Skip to content


अनुभूतिको नदीमा छु ।

लाग्छ, जोखिममा छ अनुभूतिको सम्पूर्णता पनि । अखण्ड दुस्साहसहरूले प्रहार गरेका छन् । संवेदनाको सारसौँदो स्वरूपमाथि ।

पल प्रतिपल, प्रखर आस्थाको हिंसामा सपनाहरू पिल्सिएका छन् । सप्तरङ्गी जीवनलाई सबै कोणहरूबाट प्रकाशले ढाके पनि दोछायाँले गालेको हुन्थ्यो । ती त्यहाँसम्म पुग्नुपर्ने र मेटिनुपर्ने सुयोगहरू वरवर भेट्ने कोसिस छ । सुखद भेटको कल्पनाले तरङ्गित भई दिन । कुन्नि अप्रतिहत बस्तीमा दोछायाँलाई पनि । मुस्कुराहटको आडमा, आरोपित जूनलाई पनि । सँगसँगै लुकामारी खेल्ने ती सुकन्याहरूलाई पनि ।

प्रस्तावले बनेको छ, समयको संरचना, आफैँ कतिपय । समयको पे्रक्षागृहमा छु, तर ।

लाग्छ, चीरहरणमा छ प्रस्ताव । प्रस्तावको भूवनोट शब्दको तरलतामा मात्र रक्षित हुनसक्छ । शब्दको संप्रेषणमा मात्र परिभाषित हुनसक्छ । पृथक् अर्थहरूले निर्देशित शब्दको वर्चस्व ती त्यहाँसम्म, कायम हुनुपर्थ्यो । प्रकारान्तरले प्रस्तावीय राजपथमाथि ।

प्रस्तावको प्रस्ताव विनिर्मित हुनलाई ।

तथापि रूप छ । अलङ्कार छ । ध्वनि छ । वेग छ । सम्मोहन छ । कामसूत्र पनि छ । कालक्रमिक क्यालेण्डरको बिम्बमा साधना टेकिरहेको छु । समर्पण टेकिरहेको छु । प्राचीन जीवनको धरोहर उद्घाटित हुने सम्भावना पनि छ । यथास्थितिहरूसित सम्झौता गर्न मन नभईनभई तय भएको यात्रा यो, आखिर फेरि परिभाषित हुन सकेन ।

निःशब्द जिज्ञासाहरूको वार्तालापपश्चात् समयविम्बमाथि प्रश्न जारी छ । कथानकका कारकीय उपचरित्रहरू संयोगान्त तरखरमा छन् । प्रधानचरित्रहरू पुनर्मिलनका निम्ति उत्सुक छन् । मिलन-पुनर्मिलनमा समाधिस्थ जीवनको नाद गुञ्जन बगिरहेको छ ।

त्यही नदीसित ।

यही नदीसित ।

विप्लवीहरू घाउ पखाल्न जुर्मुराएका छन् । जीवन रच्न जुर्मुराएका छन् । सोच्तछु नदीमा । जलविनायकमा ।

पराक्रमीहरू ती, साहसिक गाथामा आइपुगेका हुन्, जे भए पनि ।

एकालापसित वार्तालाप सकेर, र्फकंदा घाम चढिसकेको हुन्थ्यो, डाँडामा । घामको जस्तो आभास अझ आकाशमा । घाम समयको आखेट बनेर पछारिँदै थियो, मनोकाङ्क्षाका नागीहरूमा ।

युगनायकका आन्दोलनले रन्थनिँदै गरेको लस्करै समयसित, अब केही रहेन ।

तरल अर्थहरू, तरल ध्वनि र संप्रेषणहरू कहीँ केही हुन् । कहीँ केही होइनन् । निस्पृह सोचका सन्दर्भमा चाहेजस्तो जीवनको मालिन्यता, द्वन्द्व नभई द्वन्द्व हुन् । भावमा, द्वन्द्वातीत छन् ।

विचारको ताँदोमा अनुभूतिको ज्वारभाटा योगमय रहेको अवस्था रोमाञ्चकारी रहँदै आएको छ । अनुभूतिले अनुभूतिसित रोमाञ्चस्मृति, कहिले खोजिन्छन् आफैँ । भेटिन्छन् कहिले सचेतकले पनि ।

विस्मृत जीवनको स्मरण र यथास्थित जीवनको सन्ध्यामा नजर चढाइरहेको हुन्छु । वर्तमानको उद्घोषमा केही पृष्ठहरू खुल्छन् । अवाक् बसेका हुन्छन् केही ।

निरुत्तर दृश्यहरू ।

निर्निमेष प्याराग्राफहरू ।

अन्तर्मुखी अभयचिहृनहरू ।

संयोजकले संयोजकका योगमालाहरू ।

अब दुनियाँले छैन भनेको सत्य, म जिउँन चाहन्छु । बहिष्कृत अस्तित्वको परिणतिलाई मूल्य दिन चाहन्छु । समग्र अस्वीकृत आकृतिहरूलाई रूपबोध दिन चाहन्छु ।

कृत्रिमता, अभिनय वा आडम्बरका भ्रमहरूले लत्पतिएको रेखाचित्रमा मेरो तस्बिर बोल्न सक्तैन । अनुभूतिको स्पर्श नभएको क्यानभासमा मेरो अन्तर्बिम्व उभिन सक्तैन । संप्रेष्यतालाई त्यसैले, यथेष्ट शून्यताहरू चाहिन्छ । मौन तरङ्गहरू चाहिन्छ । यो शून्यता र मौनता मिथ्या होइन तर साँधलाई उछिनेर लहरै आत्मोदयमा आइपुगेको छ एउटा चेतनविम्ब । एउटा उल्लसमय उत्सव ।

कुन्नि अस्तित्वहीनतामाथि अस्तित्वको दावा-एक रिक्तता पूर्तिका लागि स्वनिर्मित प्रयोजन थियो । मिथ्याहीनताको वस्त्रादीमाथि मिथ्या संरचना, मिथ्यावरणका लागि स्वघोषित मनोबल थियो ।

अस्तित्वहीन अस्तित्व र सत्यनिरुपित मिथ्यावरण मिलेर बनेको सामाजिकीकरणको पिण्ड म मान्छे । आदिम सत्यका तरखरमा बाँचेको । अर्वाचीन सत्ताका केन्द्रीयतामा बाँचेको ।

प्राचीन सम्पदा निःसृत वर्तमानका सापेक्षमा चेत फर्केपछि, वासमा आउँछन् झुण्डहरू । किल्लोरी सङ्गीतका घुँघरुचरीहरू । कविताको पटकथाजस्तै । कथानायकको अभिश्रीजस्तै । लेखकीय नैतिकताको सन्दर्भ यो, संप्रेषणको धरातलसित आबद्ध छ, ‘हुनु’ र ‘नहुनु’ का प्रत्याभूतिहरूले । आस्था-अनास्था केन्द्रित निस्सार बोधहरूले । परस्पर रिक्त स्पर्शहरूले ।

ती प्रत्याभूत निस्सारबोधहरू र रिक्त स्पर्शहरू आल्हाद आनन्दसित गाँसिएका छन् । आत्मरञ्जनासित गाँसिएका छन् । कहीँ ती लेखनसित जुराइने दायित्वका भारहरूले आयोजन हुन्छन् भने कहीँ विरासतमा प्राप्त रचनाधर्मितासित पनि साक्षात्कारित भइरहेका हुन्छन् ।

बोध र स्पर्शले उत्कषिर्त यो प्रतिबद्ध रचना जिउँछ । रचनाकर्म जिउँछ । समग्रमा एउटा लेखकीय सत्ता जिउँने उपक्रममा हुन्छ । ऊ त्यसैले जिउँछ । कटवालको जीवन पनि जिउँछ । लीलबहादुर वा व्यथितको जीवन पनि जिउँछ । तुलसी दिवस वा माधव घिमिरे दुवै जिउँछ । भार कसैले राष्ट्रमा राखेका छन्, कसैले अन्तर्राष्ट्रमा ।

बोध र स्पर्शानुभूतिहरूले निरपेक्ष तुल्याएको सांस्कृतिक सापेक्षतामा आइपुग्दा अराजक विस्मृतिहरूको औचित्यप्रति कहिलेकाहीँ प्रश्नचिहृन लाग्न सक्छ । यी प्रश्नचिहृनहरू शाश्वतताविरुद्ध छैनन् र कहिल्यै कुनै बन्धनमा पनि आशक्त रहेनन्, ती ।

केवल जोखिमहरू परीक्षण गरिँदै आएका छन् । ती जोखिम परीक्षणलाई भारतीय हिन्दी साहित्यका महान् कथाकार प्रेमचन्दले स्रष्टा र पाठकका बीचको अन्तर्सम्बन्धबाट लिएका छन् । यो अन्तर्सम्बन्ध हरेक कृतिका सन्दर्भमा निर्वाह हुन्छ । स्रष्टाले जनअदालतमा जवाफ दिनैपर्ने दायित्व साधारण जोखिमअन्तर्गत पर्दैन । स्रष्टाले प्रेषण गर्दैआएको आल्हाद-पीडा जोखिमपूर्ण मात्र छैन, उपचारकका अर्थमा पनि भाग लाग्छ ।

ग्रहणकर्ताको चेतना र क्षमतामा निर्भर गर्ने सन्दर्भहरू हुन् यी किनभने अनुभूति-अकारणयाको कारण पनि हुने गर्दछ र कारणको अकारण पनि……। रिक्त वा शून्यका दुवै कोष्ठहरूमा लेखकको निद्रा परेको हुन्छ- यो कारणवस्तु सित ।

उसको तन्द्राभङ्ग जनअदालतले गर्छ, तर ।

अन्तर्मनको यो मौन जड पुनश्चः अर्को कारण प्रारम्भ गर्छ । स्रष्टा त्यो, उत्तरहीन रहेन अब । बेग्लाबेग्लै बिम्ब, प्रतीक र लय शिल्पहरूमा जवाफहरू ती, बाँचेका छन् ।

अथाह पीडा छ, ड्यासमा । वीणामा छ थोकको योगफल पनि । जसरी दुनियाँको पहिलो कथ्य अक्षरमा लेखिएन, केवल रेखाचित्रमा उतारियो ।

सामान्य घटना थिएन यो ।

पीडाको साधारण खोज पनि मान्न सकिन्न यसलाई । ती संसर्गले आफन्त अनुराग र पराया विघटनलाई स्मरण गराउँछ । पाश्र्व संवाद र अभिनित दृश्यतामा अकथाको विश्वास छ । अगणितको भूमिका छ । यद्यपि विश्वासको आयु कहिले सुन्दर छ त कहिले निषादपूर्ण ।

प्रकाशवर्षले प्रकट गरेको ।

बिहानको कल्कलाउँदो शीततापले स्पर्श गरेको । स्वप्निल रोमाञ्चले छद्म घोषणा गरेको । पात्रविम्ब कहीँ लेखकीय हस्तक्षेपमा पर्छ । कहीँ ती हस्तक्षेपहरूलाई नाघेर वृत्तान्त बन्छ आफ्नै । म ती द्वन्द्वहरूबाट पृथक् पनि बसेको हुन्छु । यो पृथक् तर सत्य वैयक्तिक अस्मिता हो र पाठरचना पनि । कहिलेकाहीँ लेखकमाथि भइरहने अनर्गल दुस्साहस पनि ।

भनिन्छ, सादा पोसाकमा भौँतारिने अनर्गलहरूसित साक्षात्कारित हुनु छैन ।

तथापि रङ्गीन मिजासका अनुभूतिहरूलाई सङ्लो तुल्याउन सकिन्छ । कुशल शब्दहरू संयन्त्र छन् बनेका । शब्दमा त्यसैले बौद्धिक आकर्षण छ, सर्वाधिकार, कूटनैतिक अभिमतहरूले, जीवनलाई सुरुचिपूर्ण बनाउन । यी उद्यमहरू सधैँ अनिवार्य छन् कालचिन्तनको विषय सायद यिनै रङ्ग र ध्वनि मिलेर निर्माण भएको छ ।

रुसोले सोचेजस्तो मजाक ठहर्‍याउन सकिन्न, जीवनका केही कति संघातहरूलाई । आत्मपरक हुनुका सीमाहरू छन् । व्यवधानहरू छन् । कति खोज्ने र कति प्राप्त गर्ने भन्ने मात्र अहं प्रस्ताव हो, समयको साँघुमाथि ।

ती त्यसैले, रङ्गहरूले त्यहाँसम्म । सांस्कृतिकहरू ती, ल्यावटपमा राखिएको छ । परीक्षण र प्रयोगहरूले हेरिन्छ, सांसारिक अन्तर्द्वन्द्वलाई, बेस्सरी । आफ्ना वैशिष्ट्यमा आधारित प्रावधान हुन्, ती सबै, त्यसपछि ।

राजहंस र सामान्य पक्षीहरूमा पृथकता छ । यो विवेकशील चेतना सर्वश्रेष्ठ त्यसै बनेको होइन । वर्दानप्राप्त छ, त्यहाँ । उपयोगितावादी संस्कृतिको प्रारम्भ र प्रयोजन नियोजित कर्मका लागि थियो । नित्य नियोजनका निरन्तरता कहिल्यै स्तब्ध रहेन ।

अनगिन्ती सिसिफसहरू अथक् प्रयत्नमा छन् दुःखका कारणहरू क्रीडा गर्न । क्रीडा व्यामोहमा प्राचीनताका विरासतप्राप्त कविहरू सिसिफस र सिसिफसको कथा भित्र्याउने क्रममा पनि छन् । निरूपाय हुँदै, म त्यहाँसम्म चहारिन्छु । प्रश्न छ तिनले राखेको । आफन्त अनुरागले राखेको ।

ती प्रश्नहरूको कुनै अन्त्य छैन ।

निरुत्तर जीवनको व्याख्यामा छु म । अनुभूतिको तरलतामा अनुभूतिहीन छु म । अहिले त्यसैले, आफैँ आफूसित पात्रहीनतामा आइपुगेको छ । सशरीर यी दृष्टि-चैतन्यहरू । अराजक नाट्येश्वर जागेको बेला नृत्यको बोल बोल्दैन । ज्ञानचेतनाको महायज्ञमा सिसिफसको प्रारम्भ र अन्त्य एकै उत्कर्षले बनेको थिएन । ती अवसानहरू उन्मादमा रहन्छन् । उन्मादमा जिउँछन् । दुःखैदुःखका महाप्रलापहरूले शृङ्गारिक देखियो भने ऐन्द्रीय संवेदन यो, केही खोल्छ कहीँ खुल्छ । कवितामा होस् वा चित्रकलामा ।

सापेक्ष आस्था र निरपेक्ष अनास्थामा पेण्डोराका जिज्ञासाहरू विस्फोट भएपछि अघिल्तिरको तेलचित्र पछिल्तिरको विम्बभन्दा फरक बस्छ । अर्थहरूको सम्भावना र आकस्मिकताहरूले फरक रोजाइ, फरक स्वरूप बस्छ । अझ नियतिपरकताले उभिएको हुन्थ्यो ठाडो धर्का अर्थ विघटनमा । विघटनपछि पुनर्निर्माण हुनु छ, आफूले आफूलाई हासिल गर्न ।

ब्रहृमाण्डनिःसृत शून्यताको आकाशगङ्गाबाट कोलाहल पर्व आयोजना गर्न सकिन्छ । ती शिल्पीहरू अघिदेखि झरेका हुन्, निजत्व निर्माणका लागि कोलाहल संप्रेषण गर्न । त्यसबेला आफन्तपन प्रिय हुन्छ, मौलिकताका अनुबन्धहरू हिँडेर । समयको प्राचीनताले सर्वस्वीकृत तुल्याउँदै ल्याइरहेको छ, यो अनुरागको मिथकलाई ।

अब नियमित समारोहमा आइपुगेँछु, म । जदौ समारोहमा । उकुसमा ती, सबै जातका वेदनाहरू राखिएका छन् । संशय, विष्मयहरू राखिएका छन् । सजाएर आल्हाद-आनन्द, उत्थान उत्कर्षहरू राखिएका छन् । शक्तिका उपासकहरूले आर्यावर्तको गरिमा प्रदर्शन गर्ने क्रम पनि जारी छ ।

धारावाहिक स्वरहरू ध्वनित हुनेक्रम यथावत् छ ।

महापात्रहरूको बयानमा पात्र सम्मिलित हुने उद्यम पनि छ ।

आशा र वेदनाको मिश्रति धुनमा बज्ने रागहरू स्रष्टाको जोखिममा परेको छ । जोखिमलाई क्रमशः आदरार्थी पदचिहृनहरू हिँडेर फ्ल्यासब्याकबाट सम्झुँला भन्ने पनि थियो । मधुर स्मृतिहरूलाई भनुँला भन्ने पनि छ ।

थालीमा, वस्त्र परिधानहरू मैला हातहरूले वरण गरेपछि शेष सर्जाम भाग लाग्ने हो, त्यसपछि । दिमागी कसरतहरूको क्षत विक्षत चेतना कस्तो हुन्छ, घाउमाथि आउन सक्तिन ।

जब घटनाले अर्कै मोड लिन्छ ।

पटकैपिच्छे एउटै दृश्यमा अनेक आशङ्काहरू उब्जिने स्थिति सायद यस्तै हुन्छ ।

कवितालाई हृदयाघात भएकै हो त !

आफैँ आफूसित अनुत्तरित भएका बेला राखिन्छु यसरी शब्दले शब्दको निरीहतासम्म । कविता प्रलाप मात्र हुनु वैराग्यको एउटा सन्दर्भ माने हुन्छ । उत्सवरहित रङ्गहरूको उत्प्रेरणामा वैराग्य निर्वासित थियो, अघिदेखि ।

द्वन्द्वको योगमा बिम्बहरू परेका छन् । सुम्सुमाउँछु । विकर्षणको अनुच्छेदमा वितरागहरू फसेका छन् । सहर्‍याउँछु ।

ती सबै जडसूत्रहरू यात्रा थाल्दाका प्रावधानमा छन् । कटुसत्यको पहर यो, अलग घटना बनेर अलग रेखामा देखा पर्छ जब कालजयी चेतनाको दुर्ग थालिन्छ, त्यसपछि ।

दुर्गहरूमा आइपुगेर केहीबेर टक्क रोकिँदा । प्राचीन स्मृतिहरूतर्फ र्फकन थाल्छु । कैयन् कालखण्डबाट हेरिएका सुकरातको स्वरूपमा अल्झन्छ बिम्ब । मृत्युको अघिल्तिर राखिएका तिनलाई केहीले विचलन गर्न सकेन । कठिन यात्राको प्रावधान एउटा निर्धारित घटनाका लागि थियो यी महान् व्यक्तिका सन्दर्भमा । सुकरातले थालेको अपोलोको प्रार्थना पनि त्यसबेला हृदयाघातमा परेको हुनुपर्दछ । विश्वको महान् कविता कुनै जटिल परिस्थितिबाट उत्पन्न भएको छ । सुकरातमाथि आइलागेको कठोर दण्डले एउटा विराट् मिथकको निर्माण भयो ।

कल्याणमा अकल्याणको योग कति सहर्ष स्वीकारिँदोरहेछ । आकस्मिकता यसप्रकार, प्रारम्भबाट थालिएको थियो । हठात् भेटिएको होइन, जीवन नाम गरेको कुनै प्रतिफलसित ।

विधि र प्रयोगले यसको आँकलन हुँदैन । सबैसबै स्थानमा नियोजित छन् । प्रफुल्ल पीडा क्षणिक शान्तिमा रूपान्तरण हुँदै आएको छ परिक्रमारत बिम्बतर्फ आइपुग्न । क्षण भङ्गुरतामा पल्लवित हाम्रा चेतनाहरूले दूरन्तको यात्रा तय गर्दैनन् भन्ने चाहिँ होइन । म ती पूर्ण-अपूर्णका सँघारबाट नियालिरहेको छु । आफूले हासिल गरेको आकस्मिकतालाई लिएर ।

सुकरात वा सिसिफस दुवै आकस्मिकता हुन् ।

आजको पाठरचनामा जे स्वीकारिँदै आएको छ, आकस्मिकता, ती विगतकै मिथकले प्रदान गरिएका वरण रहेछन् । केवल समयलाई जलप लगाउने अभ्यास मात्र भइरहृयो, स्वरूप परिवर्तन गर्ने सिलसिलामा । आफै पनि निरन्तरको उपलब्धिमा उपकथ्य मात्र भइरहेको छु । एक विस्तारित सिलसिला बन्न नसकेको अनुभव छ । शर्त र सम्झौताले कुनै मोडमा पुर्‍याउन सकेको छैन । कविता लेखेर कविताको चीरहरण भइरहेको हेरिरहनुपर्ने, अहिले एउटा आकस्मिकता छ । यो त्रासदीबाट पृथक् बस्न नसकिने रहेछ ।

रोम जलिरहेको बेला पनि कविता लेखियो । सिंहदरबार जल्दा पनि कविता लेखिनेक्रम जारी थियो । रोल्पा, रुकुम जलिरहेकै छन् । कविता रोकिएको छैन ।

कविता अब अग्निको कथा हुने तरखर हो यो ।

अग्निपथमाथि, ती कदाचित कविताका उद्भिजहरू किन उत्सर्गित तुल्याइएको होला ! कहीँ कोही बोल्दैन ।

यो मौन, अघिदेखि पुरातन पाठरचना निर्वाह हुँदै आएको छ, ती अवाक्हरूसम्म । ती अचिन्त्यसम्म ।

स्वयंसिद्ध अस्वीकृतिहरूले तर आफ्ना वृत्तबाहिर आउन सक्नु पर्दछ । कहाँबाट निवृत्त भइदिने भन्ने मात्र हो, वृत्तबाहिर र वृत्तभित्र ।

मैले परिक्रमा गर्न सकेको छैन आफूलाई ।

अल्झिरहेको छु ।

सन्तहरूको हेराइ अल्झिरहेको छु ।

कुन्नि इसामसिह र नित्सेमा कति दूरीको फरक छ, खोजिरहेको छु ।

दृढ आत्मविश्वासका ठूला प्रतीकहरू यी, बृहत् वृत्तबाहिर छन् । दयाबाट हेर्‍यो एउटाले, मनुष्यको गरिमालाई । दोस्रोले सर्वसत्तावादबाट । अति मानव सङ्गत यो कल्पना नित्सेबाटै पूरा हुनु थियो, भएको थियो ।

मनुष्यले आफ्ना श्रेष्ठताका आधारहरू खोज्ने कारण वृत्तमा जारी राखेको छ । तथापि मनुष्य, मनुष्यको श्रेष्ठतासम्म पुग्न अझै कति अभ्यासहरू बाँकी छन् । आत्मदाहका कुलिन चेष्टाहरू बाँकी छन् कति ।

ईश्वरलाई भेट्न नसक्नेहरूका भीडमा आइपुगेको म, ईश्वर भेट्नेहरूका ताँतीमा छु । परिभाषाको ईश्वर र परिभाषाविहीनको ईश्वर तर्कशास्त्रमा मात्र फरक पर्छ ।

ईश्वरको नियमिततातर्फ प्रश्न गर्न आवश्यक छैन । उसको काल्पनिक वस्त्रलाई मात्र अस्वीकार गर्छ विज्ञानले । रुढी र अन्धविश्वासलाई मात्र वर्जित गर्ने ध्येयमा छ, अत्याधुनिक भौतिकवाद । यो अति मानव चेष्टालाई ईश्वरीय स्वरूपमा राख्न अध्यात्म आवश्यक छैन । अनर्गल कल्पनामा अतिमानवको अस्तित्व छैन पनि ।

काँतरता, मिथ्यापन र उदासीनताहरू मिलेर केही हासिल हुन सक्तैन । वर्तमानको पाठरचना त्यसैले, मौनमाथि विद्रुप र उदासीनताविरुद्ध इन्कलाव हुनसक्छ जोखिमहरू तय भइसकेपछि ।

प्रत्यासित अनर्गलहरूसित गरिने सम्झौताले केही हासिल भएको छैन । जटिल रासायनिकहरूसित साक्षात्कार गर्न सक्नेकै विजय निश्चित छ । जराथु्रष्टको जड लर्खराएपछि नित्सेको आत्मप्रकाशन भएको थियो । यी स्वीकारोक्तिहरूसम्म आइपुग्न मौन उदासीनताका विरुद्ध विप्लवकै मु्ठ्ठी चाहिन्छ ।

काठमाडौँ खाल्डोमा, कति भयानक दुस्वप्नहरू उत्पत्ति भएका छन् । म तर, जराथु्रष्टका अघिल्तिर, मुच्छिर्त नटको देहलाई कल्पनाशील विम्बले हेरिरहेको छु । अझै यस्ता शवहरू कति उठाइनुपर्ने हो भीडलाई जम्मा गरेर हेर्नेक्रम जारी छ । तपोभूमि यो, निस्सारता र पलायनले तप्त छ । तप्त अग्निमा, केही कविताहरू चहर्‍याइरहेका छन् । वेद, बाइबलका उद्धरणहरूले श्लोकहरू रसाइरहेका पनि छन् ।

कविता लेखिने कारणहरू छन्, फलिभूत शीर्षकका लागि यदि, अलङ्कृत गतिले उचाइ पहिल्याउनुमा आनन्द छ । मनुष्यको सार्वकालिक परिचय स्थापनाका दिशामा त्यहाँ पाठरचना सबल देखिन्छ भने पाठकको सम्पूर्णता जाग्छ । नत्र लेखकीय सत्ता निष्प्राण हुन्छ । स्वीकार्नै पर्दछ यो कटुसत्यलाई पनि ।

लेखक निरन्तर एउटा सुगठित विचार, वाद र आन्दोलन, अकिञ्चनको स्पेसका लागि । स्पेसको निराकरणका लागि । ती त्यहाँसम्म उसले रिक्त तुल्याएको बालिष्ठमा । कौचहरूमा ।

जुन आर्यसत्य हो पनि र होइन पनि ।

जोखिमका सन्दर्भमा पुनरागमन भएछ, संवेदनाको निस्सँग आकृति पनि । त्यो जोखिम अनुभूतिका योगहरू निर्मित पाठरचनाका ध्येयले उब्जिएको थियो, अघिदेखि । लेखकीय व्यक्तित्व र उसको प्रस्तावना परस्पर मेल नखाँदा उत्पन्न जटिलताको अनुमान टाढा छैन । घडा नै पवित्र छैन भने घडाभित्र रहेको अमृतलाई कसरी शुद्धीकरण गर्न सकिन्छ । यसको उत्तर आउन सकेको छैन । सहज परिपाटी हुँदाहुँदै पनि ।

सम्पूर्ण इन्द्रियानुभूतिको ज्ञाता ईश्वर, इन्द्रियरहित पनि छ, भनिएको छ गीतामा । यही पृथकतर सत्यलाई अतिमानव परिभाषित गर्ने हो यदि, पाठरचना र लेखकको वर्चस्व, परस्पर विरोधाभास हुन सक्तैन ।

केवल अभिज्ञान सन्तुलनको रहस्य छ । जीवन दर्शनलाई बेग्लाबेग्लै कोणहरूबाट हेर्दा र भोग्दा होस्, वा आफैँले पहिल्याउनुपर्ने गन्तव्यमा विजय पराजय महसुस गर्दा होस्, न्याय कहाँ छ, अन्याय कहाँ छ, यो संवेदना, हिंसा-अहिंसा संज्ञाहरू मात्र राखिएका छन् । उचित अनुचितको नैतिकता राख्न सकेको छैन कसैले । कसले कसलाई कहाँ छाडेको छ ! त्यो उपयोगिताको प्राप्ति कुनै विषयातिरेकमा आधारित थियो ! यी विषयान्धमा पनि र्फकन सकेको छैन, लेखकको यो पात्र ।

पात्रको चीरहरणमा रुमाल हल्लाइरहनु परिरहेको छ ।

मौनको निर्गतलाई हात फेरिरहनु परिरहेको छ ।

लेखकको यो आयुलाई कसैले मिथ्या र कसैले लीलाबाट हेर्न थालेको पनि धेरै भइसक्यो ।

हेराइहरू त्रासद छन् । भ्रान्तिपूर्ण छन् ।

कसैलाई, त्रासद र भ्रान्त ठहर्‍याउने हक छैन तथापि । एक निरन्तर सिसिफस प्रयत्नमा लेखक एक सत्य । लेखकीय अन्तर्वस्तु अर्को सत्य । अनुभूतिको नदीमा सत्यको प्रयोगलाई कसरी निर्वाह गर्न सकिन्छ, प्रतिदिन जटिलताको घनघोर अन्धकारले प्रकाशको स्वरूपलाई क्षीण तुल्याउँदै लगिरहेको अवस्था छ । यावत् महादुःखले अणु बराबरको जीवन पहिल्याउने भगीरथ प्रयत्न गर्छु म । नाटकीय प्रवञ्चनाको अभिनय गर्छु ।

सत्यका मिथकपुरुष गान्धीजी पूर्ण पारदर्शी हुनुहुन्थ्यो आफ्ना यी प्रस्तुतीकरणहरूमा । ती सत्यार्थ प्रकाश अनुकरणीय छन् । ध्येयको निष्कर्ष मात्र सत्यको पदचिहृन होइन रहेछ । विकराल दूरावस्था भोग्नसक्ने सामर्थ्य पनि दोस्रो सत्य रहेछ । समुद्रपारको बेलायत यात्रा नै जातिबाट पदच्यूत तुल्याइने कारण बन्यो गान्धीजीलाई । गुजराती समाज यो लक्ष्मणरेखादेखि बाहिर जान सकेको थिएन । यीदेखि बाहेकका कति कठिन चुनौतीहरूसित सामना गर्नसक्ने गान्धीजीका लागि तमाम भारतीय समाज आफ्नो अभीप्सामा बसेको थियो । जीवनको अवसानसम्म चरितार्थ गरिरहनु पर्‍यो उहाँले ।

सत्यका प्रयोग र परीक्षणहरू यसरी छुट्टन्छिन् ।

सत्यको प्रकाशमा ईश्वरीय सत्ता छ । प्रकृतिको श्रेष्ठता छ । सिर्जना-सौन्दर्य छ । जीवन छ । नादप्रेषण छ ।

पृथक् यी आल्हाद मञ्जरीमा, पल्लवित विचरणहरू उत्तरोत्तर चेतनाका विनिर्माण पद्धति हुन् । कुन्नि त्यसैले, सबल-दुर्वल, हर्ष-विस्मात्, दुःख-पीडा, रोग-निरोग र समानता-असमानताका महाकारणहरू खोजियो । ज्ञानक्षुघा मेट्न सर्वत्र मुक्तिको मार्ग खोजियो । अहिंसाका अन्तरालहरू तय गर्दै महाप्रयाणहरू थालियो, रेखाचित्रमा । सँगसँगै, वासना-भोग-लिप्सामाथि विजय प्राप्त गर्न वशीकरण शक्तिलाई मन्त्रोच्चारित गरियो ।

वैराग्य विश्लेषणबाट सत्यका द्वारहरू खुल्दै जान्छन् । अढाइ हजार वर्षअघि कपिलवस्तुका कुनै सिद्धार्थबाट वैराग्यको एउटा स्वरूप पहिल्याउने चेष्टामा सत्य र अहिंसाको खोजी कार्य सुरु भयो । अनवरत् यो यात्रामा विवेकानन्द वा गान्धीहरूको उदय आकस्मिक रहस्य मात्र थिएन । पदचिहृन थियो, ती वैभवहरू कायम गर्न ।

मञ्चनमा नाम परिवर्तन हुनेक्रम यथावत् छ । चेतना त्यही छ । विवेक त्यही छ । सहिष्णुता त्यही छ । प्रयोग र प्रतिपादनहरूले पात्रका उचाइलाई कवुल गर्नेक्रम जारी छ ।

सत्यलाई वज्रसमान कठोर र कलमजस्तै कोमल ठहर्‍याउने गान्धीभावहरू कस्तै आणविक शक्तिलाई परास्त तुल्याउन यथेष्ट छन् । त्यही आत्मपरीक्षणहरूमा, रस्किनको कृतिले सर्वोदय जन्मियो । यो सर्वोदय सत्याग्रहको पृष्ठभूमि थियो ।

ती त्यहाँसम्म, महान् दस्तावेजहरू तयार गर्‍यो, एउटा प्राचीन यात्राले । स्मृतिहरूको आलेखमा जारी दस्तावेजको खोजी गर्दैछु । तरल अनुभूतिहरुले, तरङ्गति भइरहन्छ, यो राजहंस (ती सर्वोदयहरू प्राप्त गर्न ।)

लाग्छ, अब कुनै जोखिमले मलाई केही फरक पार्ने छैन । उत्तरोत्तर, कुनै वृत्तभित्र गुँडुल्किएर बसेको छ चित्त । सिसिफसका साहचर्यमा कुनै एउटा मन ।

अन्तर्वस्तु निषेधित अनगिन्ति मन ।

कोटेश्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *