जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो ।
“म यो वनको राजा हुँ, मेरो आदेश सबेले मान्नुपर्छ ।” उसको आदेश कडा हुन्थ्यो । जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो । कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन । यसले गर्दा सबै प्राणीहरू साह्रै चिन्तित थिए । यस्तो आतङ्कबाट कसरी छुटकारा पाउने भन्ने बारेमा समय समयमा गोप्य छलफल भइरहन्थ्यो तर समस्याको समाधान निस्कन सकेको थिएन ।
एक दिन एउटा खरायोले जुक्ति निकाल्यो –
जङ्गलका किनारमा एउटा मन्दिर थियो । त्यसमा साना ठूला थुप्रै घण्ट थिए । खरायोको योजनामुताबिक चङ्खे बाँदरले उक्त मन्दिरबाट एउटा राम्रो बज्ने घण्टी निकाल्यो र बजाउँदै हिँड्न थाल्यो ।
“यो अनौठो आवाज के को हो ?” सबै जनावरलाई एकै ठाउँमा जम्मा गराएर सिंह गर्जियो ।
“सरकार एउटा बाँदरले स्वर्गबाट ल्याएको भन्दै एउटा नौलो बाजा बजाउँदै हिँडिरहेको छ ।” अलि परै बसेको खरायोले भन्यो ।
” जुन बाजा सरकारका घाँटीमा परेको छैन, उक्त बाजा बजाएर हिँड्ने अधिकार त्यसले कसरी पायो ?’ पर रुखको आड लागेर बसेको मृगले प्रश्न गर्यो ।
“रिसानी माफ होस् सरकार उक्त घण्टी हजुरको घाँटीमा मात्र शोभायमान हुन्छ ।” डराइ डराइ लोखर्केले भन्यो ।
“त्यो फटाहा बाँदरलाई तुरुन्त हाजिर गराउनु ।” सिंहले आदेश जारी गर्यो ।
केही समयपछि डराएको अभिनय गर्दै र घाँटीमा भिरेको घण्टी बजाउँदै बाँदर हाजिर भयो ।
“त्यो घण्टी मेरो घाँटीमा लगा ।” रिसाउँदै सिंहले भन्यो ।
“हो सरकार सुन्दर घण्टी हजुरका घाँटीमा हुनुपर्छ ।” सबैले एक स्वरमा बोले ।
मलिनु अनुहार बनाएको अभिनय गर्दै बाँदरले आफ्ना घाँटीबाट घण्टी निकाल्यो र बलियोसँग सिंहका घाँटीमा बाँधिदियो । त्यो खुसीयालीमा उपस्थित सबै प्राणीहरूले ताली बजाउँदै सिंहको जयजयकार गरे । सिंह मख्ख पर्यो ।
दुई/चार दिन घण्टीको आवाज निकै सुनियो तर पछि विस्तारै कम हुँदै गयो ।
घण्टी बज्न छोडेपछि घण्टी खोज्दै गएका प्राणीले देखे उक्त घण्टी मृत सिंहको घाँटीमा आरामले बसिरहेको थियो ।
शनिबार, गोरखापत्र
चैत्र ७, २०६६
