति सम्मान भाव सिर्जना गराउनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *