मेरो मानसपटलका स्पर्शहरूले
तिम्रो सुन्दर बस्तीहरूलाई छिचोल्दै
मेरा अन्तरहृदयका चाहानाहरूलाई समेट्दै
जीवनका अनेकन दुःख पीडाहरूलाई खेप्दै
सिर्जनाका कालान्तर यात्राहरूमा
अचेल म रोवर्ट भएको छु ।
प्रेमको शाब्दिक अर्थहरूमा
थुप्रै बिचार, विमर्श र बिश्लेषण अनि
मिलन विछोडको समागर्मीबाट
हृदयको अनवरत व्याख्या गर्न
आदर्शवादी प्रेमविज्ञ बन्ने अठोटसँगै
अचेल म रोवर्ट भएको छु ।
प्रेम प्राप्तिका लागि मात्र नभएर
त्याग र बलिदानमा पनि सिञ्चित हुनुपर्छ
मनभित्रका साँघुरा सिमाहरूलाई नाघेर
प्रस्फुटन हुनुपर्छ, उम्रनुपर्छ आफ्नै छातीबाट
यस्तै प्रेम प्रतिक बन्ने ध्येयहरूमा
अचेल म रोवर्ट भएको छु ।
धेरै दिनदेखिका प्रेमी सपनाहरू
चैते हुरी, साउने भेल अनि समुन्द्री छाल बनेर
उर्लदैछ, बढ्दैछ समीपमा तिम्रो शरीरतिरै
नजानिँदो वियोगले झ्वास्स ब्यूँझाउँछ
पाउँछु एकान्त मात्रैको अनुभूति अनि
अचेल म रोवर्ट भएको छु ।
