यो तीस बर्षको बिचमा कति आए, कति गए । विभागका भवनहरू भत्किए, थपिए । प्रत्येक वर्ष अप्रिल महिनामा हाम्रो अफिसमा नयाँ मान्छेहरू भर्ना हुन्छन् । तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन् । तिनीहरू काम त्यति गर्दैनन् पनि । फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन् । काम सफल भए तक्मा र जस कमाउँछन् । असफल भए गाली पनि उनीहरू नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन् । हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन् । म र पुष्पक भने यो तीस बर्ष लगातार यही प्रकोप विभागमा छौं ।
आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो – “सफलनगर चार नम्बर सडकको एघारौं घरको त्रिचालीसौं तल्लाबाट धुवाँ आएको छ । गम्भीरता ६५ प्रतिशत । घटनास्थलसम्मको सबभन्दा छोटो दुरी दुई दशमलब ७ किलो मीटर, समय १ मिनेट १७ सेकेन्ड । सबभन्दा छोटो दुरीबाट जानको लागि …”
एनाउन्स सुनिरहने समय थिएन । सञ्जयले हिंडिहाल्न निर्देश गर्यो । सञ्जय मेरो नयाँ बोस हो ।
अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ । म उसको छेउमा बसुञ्जेलमा उसले घटनास्थलसम्मको रुटको योजना गरिसकेको थियो ।
कारको स्वचालित नेभिगेटरले सूचना गर्यो – “हालको स्थान १९ समानन्तर र दुई नम्बर सडकको चोक । सबभन्दा छोटो दुरी दुई दशमलब ७ किलोमीटर, कुल समय १ मिनेट १७ सेकेन्ड । सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर दुई ब्लक जानुहोस् र ४ नम्बर सडकमा देब्रेतिर मोडिनुहोस् । ४ नम्बर सडक आएपछि उत्तरतर्फ ५ ब्लक … ”
हामी अफिसबाट दुई नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं । नेभिगेटरको एनाउन्स बिचैमा फेरियो ।
“पुष्पक तिमीले गलत बाटो पक्डियौ । सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो । पछाडि फर्क!”
एनाउन्स फेरि पनि फेरियो – “पुष्पक, म तिमीलाई फेरि पनि भन्दैछु । तिमीले गल्ती बाटो पक्डियौ । यहाँबाट सबभन्दा नजिक रुट लिनका लागि समानन्तर १८ मा दाँयातिर मोड ।”
मैले नेभिगेशन बन्द गरिदिएँ ।
वास्तवमा १८ समानन्तर र ४ नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो । एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरू एकपछि अर्को गरी ठक्कर खाएका थिए । हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो । गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरू निस्केकोले मानिसहरू हताहत भने हुन पाएनन् । यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुने गरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ । दुर्घटना भएको सडक ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो, अति आवस्यक कारण बाहेक । नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो ।
हिजो भएको दुर्घटना नेभिगेटरमा अपडेट गरिएको थिएन । अल्छी र लापर्वाही मानिसहरू !
हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं । पुष्पकले इमर्जेन्सी साइरन बजायो । अगाडिबाट आउने मोटरहरू रोकिन आँटेका देखिए । ठिक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं । घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें । मैले सञ्जयलाई हामी १२:०३:३५मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ । ऊ हाम्रो युनिटका अरु ५ जनासहित दमकल लिएर पछि-पछि आउँदै थियो । सञ्जयले घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो ।
अनुमान गरेको समयमै हामी ४ नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं । यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ । एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो । त्यहाँ रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो ।
सञ्जयहरू आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो । त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन ।
त्रिचालीस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो । मैले पुष्पकतिर हेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो ।
यतिञ्जेल अर्धस्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो । र गाडीलाई सडकबाट पेटीतिर बढायो । घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर र छाती दुई ठाउँमा बाँधिसकेको थिएँ र पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें । पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ । एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे र बिस्तारै गाडीलाई उचाले । सडकबाट ३० सेन्टीमीटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकहरू फिताहरू बाहिर पर्ने गरी गाडिए । यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ्तिर जाने गरी पुर्याइसकेको थियो । लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरू बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँइसँग नब्बे डिग्री परेर झुन्डियो । चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो । सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं ।
पुष्पकले गाडी हाँक्यो । पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिको भरमा हामी बिल्डिङ् उक्लन थाल्यौं ।
त्रिचालीस तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो । ऊ ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरूमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो । तर, गोप्य-अंक नमिलेकोले ढोका खुल्दैनथ्यो । उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्धा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर ऊ पनि आफैंमा असक्त थिई । उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो । लाग्थ्यो उसले यही दुई-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई । बृद्धा र बालकका आँखा ठुला ठुला थिए र ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँदै थिए ।
हाम्रो कोठामा प्रवेशसँगै उनीहरूको चिच्याहटकम भयो । मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्धा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरूलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो । बृद्धालाई बाहिर ल्याएपछि ती दुईलाई लिफ्टमा चढाई सिधै भूईं तल्लामा रोकिने गरी छोडिदियौं । हाम्रो युनिटका मानिसहरू पहिलो तल्लामा उनीहरूलाई कुर्दै बसेका थिए ।
आगलागी भएको कोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो । हामी यस कोठामा आइपुग्न अरु दुई मिनेट लागेको भए ती दुई बालक-बृद्धा जलेर भष्म हुने पक्का थियो । त्यो मैले कसरी अनुमान गरें भने आगो बृद्धाको खाट रहेको ठाउँसम्म आइपुग्न लागिसकेको थियो ।
आगोलाई निमिट्यान्न पार्न कोठाबाट अक्सिजन सक्नुपर्ने थियो ।
पुष्पक आगोको मुस्लोमाथि उफ्रँदै अघि फोरेको शिसाको भित्तातर्फ गयो र खल्तीबाट सेतो टेप निकालेर प्वाललाई पुरिदियो । मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ । बल्ल कोठा र बाहिरबिच हावा सर्न नपाउने भयो । मैले “आगलागी-बटन” थिचें र कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ ।
केही क्षणमै पूरै आगो मर्यो । कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो ।
हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु र सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो ।
सञ्जयको काम भने भर्खर शुरु भएको थियो । उसले घरमुली बयालीसौं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ । हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं ।
घरमुली पहिले त निस्कन मानेन । तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्ष नाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो ।
मैले अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन । तत्काल निर्णय लिनु पर्ने अवस्था आयो । म हत्तपत्त सञ्जयको अगाडि उभिएँ । त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले उसको टाउको र दाहिने हात समात्यो । उसले हतारमा गोली चलाउँदा सञ्जय चिच्याउन पुग्यो । तर उसलाई केही भएको भने थिएन । गोली मेरो घुँडामा लाग्यो र भूईंमा झर्यो ।
अघिका बृद्धा र बालक त्यो मानिसका आमा र पहिलो श्रीमती तर्फको छोरा रहेछन् । उसकी दोश्री श्रीमती ऊसितको झगडा गर्दा आवेशमा ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ ।
“अनि कोठामा आगो लागेको थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको ?” सञ्जय कुर्लियो ।
“तिमीहरू प्रकोप बिभागबाट ४-५ मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि ! अनाहकमा मैले किन दु:ख गर्नु पर्यो ?” त्यस मानिसबाट उत्तर आयो ।
घटना हुँदा ऊ बयालीस तल्लामा थियो । यदि उसले चाहेको भए, उसले हामीलेभन्दा डेढ मिनेट अगाडि नै आगलागी बन्द गर्न सक्थ्यो ।
“तँलाई लाछी !” सञ्जयले कड्कियो। “मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा तँलाई गिरफ्तार गर्दछु ।”
मैले घटनाको रिपोर्ट तयार पार्नु पर्ने थियो । मेरो भूईंबाट गोली टिपें र गोली लागेको मेरो घुँडा नियालें । सानो खत लागेको रहेछ । सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थियो ।
कोठाबाट बाहिर निस्कँदा पनि सञ्जयको रिस शान्त भएको थिएन । त्यस मानिसलाई लिफ्टभित्र धकेल्दै ऊ करायो, “तेरो मानवता कता गयो ? यी दुई रोबोटहरू नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो ।”
“यो मानव समाज के हुन आँटेको हो आजकल ? रोबोटको भरमा बाँच्न थालेपछि त कर्तव्य र ममता नै बिर्सिन थालिसके !” सञ्जय अँझै फत्फताउँदै थियो ।
मैले पुष्पकलाई गाडीमा फर्किन इशारा गरें । हामी दुई पुन: त्रिचालीस तल्लामा उक्ल्यौं । पुष्पकले आगलागी भएको कोठा अघि भर्खर टालेको टेप निकाल्यो र अड्याइराकेको गाडीको चालक सिटमा बस्यो । अनि मलाई गाडीतिर तान्नको लागि हात दियो ।
बयालीस तल्लामा भएको मान्छे, त्रिचालीस तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने । यी मानिस कति अल्छी, कति लापर्वाही ?
