Skip to content


‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते
अद्यैव मे विशतु मानसराजहंसः
प्राण प्रयाणसमये कफवातपित्तै-
र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते ।’

संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः’ हे कृष्ण, तिम्रो पाउकमलरूपी पिँजडामा मेरो मनरूपी राजहंस आजै बास गरोस् (तिम्रो भक्तिमा मेरो चित्त आजैदेखि लागोस्) । प्राण जाने बेलामा कफ, पित्त र वायुले जेलिएर कण्ठ अवरुद्ध भएपछि त म तिम्रो स्मरण गर्न कसरी सकुँला र ? ।।

यस पद्यबाट मानिसले कुनै पनि सत्कर्मलाई पछिका लागि साँचेर राख्नुहुँदैन, जे गर्ने हो वर्तमानमै गर्नुपर्छ, गरिहाल्नुपर्छ, भविष्यको भर छैन भनी प्रेरणा लिनुपर्ने भाव ध्वनित भएको छ र त्यसले मलाई अत्यन्त प्रभावित, प्रेरित र पुलकित तुल्याएको छ । आज म त्यस पद्यमा मेरो मनोऽनुकूल आवश्यक संशोधन-परिवर्तन गरी कृष्णका स्थानमा वाणीलाई राखेर प्रार्थना गर्दैछु-हे वाणी ! हे ब्राहृमी ! हे वाग्देवी ! हे भाषा ! हे सम्पूर्ण प्रकारका भावाभि व्यक्तिहरूकी अधिष्ठात्री ! तिमी नै मेरी एक मात्र उपास्य र आराध्य हो । म यस जीवनमा तिम्रो अर्चना, आराधना र उपासनामा आफूलाई अभिव्यक्त गर्न उपयुक्त लागेका, आफूले अघिदेखि नै अभिव्यक्त गर्न तीव्र चाहना गरेका तर हालसम्म पनि त्यसो गर्न नसकेर, नपाएर भित्र गुम्स्याएर राख्न विवश भई आफ्ना प्रत्येक श्वास-प्रश्वासमा प्राणान्तकारी उकुसमुकुको अनुभूतिले पिरोलिनु परेका जे-जस्ता र जे-जति पनि मेरा मनोभावनाहरू छन् ती सबैलाई म आजै र अहिल्यैदेखि अभिव्यक्त गर्नेतर्फ लागिपर्न सकूँ । तिमी मलाई त्यो बल देऊ, त्यो क्षमता देऊ, त्यो शैली, शिल्प, सामर्थ्य र जाँगर देऊ किनभने अब म आफूलाई छताछुल्ल पोख्न चाहन्छु, रित्याउन चाहन्छु । हो म नितान्त रित्तिन चाहन्छु र चाहन्छु मेरो प्राणप्रयाणको समयसम्ममा, मेरो भौतिक अवसानको समयसम्ममा मैले आफूलाई पोख्न केही बाँकी नै नरहोस् र त्यसबेला म परंतृप्त भएर मर्न सकूँ, फूलभन्दा पनि, मनभन्दा पनि हलुङ्गो भएको अनुभूति सँगालेर आनन्दातिरेकले गद्गद् हुँदै मधुर मुस्कानसाथ संसार त्याग्न सकूँ ।

त्यसो त मेरो जन्मकुण्डलीमा कुण्डलीकार एवं मेरा परमादरणीय शिक्षा-दीक्षागुरु वाचस्पति शास्त्रीले मेरो अवसान वर्षका ठाउँमा वि.सं. २१२० को उल्लेख गरेर मेरो परम आयु एक सय एघार वर्ष हुने स्पष्ट सङ्केत गरेका छन् । साथै बयान्नब्बेऔँ वर्षमा ठूलै खड्गोको उल्लेख गरेर मेरो जीवनलीला त्यसै उमेरमा समाप्त हुन सक्नेतर्फ पनि सङ्केत गरेका छन् ।

वि.सं १९६० सालको कात्तिकमा भाइटीकाका दिन जन्मेका मेरा ऋषिकल्प पिता नरनाथ उपाध्याय न्यौपानेको पनि बयान्नब्बे वर्ष नाघेको उमेरमा २०५२ साल चैत १ गतेका दिन देहावसान भएको हो ।

बयान्नब्बे वर्षको उमेरमा ठूलै खड्गो भएका कारणले म आफ्ना बाबाको आयु बराबरको आयु मात्र बाँच्न पाउने भए पनि अथवा खड्गो काटेर एक सय एघार वर्षकै पूणर्ायु बाँच्न पाउने भए पनि वा एक सय एक चालीस वर्षको उमेरमा दिवङ्गत हुने सुनसरीका वीरनारायण माझीको जस्तो झण्डै डेढ शताब्दीसम्मको सुदीर्घ आयु भोग्न पाउने भए पनि त्यसले के फरक पर्छ र ?

त्यसो त जीवनका सन्दर्भमा सामान्यरूपले हेर्दा बाँच्नु मात्र पनि ठूलै कुरो हो तर पनि त्यतिकै बाँच्नु बेग्लै कुरा हो र शारीरिक र मानसिक दुवैरूपमा सम्पूर्णतः स्वस्थ रहेर र सिर्जनामा सक्रिय रहेर बाँच्नु नितान्त बेग्लै कुरा हो । असाध्य शारीरिक वा मानसिक रोगको आहारा भएर, ज्यूँदो मुर्दा भएर लामो आयु बाँच्नुका नाममा जीवनलाई घिसार्नु मात्रको औचित्य नै के पो हुन्छ र ? निष्क्रिय भएर निस्सार जिन्दगी बाँच्नु अर्थ नै के पो हुन्छ र ? त्यस्तो निष्क्रिय र निस्सार परम आयुभन्दा त बरु सक्रिय र सारपूर्णरूपमा बाँचेको अल्पायु नै बेस । त्यसै भएर त होला महाकवि देवकोटाले भनेका छन् ‘वृक्ष’ कवितामा -‘फुल्नू सुन्दर भई दुवै दिन पनि हो सार संसारमा’ र उनले नै ‘जिन्दगीको मौसम’ कवितामा भनेका छन् ‘जिन्दगीको मौसम रहँदै खनखन रोप फुलाऊ, पर्खन्न कसैकन काल निठुरी हाय यसै ननिदाऊ’

‘हामी सय वर्षसम्म देखौँ/हेरौँ, सय वर्षसम्म सुनौँ, सय वर्षसम्म बोलौँ, सय वर्षसम्म बाँचौँ, सय वर्षसम्म अदीनसमेत होऔँ अर्थात् हामी आँखाले राम्रोसँग देख्तै, कानले राम्रोसँग सुन्दै, मुखले राम्रोसँग बोल्दै अदीन वा सुखी, सम्पन्नरूपले सय वर्षसम्म बाँचौँ र त्यस्ता सय वर्षसम्म फेरिफेरि र फेरि पनि बाँचौँ’ भन्ने ऋग्वेदको महाऋचामा अभिव्यक्त महाकल्याणकामना अनुसारको जीवन र शतायु पाउन पाए त कुरै के र’ नत्र ? बाफ् रे ! अर्काको सम्झँदा मात्र पनि र आफ्नो कल्पना गर्दा मात्र पनि त्यसै त्यसै कहाली लाग्छ, भाउन्न हुन्छ ।

२०१६ साल भदौ महिनादेखिको मेरो औपचारिक वा विद्यालयीय शिक्षाका प्रथम गुरु श्यामप्रसाद उपाध्याय बराल, ‘साहित्याचार्य’ की नब्बे नाघेकी माता कलैयाको आफ्नो घरमा विगत आठ वर्षदेखि सम्पूर्ण शरीर हल न चल भएर लडिरहनुभएको छ तर इन्तु न चिन्तुसमेत भएर भने होइन ।

उहाँका स्थूल कुनै पनि अङ्ग पटक्कै चल्दै चल्दैनन् भने आँखा पनि ठ्याम्मै खुल्दैनन् तर कानले टड्कारो सुन्छन्, मुख टड्कारै बोल्छ र स्मरणशक्ति झन् उस्तै टड्कारो छ । हेर्न-भेट्न जाने जति र मलाई चिन्नुभो आमा ! हजुरमा’ भन्ने जति प्रायः सबैलाई उहाँ बोली सुनेकै भरमा नाम काढेर बोलाउनुहुन्छ र आफ्नो ओछ्यानछेउमै बस्न लगाएर आफ्ना सिन्के हात तिनका हात वा जीउमा राखेर झक्कानिनुहुन्छ, डाँको छाड्नुहुन्छ, आँसुको भल बगाउनुहुन्छ र माया गरेर आफ्नो तत्काल मृत्युको कामना गरिदिन प्रत्येकलाई अनुरोध गर्नुहुन्छ ।

शरीरको अवस्था त्यस्तो भएपछि होस हराइदिएको भए, स्मरणशक्तिसमेत हराइदिएको भए र इन्तु न चिन्तु भइदिएको भए कमसेकम त्यस्तो दुर्दान्त मानसिक पीडा त खप्नु पर्दैनथ्यो । उफ् कल्पना मात्र गर्दा पनि कहाली लाग्ने उहाँको त्यस दारुण पीडाको अन्त्य कहिले ? त्यस करुणातिकरुण अवस्थाको अन्त्य कहिले ? रातदिन स्याहार्नेहरूको त के कुरा, आक्कलझुक्कल हेर्न/भेट्न/बोलाउन जानेहरूको पनि मनःस्थिति खल्बल्याइदिने, उनीहरूलाई अर्धविक्षिप्तझैँ तुल्याइदिने त्यस सदावहार दुर्दान्त पीडानुभूतिको चूडान्त कहिले ? आठ वर्ष यसैगरी काटिसक्नुभयो उहाँले । हेर्न, बोलाउन जानेहरूलाई पनि उहाँको त्यस्तो हरिविजोग देख्न । हेर्न नसकेर, उहाँका करुण स्मृतिप्रसङ्गहरू सुन्न नसकेर, उहाँको आँसुको भल र भेललाई झेल्न नसकेर हेर्न जाने आँट आउनै छाडिसक्यो तर उहाँका ती कुरुवा र टहलुवा घरेलु आफन्तहरू कहाँ जाऊन् ? के गरून् ? छ कुनै उपाय ? त्यसमाथि झन् तराईको वर्तमान कहालीलाग्दो अवस्था र त्यसमाथि पनि अझ त्यो नेपालीभाषी सरल र निमुखा परिवार ।

मेरो छिमेकी, आत्मीय र अझ गुरुको घरपरिवार भएकाले र गुरुकी माता निज सिद्धेश्वरी देवीले मलाई बच्चैदेखि साह्रै माया गर्दै आउनुभएकोले समेत कलैया छँदासम्म म बेलाबेला उहाँलाई हेर्न, बोलाउन जान्थेँ र कहिले आफ्नो रहरमा अनि कहिले चाहिँ उहाँकै आग्रहमा पनि केही घण्टा गीता सुनाएर र्फकन्थेँ । अब त मैले कलैया छाडेको पनि तीन वर्ष भइसक्यो । म फेरि फर्केर कहिल्यै उता गएकै छैन । आउने-जानेहरूसित उहाँको खबर भनी सोधिराख्छु र ‘हरे के हुनु ? उस्तै त हो नि !’ भन्ने जवाफ सुनेर उहाँको त्यस दयनीय अवस्थाप्रति टिठिँदै विगत आठ वर्षदेखि अनवरतरूपले बोलीमा नअटाएर त्यसैत्यसै भक्कानिइरहेको उहाँको छाती र आठ वर्षदेखि अहोरात्र भुलभुलाइरहेको उहाँको आँसुलाई महाकवि देवकोटाकी ‘चारु’ मा यसरी झलझलाकार भएको अनुभूति गर्छु –

सम्झन्छु बोलिबीच छाती अटाउँदैन
आँसु सिवाय रसिलो अरू आउँदैन ।

र खुइयय गर्दै मनमनै सोच्छु-यस्तो दीर्घजीवनको अर्थ र औचित्य के !

मलाई अब दीर्घजीवनको सपनाले पटक्कै लोभ्याउँदैन बरु मलाई त अचेल अग्घोरसित लोभ्याउँछ आफूलाई सकेसम्म चाँडै र सकेसम्म धेरै पोख्न खोज्ने सपनाले । त्यसो त मेरो यो सपना भर्खरभर्खरको नभएर निकै वर्ष अघिदेखिकै हो, परन्तु त्यसको उग्र छट्पटीले मलाई गाँज्न थालेको भने चार वर्ष अघिदेखि मात्र हो ।

वि.सं. २०६३ वैशाखको आरम्भदेखि जेठको पहिलो सातासम्म सिकिस्तै थिएँ म । राम्ररी निको नै हुन त कात्तिकसम्मै कुर्नुपर्‍यो । अँ त, जनआन्दोलन-२ मा सक्रिय सहभागिता जनाउनाको कारणले मातृभूमिका पाउमा आफ्नो शिरको आठ-दस माना रगतको अर्घ चढाएको थिएँ मैले । त्यससम्बन्धी बेलिबिस्तार म यहाँ लगाउँदिन । त्यस घटना-प्रसङ्गसित सम्बद्ध आफ्ना आनन्द र पीडाका यावत् अनुभूतिलाई साँच्तै कुरा अघि बढाउँछु, त्यसलाई बीजरूपमा मात्र उपयोग गरेर ।

अँ, म आन्दोलनको घटनास्थल कलैयाको मुटु भरतचोकभन्दा अलिकति पश्चिम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराको मध्यवर्ती भागको बीच सडकबाट क्रमशः कलैया अस्पताल, वीरगन्ज अस्पताल, काठमाडौँको मोडेल अस्पताल, अनि फेरि कलैया अस्पताल र वीरगन्ज अस्पताल पुर्‍याइएँ । टाउकोमा तालुदेखि बायाँतिर माथिदेखि तलसम्म गरी बाह्र टाँका लगाइएको थियो र अलिकति अनुहार मात्र बाँकी राखेर शिरको सम्पूर्ण भाग र कान हुँदै चिउँडोसम्म टम्म पट्टी (ब्याण्डेज) बाँधिएको थियो । शिरको घाउको पीडा त जे-जस्तो थियो आफ्नो ठाउँमा छँदै थियो । प्राणवायुको कमी, आँखाको जलनको पीडा अनि साथमा रिङ्गटा र बान्ताको निरन्तर आक्रमण पनि उत्तिकै डरलाग्दो थियो । त्यसमाथि झन् वैशाखको अन्तिम सातादेखि मलाई अर्को अज्ञात रोगले क्रमिकरूपमा अलिअलि गर्दै गाँज्दै लग्यो । मेरो चिउँडो वा च्यापु फररर गर्दै दाहिने काननेर पुग्यो । मुख अररो भयो । दाहिनेतिरका तलमाथि दुवैतर्फका बङ्गाराले तारन्तार गालाको भित्री भागलाई किचकाच पारेर छियाछिया तुल्याउन थाले । म पीडाले अर्धबेहोस भएँ, भोलिपल्ट जेठ २ गते बिहान सूर्योदयसँगै मलाई फेरि एम्बुलेन्समा राखेर वीरगन्ज अस्पतालमा लगियो । त्यहाँको सम्बन्धित विभागका एक जना वरिष्ठ चिकित्सकले उपचारका क्रममा स्पष्ट घोषणा गरे-‘उहाँलाई मुखको र अन्य दाहिनेतर्फको समेत प्यारालाइसिस भयो, यहाँ यसको उपचार सम्भव छैन, काठमाडौँ लगिहाल्नोस् ।’

त्यस महापीडाका बीच पनि म अझै सम्पूर्ण बेहोस भइसकेको थिइनँ, त्यसैले चिकित्सकको त्यो घोषणा सुनेर म त्यसक्षण अर्धबेहोसी अवस्थामै सम्हालिनै नसक्ने गरी क्वाँ क्वाँ…डाँको छोडेर रोएँ । मैले अब आफ्नो जीवनका आफूले होस सँगालेदेखिका सबै दिनहरू सरर्र चलचित्रमा झैँ झल्झली देखेँ र त्यस तत्कालीन क्षणलाई जीवनको एउटा मीठो अध्यायको अवसान र एउटा तीतो अध्यायको आरम्भका रूपमा देखेँ । अस्पतालको त्यस शययामा म एउटै पीरले कङ्कला शब्द गरी धर्ती नै उचालिने गरी आकाश नै फुटालिने गरी बर्बरी आँसु झारेर धर्धरी रोएँ, कोक्किँदै र भक्कानिँदै एकोहोरो रुँदै गएँ ।

मेरो त्यस दुर्दान्त पीरको कारण के थियो त ! आजीवन अपाङ्गताको भए ? जीवनका सहजता, सुख र शान्तिको समाप्तिको भय ? अथवा मृत्युभय ? अहँ, यी तीनमध्ये एउटै पनि होइन । सत्ते, मलाई उपर्युक्तमध्ये कुनै पनि भयले गाँजेको थिएन । मेरो त्यस पीरको मूल कारण त माथिका यी सबैखाले भयभन्दा पनि डरलाग्दो, कहालीलाग्दो र अत्यासलाग्दो पो थियो र त्यस कालो, कुटिल र कठोर अवस्थाको सामना गर्नैपर्ने हो भने बरु सहज मृत्युवरणको कामना गरिरहेको थियो मेरो अन्तरात्मा । किन त भन्दा अब मलाई मुखको र दाहिनेतर्फका सबै अङ्गको समेत पक्षाघात भयो । अब मेरो मस्तिष्कदेखि पाउसम्मका ती सबै अङ्गहरू पूर्णतया निष्क्रिय हुने भए । अब म वाणीहीन हुने भएँ , लिपिहीन हुने भएँ र अब म सम्पूर्णरूपमा अभिव्यक्तिहीन हुने भएँ । हिजोसम्मका दिन र छिनमा मैले आफूलाई जे-जति अभिव्यक्त गरेँ-गरें, आफ्ना मनोभावनाहरूलाई जे-जति पोखेँ-पोखेँ, अब आजको यस अलच्छिना दिन र छिनदेखि मेरो मौखिक र लिखित दुवै प्रकारका अभिव्यक्तिको दारुण अवसान हुने भयो । उफ्…..नियतिको कस्तो निर्मम प्रहार ! उफ….कस्तो प्रलयङ्कारी वेदनाको मार खप्नुपर्नेभयो मैले ! म भाका हालेर अनेक गीत गाउँथेँ, छन्दका कविताहरू गाएर घर-आँगन र कार्यक्रमस्थलहरूलाई गुञ्जाउथेँ, आफूले अनेक साहित्यिक समारोहको आयोजन गरेर वा अरूहरूद्वारा आयोजित त्यस्ता समारोहहरूमा डाकिएर गई घण्टौँ उद्घोषण र प्रवचन गर्थेँ, आफ्ना कार्यस्थल महाविद्यालयहरूमा गएर सहकर्मी-सहधर्मीहरूसित गम्भीर विषयहरूमा कति-कति छलफल गथर्ंे, मन मिल्दा साथीभाइहरूसित कतिकति हाँसख्याल गथेर्ं, कक्षामा हात हल्लाई हल्लाई, रमाईरमाई र छात्रछात्राहरूलाई हँसाइहँसाइ उच्चस्वरमा पढाउथेँ । अर्को घण्टी लागेको समेत पत्तै नहुने गरी । त्यस्तै (आफ्नो प्रतिभाले भ्याएसम्म) गीत, कविता, संस्मरण, नियात्रा र निबन्ध आदि लेख्थेँ फुर्फुरिँदै । हो, लेख्थेँ’ नै त भन्नुपर्ने भयो अब, लेख्छु’ भन्ने दिन त अब सदासर्वदाका लागि जाने भए । उफ्….अब ती सबै इतिहास हुने भए । साँच्चै मेरा मौखिक र लिखित दुवै थरि अभिव्यक्ति सम्पूर्णतः इतिहास हुने भए । सम्झनामा साँचिनुबाहेक अब वर्तमानमा ती फेरि कहिल्यै नझुल्किने भए । अब भविष्यमा ती फेरि कहिल्यै नझल्मलाउने भए । त्यस्तै लेख्तालेख्तै विभिन्न व्यावहारिक अल्झोका कारणले त्यतिकै त्यतिकै थन्किएर अपूर्ण अवस्थामा रहेका मेरा कैयौँ रचनाहरू पनि अब फेरि कहिल्यै कहिल्यै पूरा नहुने भए । हो, अब ती सधैँ सधैँका लागि अधूरा अपूरा नै रहने भए ! उफ् ……र यो उफ्…..गर्नुबाहेक यस मामिलामा म अब अरू केही पनि गर्नै नसक्ने हुने भएँ ! हरे ! कत्रो रहरले थालेर आधा पारेको मेरो पीएचडी पनि अब कहिल्यै पूरा नहुने भयो !

मैले सानै उमेरदेखि त्यत्तिकै लहडमा देब्रेहातले पनि लेख्ने अभ्यास गर्न खोजेको थिएँ । मलाई बिछट्ट रहर थियो । दाहिने-देब्रे दुवै हातले सररर लेख्नसक्ने तुल्याउन आफूलाई र केही समयसम्म त्यसको अभ्यासमा मनोयोगले लागेको पनि थिएँ म । फेरि के भयो भयो, मेरो त्यस अभ्यासको क्रम केही दिनपछि त्यत्तिकै सेलायो । त्यो प्रसङ्ग पनि अहिले मैले झल्झली सम्झेँ र त्यसरी देब्रे हातले लेख्ने अभ्यास नछाडेको भए मुख र दाहिने हात नचल्ने भए पनि कमसेकम देब्रे हातले लेखेर त मनको भावना पोख्न सकिन्थ्यो नि, अब ? त्यो सम्झीसम्झी मलाई अब निकै पश्चाताप भयो र झन्झन् भक्कानिएँ र डाँको छाडीछाडी रोएँ क्वाँ….क्वाँ….रुँदै गएँ ।

अब म अघिअघिको ज्यूँदो मान्छे थिइनँ, अब त म प्रतिक्षण ज्यूँदोमुर्दा हुनेतर्फ उन्मुख थिएँ चेतनासहित र अभिव्यक्तिरहित हाड र मासुको एउटा थुप्रो मात्र हुनेक्रममा थिएँ । त्यसदिन बिहानैदेखि बेलुकासम्म म वीरगन्जको सरकारी अस्पतालको आकस्मिक कक्षको त्यस शययामा निठुरी नियतिलाई हजारबाट धिक्कार्दै त्यसै निरीह स्थितिमा दारुण पीडा झेल्दै रहेँ । मेरो अवस्था छिनछिन गर्दै झन्झन् बिगँ्रदै गयो र आजलाई प्लेनमा सिट मिल्दै नमिल्नाको कारणले मैले त्यहीँ रात काट्नुपर्ने भयो । भोलिको काठमाडौँ यात्राका निम्ति प्लेनको टिकट बुक गराए परिवारजन र आत्मीयजनहरूले । म ‘पिँजराको सुगा’ कविताको पङ्क्ति ‘खेल्नु-डुल्नु नित्य रमाई सपनामय भो हाय मलाई’ मा परिवर्तन गरी ‘बोल्नु-लेख्नु नित्य रमाई सपनामय भो हाय मलाई’को विरक्तिलो मनोदशामा रन्थनिइरहेँ उही मर्मान्तक शारीरिक पीडा र उही अर्धबेहोसी अवस्थामा नै ।

तर राति आठ बजेतिर अकस्मात् एउटा चमत्कार भयो । अनौठो जादूसरह नै भयो मेरो लागि । दन्त्यकथाको एकादेशको राजकुमार वा राजकुमारीझैँ जुनको छडीले छोइएँ म । अँ राति त्यस अस्पतालको सम्बन्धित विभागका अर्का एक जना वष्ठितम् चिकित्सकको नेतृत्वमा स्थानीय अन्य अस्पतालका समेत कतिपय चिकित्सकहरूको एउटा टोलीले नै मेरो गम्भीर जाँच गर्‍यो र यस टोलीले निर्धक्कसित घोषणा गर्‍यो- ‘यो प्यारालाइसिस हुँदै होइन, यो त वाकवाकी रोक्न खाएको औषधिको कडा प्रतिक्रिया -रिएक्सन) हो, निको हुन केही समय लाग्छ तर चिन्ता नगर्नोस् यो यहीँ नै निको हुन्छ, अन्त लैजानु पर्दैन ।’ अहा ! यो घोषणा, घोषणा मात्र कहाँ थियो र ? यो त दिव्यवाणी थियो, देववाणी थियो, वेदवाणी थियो र अमृतवाणी थियो मेरो लागि ! साँच्चै अमृतवर्षा नै थियो मेरो लागि !

हो, लामो समयदेखि उपचारका क्रममा चल्दै आएको दुर्दम्य वाकवाकीबाट मुक्तिका लागि सम्बन्धित चिकित्सकले सिफारिस गरेअनुसार मलाई तीन-चार दिन अघिदेखि दिनमा तीनपल्ट नियमितरूपले ‘पेरिनम’ नाउँको चक्की औषधि सेवन गराइँदै आएको थियो । त्यो मेरो दोष थिएन तर त्यही नै मेरो दोषसिद्ध भइदियो र त्यसको त्यस्तो घातक परिणाम भोग्नुपर्‍यो मैले अनाहकमै । जे होस् त्यसपछि भने मेरो निम्ति धन्वन्तरीका नवअवतार बनेर उदाएका उनै चिकित्सकहरूको टोलीको सिफारिसबमोजिम ‘पेरिनम’को प्रतिक्रियालाई काट्ने सेतो रङको स-सानो चक्की औषधिको केही मात्रा सेवनपछि म उसै दिन रातिदेखि भोलिपल्ट बिहानसम्ममा त्यस घनघोर शारीरिक-मानसिक, अतिरिक्त पीडा र प्रवञ्चनाको प्रपञ्चबाट हठात् मुक्त भएँ । ‘ओहो ……उसो भए अब म फेरि बोल्न-लेख्न सक्ने भएँ हगि !’ भन्ने सुखद अनुभूतिको सुकुमार आलिङ्गनबाट त्यसैत्यसै पुलकित भएँ म, हुनसम्म गद्गद् भएँ म, नवजीवन पाएर आफैँमा धन्यधन्य भएँ म, मेरो नियति मप्रति बेइमान नभएकोमा परितृप्त भएँ म र लाखलाख कृतज्ञता अर्पण गरेँ मैले । कोटिकोटि नमन गरेँ मैले चिकित्सक रूपधारी मेरा ती दैवहरूप्रति ।

लाग्यो, पुनर्जन्म यस्तैलाई भन्छन् क्यारे !

अँ, त, २०६३ सालमा म जुन प्रवञ्चनाबाट भुक्त र मुक्त भएँ, त्यसको तीन वर्षपछि अहिले २०६६ सालको आरम्भसँगै मेरा सन्त प्रकृतिका पचहत्तर वषर्ीय ससुराबा ठीक त्यही पक्षाघातरूपी राहुबाट ग्रस्त हुनुभएको छ । ठ्याम्मै वर्षदिन भयो । उहाँ न केही बोल्न सक्नुहुन्छ न त लेख्न नै अर्थात् सम्पूर्णतः अभिव्यक्ति सामर्थ्यहीन । संस्कृतका विद्वान् हुनुहुन्छ उहाँ र सेवानिवृत्त सरकारी कर्मचारी पनि मसितका भेटहरूमा संस्कृतमा नै वार्तालाप गर्न रुचाउनुहुन्थ्यो र बसिबियाँलोका लागि संस्कृत र नेपालीमा केहीकेही लेखी पनि राख्नुहुन्थ्यो ठीक एक वर्ष अघिसम्म । हो, ठीक एक वर्षअघिसम्म उहाँ प्रतिवर्ष दसैँमा आफ्ना घरपरिवारजन र हामी बगालै छोरीज्वाइँ, भाञ्जाभाञ्जी नातिनातिना र चेलीबेटीहरूलाई वात्सल्यपूर्वक ‘आयुद्रोणसुते श्रयिं दशरथे……’ का साथै ‘तव वदनसरोजे भारती भातु नित्यम्……’ जस्ता आशीर्वचनात्मक श्लोकहरूको लयदार उच्चारण गरेर थुप्रैथुप्रै आशीर्वाद ओइर्‍याउँदै टीका र जमरा लगाइदिनुहुन्थ्यो । उहाँबाट त्यसरी ‘तिम्रो मुखकमलमा सदा वाग्देवी सरस्वतीको वास होस्’ भन्ने आशीर्वाद शिरमा थाप्न पाउँदा आफू वाणीकै अर्चना, आराधना र उपासनामा जुटेको एक साधक हुनाको नाताले म विशेषरूपले पुलकित हुन्थे तर उफ्.. पोहोर परारको जस्तो भएन हाम्रो यसपालाको दसैँ । निकै खल्लो भयो । यस वर्ष त उहाँ वाणीहीन भइसक्नुभएको थियो । अब मनले बाहेक मुखले प्रस्टसँग यस्ता श्लोकहरू उच्चारण गरेर आफ्ना प्रिय सन्ततिहरूलाई आशीर्वाद दिनसमेत नसक्ने बनाइसकेको छ क्रूर नियतिले उहाँलाई ।

उहाँका ती मीठा सम्भाषण र लेखन अब पूर्णतया इतिहास भए । वर्तमानमा तिनको कुनै लक्षणसमेत बाँकी छैन । बाँकी छ केवल तिनको सम्झना । मीठो सम्झना, घनघोर पीडादायी सम्झना र हृदयविदारक सम्झना । सम्झना फगत सम्झना र अब त्यही सम्झनाले साह्रैसाह्रै रुवाउँछ उहाँलाई र रातोदिन रुवाइराख्छ । सेवाभाव उहाँलाई बिझाउँछ ‘उनीहरूलाई दुःख भयो’ भन्ने पीरलो । हेर्न/भेट्न/बोलाउन आउने आफन्तहरूको माया पनि उहाँलाई बिझाउँछ प्रत्युत्तरमा पोखिने असमर्थताले । उहाँको अभिव्यक्तिको एक मात्र माध्यम अब आँसु र फगत् आँसु भएको छ । ‘यह आँसु मेरे दिलकी जुवान है….’ भनेर एउटा हिन्दीगीतले भनेझैँ अब आँसु नै उहाँको अभिव्यक्तिको एक मात्र सहारा भएको छ । जे गर्न परे पनि आँसु, जे भन्न खोजे पनि आँसु । साँच्चै उहाँ अब सम्पूर्णतः आँसुमय हुनु भएको छ । ‘यसरी कति दिन बाँच्नु ? मलाई अब देवघाटमा लगेर सप्तगण्डकीको सङ्गममा सेलाइदेओ’ भन्ने भावको सङ्केत गर्नुहुन्छ आफन्तहरूसँग बेलाबेला । अनि फेरि झर्झर बर्सन थाल्छ अव्यक्त वेदनाले सम्झना र भावनाको कालो बादल, झन्झन् भक्कानिएर आउँछ छाती र त्रिशूली र कालीगण्डकी छल्छलाउन थाल्छन् दुई आँखाबाट । उहाँको त्यस अविरल अश्रुप्रवाहलाई पनि म फेरि महाकवि देवकोटाकी ‘चारु’ मा उसैगरी झल्झलाकार भएको अनुभूति गर्न पुग्छु ।-

सझन्छु बोलिबीच छाती अटाउँदैन ।
आँसु सिवाय रसिलो अरू आउँदैन ।

र एकचोटि थर्रर काँप्छु म उहाँको स्थानमा आफू भएको दुष्कल्पना मात्रले पनि । कुनै दिन चिकित्सा विज्ञानले जादू नै पो गर्छ कि भन्ने आश पनि छँदैछ हामीमा ।

उखालिएको बिरुवा त जता पनि सर्छ तर रूख ? बुढेसकालमा विस्थापित भएको व्यक्ति त जरो उखेलिइको रूख न हो । त्यो अब फेरि कहिले, कहाँ र कसरी सर्नु ? कलैयाबाट उखेलिएर काठमाडौँ आएको तीन वर्ष भयो । सरस्वतीनगरमा सरस्वतीका दुई अजर अमर पुत्र डा.केशवप्रसाद उपाध्याय र डा. तारानाथ शर्माको माझमा बास पाएको छु र कृतार्थ भएको छु पितातुल्य दुई श्रद्धेय अग्रजहरूको वात्सल्यपूर्ण सान्निध्य र घना छहारी पाएर । उसैगरी गौरवान्वित छु म प्रत्येक दिनका कतिपय छिनहरू उहाँहरूका साथ शिष्यभावले मधुरतमरूपमा बिताउने सौभाग्य पाएर तर त्यो सौभाग्य मलाई कहिलेसम्म प्राप्त भइरहने हो थाहा छैन किनभने मेरो यो वास त स्थायी नभएर नितान्त अस्थायी न हो । कुन दिन, कति बेला फेरि कता झिटीझाम्टा सार्नुपर्ने हो के पत्तो !

उहाँहरू कहाँ जाँदा बिहानै, दिउँसै, बेलुकै जतिबेला पनि प्रायः सिर्जनारत नै पाउँछु उहाँहरूलाई । हो उहाँहरू जहिलेसुकै पोखिरहनुहुन्छ आफूलाई । यस मामिलामा हरतरहले प्रभावित छु म उहाँहरूबाट उहिल्यैदेखि र एउटै गाउँ-टोलमा घर हुनाले र दुवै परिवारका बीच आत्मीय सम्बन्धसमेत हुनाले केशवदाइबाट त अझ बच्चैदेखि । आफूलाई पोख्ने सन्दर्भमा मदनमणि दीक्षितज्यूबाट पनि नवयुवाकालदेखि नै प्रभावित रहँदै आएको हुँ म । उसैगरी समयसमयमा उत्प्रेरित पनि । मेरा अरू पनि थुप्रै स्रष्टा अग्रजहरू, मित्रहरू र अनुजहरू आफूलाई पोखिराख्नुहुन्छ- के दिन, के रात, के साँझ, के बिहान र के घर, के परदेश ! मलाई मीठो ईर्ष्या लाग्छ उहाँहरूको चौपट्टसित । आहा…..!!! मैले पनि त्यसो गरिरहन पाए !!!

अँ, यस्तो आफूलाई पोख्ने सन्दर्भमा यता आएर मेरा आस्था, आकर्षण र ईर्ष्याका पुञ्ज हुनुभएको छ आदरणीय अग्रज जगदीश घिमिरे पनि । बाफ् रे …..कस्तो आत्मबल ! कस्तो धैर्य ! कस्तो साहस ! कस्तो समर्पण ! र कस्तो जाँगर उहाँको ! कस्ता अदम्य र अजेय स्रष्टा उहाँ ! कालरूप विकराल मल्टिपल माइलोमाबाट ग्रस्त भएर पनि, घातक रोगशय्यामा थलिएको दारुण अवस्थामा पनि ‘अन्तर्मनको यात्रा’ जस्तो आफ्नै प्रकारको एक विशिष्ट र कालजयी आत्मपरक आख्यानेतर गद्य ग्रन्थको सिर्जना ! बाफ् रे ! यो कल्पनाभन्दा परको कुरा पनि कति सहजरूपले यथार्थमा परिणत गर्न सकेको उहाँले ? त्यो पनि कस्तो सरल र तरल भाषाशैलीमा, कति साहित्यिक उचाइ, गहिराइ र चौडाइ अनि कलात्मक बान्कीका साथ ! त्यसपछि पनि उहाँ पोखी नै रहनुभएको छ आफूलाई रातदिन हतारहतार पाएसम्म, भ्याएसम्म । मानौँ अब एउटै मात्र ध्याउन्ना छ जीवनमा उहाँको, आफूलाई सकेसम्म पोख्नु-पोख्नु-पोख्नु र एकदम रित्याउनु चाँडोभन्दा चाँडो । ज्ञात वर्तमानको त कुनै भर छैन भने अज्ञात भविष्यको त झन् के भर ? त्यसैले अचेल म रातोदिन प्रार्थना गर्छु ब्राहृमीसँग, वाणीसँग, वाग्देवीसँग, भाषासँग ।

हे वाणी ! हे ब्राहृमी ! हे वाग्देवी ! हे भाषा ! मलाई यस्तै यस्तै तिम्रा स्वनामधन्य साधक, आराधक र उपासकहरूको धूलीकण बराबर भए पनि अंश प्रदान गरेर कृतार्थ तुल्याऊ । कृपा गर । हो, म आजैदेखि र अहिल्यैदेखि लागिपर्न सकूँ आफूलाई अनन्य भावले अभिव्यक्त गर्नेतर्फ, पोख्नेतर्फ र पोख्तापोख्तै रित्याउनेतर्फ । मलाई त्यो क्षमता देऊ, त्यो जाँगर देऊ, त्यो अव्याहत गति देऊ, त्यो भाषिक शैली सामर्थ्य देऊ र त्यो अमोघ सिर्जनास्त्र देऊ, जसद्वारा म आफूलाई आजैदेखि र अहिल्यैदेखि सकेसम्म भ्याएसम्म र पाएसम्म छताछुल्ल पोख्न सकूँ, रित्याउन सकूँ । हो, म नितान्त रित्तिन सकूँ । मेरो प्राणप्रयाणको समयसममा, मेरो भौतिक अवसानको समयसम्ममा मैले आफूलाई पोख्न, आफूलाई रित्याउन रत्ति पनि, कत्ति पनि बाँकी नै नरहोस् । म त्यसबेला एकदम हलुङ्गो, फूलभन्दा पनि, मनभन्दा पनि हलुङ्गो भएको अनुभूति सँगालेर मधुर मुस्कानका साथ संसार त्याग्न सकूँ । परं तृप्त भएर मर्न सकूँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *