बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद । हलुवा स्वारी । दिनगुजरान । लत बसेपछि के नि ? त्यसैमा मगनमस्त । दिनगुजरान या जीवनै ! सखारै सखार सुरु हुन्छ । दिनगुजरान कामधाम । भरदिन जोतान । साम साम लखतरान । रातको काखमा आराम । एकताका भनेथे जवाहरलाल नेहरूले । आराम हराम ! श्रमजिवीहरूको लागि प्रेरणा, प्रोत्साहन । राजभाषाका वरदान । चुकाउन नपर्ने अनुदान । कतै कूट अभिव्यक्ति ! सुन्दा मीठो ! भोग्दा पीरो ! अतिरञ्जित बोल ! चुकाउनै पर्दा कठिनतर मोल ! उकूच घाउ जस्तो बगिरहने सोल । थोत्रो सिरकको नयाँ खोल । अन्तरमनको पोल । जीवन क्वाँटी परिकारका झोल । नौगेडागुडीको नवरस तरलतरल । बेस्कन घोल ।
राजनीतिक जन्तु भइएन छु । चालबाजीविहीन जीवन । बाङ्गो बाङ्गै, सीधा सीधै । बाङ्गो नि सीधा । सीधा नि बाङ्गो । टेढोमेढो । चालबाजी राजकाज । आफ्नो गोरुको बार्है टक्का । जङ्गबहादुरले बोल्यो, बोल्यो । पोले पोलोस् । डोले डोलोस् । झुले झुलोस् । खुले खुलोस् । चुलिए चुलियोस् । ढालिए ढलोस् । पलाए पलाओस् । फलोस् फलावस् । मौलाए मौलावस् । झुराए झुराओस् । जुराए जुराओस् । दुहाई देशको । चुहाई जनताको । पीडा जनताको । पोत नेताको । भोट मतदाताको । मतियारी नेता क्रेताको । झुक्यान जति बिक्रेता मतदाताको । जनता सीधासोझा । बाङ्गाटिङ्गा बनाइए कागको चुच्चाको कलेजो झारझु््र पार्ने श्यालबहादुर लाउडरहरूले । कतै फकाउनेका फकाइ फुकाइ । कतै झुक्याउने झुक्यान झुकाइ । कतै लुछ्नेहरूका लाटोकोसेरी लुछाइ । छुच्चाई लुचाइ लाटोकोसेरी स्वभाव । रातभर जाग्राम । गुँड चहार्छन् । लुछाचुँडी गर्छन् । उनको लागि अँध्यारो रात द्रष्टा जीवन-जोवन । जहाँ विवेक अन्धकारमा विलय बन्छ । जहाँ उत्पीडनको पिङ झुलना बन्छ जेता-नेता-भाग्यविधाताहरूका, चील, गीद्ध र बाजहरू । ब्योम चहार्छन् । कावा खान्छन् । धावा बोल्छन् । धरतीबाटै चल्लाचल्ली अपहरण गर्छन् । चिल्लविल्ल हुँकार भर्छन् । आहार चाहार्ने थलो शुन्य ब्योम । आहाराका आधारभूमि धरनी । लेखनाथीय कालमहिमाका अभिव्यक्ति, ‘आयो टप्प टिप्यो, टारेर टर्दैन त्यो !’
मेलोमेसो मेरो । समाधिस्थ प्रश्न-सप्तषिर्को । भूगोल पढ्दाको खगोल सन्दर्भ । कुरो विद्यालय तहको । आदिम स्वकीय विद्यार्थी जीवनकालको । अहिलेको होइन । उहिल्यैको पुगनपुग तीन बीस वर्ष पुरानो । एकाध पारामा सीमित जानकारी उत्तरी आकाश । भनूँ आकाशको उत्तरतिर देखिने सातवटा ताराको झुण्ड । सप्तर्षि तारा गण । सात तारा समूह । जसले आपसी स्थान कहिल्यै बदलेनन् । यथास्थानमा यथास्थितिको अटल अवस्थाको पैरबी गरिरहे । खगोल विद्यावारिधिको अटल, स्थिर, अजम्बरी अवस्था । अविचलनका साक्ष नक्षत्रहरू ः सप्तर्षि तारापुञ्ज । आफूलाई विचलनमा नपुर्याई विचलनहरूलाई नियाल्न तिनसित सिकिरहेँछु । मौन भाषामा तिनीहरू बोल्न आउँछन् अनकन्टार ठाउँबाट । भेद्य त देखिरहेँछु । कताकताको चुपचाप चुपचाप स्वर । कानभरि गुन्गुनाइरहन्छ । यस्तो लाग्छ गुन्गुनाइहरू ः
‘कि हामी सात अलग अलग छौँ । हाम्रा स्वरूप उस्तै देखिँदा हुन् तर, फरकफरक छौँ । एक समान छैनौँ । हामी भिन्न भिन्न छौँ । हामी अन्तर छौँ । भिन्नखाले छौँ हामी । बेग्लाबेग्लै छौँ हामी । अन्तरतामा भिन्नता हाम्रो रूप । भिन्नरूपमा सग्लो स्वरूप हाम्रो । भिन्न आकार । भिन्न प्रकार । हामी फरक छौँ । कोही कता । कता कोही । सायद हौलाऔँ पनि कुनै साना । कुनै मझौला । कुनै ठूला अनि । हामी घुम्छौँ अक्ष र कक्षमा आफ्नै । कुनै मझौला । कुनै ठूला । हामी घुम्छौँ अक्ष र कक्षमा आफ्नै । धुरी र धुर हाम्रा आफ्नै । एकल एकल धुरी एक एकै । एकल धुरी एकलकाँटे छैनन् हाम्रा । हामी हाम्रा एकल धुरी एकल गतिमान चाल । हामी घुम्छौँ एक्लैएक्लै । प्रत्येकका अलगअलग एकल चालबाट सगोल सग्लो धुरी निर्माण गर्छौं । हाम्रा दूरी छन् । दूरदूरीमा हामी समीप छौँ । नजिक छौँ । आपसमा एक छौँ । अन्तर धुरीभित्रभित्रै हामी आपसी अन्तर सग्लो धुरी सिर्जना गर्छौं । सिर्जना हाम्रो सग्लो लक्ष । सिर्जना सग्लोपनको सन्तान । सग्लोपनको देन सिर्जना । असग्लोपन धुन्धुकारिता । तहसनहस मचाउँछ धुन्धुकारी । पुराणका एकल धुन्धुकारी । नेपालमा रक्तबीज । धुन्धुकारीहरू धुन्धुकारीहरू त जन्माउन सक्छन् । उद्यत छन् त्यसमै । पदीय उत्तरदायित्व उज्जाड उज्जाड । जीवन जगत् अखण्ड बाँझो खेत नेपाली मैदाने फाँटहरू । पहाड पर्वत श्रृङ्खलाबद्ध पहिरो पहिरो । हरियो वन नेपालको धन । दिन दुगुना रात चौगुना फटाफट फडानी । वन विनाश जीवजन्तु चराचुरुङगी सखाप विनाश । सीमसार क्षेत्र कुरुक्षेत्र बन्छन् । जलचर तहसनहस्, बाग्मती, विष्णुमती प्रदूषित ढलबन्यो । प्राकृतस्वरूप सबै बने कुरूप । वातावरणमा मिचामिच । जोडजुलुम । प्रकृति सबै बने विकृति । वर्तमान हाम्रो यही स्वीकृति । बारबार दोहोर्याउनुस् उही पुनरुक्ति । पुनरुक्ति कहिल्यै बन्न सकेनन् सुक्ति र स्वीकृति । नेतागिरीको विकृत आकृति !’
ती श्वरगुञ्जनहरू मौन छन् । जुन् जुञ्जिरहे गुन्जन । कानभरि, मनभरि मनका लड्डुसरी । अविरल इन्द्रावतीझैँ । विकलका उपन्यासभरि ! सायद अमूर्ततालाई मूर्त पार्ने कठै चेष्टाझैँ । इन्द्रावतीलाई काठमाडौँ घुसाउने मूर्त हृवाइटहाउसे परियोजनाझैँ । काकाकूल काठमाडौँका अतृप्त प्यासझैँ । प्यासी प्यासहरूका प्रेमकल्पहरूका बौर्याइझैँ । जन पिशाचहरू जिन्दगीलाई यहाँ आहालहरूमा चोपलिदिन्छन् । चोपलिएका छन् पनि हाम्रा जिउँदा लाशहरू । थाहा छैन अर्धचेत छु । अथवा चत नै अर्ध मात्र छ । लाग्छ, हामी यतै जताततै चिहान खनिरहेझैँ । चिहान जहाँ एक निमेषमै खर्लप्प खनिएझैँ, पुरिएझैँ । अमूर्त स्वहरू मूर्त आख्यान भर्छन् । कानभरि स्वर गुञ्जने गुञ्जनहरू । सायद स्वर गुञ्जनहरू सप्तषिर्का थिए वा हुन् । सायद ब्योमबाट निःसृत स्वरगुञ्जनहरू । अभिसप्त बन्छु । निरपराध म निरपराध । विराउनै पर्छ, होइन त्यो पनि । अपराधैअपराधहरूका ढेरहरूमा जकडिएर बसिन्छ जो अपराधको । हिङ नहोस् हिङको टालो सरी । महकिन्छ । ठस्ठस् ठस्किन्छ सीमित परिवेशभरि । परिवेशभित्रको परिवेश एक म । सीमित परिवेश । मान्छे जस्तो परिवेशमै सीमित म तर पनि मौन स्वर गुञ्जनहरू गुन्गुनाएकै हुन्छ । जल्पनाका ती स्वरहरू यसरी ः
‘कि हामी आकाशे सप्त पिण्ड हौँ । हामी सात अलग अस्तित्वधारी नक्षत्र हौंँ । हामीलाई तिमीहरूले नामकरण गर्यौ । नाम थिएनन् हाम्रा । हाम्रो परिचय भन्नु नै नाम थिएन । हामी अनाम आकाशे पिण्ड । नाम अहंबाट उल्किएको अस्तित्वको प्यासी जलप मात्र । अस्तित्वको चेष्टा जगाएर मान्छे जल्पना जप्छन् । तिनै जल्पनाको जलप त हुन् तिमीहरूको अस्तित्वबोधहरू । नासवान निरन्तरताको चेष्टा नास्तिकवादको चूरो हो । नास्तिकवादले ईश्वरको अस्तित्व अश्वीकार मात्र गरोइन, सायद । नास्तिकवादले यावत पदार्थकै नश्वरतामाथि आश्वस्तता जनाउँछ । कुनै पनि अस्तित्वमाथि निरन्तर एकल आस्था अटल नराख्नु नास्तिकवादको अपिल लाग्छ । परिवर्तन विश्वरूप । विश्वदर्शन परिवर्तनशीलतामा प्रतिबिम्बित रहन्छ । सबैले भोगे परिवर्तन । अस्तित्व परिवर्तनकै छ यदि कतै यतै अस्तित्वको रहन्छ भने । ईश्वर अगाडि ‘न’ जोडौँ । नईश्वर । नश्वर क्षणभङ्गुर । अल्पसयम । अल्पलाई कल्प ठान्नु जल्प । जल्पना जीव चेत बनेछ । यो जल्प खेती वर्तमान युगबोध बनेछ । कठोर । आविस्कार र प्रजननले नश्वरतामाथि बल प्रदान गरेछ । जति आविस्कार र प्रजनन छन् ती नश्वर छन् । एक पछि अर्कोको अस्तित्व मेटिँदैछ । दिगो अस्तित्व नहुनुको अस्तित्व नश्वरतामा टुँगिन्छ । सबै-सबै अस्तित्वहरूका अन्तिम स्वरूप नै परिणति हो । परिणति परिवर्तनका प्रक्रियागत आकृति हो, स्वरूप हो । परिवर्त नै चाहना बन्छ सबैको । प्राकृत नियममा रुमलिन्छ । प्रकृतिभन्दा शाश्वत अरू के ? प्रकृति आफैँ परिवर्तन भइदिन्छ कसैले कतै प्रकृतिविरुद्ध प्रकोप चलाए । ईश्वरलाई नश्वर बनाउने तिमीहरू नै । विश्व प्रकृतिमा प्रलयङ्कारी प्रकोप पार्ने पनि तिमीहरू । आणविक, परमाणविक प्रदूषणले प्रकृतिमा प्रकम्पन पैदावारी प्रजनन कसको ? हामी समाधिष्थ प्रश्नको पेटारो अघिसाछौँ ? पृथक् पृथक् सात अलग पिण्डलाई एक आकारमय समाधिष्थ प्रश्न चिन्ह हाम्रो निर्माण । सिर्जना हाम्रो । चुनौती संसारभरलाई हाम्रै । नश्वर भएरै नस्वर भएस् ।
आफूभित्र आफैँ नरहेजस्तो । मबाट मै बिलाए जस्तो । अवशान नै अवशानले अँगालेजस्तो छुँदा पनि नछोड्ने भइएको हुन्छु । बोलाउँदा नि नबोलाएजस्तो । अँगाल्दा नि स्पर्शविहीन भइएझैँ । कति नश्वर नश्वर । अखिलेश्वर । निखिलेश्वर । कुलेश्वर । त्रिपुरेश्वर । भृकुटेश्वर । कोटेश्वर । ज्ञानेश्वर । बानेश्वर । स्थानेश्वर । तेजेश्वर । नश्वर नश्वर । आफूमा आफैँ नहुनु नश्वर । छैन प्रायः म । छु त भनी टोपल्छु । नरहेकै हु्न्छ । नरहेर अझै छु भन्ठान्छु । सश्वर होला तर, नश्वर । यथार्थमा । यो पहिचान । यो अभियान । यो परिणाम । यो महिमागान । यो सुनसान । यो शान । यो मान । यो जलपान । यी महलहरू आलिशान । यी भीमकायहरू बलवान । एक चौथाई आयुका धाम । तीन चौथाई साम । तिनका एक खण्ड छलछाम । एकखण्ड धुमधाम । एक खण्ड जोरजाम । यो धाँधलीको दुनियाँ । धाँधली नेता । राजनेता यसका क्रेता बिक्रेता । हर्ताकर्ता । मृत्युको मुखेञ्जी बाँच्छ यो, त्यो । यो, त्यो, पनि । त्यो यो पनि । त्यो पनि यो पनि । हाली मुहाली । अरिङ्गाले …..गोला । यमराजको झोला । आतङ्ककारी बम गोला । छोए पाप लाग्ला । हरे हारमान्ला । सफाइ अभियानका कसिङ्गर यी । वंशपरम्पराका विरोधी यी । वंशपरम्पराका थमौती नै यी । पिता-पुत्री । सुुं वंशका उत्तरकोरियाली । इराकमाथिको धाँधली अमेरिकाली । कङ्काली महाकाली । भिनाकी सुकुमारी साली ! वैभवशाली । यौवनकी आली । व्यभिचारी वाली । दुर्गन्धी नाली । प्रजनन्शाली हालिमुहाली । अनर्थवान अनर्थशाली । साँचो अर्थ र परिभाषामा जीवनको जीवन्त कहाली । अलिकति उकाली, उभौँली । यति क्षणभर देउराली । लामो बराली । आफ्नै प्रजनन् लीला । पर्खाइछ गर्भ त नितान्त मैला । मैला गर्भका प्रजनन् कस्तो होला ? भुलभुलैयामा कटिबद्ध विश्वासमा सेरिनेछौ । समाधिष्थ सप्तषिर्को आकृतिमूलक प्रश्नचिन्ह मुद्रा ।
गुञ्जिएको गुञ्जिए नै रहृयो । निद्राकालीन अहोरात्र बित्यो….छर्लङ्ग । मन शान्त भएन । हुनै सकेन । सप्तर्षि तारागणको निश्वर स्वरगुञ्जन गुनगुन । झन्कारबिनाको स्वरगुञ्जन । मौन भाषाका सूचक । भाषिक तन्द्रा । उत्तर ध्रुवीय तुन्द्रा । किंकर्तव्यविमूढ मुद्रा । ठोस होइन । मात्र खुद्रैखुद्रा । फजीत बन्छु । विशृङ्खलित यी जिन्दगीका टुक्रैटुक्रा । नितान्त कष्टसाध्य । कठोर काम । झीनामसिना । टुटेफुटेका कसिङ्गरजस्ता । टेके घोच्दो चकनाचुर अवस्था । ठक्करमा चूरझूर बनेका गाडीको सिसा । पाइलापाइलामा चाहिँदो कत्रो होसियार ! ए ! कतै पाइन्छ कि होसियारीका डिपार्टमेण्टल स्टोर ? छन् भन्ने सूचना भर । भरौँ । आऊ ! ढिलो भयो । छिटो आयो ! आऊ ! आइएस् । आउनुहोस् । आइस्योस् । भाषैले विभाजित नेपाली संसार । नेपाली समाज । नेपाली रवाफ ! नेपाली कवाफ । नेपाली कवाज । नेपाली आवाज । नेपाली कव्छास् । नेपाली च्वास् च्वास् । नेपाली झ्वास् झ्वास् । नेपाली फ्वास् फ्वास् । घोचिरहेछ अव्यक्त श्वर गुञ्जन । नछेस्को ! नडिस्को ! निरन्तर चस्चस् घोचाइको ढिस्को । कसको कसको ? अत्तोपत्तो छैन । रणभुल्लै रणभुल्ला । मनभित्र खुल्लखुल्ल । मात्र खुल्लखुल्ल । सबका कारण नेपाली टाउके, लाउके । दाउखोज्ने डाउके । भाउखोज्ने भाउके । मौका चहार्ने मौके । लौकाजस्ता लौके । तालतलाउका तपस्वीजस्ता बकुल्ले । भित्र खुकुल्ले । बाहिर कुरकुरे । अन्तस्करण झुरझुरे । आफँैसित आफैँमा लुरलुरे । अब त अलाँपू अलाँपू लाग्छ । राजेन्द्र थापाका गीतका बोल । अम्बर गुरुङका सङ्गीतमा र अरुण लामाका स्वर गायनमा ः
‘पोहोर साल खुसी फाट्यो,
जतन गरी मनले टालेँ ।
त्यही साल माया फाट्यो,
त्यसलाई पनि मनले टालेँ ।
यसपालि त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो ?’
लाग्छ, कतै देश देशान्तीरैछ । विक्षिप्त विक्षिप्त अलपिरैछ । कहिले मैसित । कैलै मजस्ता महरूसित । प्रत्येक साल फाट्दै गरेको देशबोधका यी गुनगुनाइहरू । मार्मिक लाग्छ । शब्दशब्दका बोली वाणीमा । भावनाका भाव तरङ्गमा । भावनाका भाव तरङ्गमा मान्छेमान्छे तरङ्गएिका हुन्छन् । तरङ्गरिैछन् । मान्छेमान्छेमा मान्छे तरिङ्गनु भनेको समाज तरङ्गनिु । मान्छेमान्छेका समाज तरङ्गनिु देश तरङ्गनिु हो । देश तरङ्गदिा पहाड प्रकम्पित हुन थाल्छ । पहाड प्रकम्पित हुनथाल्दा हिमताल छचल्किन पुग्छन् । हिमताल छचल्किँदा छहरा-पहरा छताछुल्लिन पुग्छ । छहरा-पहरा छताछुल्लिँदा नदीहरू बौलाहाउन थाल्छन् । एकपछि अर्को । अर्कोपछि अर्को । गर्दागर्दै उनीहरूले भर्दाभर्दै राष्ट्र विक्षिप्तिन पुग्छ । तैपनि समाधिष्थ प्रश्नको पेटारो पेटारिएकै हुन्छ । प्रश्नको पेटारो उही सप्तर्षि तारागराका अनन्त प्रश्न । अहिलेसम्म समाधिष्थ प्रश्न सप्तषिर्कै मात्र लागेको थियो । यो भानको भाव सन्सार । भानैभानमा रुमलिन्छ । भावनाको यो भाव संसार भावनैभावनामा छताछुल्लिन्छ । टाउके लाउकेहरूको दायित्व पहरा-छहरालाई हल्लिनबाट पाखुरिनु थियो, त अनि रहेछ । लाउकेहरूमा टाउको हराएपछि टाउकोको काम मुर्कट्टाहरूबाट सम्भबिन्छ नै कसरी ? माटो फुरिन्छ विवेक बलमा । बाँझो फोरिन्छ पानीको नालिबेलीमा । हलो, जोतिन्छ हलीका कौशलमा । कौशल भन्नु कुशलता । कुशलता नै पर्याप्तिन्छ कौशलका निमित्त । कुशलतालाई कौशलतामा बङ्ग्याएर बठ्याइर्ं भरेर होइन रफ्फु । मलाई मसित मेरै म मरमराउन थाल्छ । यसरी कि जसरी यहाँ यहाँहरूसित भरभराइरहेछु । लाग्छ, छताछुल्ल छु अहिले आफैँ । कतै यतै अब त सप्तषिर्हरूको समूहलाई आहृवान गरुँ-आहृवान’! आओ ! गौतम आऊ ! आओ ! भरद्वाज आऊ ! आओ । विश्वामित्र आऊ । आओ ! जमदग्नि आऊ । आओ ! वसिष्ठ आऊ ! आओ ! कश्यप आऊ !’ आओ ! अग्नि आऊ ।
यतिले पर्याप्तिन्न । तरङ्गले तरङ्ग तर्काउँछ । तर्क र तरङ्गको जीवनजगत्मा तर्क पनि तरङ्ग बन्छ । तरङ्ग तर्किन्छ । तरङ्गैतरङ्गमा मचिन्छ, मचाइन्छ । फगत तर्क भइदिन्छु । अर्कहोस् नहोस् तर्कमा बेपर्वाह मच्चिदिन्छु । अर्कैले अङ्कमाल गर्दै सुमसुम्याउँछ मलाई । अङ्कमालको अर्क भइदिन्छु । लाग्नथाल्छ फेरि पनि । अङ्कमालको अर्क अलौकिक आनन्दप्रद लाग्छ । आनन्द सागरमा पौडिन पुग्छ । डुबुल्की आनन्ददायक बन्छ । प्रत्यक्ष अनुभूति आनन्दकुञ्ज बन्छ । लाग्छ सप्तषिर्पुञ्ज प्रश्न गर्दैछ मैसित । म भन्छु भन्दै जान्छु । सप्तषिर्को नाम यसभन्दा अरू नि छन् । मरीचि, अत्रि, अङ्गिरा, पुलह, ऋतु, पुलस्त्य अनि वसिष्ठ पनि । मनै त हो डोलिन्छ । चमरझैँ, पङ्खाझैँ । सम्भवतः प्रश्नचिन्ह वाचनका पहिलो वाचक उनै नभचारी सप्तषिर्पुञ्ज थिए । प्रश्न समाधिष्थ सतत । नित्य नितान्त सप्तरङ्गी सूर्यकिरण । माङ्गलिक कार्यमा अग्रणी सप्तमातृका । ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा, बाराही । वैयाकरणमा आधार सूचक बन्छ सप्तमी । मा, माथि आदि, आदि । जमीनमा । पानीमाथि । सप्तसिन्धु नदी । भारतीय उपमहाद्विपको पञ्जाव क्षेत्रका प्रसिद्ध सात नद परिसर परिचर । झेलम, चिनाव, राबी, ब्यास, सतलज, द्वषद्वती अनि सरस्वती । सात नदी । निरन्तरगतिका प्रतीक । आफूलाई आफैँ छान्दै सङ्ल्याउने प्रवाह नदी । नदी पनि पानी । पानी नि नदी । पानी पानीहरू नदी । नदी पानीहरू । पानीहरू हामीहरू । हुनुपर्ने तर ….। नसकेका बन्न हामी । सकेका सखाफ हामी । सकिएका सराप सतीका असती । असतले कुल्चिएर डगेका सत नेपालका हामी असत नेपाली । हामीलाई सप्तर्षि महिमा आउँदैन । हामीलाई सप्तरङ्गी चुनरीको ताज फित्ता गुथ्ने कौशल आउँदैन ।
आउँदैन हामीलाई तारसप्तक महिमा पनि । महिमा त गेय बन्छ । महिमा गाइन्छ । गायनमा तार सप्तकको साधना गरिन्छ । सङ्गीतमा सातवटा तारभित्र तानका तुनाबुना आत्मसात् रहेर सङ्गीतकारहरू धुन मचाउँछन् । साङ्गीतिकस्वर समूहमा नि तारसप्तकको अभिव्यञ्जना सुरम्य रहे । षड्ज, ऋषव, गान्धार, मध्यम, पञ्चम, धैवत र निषादस्वर लहरीका समुदाय बन्छन् । तारसप्तकको सन्दर्भ गाँस्दै जाऔँ । तिनै तारहरूले अनुपम कर्णपि्रय मधुरिमा धुनहरू घुसाउँछन् । हामीसित हामीभित्र हाम्रै निमित्त । खै र ? हामीले हामीलाई सुन्नसकेको ? खै र, हामीले हाम्रै छातीमा कान थाप्न सकेको ? मात्र थाप्न सकेको भए छातीमा कान ! मुटुको ढुकढुकी त सु्न्न सकिने थियो । लाचार हामी मात्र ढुकढुकी विहीन चेष्टाका सप्तर्षि समाधिपुञ्जका तेजरहित पिण्ड रहेछौँ । खै र, हामीले सप्तकोशीको सात भङालो एकै कोशीमा समेटिएका आख्यान भर्नसकेको ? जीवन त नेपालीका सप्तकोशीका समीकृत निकाश बन्नुपर्ने थियो । सप्तकोशीका अलग अलग भङालाहरू एकै निकासमा संयुक्ताकार भइसक्दा हो विशाल कोशीको मूर्तमान अवस्था सिर्जिन्छ । सप्ततार भन्नुस् या तारतप्तकका मौनता भङ्ग त्यसमा औँलाहरू अवतरण गर्न पुग्दा हुँदोरैछ । वीणावादनका पूर्वारचणा यतैबाट पो सिर्जित हुनपुग्छ तर….खै र हामीले त्यसबाट अनुपोषण पाउन सकेको ? खै र, सप्तकोशीबाट हामीले हाम्रा गन्तव्य निर्धारणमा मार्गदर्शन गर्नसकेको ? नौ धार्नी चाकु खाँदा गुलियो स्वाद नजानेका लाटोबुङ्गे नागरिक हामी नेपाली । खुल्ला आकाशमुनिका मणि हामी, दियो मुनिका अँध्यारो नेपाली । नेपाललाई स्वअर्थि टाँग छेरुवाहरूका देशका दर्जेनीमा दर्ता हुन परोस् । खवरदारीका सन्देश समाधिष्थ सप्तर्षि पुञ्जबाट पाइरहेझैँ झस्किन्छ कहिलेकाहीँ यो चेत । चेतभित्रको चेत लिएर बाँच्न टाँग छिरुवा दाउ कस्नु ठीक हो र ? समाधिष्थ सप्तर्षि तारापुञ्जको प्रश्न तेर्सिरहेछ । मैसित अनवरत । आत्मसात् गर्छु प्रश्न समाधिष्थ सप्तषिर्का ! अनुभूति मेरो साथलाग्छ अझै पनि आगामी दिनहरू पर्यन्त नि । समाधिष्ठ प्रश्नचिन्ह सप्तषिर्को । मेरा होइनन् । मात्र एक्लो मलाई होइन । सबैसबैलाई । जमाते नेपालीलाई । कमाते नेपालीलाई । आतेजाते नेपालीलाई । सीमान्त नेपालीलाई । सामन्त नेपालीलाई । सामन्तहरूलाई विरोध गर्ने मकुण्डे सामन्तहरूलाई । ठाउँठाउँमा महल ठड्याउने सुकुम्वासीहरूलाई । अनि हितकारी उपसर्गको हितमानहरूलाई । सातदलहरू सप्तषिर्झैँ एक ढिक्का आ-आफ्ना स्थानबाट स्वचालित होलान् भन्ठान्ने मजस्ता महरू झुठो ठहरिए । नेपाली सात दल आकाशे पिण्डजस्तै स्वचालित रहने अभिलाशित अनुमान नौधार्नी चाकु ख्वाएर पनि गुलियो स्वाद नजान्ने भएसरह बने बनाइए । यो विडम्बनाको सन्सार विडम्बनापूर्ण लाग्छ, समाधिष्थ सप्तषिर्को प्रश्न समाधिमै रहने छ । प्रश्नको अनुभूति नभएझैँ रहिरहने छ । प्रश्नचिन्ह नबिगारी एक ढिक्कै फन्फनिँदै कति युगहरू भोगे तिनीहरूले । लेखाजोखा कहाँ ? प्रत्येक सिर्जनाको अन्त प्रलयकै लयमा विलय भए । नभग्नावशेष फेला परे उहिलेको । न फेला पर्दा होलान् अहिलेकै पनि । तैपनि समाधिष्थ प्रश्न सप्तषिर्को अमर रहनेछ लाखौँ सत्य, द्वापर, त्रेता र कलि पर्यन्त चाहे सात दल आफ्नै दलदलका भासमा भासिइरहुन् !
