११ फागुन, २०७४
कोहलपुर, बाँकेमा दोस्रो पटक कवि नवराज पराजुली सुनिएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका अध्ययनरत विद्यार्थीहरुको संयोजनमा बिहीबार कार्यक्रम आयोजना गरिएको छ ।
अघिल्लो पटक नेपालगंको महेन्द्र बहुमुखि क्याम्पसमा उनले आफ्ना कविताहरू वाचन गरेका थिए । कोहलपुर मेडिकल कलेजको हलमा आयोजना भएको ‘डाक्टरहरुमाझ कविता कन्सर्ट’मा ‘सगरमाथाको गहिराई’बाट कवि नवराज पराजुलीले आफ्नो कविता वाचन सुरु गरेका थिए । उनले मंचमा उभिएर डाक्टरहरू माझ पहिलो पटक ‘रुख’, ‘मैझारो’, ‘ह्याब्बी बढ्डे’ कविताहरू सुनाए ।
कवि नवराज पराजुलीको कविताले रोगीहरुको रोगलाई पनि निको पार्न सक्ने शक्ति भएको मेडिकल कलेजका फिजिसिएन डा.श्याम वि.क.ले बताए । कार्यक्रमका संयोजक डा. देवेन्द्र आचार्यले यस्ता कार्यक्रमहरुले चिकित्सकहरुलाई रिफ्रेस गराएको बताए । उनले, पराजुलीका कविताहरू चिकित्सकहरुसम्म पुर्याउनु नै मुख्य उद्देश्य रहेको पनि बताए ।
नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि डा. दिनेश श्रेष्ठ, नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक तथा कार्यक्रमका सभापति डा. सुमित पाण्डे लगायतले नवराजका कविताहरू ध्यान दिएर सुने ।
कवि पराजुलीले आफ्ना कविताहरू वाचन गर्दा अधिकांशका आँखा रसाएका थिए । उनका कविताले जो कोहीलाई पनि पगाल्न सक्ने डा. अस्मिता गौतमले बताइन् । डा. निरज आचार्य, डा. ऋषि भट्ट, डा. दिपेन्द्र के.सी., डा. प्रज्ञा गौतम लगायत, मेडिकल कलेजमा अध्ययनरत २००भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको आयोजकले जनाएको छ ।
कवि पराजुलीका कविताहरू सुन्न डाक्टरहरुसँगै युवा नेताहरू नरेन्द्र न्यौपाने, सूर्य ढकाल, अवराज खड्का लगायत कवि लेखक महानन्द ढकाल, शंकर अशान्त, रामदेव पाण्डे, कपिल अन्जान लगायतको उपस्थितिरहेको थियो ।
