काठमाडौ, श्रावण ७, २०६७
कृष्णचन्द्रसिंह प्रधानको देहावसानले साहित्य जगत्मा ठूलो रिक्तता उत्पन्न गरेको छ । उहाँको अन्त्यकाल अप्रत्याशित भएकाले हामी चल्दाचल्दै अचानक रोकिएजस्ता भएका छौँ । उहाँको जीवनकालमा गर्ने भनी थालिएका तीनवटा ठूलाठूला कर्म थिए । त्यसो त ती कर्मको सोच र तयारी अघिदेखि नै भएको थियो । असार ९ गते तिनीहरूको अन्तिम स्वरूप खिचेका थियौँ- पुस्तुनजी, उहाँ र म धेरै बसेर छुटेका थियौँ । अर्को हप्ता असार १७ गते पश्चिमबाट फर्किआएको साँझ उहाँलाई आर्यघाट पुर्याउने साथी मात्र हुनुपर्यो । ती तीन कर्म- कृष्णचन्द्रको समग्र अध्ययन, समग्र प्रकाशन र उहाँको अन्तरवार्ता सङ्ग्रह योजनामै रहे । समग्र अध्ययनका विषयमा उहाँले तेजेश्वरबाबु ग्वंग:लाई त्यही रात सुनाइसक्नुभएको थियो ।
डेढ दशक उहाँसित जोडिएका रातदिन सम्झँदा त्यति उच्च मनोबलले युक्त, निस्फिक्री, स्वस्थ्य व्यक्तिको यति अप्रत्याशित मरण आउलाजस्तो लाग्दैनथ्यो । ९ गतेको भेटमा मृत्युलाई गाली गर्दै लेखेको एक निबन्ध सुनाउनुभएथ्यो, अर्को राष्ट्रपति भवनमा पुरस्कार ग्रहण गरेपछि बोल्ने प्रत्युत्तर भाषण-निबन्ध सुनाउनुभएको थियो । त्यो दिन आएन । ती अन्तिम सम्झना भए ।
अन्तिम कुरा धेरै छन्, ती बिर्सन कठिन छ । समकालीन साहित्यको अंक ५९ मा परिचर्चा छापियो । हाम्रो छापामा भेट भएको त्यो अन्तिम सम्झना हो । अर्को अन्तिम सम्झना छ साब्लाबुङमा सँगै लेख छापिएको कुारा । हङकङबाट प्रकाशित राजकुमार राईको साब्लाबुङमा उहाँको बैरागी काइँलाबारेको अत्यन्तै ओजपूर्ण समालोचना लेख छ । त्यो उहाँको अन्तिम समालोचना हो भने मधुपर्कको निबन्ध अंकमा प्रकाशित उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनौँ अन्तिम निबन्ध । सात दशक लामो सिर्जना इतिहासमा उहाँको अन्तिम निबन्ध सङ्ग्रह भएर समय सुनामी आयो, अन्तिम समालोचना भएर आरम्भअघिका शब्दहरू, अन्तिम जीवनीपरक संस्मरण भएर जिन्दगीका टिपोटहरू । यी तीनवटै कर्ममा म उहाँसँग प्रत्यक्ष जोडिएँ । रत्न पुस्तक भण्डारले तीनवटै कृति प्रकाशित गरिदियो । यो काममा कवि विष्णुविभु घिमिरे पनि संलग्न थिए ।
उहाँको प्रत्येक नयाँ रचना अघिल्लोभन्दा अझ खारिएको भिन्न र अर्को उचाइको लाग्थ्यो । अन्तिम हप्तासम्म विचार नखल्बलिई, शैली नबिगि्रई, अक्षर नकामी त्यतिकै जोस र जाँगरले लेखिरहने साहित्यकार को होला ? भाउपन्थीले सोधेको अहिले के लेख्दै हुनुहुन्छ ? को उत्तरमा थाकेँ, गलेँ, विश्राम चाहियो भन्ने शब्दै छैन । यो जीवन्तता चैत्र अन्तिमको हो : आफ्नो स्वतन्त्र लेखनमा केन्दि्रत हुन सकिरहेको छैनँ । कहिले कुनचाहिँको अभिनन्दन ग्रन्थ निस्कँदै छ, कहिले कसैको स्मृतिग्रन्थका लागि लेखिदिनुपर्ने हुन्छ, कहिले भूमिका, कहिले फलानो पत्रिकाको विशेषांक निस्कँदै छ, त्यस सम्बन्धी लेख चाहियो । यस्तै व्यस्ततामा अल्झिरहनुपर्ने समय छ मेरो ।
उहाँको सम्पूर्ण जीवन सिर्जनामा बित्यो, सिर्जनाको मूल्य स्थापनामा, प्रशोधनमा, त्यसको उद्देश्यमा । यति स्पष्ट भएर एक बौद्धिक उचाइले नेपाली साहित्यको मूल्य स्थापनामा जीवन दिने अर्को साहित्यकार छैन । आफ्नै लेखनबारे समय सुनामीमा प्रस्ट्याउनुभएको छ : लेख्छु भनेर निबन्ध लेख्दिनँ, लेख्नै सक्तिनँ यसरी । कुनै कुराले जब आन्दोलित हुन्छु, घटना परिस्थितिहरूबाट मन छोइन्छ, संवेदित भई जब केही भन्न विवश हुन्छु अनि निबन्ध भएर पोखिन्छु । वास्तवमा लेख्नु अरूसँग साहचर्य गर्नु पनि हो । यसलाई स्रष्टा र पाठकमाझ गरिने एक प्रकारको संवाद भन्छु । आफूसँग भएको अनुभव, ज्ञान, संबुद्धि, संवेदना बाँडेर सहभागी हुन अनुरोध गर्न सक्छौं । हुनु नहुनु पाठक तथा प्रबुद्धजनको इच्छाको कुरा हो । निरपेक्षित जिम्मेवारीअन्तर्गत सहयात्री भईकन पनि हुँदैन ।
मैले कृष्णचन्द्रसिंह प्रधानलाई धेरै पछि देखेँ- २०४५ सालमा, इलाममा । हामी महानन्द महोत्सव मनाउन त्यहाँ पुगेका थियौँ भवानी घिमिरेको निम्तामा । उहाँ त्यसबेला साझा प्रकाशनका महाप्रबन्धकको नाताले त्यहाँ उपस्थित हुनुहुन्थ्यो डा. तुलसी भट्टराई र कवि केदारमान ‘व्यथित’ सँगै । दुई वर्षपछि म काठमाडौं आएँ । उहाँ प्रज्ञाप्रतिष्ठानका सदस्य भएको त्यो बेला मैले उहाँबाट दुईवटा महत्त्वपूर्ण कार्यको जिम्मा लिने सौभाग्य प्राप्त गरेको थिएँ- पहिलो थियो नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ‘नेपाली साहित्यकोश’ मा प्रविष्टि लेख्ने काम । मैले दुईवटा लामा प्रविष्टि जिम्मा लिएँ- अङ्ग्रेजी साहित्य र प्रयोगवाद । लेखेर बुझाएँ, ती स्वीकृत भए, कोशमा छापिए पनि ।
अनि मलाई उहाँले दोस्रो अभिभारा सुम्पिनुभयो- नेपाली कथाहरूको अङ्ग्रेजी अनुवाद प्रकाशन गर्ने नेराप्रप्रको योजनामा सहयोग । करिब दुई दर्जन कथा छानेर बेग्लाबेग्लै अनुवादकलाई जिम्मा लगाइएका थिए । मलाई उहाँले बालकृष्ण समको ‘नौली’ अनुवाद गर्ने जिम्मा दिनुभयो । अनुवाद गरेर बुझाएँ, सङ्ग्रहमा परेका अरू कथाको प्रुफ पनि हेर्दै थिएँ, सङ्ग्रहका लागि उहाँले लेखेको सुन्दर भूमिकाको पनि अनुवाद गरेँ तर कति कारणले आफ्नो कार्यकालमा त्यो कृति निस्कन सकेन, एक दशकपछि अर्कै रूपमा स्टोरिज् फ्रम नेपाल (२००२) शीर्षकमा निस्कियो, खासगरी माधवलाल कर्माचार्यको सक्रियतामा ।
पछि २००३ मा जीवा लामिछानेको उत्साहमा सेलेक्टेड नेपाली एसेज (२००३) को काम सुरु भयो । त्यसका लागि कृष्णचन्द्र सिंहका साहित्य र हावापानी अनि गौतम बुद्धको चिठी : अशोकका नाउँमा शीर्षकका दुईवटा निबन्धको छनोट गरेका थियौँ । उहाँको विशिष्ट शैली, दार्शनिक विश्लेषण र तार्किक भाषा अनि ओजपूर्ण अभिव्यक्तिले गर्दा त्यो अनुवाद गर्न कम कठिन भएन मलाई ।
२०५८ सालयता विशेष गरी कान्तिपुरमा प्रकाशित उहाँका निबन्ध पढ्दा म थरथर हुन्थेँ । समय अत्यन्तै खराब थियो । यसबेला यस्तो शक्तिका निबन्ध लेख्न सक्ने को होला ? म त्यसै श्रद्धानत हुन्थेँ, पढेर फोन गर्थें, यी निबन्धको सङ्ग्रह निकालौँ भन्थेँ । प्रकाशनमा उहाँको हतार थिएन । यस भावनामा सायद सिर्जनामा प्रौढता एवं परिष्कार चिन्ता जोडिएका थिए । यत्तिकैमा एकदिन रत्न पुस्तक भण्डारले उहाँका कृति प्रकाशित गरिदिने भएपछि उहाँ, म, विष्णुविभुजी किताबको आवरण तस्बिर बनाउन पुतलीसडकको टाइम्स क्रिएसनमा पुग्यौँ । त्यहाँ सुन्दर भाइले तस्बिर खिचे । फर्केर आउँदा विष्णुमती पुलमाथि ट्याक्सीभित्रै हाम्रो बीच एउटा छोटो संवाद चल्यो- ‘मैले किताबमा भूमिका लेखाउने गरेको छैनँ, यसमा लेख्नुपर्ला ?’ उहाँले मलाई सोध्नुभयो ।
‘तपाईं स्वयं एउटा संस्थाभन्दा ठूलो व्यक्ति हुनुहुन्छ, त्यसकारण यो कृतिलाई भूमिका हुनु नहुनुले केही अन्तर पार्दैन ।’
‘कि तपाईं लेखिदिनुहुन्छ यसमा ?’
म केही बोल्न सकिनँ किनभने मेरो निमित्त एउटा ठूलो पुरस्कारको घोषणा भएझैँ लाग्यो । मैले साहित्यमा बिताएका तीन दशकको सर्वोच्च मूल्यांकन भएजस्तो लाग्यो । मेरा पिताज्यूकै उमेरका स्वाभिमानी र सम्मानित स्रष्टा मसँगै थिए । निकै पर पुगेपछि ट्याक्सी टंकेश्वरतिर मोडिएपछि भनेँ- ‘हुन्छ सर, म प्रयत्न गर्नेछु, मेरो निम्ति यो सबैभन्दा ठूलो अवसर हुनेछ ।’
पाण्डुलिपि टाइप भएपछि लेखकका घरमै बसेर हामी तीनजनाले सङ्ग्रहको नाम जुरायौं, सहमत भयौं- समय सुनामी । सुनामी प्रलय र ध्वंसको प्रतीक, विश्वभरि छापामा चलेको नयाँ शब्द, भर्खरै मुटु हल्लाउने विनाशले एसियालाई बढारेर गएको तर अर्कातिर सोच्दा सांकेतिक रूपले हाम्रै राष्ट्रलाई बढार्ने सङ्घर्षको सुनामी पनि चलिरहेकै थियो । समय सुनामीको पृष्ठभूमि वर्तमानले भोगेको अत्यधिक कष्टकर कालखण्ड हो । बर्बरताले देश ढाक्नु, प्रजातन्त्रका हातखुट्टा भाँच्नु, मान्छे रोएको नसुनिनु, मरेको नदेखिनु- कत्रो संवेदनशून्यता ।
यी निबन्ध नेपाली साहित्यमा यो दशकका संहारका व्यथा हुन्, विनाशका कथा हुन्, बन्दुकका खेल र पासविक नाचका झल्का हुन् । युद्धको चित्र र विनाशको उन्माद पृष्ठभूमिमा बोकेका सबैभन्दा शक्तिशाली दस्तावेज हुन् । प्रजातन्त्र नहुनु हाम्रो निम्ति ठूलो दशा र दुर्भाग्य हो । त्यहाँ देखिएको निर्भीकता, ओज र एउटा महान् लेखकको ‘डिस्टब्र्ड’ मानसिकता पढ्न पनि यी पढ्नैपर्ने हुन्छन् । यिनीहरूमा भएको प्रौढता, ओज, बौद्धिकताले गम्भीर पाठकलाई पुकारिरहन्छन्, बर्बर शासकहरूलाई ललकारिरहन्छन् ।
यस्ता सगरमाथासँग जोडिएका अनेक सम्झना छन्, यतिखेर तिनलाई मनमा लुकाएर एक रिक्तताको छहारीमा एकछिन सुस्ताउन चाहन्छु ।
