Skip to content


एक उच्छ्वास, बहकिँदै सम्हालिँदै गरेको मन
स्वयम्भूका दुई अर्धमूदित नयन,
सोच मग्न, व्यग्र अथवा शान्त !!
बाँदरहरूको आफ्नै प्रेम, सङ्घर्ष, झगडा र भाषा ।

बग्दै गरेको शीतल बतासले फरफहराइरहेका लुङ्दरहरू एकतमास फहराइरहेछन् । त्यो हल्लिदै गरेका स-साना लामा अक्षरमा केही लेखिएका कपडाका टुक्राहरूले केही भनिरहेझैँ, केही सन्देश दिइरहेझैँ । ‘तासी देलेक’ भन्दै एक हूल अधबैँसे मानिसहरू अलि ठूलोठूलो स्वरमा, जोसमा नेवारी भाषामा आपसमा खल्याङ्मल्याङ गर्दै गुम्बा परिक्रमा गर्दैछन् । केही हतार भएजस्तो उनीहरूको बोली र चालले पनि सङ्केत गर्दै छ ।

सबैलाई कतै न कतै पुग्नु छ र नै यो हतार होला बोलीको, चालको । कहिलेकाहीँ अथवा सधैँजसो नै हामीलाई बाहिरीरूपमा मात्रै हैन मनभित्र पनि एक प्रकारको आतुरता भइरहन्छ । दिमाग छिटो चल्छ । एकैचोटि धेरै स्मृतिका पानाहरू पल्टिन्छन् । दिमागसँगै मन पनि छिटोछिटो केही खोज्छ, केही हराएको पनि महसुस गर्छ । केही न केही भई नै रहन्छ । थाहा छैन यो किन, केका लागि र कस्तो व्यग्रता, हतार र अस्तव्यस्त चाल हो ?

यत्रतत्र छरिएर यो साँझलाई आँखाले, मनले, भावनाले अङ्गालिरहेछन् केही जोडीहरू, केही वृद्धवृद्धा र केही केटाकेटीहरू पनि । सबैको आफ्नै गफ, संसार, सपना, कल्पना, भावना र त्यसैको साटासाट छ । घरिघरि बाँदरहरू उपि|mँदै छेउमा आइपुग्दा झसङ्ग बनाइदिन्छ । झोलाहरू देख्नेबित्तिकै छेउमा आइपुग्छ, झम्टन खोज्छ । उसको पनि पेट छ, बानी हो, कर्म पनि हो । आरामले बसिरहेकाहरूलाई तर्साउँदै यताउता गरिरहन्छ । यो उनीहरूको आफ्नै साम्राज्य जो हो । उनीहरू छिटोछिटो लम्कन्छन् घरि रूखतिर, घरि मन्दिरतिर, घरि मानिसतिर । हतार छ सबैलाई । तुरुन्तै काम फत्ते गर्ने चटारो ।

एउटा वृद्ध भिक्षु, गेरु रङको कपडा, तालुचिन्डे कपाल, हातमा लट्ठी । निकै सुस्त उक्लदै छन् सिँढीहरू । उनका अङ्गरक्षकझैँ चारवटा सानो, अलि ठूलो र ठूलै विभिन्न रङका कुकुरहरू उनका पछिपछि छन् । ती भिक्षु सिँढी उक्लिसकेर एकछिन अडिन्छन् । दायाँबायाँ र पछाडि हिँडिरहेका सेनामेनादेखि दिक्क भएझँै गरी सानोचाहिँलाई त्यही लट्ठीले ट्वाक्क ठोक्छन् । कुइँकुइँ गर्दै अलि पर हट्छ । सबै कुकुरहरू अलि हचकिन्छन् । तर्सिएझँै गर्छन् । वृद्ध अलि हँसिलो अनुहार पार्दै अघि बढ्छन् । अलिकति जितको उल्लास मिश्रति हाँसो । यस्तै खुसी हुन्छ मानिसलाई आफ्नो जितमा । एउटा छुट्टै सन्तुष्टि । अझ पनि ती कुकुरहरू फेरि विस्तारै पहिलाजस्तै गरी जम्मा भएर उनको पछि लाग्न थाल्छन् । कस्तो गजब ! त्यो लट्ठीको दुखाइको असर केही क्षण मात्रै । सेकेण्डमा नै त्यसलाई बिर्सिएर फेरि यथास्थानमा आइसके ती । ती कुकुरहरू त्यस वृद्धसँग निकै परिचितजस्ता छन् । अनौठो माया छ त्यहाँ । अजीवको आत्मीयता । अव्यस्त आफ्नोपन । ती जनावर नबोलीकनै पनि केही भनिरहेछन् । आँखाले केही बोल्छ, चालले धेरै बोल्छ र अरू हाउभाउले पनि । यो माया नै हो । मानिस र त्यो वाक्यविहीन जनावरको आत्मीय सम्बन्ध । लट्ठीले हान्दा पनि पुच्छर हल्लाउँदै पछि लाग्छ ।

ती वृद्धले पार गरेका समयहरू अनुहारभरि मुजाहरू र किरिङमिरिङ रेखाहरूमा परिणत छन् । उनको मुहारमा एकप्रकारको धैर्य र शान्ति छाएको प्रस्ट देखिन्छ । त्यो सानो कुकुरलाई कुट्दा पनि माया गरेर, सम्हालिएर प्रेमपूर्वक छुन्छन् उनी । त्यहाँ रिस कहाँ छ र, प्रेम नै प्रेम छ । उनको सुस्त हिँडाइ र शरीरको मन्द चालले सबै हतारमा रहेको त्यो जमातमा उनलाई कहीँ पुग्नु छैन, केही भेट्नु छैन र केही प्राप्तिको लिप्सा पटक्कै छैन प्रस्ट हुन्छ । ऊ त्यही स्वयम्भूका आँखामुनि मनलाई, मुटुलाई शान्त पारी लीन हुन चाहेको देखिन्छ ।

उनी नजिकैको बेन्चमा हातमा माला जप्दै बस्छन् । त्यो कुटाइ खाने सानो कुकुरचाहिँ उसैको वरिपरि पुच्छर हल्लाउँदै यताउता गरिरहन्छ । मानौँ ऊ पहरेदार हो र त्यस भिक्षुलाई पहरा दिइरहेछ । यो अचम्मको सम्बन्ध, साइनो र आत्मीयता । निकै प्यारो छ । त्यो सानो जनावरका आँखाहरू निकै तीखा र चलाख छन् आफ्नोलाई झट्टै खुट्याइहाल्ने । त्यसैले ती भिक्षुको पछि हिँडिरहेछन् । ती फरफराइरहेका लुङ्दरले दिएको सन्देश यही प्रेमकै होला । प्रेम, निकै चोखो प्रेम, झीना स्वार्थभन्दा माथिको निकै परको अनन्त प्रेम ।

त्यो प्रेमका लागि जाति, भाषा, लिङ्ग केही पनि सरोकार छैन । त्यो प्रेम भाषाविहीन जनावर र मानिसबीच वा मानिस-मानिसबीच हुनसक्छ । त्यो प्रेम सांसारिक मोह र स्वार्थभन्दा परको निकै परको, निर्मल निलिमाजस्तै पवित्र, एक उच्छ्वासजस्तै कोमल ।

स्वयम्भूका यी दुई नयन पनि यही अटल, अमर, निःस्वार्थ प्रेमका साक्षी भई यसरी एकतमासले निहृयालिरहेझैँ लाग्छ ।

स्वयम्भू डाँडाभरि मानिसहरू टहलिनु, त्यो बाँदर यसरी यताउता उफ्रिनु, त्यो वृद्ध भिक्षु, ती कुकुरहरू, ती एक हूल मानिस सबैसबैलाई बाँध्ने एउटै कसी ‘प्रेम’ । आँखाहरू साँच्चै उघारेर हेर्दा प्रेममय नै देखिँदोरहेछ संसार ।

एउटा बालकको रुवाइ अनि एकै छिनपछिको निर्बन्ध हाँसो, एउटी आमाको असहृय प्रसव पीडा अनि एकै छिनपछिको गहिरो सन्तुष्टि, एउटा कविको रित्तो पाना र केहीबेरमा भरिएपछिको शान्त मन, सबैसबै एउटै धागो ‘प्रेम’ ले नै बाँधिएका छन् । त्यो सन्तुष्टि, त्यो हाँसो, त्यो शान्त मनलाई जोड्ने हाम्रै मन हो । मनमा प्रेम अङ्कुराएपछि नै सारा सृष्टि सुन्दर लाग्छ ।

एउटा अदृश्य शक्तिले बाँधिएका हामी । सम्पूर्ण प्राणी एउटै यात्राका सहयात्री । बाटो फरक देखिए पनि पुग्ने अन्तिम बिन्दु सायद एउटै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *