अहा ! हृवाइट हाउस ! चिटिक्क परेको र हिउँझैँ सेतो ! सेतो बलौटे पत्थर र सिंहमर्मरबाट बनेको ! आकर्षक ! अमेरिकाका राष्ट्रपतिको सरकारी निवास र कार्यालय ! पानीको भव्य फोहरा र धूपीका बोटहरूले सिङ्गारिएको ! हेर्न पाउँदा रमाइलो लाग्यो ।
हृवाइट हाउस अमेरिकाको राजधानी वासिङटन डीसीमा छ । अमेरिकाका गगनचुम्बी भवनहरूको दाँजोमा यो भवन सानो देखियो । सोचे जस्तो भव्य पाइनँ तर पेन्सेल्भेनिया एभेन्युमा रहेको हृवाइट हाउसले अठार एकड जमिन ओगटेको रहेछ । यत्रो ठूलो क्षेत्रमा फैलिएको हृवाइट हाउस कम गौरवपूर्ण छैन । यसको चहक सिङ्गो विश्वमा नै फैलिएझैँ थियो ।
यो भवन ऐतिहासिक हो । विश्वको शक्तिशाली राष्ट्रपतिको बस्ने सरकारी भवन हो क्या !
यस भवनको शिलान्यास सन् १७९२ मा स्वयम् जर्ज वासिङटनले गरेका हुन् । जर्ज वासिङटन अमेरिकाका प्रथम राष्ट्रपति हुन् । यो भवन सन् १८१४ मा तयार भयो तर दुई वर्षभित्रै ब्रिटिसद्वारा जलाइएपछि यो भवन सन् १८१७ मा फेरि बनाइयो । त्यसपछि हालसम्म अमेरिकाका राष्ट्रपतिहरू यसै भवनमा बस्दै आएका छन् । अहिले राष्ट्रपति बराक ओबामा त्यहाँ बसिरहेका छन् ।
अमेरिका सन् १४९२ मा समुद्रयात्री क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको महादेश हो । हाल यसमा पचास राज्य संयुक्त रूपमा रहेका छन् । त्यसैले यस देशको नाम संयुक्त राज्य अमेरिका रहन गएको छ । यहाँ विश्वका विभिन्न देशबाट आएका मानिसहरूको बसोबास छ । यस्तो देशका शक्तिशाली राष्ट्रपतिको निवास हेर्न पाउँदा रमाइलो लाग्दैन त ! तिमीहरू पनि रमाउँथ्याँै हगि ?
पहिले टिकट काटेर भित्र पनि हेर्न जान पाइन्थ्यो रे ! तर अहिले सुरक्षाको कारण देखाएर भित्र पठाउँदा रहेन छन् । हामीले भित्रको भव्यता हेर्नै पाएनौँ । फलामे बारको बाहिरैबाट हामीले फोटो खिच्यौँ । अरू दर्शकहरू पनि फोटो खिच्नमा व्यस्त थिए । हृवाइट हाउसमा झुण्डिएको लालफित्ताले हामीलाई स्वागत गरिरहेको थियो ।
हामी न्युयोर्कबाट वासिङटन डीसीतर्फ लागेका थियौँ । त्यो क्षण २००९ नोभेम्बरको २८ तारिखको ८ बजे बिहान थियो ।
अमेरिकाको राजधानी वासिङटन डीसी !
अहा ! अति अग्लो टावर ! काठमाडौँको धरहरा जस्तो ! तर यो चारपाटे खालको थियो, धरहरा जस्तो डोलो थिएन । त्यो टावर त ‘वासिङटन मनुमेन्ट’ रहेछ । खुल्ला चउरको माझमा गौरवका साथ उभिएको थियो वासिङटन मनुमेन्ट ! साढे पचपन्न फिट चौडाइको पाँच सय पचपन्न फिटभन्दा अग्लो यस धरहरा -टावर) को टाढैबाट अवलोकन गर्याँै । लिफ्ट चढेर माथि उक्लिएर अवलोकन गर्न हामीले मसक्क आँट्न सकेनौँ । हामीले थोरै समयमा धेरै दर्शनीय स्थान हेर्नु थियो । अर्को कुरा हामीले बिहानै टिकट पनि लिएका थिएनौँ । लौ भन त ! टिकट नलिई उक्लन पाइन्थ्यो त कतै ?
अमेरिकी संसद् भवन रहेको स्थानलाई ‘क्यापिटल हिल’ भनिँदोरहेछ । कलात्मक संसद् भवनको अगाडि पुगेर हामी रमायौँ ।
वाउ ! कति आकर्षक !
सेतो रङ पोतिएको संसद् भवन भव्य थियो । यो सन् १७९३ मा निर्माण भएको रहेछ, साढे दुई सय वर्षअघि ! भवन सार्है आकर्षक थियो । अझ घाम लाग्दाको चहकले सेतो भवन चम्किरहेको थियो । हामीले फन्फन्ती घुमेर हेर्यौँ । धित मरुञ्जेल हेर्यौँ । मनग्य फोटो खिच्यौँ ।
त्यसपछि हृवाइट हाउस हेर्ने प्रयास गरेका हौँ तर कार पार्किङ गर्न नपाएर फन्फन्ती घुमियो-डीसी सहरका जेलिएका सडकहरूमा !
यस महानगरमा ज्यादै अग्ला भवनहरू कमै देखिए । चिटिक्क परेका कलात्मक युरोपेली शैलीका भवनहरू ज्यादा देखिए । हृवाइट हाउसको अवलोकनपछि हामी लिङ्कन मेमोरियल सेन्टर पुग्न हत्तारियौँ ।
लिङ्कन मेमोरियल सेन्टर राष्ट्रपति अब्राहम लिङ्कनको सम्झनामा बनाइएको रहेछ । त्यहाँ कुर्सीमा बसेका अब्राहम लिङ्कनको विशाल प्रतिमा ज्यादै आकर्षक छ रे ! त्यसको अगाडिको एउटा पोखरी छ । त्यसमा वासिङटन मनुमेन्टको छायाँ पर्दा आकर्षक दृश्य देखिन्छ रे ! त्यस्तो रमणीय स्थानमा हामी जान भ्याएनौँ ।
समयले नेटो काटिसकेछ । त्यो सेन्टर पुग्नै केही समय लाग्ने भएकोले हामीले, त्यहाँ रसालिकलाई मनमनै सम्झेर डेरा फर्क्यौँ ।
हृवाइट हाउस सम्झनाको पोल्टामा राख्दै हामीले साँझ ७ ः३० बजे वासिङटन डीसीसँग बिदा माग्यौँ- सेन्ट लुइसका लागि !
