आफ्नो पसिना र विवेकले जीवनको गतिलाई समुज्ज्वल बनाउनुको साटो कथुरे तर्क र लिँडे तुजुकको बलमा जातीय उत्पीडनका कुराहरू, जातीय शोषणका कुराहरू, जातीय दमनका कुराहरू, जातीय विभेदका कुराहरू दावाग्नि बनेर यति अमानुष र बर्बर किसिमले मान्छेका मनहरू भत्काउँदै, रहरहरू निचोर्दै, इच्छाहरू पखाल्दै अर्काको पसिना निर्लज्ज पिउन दिनदहाडै रक्त पिपासु बनेर हिँड्न सक्छ भन्ने कुरा जीवनमा मात्र हैन सपनामा पनि सोचिएको थिएन । विषादयुक्त मानसिकता, चाउरिएको अनुहार, उडेको सातो, भाँचिएको भावना, भँगालिएको सम्बन्ध, भौँतारिएको साइनो, भड्किएको आत्मीयता असरल्ल परेर जताततै पोखिन थालेको देखेपछि मन कँुडिँदै जान थालिरहेको छ, मुटु निचोरिँदै जान थालिरहेको छ, चेतना मसाङ्गदिै जान थालिरहेको छ, दृष्टिकोण धमिलिँदै जान थालिरहेको छ ।
जुन कुराहरू भनिन्नन्/गरिन्नन्, ती तारन्तार पुनरावृत्ति हुने गर्दा रहेछन् र जुन कुराहरू नियमित भनिन्छन् । भाकल राखेर गरिन्छन्, ती कुराहरू सधैँ सुकेनास लागेर सिठ्ठा हुन पुग्दारहेछन् ।
भौतिकवादी सिर्जनाको सङ्घारमा प्रवेश गर्दैछ संसार । शोध, अनुसन्धान र विज्ञानको बलले नयाँ स्वप्नलोक बनाउने तर्खर गरिरहेका छन् मानिसहरू । भोगेको कुराहरू, सुनेका कुराहरू, सोचेका कुराहरूभन्दा पनि पृथक् र गतिशील संसार निर्माण निमित्त विश्व अग्रसर हुँदैछ । सूचना, शिक्षा र सञ्चारको शक्तिशाली प्रभावले विकासको नै कायापलट भएको भूगोलमा उभिएर जातभातको पिशाच छेसाहा बनेर डुक्रिरहेको देख्ता अचम्म लाग्दछ । जातीय परम्परा भेदभाव, आडम्बर, अहङ्कार र वैमनस्यको उपविजक मात्र नभएर समाज सुधारको आधारभूत अङ्ग पनि बनेको थियो, व्यक्ति पहिचानको सुकिलो सञ्जाल पनि बनेको थियो, श्रमजीवी मानिसहरूको वर्गीय चिनारी पनि बनेको थियो, आपसी मेलमिलाप र सदासयताको सङ्लो सम्बन्ध र जिउँदो पदचाप पनि बनेको थियो ।
आर्य संस्कारका सन्तति हौँ हामी । आर्यहरू नै संसारका सभ्य जाति मानिन्थे पहिले । आर्यहरूले आदिमग्रन्थ वेद/पुराण हु्न् । वैदिककालमा मानिसहरू थिए । काविलामा बसे पनि, जङ्गली अवस्थामा नै रहे पनि, काला थिए-गोरा थिए, आर्य थिए- अनार्य थिए, देव थिए-असुर थिए, नाग थिए-यक्ष थिए, गन्धर्भ थिए, किन्नर थिए, भूत थिए-पिशाच थिए तर जाति थिएनन् । वैदिककालमा जुनसुकै समुदाय, वर्ग र लिङ्गका मानिस भए पनि एकछत्र थिए । आज सबैको अरि ब्राहृमण भए पनि त्यस कालखण्डमा कर्मद्वारा मानिस ब्राहृमण बनेका धेरै गाथा/उपगाथाहरू उल्लेख छन् बेद पुराणहरूमा । माझिनीको छोरो व्यास, किराँतको छोरो शिव, चाण्डाल्नीको छोरो विश्वामित्र, क्षेत्रीको छोरो विष्णु, सूद्रिकाको छोरो कौशिक, परपुरुषगामीको छोरो परशुराम, मित्र र वरुण अनि वेश्या उर्वसीको छोरो वशिष्ठ वंश परम्पराका आधारमा नभई लोकोपकारी कर्मद्वारा स्तुत्य बनेका हुन्, बन्दनीय बनेका छन् । शुक्राचार्यको अर्धाङ्गनिी सर्किनी थिइन् । उनले छोएको पानी मात्र हैन भतेर (अझ विष्टा पनि भनिन्छ) डफ्याएका छन् देव र ब्राहृमणहरूले । उनीहरू जातिच्युत भएको कतै सुनिएको छैन । इक्ष्वाकुवंशका प्रतापी राजा असमतिले बन्धु, सुबन्धु आदि नाम गरेका मंगोल पुत्रहरूलाई पुरोहित बनाएका थिए । आकुली किँरातले लेखेका वाक्य ऋग्वेदका मन्त्र बनेका छन् । वैदिककालीन समाजमा जाति कर्मपरक थियो । कुलका आधारमा नभई कर्मका आधारमा जात किटान मात्र होइन, थपघट पनि हुने गर्दथ्यो । कक्षीवान् नामक शूद्र र उसकी छोरी घोषा आफ्नो कर्म र सर्वव्यापी सिर्जनाको सुकिलो छापको बलले गर्दा ऋग्वेदको मन्त्रद्रष्टा ऋषि बन्न पुगेका छन् । त्यस कालखण्डमा वेद बाउनको वपौति ग्रन्थ नभएर सिर्जनशील युगद्रष्टा मानिसहरूको आदिम गाथा बनेको थियो । वेदमा उल्लेखित मन्त्रद्रष्टा ऋषिहरू बाउन मात्र नभएर क्षेत्री, वैश्य र शूद्रहरू पनि छन्, नारीहरू पनि छन्, आर्यहरू पनि छन्, अनार्यहरू पनि छन् ।
जनजाति, दलित भनौँ गलितहरूको ईष्र्याको तारो क्षेत्री, बाहुन बनिरहेछन् अहिले । सडक तताएर उधुम मच्चाउन आतुर आदिवासी जनजातिहरूको नारा, आक्रोश र प्रतिशोध देख्ता यस्तो लाग्दछ जातीय दमन शोषण र गरिबीको चक्रपातमा उनीहरू मात्रै घुमिरहेका छन् अरू जे जति छन्, तिनीहरू परम सुखी छन्, सम्पन्न छन् ।
यही बिन्दुमा पुगेपछि बाटाहरू प्राप्त छन् । म त बाझ्न थाल्दछ । एकले अर्काप्रति मैतृत्व हैन, घृणा गर्न थाल्दछ । घृणा र तिरस्कार तुच्छ र त्याजित कुराहरू हुन् । पेच नपरीकन, मुटु नघोच्चिइकन, मानसिकता नठोस्सिइकन कुनै पनि मान्छे विनासित्तिमा मुन्टो बटारेर अररो हुन पुग्दैन ।
धेरै बाउनहरू सम्पन्न छैनन् । धनी छैनन्, पठित छैनन् । गरिबीको भीषण चपेटामा परेर फत्र्याकफत्र्याक परेका धेरै तागाधारीहरू बाक्लै छन् गाउँघरमा । धेरै क्षेत्रीहरू शासक छैनन्, सुविधा भोगी छैनन्, सम्भ्रान्त छैनन्, क्षेत्रीका छोराहरू धेरै ठाउँमा अझै पनि हली, गोठालो बनेर गुजारा गरिरहेका छन् । भारी बोकेर, पर्म, बनीबुतो गरेर परान धानिरहेको दृश्य बाक्लै देख्न पाइन्छ र धेरै दलितहरू, जनजातिहरू, आदिवासीहरू कङ्गाल छैनन्, सुकुम्बासी छैनन् । दलित अथवा जनजातिहरूमा पनि धनी हुने वर्ग देखिएको छ । सम्पन्न र सम्भ्रान्त हुनेहरू पनि छन् । भूगोल यही हो, परिवेश यही हो, समाज यही हो । हाम्रा आँखासामु नै दृश्यहरू छन् । आँकडा टिप्नको लागि न त कसैलाई साक्षी नै राख्नु पर्दछ न त कसैको प्रमाणीकरणको लिखत नै तेस्र्याउनुपर्छ । गाउँमा हेरौँ, सहरमा हेरौँ, मोडमा हेरौँ, घुम्तीमा हेरौँ, चोकमा हेरौँ, गल्लीमा हेरौँ धनी र गरिबबीचको सीमारेखा कुनकुन जातिमा कति देखिने गर्दछ, सहजै छुट्याउन सक्छौँ ।
संसारका सबै मानव सभ्यताको विकास आदिवासी अवस्थाबाटै भएको हो । मान्छे आज मात्रै होइन, आदिमकालदेखि नै स्वच्छन्द र स्वतन्त्र थियो । कुनै पनि मानिस कुनै एक स्थानमा स्थीर रहेर कहिल्यै बसेको इतिहास छैन । बसाइँ सराइको क्रम युगानुयुगदेखि चलिआएको एउटा गतिशील परम्परा हो । त्यो आजसम्म यथावत् नै छ । आकाङ्क्षा, जिज्ञासा र चाँडै सम्पन्न हुने तीव्र लालसाले गर्दा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नु मान्छेको कर्म नै बनिसकेको छ । एक ठाउँबाट अर्को ठाउँ, अर्को ठाउँबाट अर्को ठाउँ सर्ने धेरै आदिवासीहरू कालक्रमिकरूरूपमा काँचुली फेर्दै सम्पन्न हुन पुगे । भोग विलास र आलस्यमा आकण्ठ डुब्नेहरू जङ्गलमै बसे र जङ्गली अवस्थामा नै रहेका छन् । हिन्दीका यशस्वीलेखक कमलेश्वरले भनेझैँ ‘चलता रहे जो चरता रहे, बधत रहेे जो भुखा मरे’ भई भएका छन् ।
कुनै पनि वर्गलाई, कुनै पनि जातिलाई माथि उठाउन राज्यले छुट्याएर भेदभाव गरेझैँ लाग्दैन मलाई । अपवाद बेग्लै कुरा हो । बरु आजको शासन प्रणालीमा नागरिक सर्वोच्चता, सार्वभौम अधिकार सम्पन्न नागरिक भनेर दुहाइ दिँदै हिँडे पनि कार्यमा भने एउटा पार्टीले अर्को पार्टीको नागरिकलाई छुँदैन, हेर्दैन, बुझ्दैन । पार्टीमुखी विचारधारा बकासुर बनेर उम्लिरहेको बेला धेरै इतर विचारका मतदाताहरू उपेक्षित हुँदैछन्, तिरस्कृत हुँदैछन् । राज्यले प्रदान गर्ने मानवीय सहयोग र विकासबाट वञ्चित हुन पुगिरहेका छन्, विमुख हुन पुगिरहेका छन् । प्रशासनिक संयन्त्र र विधिको शासन धामीको धुपौरोजस्तै हुन पुगेको हुँदा अशक्त, अपाङ्ग र वृद्धजस्ता संवेदनशील भत्ताहरू हृवाम पार्ने परपीडकहरू निर्वाध र निसङ्कोच हिँडिरहेका छन् ।
मनमा विकार बढेपछि सोच पनि साँघुरिँदै जान थाल्दोरहेछ, मृगतृष्णा बढेपछि विचार पनि बरालिँदै जान थाल्दोरहेछ, महत्वाकाङ्क्षा बढेपछि आफन्त र पराया पनि छुट्टँिदै जान थाल्दारहेछन् । स्वार्थकेन्द्रित सञ्जाल जिजीविषाको सालनालसहितै लालचमा डुब्न थालेपछि सुविधा र सम्पत्ति सञ्चयनको माखे साङ्लोमा जेलिएर मान्छे भनिने प्राणी कोमल र करुण हृदयलाई पाषाण र निकम्मा बनाउँदै निर्विवेकी र निर्मम बन्न पुग्दोरहेछ । यसैको ऐँजेरुको रूपमा वर्गीय विभेदका भ्रूणहरू ऐँठन परेर मान्छेमान्छेबीच भाँजो हाल्दै जातीय संरचनामा विभक्त हुन पुग्दोरहेछ । जो अहिले हामी भोगिरहेछौँ ।
संसार जहिले पनि शक्ति, सत्ता र शिक्षाको दास बनेको छ । श्रमजीवी र पुरुषार्थीहरूले नै विश्वलाई हाँकेका छन् आजसम्म । स्वावलम्बी मानिस नै संसारका श्रेष्ठ जातिमा गनिन्छन् । गरिएका छन् ।
अन्य धर्ममा त थाहा छैन तर हिन्दू धर्मावलम्बीहरूमा भने असङ्ख्य जातीय विभेद देखिँदै छ । त्यसो हुनुको एउटा बज्रकारणचाहिँ अशिक्षा नै हो भने अर्को पिशाचचाहिँ डाह, ईष्र्या, रिस र आलस्य हो भन्छु म । अङ्गुलीमाल, रत्नाकरजस्ता हत्याराहरू पनि शैक्षिक ज्ञान र असल आचरणले गर्दा पछि ब्रहृमर्षि बनेका दृष्टान्त भए तापनि धेरै कालखण्डसम्म मानिसहरू शिक्षाको प्रभाव र पहुँचभन्दा टाढा पुगेर उपबुजु्रग्याइँ उराल्दै विद्याको मान मर्दन गर्न उद्यत भएका हुनाले पनि मानिसहरू अज्ञानताको निस्पट्ट अँध्यारोमा रुमल्लिन पुगेका हुनाले जातीय विभेदको जरास्न्ध हलक्क बढ्न थाल्यो । अझै पनि काँठ-कुइनेटाका मान्छेहरू पढेर के गर्नु ? कस्ताकस्ता एम.ए.पास गर्नेले त जागिर पाएका छैनन्, किन पढाउनु छोराछोरी भन्ने सङ्कीर्ण मानसिकता कोरलेर हिँड्दैछन् भने विगतको युग त दासताको युग थियो, एकतन्त्री अधिनायकवादी ज्यानमारा युग थियो ।
नेपालमा शासक त गोपाल वंशी पनि भएका छन्, किराँत वंशी पनि भएका छन्, मगर वंशी पनि भएका छन्, मङ्गोल पनि भएका छन्, नेवार पनि भएका छन् । शासक भनेको त समयको माग हो । समयअनुसार नै शासन सत्ता परिवर्तन भएका छन् संसारमा ।
एउटै आँगन, एउटै सँघार, एउटै गाउँ, एउटै समाज र परिवेशमा हुर्केका समान आर्थिक स्थिति भएका मानिसहरू दुई किसिमबाट हुर्कन थाले । सोलु, हुम्ला, जुम्लादेखि सामल खाजा बोकेर अनेकौँ हण्डर, ठोकर र कष्ट खेप्तै ज्ञानार्जनको निम्ति हण्डी खाएर बनारसमा थर्पु खसाल्न पुग्दछ । करेसाको सँधियार आनामासी र पच्चीसा ब्याजमा आसामी लगाउन थाल्दछ । वनारस प्रवेशीहरू उच्च-अध्ययनपश्चात विभिन्न पेसामा संलग्न भई भौतिक उन्नति गर्न पुग्दछन् । बनारस पुग्दासम्मको दारुण कथा सुनेर छोराछोरी चाट्न पुग्ने आनामासीमा रतिने घ्यू साहूका खलकहरू हलीगोठाला हुन पुग्दछन् । पढ्नेका सन्तान शिक्षाको सर्वव्यापी महत्त्व बुझ्दै गए, पढ्दै गए । रोजगार पाउँदै गए । पाखामा बसेर सोरठी घन्काउनेहरू एउटा लिखे पाठी टिपी घरजम गर्न पुगे । यहीँबाट जातीय विद्वेषको आगो हृवारहृवारती बल्न थाल्यो र अझै त्यो रापले हामीलाई पोल्दैछ ।
संसारको कुनै पनि कुनामा योग्य र दक्ष नागरिक जातिका कारणले बेरोजगार बसेझैँ लाग्दैन । क्षमतावान् मान्छे जातको कारणले गर्दा पिछडिन पुगेको मैले पढेको/सुनेको छैन । राष्ट्रोत्थानका निमित्त देशलाई जाति अथवा अपाहिज जनशक्ति हैन, प्रतिभावान् नागरिक चाहिने हुँदा राष्ट्र प्रशासनिक कार्य सञ्चालनका निमित्त शिक्षित जनशक्ति खोज्न थाल्दछ तर कुण्ठा र क्लेशमा आकण्ठ डुबेकाहरू विनायोग्यता विनादक्षता, विनासीप साहेव हुन खोजिरहेका छन् र कसैले हुँदैनभन्दा जातको खोँचे थापेर उफ्रिने परम्परा विकिसत गराउन उद्यत हुँदैछन् ।
बाहुन वंशका भएर हैन मनग्गे पढेर स्वामी प्रपन्नाचार्य (काले राई) ले जतै लगाएका हुन् र उनले निरक्षरी किराँतहरूलाई असल दीक्षा दिई जनै लगाउन अभिप्रेरित गर्दा कसैले विरोध गरेझैँ लाग्दैन । राजधानीका सम्पन्न बाहुन/क्षेत्री भन्दा रनजीत गजमेर, तुलसी घिमिरे, कुन्ती मोक्तान, लैनसिंह वाङ्देल, बी.एस. परियार धेरै मर्यादित छन् । प्रतिष्ठित छन् । गोल्छे सार्की, टी.आर. विश्वकर्मा, रविमान लमजेल जातले भन्दा पनि शिक्षा र सोचको बलले उठेका हुन् । ज्ञानदिल दासलाई पूर्वतिरका मानिसहरू सांस्कृतिक जागरणका मशिहा ठान्दछन् ।
विभिन्न जात, वर्गमा विभाजित भएर पनि नेपालीहरूको उद्गमस्थल अझै पनि अन्योलमा नै रहेको देखिन्छ । यायावरी जीवनशैली, अशिक्षा, गरिबी र बसाइँ सराइको तीव्र आकाङ्क्षाले गर्दा काठमाडौँको नेवार र मिथिलाका ब्राहृमणबाहेक कुनै पनि जाति एक ठाउँमा स्थिर भएर तीन-चार पुस्ताभन्दा बेसी कहिल्यै पनि कहीँ अडिन सकेको देखिन्न । एकठाउँबाट अर्को ठाउँमा सर्ने सन्दर्भमा धेरै आर्यहरूको रगतमा धेरै अनार्यहरूको भु्रण विकसित भएको देखिन्छ । जातीय सम्मिश्रणले गर्दा मान्छेले जात मात्र समाउन सके पहिचान जोगाउन सकेनन् । यौनको सर्वव्यापी महत्त्व र शक्तिलाई जतिसुकै थुनछेक गरे पनि, ढाकछोप गरे पनि, कसैले अधीनमा कहिल्यै राख्न सकेको छैन । प्रकृति प्रदत्त वस्तुहरू जस्तै यो पनि समयको अखण्ड प्रवाहसँग हेलिँदै स्वच्छन्द र स्वतन्त्ररूपमा दिगदिगान्तरसम्म पखेटा फिँजाउन पुग्यो । यौनोन्मादमा लठ्ठ भएपछि मान्छेले नाता जाति, धर्म कतै हेरेको छैन । त्यसको टड्कारो छाप नयाँ पुस्तामा परेकै छ । शासक अनुसार जात फेर्ने परम्परा पूर्वकालमा निकै नै प्रचलित थियो । कतै मगर बाहुन पनि बनेका छन्, कतै बाहुन मुसलमान पनि बनेका छन्, कतै म्लेच्छ हिन्दु पनि बनेका, कतै मङ्गोल विष्ट पनि बनेका छन् ।
जङ्गबहादुरले जातिच्युत गरेका र चुल्हा चढाएका कति जातजातिहरू अहिले पनि ज्यँूदै छन् नेपालमा । पृथ्वीनारायणका कति भरियाहरू तालुकदार बनेर तिघ्रा ठटाइरहेका छन् तराईमा । अनि जातको कुरा गरेर के आगो बाल्नु मान्छेले बेकारमा ।
लिखतमा म बाहुन हुँ । जात ब्राहृमणको छ, भाषा खसको छ, भेषभूषा मुस्लिमको छ, नङ आर्यको छ, नाक मङ्गोलको छ, च्यापु आष्ट्रिकको छ, नश्ल अरबी छ, गालाका गेडी निग्रोकोको छ, भृकुटी भैँसीको जस्तो छ, ढकनी मगरको छ, कान कायस्थको जस्तै छ । कति पुस्ता अगाडि कुन बज्यैले बुटा माड्दै विग्याइँ गरिन् । भर्ताल ऐले मैले तिर्नु परिरहेको छ । क्षतिपूर्ति नाक माग्दैछु ।
धर्म, वर्ण, जात, लिङ्ग, सम्प्रदाय जुनजुन भए पनि संसारका सबै मानिसहरू एउटै जातिका हुन् । मानव जातिका हुन् । मानिसभन्दा ठूलो जात हुँदैन, मानिस भन्दा ठूलो धर्म हुँदैन, मानिसभन्दा ठूलो देवता हुँदैन । प्रकृतिप्रदत्तबाहेक जे जति कुराहरू छन्, ती सबै मानवनिर्मित कुराहरू हुन् । देवता बनाउने पनि मान्छे नै हो, धर्म बनाउने पनि मान्छे नै हो, जाति बनाउने पनि मान्छे नै हो, सम्प्रदाय बनाउने पनि मान्छे नै हो, स्वर्ग बनाउने पनि मान्छे नै हो, नर्क बनाउने पनि मान्छे नै हो । मान्छेको सर्वश्रेष्ठ धर्म भनेको नै कर्म हो । बाँकी सबै तपसिलका कुरा हुन् भन्छु म ।
मदर टेरेसा, प्लोरेन्स नाइटिङ्गेल, हेलन केलर जुन जातिका महिला भए पनि, हिन्दू अथवा ब्राहृमण वर्गका नभए पनि माता तुल्य बन्दनीय छन्, पूजनीय छन् । देवी भनेकै यिनै हुन् ।
नित्से आधुनिक युगका ब्रहृमर्षि हुन्, रुसो स्वतन्त्रताका प्रमिथस हुन्, मार्टिन लुथर किङ समानताका पुरोहित हुन् । गान्धी भारतीय उपमहाद्वीपका प्रजापति हुन्, मण्डेला महेश्वर हुन्, हेनरी ड्यूना भगवान् हुन् । मानव कल्याणका निम्ति जीवन उत्सर्ग गर्ने मानवहरू नै पञ्चपरमेश्वर हुन्, आदिशक्ति हुन्, जगत्माता हुन् । समानतालाई धर्म, क्षमालाई मार्ग, दयालाई जात, धैर्यलाई परिचय, अहिंसालाई सम्प्रदाय, संवेदनालाई शिक्षा, करुणा-स्नेह र सदाचारलाई लक्ष्य ठान्ने मानिसहरू कुलदेवता हुन्, इष्टदेवता हुन् ।
निष्कपट मन हुने, निश्छल विचार हुने, निश्कलङ्क आचरण हुने, निश्पाप चरित्र हुने निष्काम कर्मयोगीहरू जातले शुद्ध नै भए पनि मानव गौरवका अग्ला चुचुरा हुन् ।
दोष र गुण दुवै कुरा मान्छेमै हुने गर्दछ तर सडकको भाषा अस्वाभाविक लाग्दैछ मलाई । रगत पसिना चुहाएर प्रगति गर्नु दोष हो भने तागाधारीहरू दोषी हुन् । भिक्षाटन गरेर ज्ञानार्जन गर्नु अपराध हो भने त्यो पाप गरेका हुन् उनीहरूले कुनै पनि विषय, प्रसङ्ग र पद्धतिहरूमा स्वच्छ प्रतिस्पर्धा गरेर अगाडि बढ्नु बेइमानी हो भने त्यो बेइमानी निर्लज्ज गरेका हुन् । सो आर्जित श्रम, पसिना र पुरुषार्थको बलले बाचाल बन्नु बदमासी हो भने मान्नै पर्छ, त्यो पनि बदमासी नै गरे । आफ्नो बाहुबलद्वारा समृद्धिको शिखर चुम्नु अक्षम्य ठानिन्छ भने पनि कसैलाई छिर्किनी हालेर लडाउन, बल्छी हानेर पछार्न र पासो थापेर थिल्थिल्याउन खोज्नुको साटो अन्तर हृदयमा उठ्ने साहसका लाभा समेटी गन्तव्य खोज्दै जानसके मलाई लाग्छ जात र धर्मभन्दा उज्यालो दिशामा आसन जमाउन सकिन्छ । कुण्ठाको खोरेत मनमा हुर्काउँदै जाने हो भने बाँकी बसेको जेथो पनि सुइँचर हुनबेर लाग्दैन नेपालीको ।
चन्द्रनिगाहपुर-१ रौतहट ।
