Skip to content


छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

यी त भए सबै सम्पन्नताका कुराहरु तर पनि उसकी आमाको अगाडी भने एउटै कुरा आईरहन्थयो त्यो अर्धवैसे योगीका कुरा । त्यो योगीले भनेको थियो ”तेरो छोरो माग्ने हुन्छ” । आजभोली उनलाई यो कुरा सम्झनामा आउँदा त्यो मोरो योगी एकपटक यो आँगनमा आए उसको भविष्यवाणीको मज्जासंग धज्जी उडाउने रहर चलेको थियो ।

नभन्दै एक बिहान त्यो योगी उनीहरुको घरमा आईपुग्यो । बुढीआमाले अहिले त्यो बुढो भैसकेको योगीलाई देख्ने बित्तिकै पुराना कुराहरु याद गराईन र बेस्सरी झपारिन । बुढो योगी मुसुक्क हाँस्यो तर आफ्ना भविष्यवाणी फिर्ता लिन तयार भएन । उसले भन्यो तेरो छोरो यथार्थको माग्ने हो । योगीले उसको छोरो माग्ने भएको यसरी प्रष्टायो “तेरो छोरो विदेश पठाईदिन अनुरोध गर्दै बिहान बिहान उसका हाकिमहरुको घरमा सहयोग माग्न जान्छ, घरको कामको लागी कार्यलयको गाडीहरु मागेर चलाउँछ, बाहिरका सेवाग्राहीहरुका काम गरे बापत उनीहरुसंग कमिसन माग्छ या त आफ्नो हिस्सा भनेर माग्छ, पसलेहरुसंग कामका आधारमा विषेस सहयोग माग्छ । तलाई याद छ तेरो छोरोको बिहेको समयमा त र तेरो छोरो धेरै दाईजो कसरी माग्ने भन्ने चिन्ताले पीडित थियौ । ए बुढिया तेरो छोरो अत्याधिक समय कोसंग के र कसरी माग्ने भन्ने सोचाईमा व्यस्त हुन्छ । आफ्नो पेट पाल्न माग्दै हिड्ने मान्छेहरु भन्दा अत्याधिक सम्पत्तिका लागी माग्दै हिड्ने तेरो छोरा जस्ता मान्छेहरु देश तथा समाज दुवैका लागी हानिकारक हुन । त्यसैले तेरो छोरो यथार्थको माग्ने हो र समाजका लागी हानिकारक माग्ने हो ।”

उसकी आमा सपनामा योगीले भनेको कुरा सम्झेर बिहानीमा नराम्रोसंग झस्किन ।

२० फेब्रुअरी २०१०, शनिबार, दोहा, कतार
Khadkabinod02@yahoo.com

Source: Kantipur, Qatar Edition

Leave a Reply

Your email address will not be published. Required fields are marked *