“हिजोआज सिरकको कति पर्छ बा ?” पुस-माघको दाँत बज्ने ठिहीमा अगेनाको छेउमा आगो तापेर बसिरहेका बासँग कुमुदले सोध्यो ।
“किन तिमीलाई ओढ्ने पुगेन ?” छोराको सोधाइको अर्थ बुझ्न खोज्दै बाले भने । “हो ! मुन्टो हल्लाउँदै कुमुदले भन्यो ।
“बजार भाउ बुझ्नुपर्छ, दुई हजार जति पर्ला ।” अनुमानित भाउ बताउँदै बाले भने-“जति परे पनि धन्दा नमान, म त्यसको बन्दोबस्त गरुँला ।”
“पैसा छैन, त्यसैले पाठशालाको पैसा बुझाउन पनि अर्को महिना पर्खनपर्छ भन्नुभएको होइन ?” बासँग पैसा नभएको चर्चा गर्दै कुमुदले भन्यो- “पैसा नभएपछि सिरक किन्न पनि सकिन्न होइन र ?”
“तिमीले ठिकै भन्यौ, तर त्यसको व्यवस्था मिलाउँला हुन्न ?” छोरालाई ढुक्क हुने सल्लाह दिँदै बाले भने- “खाने मुखलाई जुँगाले छेक्दैन, भनेजस्तै बुद्धि पुर्याउने र जाँगर चलाउनेलाई । सानातिना कुरामा उति अल्मलिरहनु पर्दैन ।”
बाको कुरा बुझेजस्तै गरी कुमुदले भन्यो- “हो ।” कुमुद भात खाएर पाठशाला गयो ।
दिउँसो कुमुदका बाले चोटाकोठामा भएका पुराना लुगा ओल्टाइपल्टाई गरे । त्यहाँबाट सिरक, दोलाइका फाटेका खोलहरू, मलमलका पटुकाहरू बटुले । आमाले तिनलाई धारामा लगेर धोइपखाली गरेर घाममा सुकाइन् । बाले केही मिटर कोराको कपडा साँचेर राखेका थिए । त्यसलाई झकिेर खोल र पल्ला बनाए । पुराना खोल र पटुकालाई कपासको रूपमा प्रयोग गरे । दिनभरिमा एउटा राम्रो सिरक तयार भयो ।
सानोतिनो काम बा आफैं गर्थे । उनको भनाइ थियो- “हामीले आफूलाई परिआउने काम फुर्सदको बेलामा आफैंले गर्नुपर्छ । यो स्वावलम्बी हुने एउटा राम्रो उपाय हो ।” अहिले तयार भएको सिरक उनको यही भनाइको ताजा उदाहरण थियो ।
छोरो पाठशालाबाट आइपुग्यो ।बाले सिरक देखाउँदै भने – “कस्तो छ ?”
‘सानो, ठूलो, लामो, छोटो सबै मिलेको, ओढ्न सजिलो र न्यानो हुने यस्तो सिरकको कति पर्यो बा ?’
“किनेको होइन” बाले भने ।
“उधारो ल्याउनुभयो त ?” उत्सुकतासाथ कुमुदले सोध्यो ।
“खनखाँचोमा काम चलाउने अनेक उपाय छन् त्यसरी नै यो पनि तयार भयो ।” दिनभरिको आˆनो मिहिनेतको बयान गर्दै उनले भने- “त्यसैले हामीले जान्यौँ भने धेरै असजिला कुरो पनि सजिलै पार लाग्न सक्छौँ । कुनै बेला आची पुछेर फालेको ढुङ्गो पनि काम लाग्छ भने जस्तै एकपल्ट काम लिइसकिएका तर जोगाएर राखिएका कुराबाट जाने बेफाइदा होइन, फाइदै हुन्छ ।”
कुमुद छक्क पर्यो । बाले भने- “यदि त्यसो गर्न नजानेको भए तिमीले भनेजस्तै कि उधारो माग्न जानुपर्थ्यो कि ऋण खोज्नुपर्थ्यो, होइन भने जाडोभरि तिमीले रोएर रात काट्नुपर्थ्यो ।”
कुमुदले गम्भीर हुँदै भन्यो -“हो ‘”
बाले सोधे- “त्यसो भए तिमीलाई आफूसँग भएका कुराको सदुपयोग गर्ने र स्वावलम्बी हुने कुरा कस्तो लाग्यो ?”
“राम्रो ।” बाको सोधाइको जवाफ दिँदै कुमुदले भन्यो- “भोलि यो कुरा पाठशालाका साथीहरूलाई पनि सुनाउँछु, हुन्न बा ?”
हुन त हुन्छ, तर कुरा नबुझ्ने कुनै न कुनैले तिमीलाई खिसी गर्न पनि सक्छन् विचार गर्नु ।” समाजको चालचलनबारे बुझाउँदै बाले भने- “जुन काम पनि अरूलाई गराउनु छ भने त्यो पहिले आफूले गरेर देखाउनुपर्छ, कुराले होइन ।”
आज राति कुमुद सन्चोले निदायो । उसलाई जाडो भएन । भोलिपल्ट पाठशालामा चुरोट उडाउँदै एकजना भलादमीले भने- “हेर बाबु हो । चुरोट खानु खराब कुरा हो”
कुमुदले भन्यो- “यो कुरो खराब हो भनेर गरेर देखाउनुपर्छ ।”
उसको यो कुरा सुनेर भलादमी चुप भए । साथीहरू पनि दङ्ग परे । कुमुद चुरोट खाँदैनथ्यो ।
देवराज जोशी, कक्षा ः ८
श्री गीतामाता उच्च मा.वि., विजेश्वरी, काठमाडौँ, नेपाल ।
