हाम्रो निम्ति अनौठो महादेश हो- अमेरिका । कारण हाम्रो लागि यहाँका कलासंस्कृति (चालचलन), नियमकानुन, घरव्यवहार, भौतिक विकास आदि हरेक कुरा अचम्मलाग्दा छन् । प्रथमतः संयुक्त परिवारमा आमाबा, दाजुभाइ, दिदीबहिनी आदि आफन्तको ममतामा हुर्केबढेका, सँगै बसी पौरख पोखेका र उन्नति देखेभोगेका हामीलाई यहाँको व्यक्तिवादी जीवनशैली देख्दा अनौठो लाग्छ । यहाँका अधिकांश युवायुवती एक्लै वा दुक्लै आफ्ना बाबुआमा तथा आफन्त छोडी स्वतन्त्रतासाथ डेरामा बसेका पाइन्छन् । हामीलाई यो पनि अनौठोजस्तो छ । किनकि हुर्कायो, बढायो भरखर उमेर पुगेको छोेरो वा छोरी बाबुआमा छोडी बस्दैछन् । कारण उनीहरू घर नभएर विपन्नतावश यस स्थितिमा बस्न पुगेका होइनन् । सम्पन्नता छ, ठूलो घर छ, खाली कोठाचोटा पनि छन् । बाआमासँग मायाप्रेम, मेलमिलाप र सद्भाव पनि छ तर तन्नेरी उमेरका उनीहरू स्वेच्छाले घर छाडी डेरा बनाई आफ्नो काम (पढाइ वा अन्य व्यवसाय) मा लागेका पाइन्छन् । अनि यसैमा नै उनीहरू आफ्नो स्वतन्त्रता, स्वाभिमान, गौरव र आत्मसम्मान सम्झन्छन् ।
यहाँ प्रवेशिका अर्थात् प्राथमिक शिक्षा भनेको बाह्र कक्षा हो । यो निःशुल्क छ र अत्यावश्यक छ । बाह्र कक्षासम्म पढ्न किताब, कापी र यातायात सुविधा आदि सबै सरकारको तर्फबाट नै निःशुल्क पाइन्छ । बालबालिकाको खानपान आदि भने अभिभावकहरूको नै जिम्मा हुन्छ । यो शिक्षा अनिवार्य छ, सारा देशवासीले लिनु आवश्यक मानिन्छ । अतः प्रवेशिका गरेका अठार वर्ष पुगिसकेका लगभग सबै नागरिक प्रायः आफ्नो जीवनबाटो रोज्नसक्ने भइसकेका सम्भिmन्छन् । यसपछि उनीहरूको जिन्दगीको यात्रा एकप्रकारले जीवनदिशाका निश्चितताको गोरेटोमा पुगिसकेको बुझिन्छ । पढाइ छोडी जागिरतिर लाग्ने, कुनै सानोतिनो प्राविधिक लाइन पक्रने र पास गरी जागिर वा व्यवसायमा आबद्ध हुने अथवा पढाइ नै अघि बढाई डाक्टर, इन्जिनियर, विशेषज्ञ आदि बन्ने अथवा स्नातकोत्तर गरी क्याम्पस वा विश्वविद्यालयतर्फ लाग्ने, विद्वान्-प्राध्यापक बन्ने इत्यादि । सोच्नुस् के गर्ने ? के हुने ? आफ्नो रोजाइमा । यसनिम्ति पैसाले रोकिन्न, सरकारबाट नै बिनाधितो सहुलियतमा ऋण पाउन सकिन्छ । यसरी आफ्नो लाइन पक्री स्वतन्त्रतासाथ आत्मनिर्भरतातर्फ उन्मुख बन्न खोज्छन् यहाँका युवायुवती । नावालिक (१८ वर्ष) काटेकाहरूको जीवनयात्राको यो स्वतन्त्र सोच हो । जसमा त्यहाँ अभिभावकहरूको रायसल्लाह पनि हुनसक्छ तर यस्तो प्रायः कमै हुन्छ । यसै क्रममा विस्तारै उनीहरूको मायाप्रीति बस्छ, ढिलोचाँडो विवाह पनि हुनसक्छ तर यो प्रेम सौहार्द र अटलचाहिँ बुझिन्न । यहाँ दुवै स्वार्थमा हुन्छन् र मस्तीमा पाइन्छन् । हाम्रोजस्तो देवता, पृथ्वी, अग्नि र आकाश साक्षी राखी ‘जीवनभर घनिष्ठ साथी भएर मेरो धर्म र निष्ठामा पूरापूर हित्तचित्त मिलाइरहूँ (सप्तपदी) जस्ता प्रतिज्ञा यहाँ हुन्न । यहाँ पतिपत्नी क्षणिक बन्छन् मन नपरे फेर्छन्- कपडा फेरेजस्तै ।
खासगरी नावालिक केटाकेटीहरूको जिम्मा घरपरिवार र सरकारमा हुन्छ । यिनीहरूबारे केही नियम र कर्तव्य छन् ।
(क) यहाँ बालअधिकारनिम्ति ठूलो चासो राखिन्छ तर यिनका आफ्नै कर्तव्य पनि छन् । प्रथमतः बालबालिकाको संरक्षण, लालनपालन र उत्तरोत्तर विकासमा चासो र सुविधा दिइन्छ । अतः यिनले आधिकारिक रूपमा काम गर्नुहुन्न र काम लगाउने व्यक्ति दण्डभागी बन्छ ।
(ख) यिनलाई सवारीसाधनको लाइसेन्स मिल्दैन र गाडी चलाउन पाइन्न ।
(ग) यिनले जाँडरक्सी, चुरोट आदि खालका मादकवस्तु खान पाइन्न । यिनलाई पूर्णस्वतन्त्रता पनि छैन । अतः आफूखुसी हिँडडुल गर्न, मोजमस्ती लिन पाइन्न इत्यादि । यो यहाँको कानुन नै हो, नीतिनियम हो ।
केटाकेटीको सरकारले पनि उनीहरूप्रति विशेष ख्याल राख्छ, संरक्षण दर्शाउँछ । यस्ता केटाकेटीलाई संरक्षकले ध्यान नपुर्याई रुवाए, हप्काए बालसुलभ मस्तिष्कमा आघात पर्नसक्छ, विकासमा अवरोध पुग्नसक्छ भन्ने यहाँका बालविशेषज्ञहरूको भनाइ पाइन्छ । अतः साना नानी (केटाकेटी)प्रति खेलाँची गर्ने, बालसंरक्षण एवं विकासमा लापरबाही देखाउने अभिभावक विशेषतः बबुआमालाई तुरुन्तै कारबाही (थुन्ने-जरिवाना गर्ने आदि) हुन्छ । यहाँ कानुन अर्थात् नीतिनियम भनेको नीतिनियम नै हो, सानोठूलो, धनीगरिब समान छन् । कुनै भेदभाव वा सोर्सफोर्स भन्ने कुरै छैन ।
वि.सं. २०५७, ०५८ सालतिरको कुरा ः जर्ज बुस भरखर राष्ट्रपति भएका थिए । अठार वर्ष टेक्तै गरेकी बुसकी छोरी जोनले रक्सी खाई कार घुइँक्याएर गु्ड्दै साथीकहाँ जान हिँडिन् । सीमित गति नाघेर घुइँकिएको कार प्रहरीले रोक्न खोजे, वास्तै नगरी कार अघि बढ्यो । अन्ततः प्रहरीको पक्राउमा कार परेरै छोड्यो । जाँचबुझ, सोधपुछ र परिचयपत्रको आधारमा थाहा भयो, राष्ट्रपतिपुत्री भन्ने कुरा । आखिर माथि कुरा पुग्यो, सोधपुछ भयो । उत्तर आयो, “नियमानुसार कारबाही गर्न कुनै धुकचुक वा सन्देह नलिनू ।” अन्ततः जोनले जरिवाना तिर्नुपर्ने र केही दिन पुलिसचौकी कुर्नुपर्ने भयो, कष्टडीमा रहनुपर्यो । यो नीतिनियमका कारबाहीबारेको सानो चर्चा हो । अनि नेपालीहरूले अनौठो मान्नुपर्ने र बुझ्नुपर्ने यथार्थ पनि हो ।
अर्को कुरा ः अमेरिकाको हरेक क्षेत्रमा परम्परागत चरित्रता र नैतिकताप्रति ठूलो महत्त्व मानिन्छ, गहिरो रूपले हेरिन्छ । यस रूपमा तुलना गर्दा वस्तुतः कानुनको बुँदा यहाँ सामान्य आधारमात्र हुन् । अनि नैतिकताचाहिँ हो यथार्थ कुरा, साथै जीवनसवाल । यहाँको व्यक्तिगत परिचय-अभिलेखअन्तर्गत जो कसैको चरित्रमा कुनै पनि सानो धब्बा कोरिन पुग्यो भने त्यो जीवनभरको नै नराम्रो दुश्चरित्र र अनैतिकताको रेकर्ड बन्न पुग्छ । त्यस्तो मानिस यहाँ सरकार वा सामाजिक संस्था जो कसैको पनि विश्वासपात्र बन्न सक्दैन । सम्भवतः यहाँनेर छोरीको मामलाबाट राष्ट्रपति बुसले आफूमा चारित्रिकताको धमिलो आरोप कतैबाट नआओस् भन्ने पनि सोचे होलान् । अर्को प्रसङ्ग ः नेपाली परम्परा र चलन अलग छ, आफ्नै पाराको छ । हामीकहाँ महिलाप्रतिको सोच साँघुरो छ, सङ्कीर्ण छ । अनि त्यसैको परिणाम उनीहरू अनुदार पाइन्छन् । साथै सीमित अन्धविश्वास र सोचमा खुम्चिएका छन् । अतः परिस्थितिवश यहाँ कहीँ कतै नचाहँदा-नचाहँदै कुनै तन्नेरी-तरुनीसँग ठोक्किन पुगे ऊ जङ्गन्िछे, अभद्रता दर्शाउँछे र गाली गर्छे, चप्पल उजाउनसमेत ऊ बेर मान्दिन । तर, यहाँ त्यसो होइन, विनम्रता छ, सौम्य र शालीनता छ । एउटा घटना ः हामी मलमा सामान किन्न घुम्दै थियौँ । बेलुकीको बेला, भीड थियो । म अचानक एउटी खाइलाग्दी स्वास्नीमान्छेसँग ठोक्किन पुगेँ । नयाँ र नौलो मान्छे, के गर्ने ? कसो गर्ने ? आत्तिएँ । तर, ती भद्र महिला सावधान बन्दै क्षमा माग्छिन्, ‘सरी’ । मलाई लाज लाग्छ, समालिँदै र विनत बन्दै भन्छु ‘धन्यवाद’ । यो यहाँको व्यवहार, चरित्र र नैतिकताको सानो सङ्केत हो ।
हाम्रो परम्परामा जूठो खानु भनेको पत्नीले पतिको मात्र हो । यहाँ अरूहरूको जूठो स्त्री, पुरुष कसैले पनि खाँदैनन् । हिन्दु संस्कृतिअनुसार पतिपत्नी आधाआधा अङ्गको रूप हुन् र अन्ततः दुवैको मेल एउटा पूणर्ाङ्ग हो । अतः परस्पर प्रेम र एकत्व अभेद्य मानिने हुँदा यहाँ जूठो खानु स्वाभाविक मानिन्छ, विवाहविधिको क्रममा नै पत्नीलाई ससम्मान पेवा (दाइजो रूपको व्यक्तिगत धनमाल) दिई जूठो खुवाइन्छ । यसबाहेक अरूको जूठो खाने कुरामा हामी विशेष चासो राख्छौँ, नाकनिक गर्छौं । यहाँ विश्वास गरिन्छ-जूठो खानाले रोग सर्ने, लागेलगन भए सो पनि सर्नसक्ने, दुःख बिमार लाग्ने, इत्यादि । यसैले हाम्रो पारम्परिक चलनमा जूठोबारे निकै चासो राखिन्छ । यस विषयका शब्द-शब्दार्थमा उत्सुकता देखाइन्छ । जस्तैः जूठो, जूठोचुलो, जूठोचोखो, जूठोपुरो आदि । यहाँ यी शब्दार्थको निकै ख्याल गरिन्छ, मतलब राखिन्छ, खुलदुलीसमेत अपनाइन्छ । यसरी जूठोप्रति भएको विशेष चासो र व्यावहारिकताले गर्दा हाम्रो भाषामा ‘जूठो’ शब्दका विविध अर्थ र सङ्केत छन् । यस शब्दको सामान्य अर्थ हुन्छ- (क) कुनै निकटतम नातेदार स्वर्गे भएम्ाा लाग्ने जूठो । (ख) एक अर्कोले मुखै हाली खानुबाट र लाटलुटबाट भएको जूठो । (ग) भात, कोदाको ढिँडो आदिबाट बिटुलिई हुन गएको जूठो (घ) एकअर्कोको मुखै हाली खाएर रहेको पुरापात इत्यादि । अमेरिकामा जूठो भन्ने कुराको कुनै वास्तै रहेनछ । यहाँ चिनाजानी हिमचिमको होस् वा भरखर चिनिँदै गरेको होस्, जे जस्तो भए पनि एउटाको जूठो अर्कोले खान, एउटै भाँडोमा जूठो हाली झिक्तै खाँदै गर्न कुनै घिन वा सरम र सङ्कोच मान्ने वा अनकनाउने कुरो रहेनछ । यहाँ जूठो सराबरी छ, सामान्य छ ।
विसं २०६५ को सुरुतिर हामी अमेरिकाको ‘फ्लोरिडा स्टेट’ पुगेका थियौँ । यो अमेरिका महादेशका पचास राज्यमध्ये समुद्रकिनारस्थित रमाइलो राज्य हो । यसअन्तर्गत धेरै ठाउँ घुमाए छोराबुहारीले । यसै क्रममा एटलान्टिक महासागर पामबीच बन्दरगाहनेरै गई पानीजहाज चढी चार पाँच घन्टा घुम्ने काम पनि भयो । त्यस्तै इलेक्टि्रक बोट चढी समुद किनारका आवास हेर्दै घन्टौँ घुमियो । यही घुमाइको क्रमकै उदेकलाग्दो एउटा प्रसङ्ग हो- सूर्यस्नान । आयुर्वेदमा सूर्य स्नानलाई ठूलो महत्त्व दिइएको छ र चर्मरोग निवारक उत्तम स्नान मानिएको छ । ०६५ भदौ २९ गते अपराहृन, छोरा डा. विद्याराजले भने, “लौ हिँड्नुस्, पामबिच डाउन-टाउन घुम्ने ।” हामी तयार भयौँ । यहाँ घुम्नु-हिँड्नु भनेको कारमा गुड्नु हो । अनि ‘डाउन-टाउन’ भनेको त्यहाँको मुख्य सहर एवं बजार क्षेत्र हो । हामी पाम बिचको सहर हेर्दै घु्म्यौँ । आवासक्षेत्रमा बढीमा तीन तलाका भन्दा अग्ला घरै थिएनन् । त्यो बस्नाका लागि सुविधापूर्ण क्षेत्रको रूपमा तयार गरिएको हु्ँदो रहेछ । सीमित आवतजावत, शान्तस्निग्ध वातावरण, स्वच्छ, स्वस्थ र आनन्ददायी स्थिति कायम हुनुपर्छ भन्ने आशयबाट निर्मित स्थान रहेछ । अतः यहाँ पसल निषिद्ध थिए । आनन्दले बस्नु, घुमफिर गर्नु, व्यायाम र पौडी खेल्न, फुटबल-बास्केटबल, भलिबल आदि खेल्न यहाँ निश्चित ठाउँ थिए । यहाँ शान्त थियो, कतै होहल्ला थिएन । यसबाहेक डाउनटाउनको स्वरूप नै अलग बुझिन्थ्यो । ठूलाठूला पसल, होटल, लज क्षेत्र थियो यो । यहाँ तीस-चालीस तलाका अनौठा-अनौठा मोडेलका विचित्र घरहरू थिए । यहाँ सहर हेर्दै र घुम्दै हामी समुद्रीकिनार पुग्यौँ ।
यो समुद्रकिनार भन्नुमात्र थियो, ठूलो सामुदि्रक भङ्गालो, समुद्र नै चाहिँ थिएन । वास्तवमा समुद्रकिनारमा नै रहेको देश-फ्लोरिडाबासीका लागि समुद्र, समुद्रीकिनार र त्यसको सौन्दर्यगत विशेषता हेर्नु नै के थियो र ? हामीले पामबिचदेखि समुद्र किनारैकिनार ‘कि वे’ सम्म पुगी सामुदि्रक रमझम र लजहरूको रिमिझिमीसमेत देखेबुझेका थियौँ । हामी नेपाली धार्मिक छौँ । समुद्र मन्थनका महिमा गाउँछौँ, कथा भन्छौँ, समुद्रलाई देवता मान्छौँ, समुद्रको त के कुरा, एउटा नदीसम्मको महत्त्व र उपयोगिता बुझ्न भने सक्दैनौँ । तर अमेरिकाले महासागरलाई महिमावान् बनाएको छ । राम्रो जतन गरेको छ । यहाँ फोहोर फाल्न, जथाभावी लुगा धुन, बिटुल्याउन पाइन्न । ठाउँठाउँमा पार्क छन् । बस्न, आराम लिन, सावधानीसाथ भोजभतेर खान, रमाइलो गर्न बनाइएका स्थान छन् । तर जथाभावी फोहर गर्न निषेध छ, निगरानी छ । यहाँको यस भङ्गालोलाई नगरक्षेत्रले व्यवस्थित गरी पौडी खेल्ने, नुहाई सूर्यस्नान गर्ने, आनन्द लिने ढङ्गले अनुकूल मिलाइएको रहेछ । त्यहाँ तन्नेरी युवायुवती, बूढाबूढी र केटाकेटी सर्वाङ्ग नाङ्गै भई नुहाएका, सूर्यस्नान गर्दै पल्टिएका र आफ्नै मस्तीमा रमाएका देखिन्थे । हामी उनीहरूको स्थितिबाट झसङ्ग र अचम्म भयौँ, टोलायौँ । मेरी बुढियाले “कस्ता नकचरा, बेसरमी लाखु रहेछन्” भनी मुख फाली । मैले विस्तारै छोरालाई “के यस्तो फोहर ठाउँ देखाउन ल्याएको ?” भनेँ । अनि “यो पनि त यहाँको संस्कृति हो-परम्परा नै हो, बुझ्नु-थाहा पाउनुपर्ने । चेतना प्राप्तिदेखि गुप्त राखेकाले हामीलाई गुप्ताङ्ग प्रदर्शनमा लाज छ तर उनीहरूलाई साधारण, वास्तविकता यत्तिमात्र हो । वास्तवमा यिनीहरू सूर्यस्नानको महत्त्व बुझ्छन् र फाइदा लिन्छन् । अतः जलस्नानपश्चात् सूर्यस्नानमा समर्पित छन् । अश्लील तथा उच्छृङ्खल छैनन्, शिष्ट र भद्र पनि छन् ।” छोराले संयमित बन्दै उत्तर दियो । वस्तुतः विवादको कुरै के थियो र ? । यताउता घुम्दै हामी बेलुकीतिर आवास फक्र्यौं ।
वि.सं. २०६५ को दसैं (२१ असोज) आफ्नो परिवारसहित तथा फ्लोरिडास्थित नेपाली दाजुभाइबीच पनि मनाउने भन्ने सोचले हामी अमेरिका पुगेका थियौँ तर मानिसहरूमा भएको यहाँको बेफुर्सदी अनौठोलाग्दो रहेछ । नेपाली गाउँघरमा असार, मङ्सिरबाहेक गफ, ठट्यौली, हाँसखेल र घुमफिरमा समय बिताएका नेपालीहरूमा भएको यहाँको व्यस्तता र तल्लीनता देख्दा धन्य जीवन, धन्य देश भन्ने अनुभूति ब्यँूझियो । अमेरिकाको व्यस्तताबीच ज्यादै मेहनती र बेफुर्सदी बनी नेपाली युवायुवती पनि यहाँ श्रमशील र जिम्मेवार बनेका रहेछन् । घन्टे जागिरले यिनीहरूलाई अझै तल्लीन र सक्रिय बनाएको रहेछ । यस परिस्थितिबीच शनी र आइतबारको अनुकूलता मिलाउँदै नेपाली दाजुभाइ एकत्रित बनी दसैँ चाड मनाउन तल्लीन भए । साराको सल्लाह र सक्रियतामा अनुकूल हल भाडामा लिइयो । खसीको बन्दोबस्त मिलाइयो र दुर्गाभवानीको मूर्ति स्थापन पनि भयो । यसरी भवानीको पूजाआजा, बलि र स्तोत्रपाठपश्चात् हाम्रो राष्ट्रिय पर्व दसैँको महिमाबारे पनि चर्चा भयो ।
साथै कवितापाठ, चुट्किला, हस्यौली, ठट्यौली, नाचगान आदि विविध रमाइला कार्यक्रम पनि भए । भोजनको प्रबन्ध पनि भयो ‘बफे डिनर’ को रूपमा । यसरी अमेरिका-फ्लोरिडा पामबीचको नेपाली पर्व नेपाली दाजुभाइको हेलमेलमा आत्मीयता र उल्ल्ाासपूर्वक रमाइलोसँग मनाइयो ।
यो समय अमेरिकामा चुनावी सरगर्मी बुझिन्थ्यो । यहाँको चार चार वर्षे राष्ट्रपति पदको चुनावी प्रतिस्पर्धाको लहर जोडतोडले चल्दैथियो । यहाँ डेमोक्र्याटतर्फबाट हिलारी र ‘ओबामा’ चुनावमा प्रतिस्पर्धी बनी भिडेका थिए ।
यहाँको जनभेला, सभा र भाषण, प्रचार तथा नाराबाजी आदि नेपाल वा भारतको जस्तो विशेष भीडभाड र होहल्लाको हुँदो रहेनछ, भलाद्मी पाराको शान्त, शिष्ट र सौम्य । यसरी अनौठा चालचलन तथा व्यवहार हेर्दै र घुम्दैमा हप्ता र मैना बित्दै गए । दीपावली र तिहारको रिमिझिमी पनि विस्तारै बिदा भयो ।
हामी नेपाल फर्कियौँ । पछि थाहा भयो, बाराक ओबामा राष्ट्रपति पदमा विजयी भए ।
