Skip to content


बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाले रुमालअअअ २

बेनीको बजार गीति सङ्कथनमा एउटी युवतीको आत्मगत प्रस्तुति छ । यसमा विशिष्ट लयले युवतीको संवेगात्मक स्थितिलाई प्रखर बनाएको छ । यस संकथनकी समाख्याता युवतीको आत्मकथनबाट सामाजिक जटिलतामा जेलिएको पारिवारिक द्वन्द्वको अवस्था उद्घाटित भएको छ ।

गीतको प्रारम्भ पहलमूलक छ । किरेमिरे जाले रुमालले उसको प्रणय संसार धूमिल भएको सङ्केत गर्दछ । रुमाललाई नेपाली समाजमा मायाको चिनोका रुपमा लिइन्छ । माया भएतिरै नजर केन्द्रित भएको बताएर युवतीले प्रेमीप्रतिको आकर्षणलाई दर्शाएको पाइन्छ । माया भएतिरै नजर रहेको अभिव्यक्तिले युवतीको मनस्थिति र प्रेमीप्रतिको समर्पणलाई प्रस्तुत गरेको छ ।

सह-सम्बन्धबोधक सार्वनामिक क्रियाविशेषणहरू जता …. त्यता गीतका स्थायी अंश पनि हुन् । यिनलेे युवती र उसको प्रेमीको सम्बन्धलाई निर्देशित गरेका छन् ।

मायाको चिनो रुमाल किरेमिरे हुनु अन्योल र समस्याको सङ्केत हो । त्यही अन्योल र समस्याको स्थितिप्रति टिप्पणी गर्दै विषयवस्तु प्रकट गरिएको छ । बेनीको बजारमा मायालु जता जता जान्छ उतै आफ्ना नजर पनि जान्छन् तर के गर्नु सम्बन्धको रुमाल भने स्पष्ट बुनिएको छैन, किरेमिरे पो छ । लोक सम्पदाका रूपमा रहेको गीतको स्थायी भाव यही हो । यसको केन्द्रियतामा रहेका अन्तराहरुले मूल कथाको समस्यालाई सङ्केत गरेका छन् ।

कुर्दा नि लुरुरु
सम्झिल्याउँदा रुन्छ मन धुरुरु
किरेमिरे जाले रुमालअअअ

प्रतिकूल स्थितिले युवतीलाई अधैर्य बनाएको छ । प्रेमीलाई लामो समयसम्म पर्खनु पर्दा युवतीमा ग्लानि, वेदना, विषाद, मर्म र पीडाको तीव्र अनुभूति थपिएको छ । मन धुरुरु रोएको कुरा छ । सम्बन्धको रुमाल किरेमिरे भएको स्थायी भावको खुलासा युवतीले यस अन्तरामा आएर गरेको पाइन्छ । यसमा युवतीको उदासीनता घनीभूत भएको छ । त्यसका पछाडि प्रतीक्षासँगै आमाको असहमति पनि कारक रहेको देखिन्छ ।

गीतको कथासंसारमा सन्दर्भ पात्रका रुपमा युवतीका आमा र प्रेमी आएका छन् । तिनीहरू श्रोता वा पाठक सामु सोझै नआएर युवतीको भनाइका माध्यमबाट मात्र आएका छन् । गीतमा युवतीको प्रेमीको दृष्टिकोण र अभिवृत्ति शून्य छ । युवतीको प्रेमी पूरै असन्दर्भित स्थितिमा रहे पनि युवतीकी आमाको दृष्टिकोण र अभिवृत्ति भने युवतीकै मूल्याङ्कन र आत्मप्रक्ष्ेापणमार्फत प्रस्तुत भएको छ । यो कुरालाई पछिका अन्तराहरुले खुलाउँदै लगेका छन् ।

नदेऊ सराप
यौटा छोरी भए नि खराब
किरेमिरे जाले रुमालअअअ

आमाको दृष्टिमा आफू खराब ठहरिन सक्ने अवस्थाको बोधले युवती सतर्क छ । प्रेमीलाई लामो समयसम्म कुर्नु पर्दा धुरुरु रोएको उसको मन आमालाई चित्त नबुझाई छोड्दा सराप लाग्नसक्ने डरबाट त्रस्त पनि छ । यसले युवती बाहेक आमाका अरु पनि छोरी भए जस्तो देखाउँछ । युवतीकी आमालाई छोरी मात्र पाएको भनी पतिले बेवास्ता गरेको पनि हुन सक्छ । जीवनसाथी रोज्ने बेलाकी छोरीले बाबुलाई कतै पनि नसम्झिएको तथ्यले यही देखाउँछ । यसपछिको अन्तराले युवतीकी आमा पनि छोरीको कदमप्रति बढी नै चिन्तित भएर आत्महत्या समेत गर्नसक्ने भाव बोकेबाट पनि आमाछोरीको घनिष्टता अत्यन्त प्रगाढ रहेको देखाउँछ । आफूसितको सम्भाव्य वियोगले पार्नसक्ने दुस्प्रभावको परिकल्पना गरी आमालाई छोरीले गीतबाटै सम्झाएकी छ ।

खोलीमा नगए
सम्झिएर रुने मन नगरे
किरेमिरे जाले रुमालअअअ

आमालाई सम्झाउँदै युवतीले किरेमिरे नै भए पनि रुमाल बुन्न चाहिँ छाडेकी छैन । ऊ अठोटका साथ भन्छे ः

रुमाल बुन्दैछु
आमालाई सम्झेर रुँदैछु
किरेमिरे जाले रुमालअअअ

आफूले मायाको रुमाल बुन्दै गर्दा रुँदै पनि गरेको भाव छ । पहिले प्रेमीलाई कुर्दा धुरुरु रोएको युवतीको मन अहिले आमालाई सम्झेर पनि रोएकै छ । रोएर पनि रुमाल बुन्न नछोडेको र रुमाल बुन्दा पनि आमालाई सम्झेर रुन नछोडेको युवतीको कथनले पहिलेदेखिकै प्रतिकूल स्थिति पछि आएर झनै मार्मिक र चरम द्वन्द्वमा पुगेको अनुमान गर्न सकिन्छ ।

युवतीका विश्वास, रुचि, मूल्य, लगाव, झुकाव र आत्मनिर्णयको भाव पनि गीतमा छन् । गीतको अन्तिम अन्तरामा युवतीको निर्णायक अभिव्यक्ति छ । आकाशमा रहेका अनगिन्ती ताराहरू गन्नु जस्तै प्रेमीलाई पर्खनु पनि अन्तहीन हुन्छ । मिलनको दिन धेरै टाढा भएको अनुभूतिले युवतीलाई प्रेमीतिर होइन, आमातिर ढल्काएको छ । अन्ततः उसले आमा रहेसम्म आमाको चित्त नदुखाउने निर्णय गर्छे ।

तारालाई गन्दिनँ
आमा छउन्जेल क्यै फिकर मान्दिनँ
किरेमिरे जाले रुमालअअअ

आमा छउन्जेल निस्फिक्री प्रेमको रुमाल बुनेर बस्ने तर विवाह चाहिँ नगर्ने प्रतिज्ञा गर्छे । प्रेमी र आमाका बीच केही समय द्वन्द्वात्मक अवस्थामा रहेर मार्मिक परिकल्पनामा समेत डुबेकी युवतीले आफूलाई अन्ततः आमातिरै मोडेको सन्दर्भले उनीहरू पति र पितापीडित नेपाली समाजका प्रतिनिधि महिला पात्रका रूपमा देखा पर्छन् । प्रेमी नै भए पनि पुरूषप्रति ढुक्क हुन नसकेको युवतीको मनोविज्ञान यसमा प्रकट भएको छ । आमालाई सम्झेर रुँदै रुमाल बुनिरहेकी युवतीले लिएको निर्णय र देखाएको आत्मविश्वासले यही देखाउँछ । उसले आमालाई छोडेर नजाने निर्णय गरेर कथाको सन्दर्भ र परिवेशलाई मातृभक्तिमा समर्पित गरेकी छ र जीवनको त्यति मार्मिक मोडमा पुगेका बेला समेत पिताको नामै नलिएर निकै गहिरो हिंसा सहेको झल्को दिन सक्षम भएकी छ ।

युवतीको जीवनमा आमा बाधक बन्नुको कारण वैयक्तिक नभएर सामाजिक हो । यो कुरा युवतीको आमाप्रतिको लगाव, सहानुभूति, आत्मग्लानि, पीडा र समर्पणका साथै मनोद्वन्द्वबाट पनि स्पष्ट हुन्छ । सम्भवतः प्रेमी आफूभन्दा तल्लो जातको भएकाले सामाजिक परिवेशमा आमाले सहन नसक्ने वा यस्तै बाहृय जटिल परिवेशले आमालाई बाधाको कारक बनाएको देखिन्छ । युवतीको जीवनयात्रामा आमाको उपस्थिति बाधक बन्नुको कारणबारे संकथनमा केही खुलाइएको छैन । वास्तविकतालाई कथाको गर्भमै राखेर त्यसको परिणति र प्रभावलाई गीतका माध्यमबाट सघन रूपमा प्रस्तुत गरिएको छ ।

गीति सङ्कथनमा युवतीले स्पष्टीकरण दिँदै अप्रत्यक्ष रूपमा आफ्नो स्थिति बताएको पाइन्छ । म्याग्दी जिल्लाको बेनी बजार युवतीको परिस्थिति र मनस्थितिको प्रेरक सन्दर्भ हो । गीतको विषयको केन्द्र नै बेनी बजार हो । गीतमा अन्तनिर्हित समस्याको मुख्य विषय चाहिँ युवतीको एकालापीय प्रतिक्रियात्मक कथन र अन्तर्विलेपन विधिबाट ध्वनित भएको छ । यसमा कारण लुकेको छ र कार्य विस्तृत रूपमा गीति प्रवाहमा झङ्कृत छ । युवतीले विशिष्ट लयमा वस्तुस्थिति प्रकट गर्दै टिप्पणी गर्छे, मूल्याङ्कन गर्छे र अन्तमा महिलामैत्री निर्णय लिन्छे । फलतः जता माया उतै नजरको अवस्था फेरिएर जता आमा उतै छोरी भएको देखिन्छ ।

असार १२, २०६७
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *