म कर्मचारी मात्र हुँ कि लेखक ? म आफैँलाई थाहा छैन । म लेखक कम कर्मचारी हुँ कि, कर्मचारी कम लेखक हुँ, छिनोफानो भएको छैन । ऋणपन गरेर वा आधा पेट भए पनि खानचाहिँ कर्मचारी भएबापत पाएको छु तर जागिरसँग म खुसी छैन । म लेखनीबाट भने मोहित भएको छु, त्यसैमा मलाई आनन्द छ । गौरव लाग्दछ लेखक हुन पाएकोमा तर म पेसाले कर्मचारी छु । २५ वर्षदेखि सरकारी नोकरीमा उनिएर पेट पालना गर्दैआएको छु । मैले कहरमा जागिरे डुङरगा र रहरमा लेखकीय डुङ्गामा एकैसाथ शयर गर्न खोजेको रहेँछु क्यार । दुईवटा डुङ्गामा खुट्टा टेकेर नदी तर्न सकिन्न भन्या साँच्चै हो रहेछ । न त म कर्मचारी भएर जम्न सकेँ, न त लेखक भएर लेखकस्वमा रम्न सकेँ । घरीघरी मलाई म असफलताको खाडलनेर पुगेको जागिरे हुँ भन्ने लघुताभाष भइरहन्छ । जागिरे भएपछि अरूले जस्तो चाकरी, चुक्ली र चाप्लुसी गरेर वा जे -जसरी भए पनि हाकिम रिझाएर मीठो खान नसक्ने, राम्रो लाउन नजान्ने, काठमाडाँैमा घर बनाउन त परै जावस् सञ्चय कोषलगायतबाट ऋणपान गरेर घडेरीसम्म जोड्न नसक्ने भनेर श्रीमती, दाजुभाइ, ससुराली, इष्टमित्र, नातेदार, साथीभाइ टोलछिमेकी सबैबाट हरयाउ नभएको, लाछी, हुतिहारा, पानीमरुवा, डरछेरुवा आदि केके हो केके पदावली गुथाइमाग्ने वज्रठिङ्गे हुँजस्तो लाग्छ । ‘मुण्डमुण्ड बुद्धि कुण्डकुण्ड पानी’ भनेझैं उनीहरूको रुचिमा मेरो रुचि मिलेन भन्दैमा दसथरिका मान्छेहरूले स्वघोषित पुरेत बनेर मलाई जुराइदिएका यी बार्हसत्तरीका उपमा सफल व्यक्तिको पहिचान होइन । त्यसो भए साँच्चै म असफल व्यक्ति हुँ त ?
कमावेसी जे भए नि म कर्मचारी त हुँ नै । त्यसैले गणतन्त्रले छोएदेखि दसै बजे ठयाक्क अड्डा पुग्न थाल्याछु । के ठेगान गणतन्त्रको हावा चल्या बेला छ । प्रशासनभित्र सदियौँदेखि थुपि्रएर रहेको फोहोरी गन्धेझार उखेलेर फ्याक्नेक्रममा कार्यालय ढिलो पुगेको र हाजिर गरेको मसी नसुक्दै कार्यालय छाडी हिँडेको (हाहि गरेको) पुरस्कारस्वरूप अवकाश पत्रै थमाइएला ! …..त्यतिपर पुग्नै पर्दैन, जागिर खाएदेखि काठमाडौँ खाल्डोका चार भन्ज्याङ नाघेर कतै नगएको हुनाले हिजोअस्तिका शक्तिशाली मानिसको आर्शीवाद प्राप्त व्यक्ति हो भन्ने आरोपको हल्का झोक्काले जागिर उडाएर अपायक वा दुर्गम सरुवा गरिदियो भने वित्यास परेन ? नबिराउनु नडराउनु भनी ढुक्क हुने बेला होइन यो ।
के रे ? हाम्रो रक्षाकवच कानुन छ रे ! कानुनले नै कर्मचारीको सेवा, सर्त, काम, कर्तव्य, अधिकार, दायित्व, वृत्ति विकास आदि तोकेको हुन्छ रे ! कानुनअनुसार जनताको सेवा गर्ने दायित्व बोक्नेहरू यति धेरै डराएर निराश हुन सुहाउँदैन रे ! कसलाई थाहा छैन र कानुन छ भन्ने कुरा । कार्यान्वयनमा कहिल्यै नआएका ती सबै कानुन हात्तीका देखाउने दाँतहरू हुन् । सफा र सेतो कागजमा काला अक्षरमा छापिएको एउटा राम्रो पुस्तक मात्र हो कार्यान्वयनमा नआउने कानुनको ठेली । त्यसैले भन्ने गरिन्छ-‘नेपालका कानुन कसैले नजानुन् ।’ तपाईंको यो भनाइबाट तपाईं आजको प्रशासनिक व्यवस्थाको बारेमा अनभिज्ञ हुनुहुँदोरहेछ, बरू आदर्शवान कल्पनाको दुनियाँमा हुनुहँुदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । महाशय ! अचानोलाई मात्र खुकुरीको चोट थाहा हुन्छ । बच्चा नभएको आइमाईले आलो सुत्केरीका अगाडि सुत्केरीको पीडा र व्यथाको बखान गरेझैँ कर्मचारीको ब्यथा, पीरमर्का, पीडा, कर्मचारी नै नभएको व्यक्तिले कसरी बुझ्न सक्छन् र ! साँँच्चै हाम्रो समस्या थाहा पाउने इच्छा छ भने पहिला कर्मचारी हुनुस् अनि बल्ल विस्तारै वास्तविक कुराका पन्नाहरू पल्टिँदै जान्छन् । ऐन, कानुन, नियम, विनियम, नागरिक बडापत्र आदि सबै देखिन्छन्-कल्पनामा रम्नेले सपना देखेझैँ । देखिँदा सबैभन्दा ठूलो ऐन देखिन्छ, अनि नियमको पालो आउँछ । बाँकी रहेको कुरा निर्देशिकामा उल्लेख गरिएको हुन्छ । यतिले पनि नपुगेर बेलाबेलामा परिपत्र जारी गरिन्छ तर दैनिक काम तामेल गर्नुपर्दा सबैभन्दा पहिले हाकिमको मौखिक निर्देशन, सचिवको फोन आदेश, मन्त्रीको नामबाट आउने दवाव, राजनीतिक पार्टीका केन्द्रहरू, सांसद्लगायत ठूलादेखि सानासम्मका जनप्रतिनिधिहरूले अह्राएको, फर्माएको काम गर्दागर्दै सबै दिनको पूरै समय जान्छ, महिना जान्छ र वर्ष पनि बित्छ । यस्तो वास्तविकतामा हामी बाँच्न बाध्य छौँ । अनुहारभरि कुण्ठा र पीरमर्का बोके पनि मृदुभाषी हुन अभ्यस्त छौँ ।
सुरक्षाका लागि कर्मचारी सङ्गठन र युनियन दुवैमा समान आस्था, समान सहयोग एवं सक्रियता देखाएर नपुगी भरखरै माओवादी गर्भबाट जन्मिएको ‘राष्ट्रवादी-क्रान्तिकारी’ सङ्घको पनि छहारी लिनुपर्ने भएको छ । त्यति गर्दा पनि सरुवा आतङ्कको छायाँ मभित्र मडारिन छाड्या छैन । ‘दशा लाग्या बेलामा नभरेको बन्दुक पनि पड्किन्छ’ भन्ने उखान त्यसै चल्या होइन होला त ! सत्ते धरोधर्म गणतन्त्रले युगौँदेखि समाजमा बज्रसमान भइरहेको सामन्तवादको मियोलाई हेर्दाहेर्दै विना रक्तपात गल्र्याम्म ढालेको देख्दा मलाई त हुनसम्मको डर लागिरा छ भन्या । त्यसैले परम्परामा पुगेर ‘पुनः मुसिको भव’ भनौँ कि आधुनिकताको लिस्नु चढ्ने लालसामा आयातीत कुइरे भाषा मिसाएर ‘ब्याक टु मङ्गलमान’ भनौँ उत्साह र उमङरगको भारी बोकेर जागिरमा छिरेताक जस्तै हिजोआज दसै बजे कार्यालयमा प्रवेश गरिसक्ने र पाँच बजे कार्यालयबाट वहिर्गमन गर्ने गर्या’ छु । ‘विष्णुको औतारी’ ठानिएको मान्छेले नारायणहिटी त छाड्न वाध्य हुन्छन् भने मैले ‘हा हि’ गर्ने बानी छाड्नै पर्छ भन्ने लाग्या छ मलाई । नत्र भने मेरो जागिरे कुर्सी हल्लिन केही बेर लाग्दैन । जागिरको वेठेगान हुनासाथ म र मप्रति आश्रति आधा दर्जन मनुवाजनको आधा पेटको मेलो गोलमाल हुन पुग्छ । अनि म बर्बाद हुन्न त ! त्यसैले सित्तैमा पाउँदा अजीर्ण हुने गरी खाने र नपाउँदा अल्पाहार बसी ग्यास्ट्रिकको विरुवा हुर्काएर अल्सर फलाउँदै सन्तुलन गुमाउँदै बुढ्यौलीले घोडा चढेकोले रउस मरेको, स्फूर्तिमा खिया पर्न थालेको, सरकारको काम, कहिले जाला घाम भन्ने भावना मनमा पलाउँदै गएको, स्मरणशक्ति धमिलिँदै गएको, तिलचामले वय चढेर थकित भएको शरीर भए पनि यति त गर्नै पर्छ भन्ने भावना जाग्या छ, आजकाल । त्यसैले दुई हात जोडी बिन्ती बिसाउँछु – बरू ज्यान जावस् तर जागिरचाहिँ कतै नजावस् वा !
ए तपाईंले अफिसमा गर्नुपर्ने काम भन्नु भा’ हो ? कानुन लगाएर कसैलाई उठ्नै नसक्ने गरी ढाड सेक्ने काम पाएँ भने गर्ने गर्या’ छु । होइन भने पेन्डिङ भएर टेबुलमाथि थुपि्रएको फाइलको डुङ्गुर परालको कुन्यूभन्दा अग्लो भए होस्, जनतालाई फाइदा हुने काम चाहिँ भो छाड्नुस् ! ‘नजाने गाउँको बाटै नसोध्नु’ भन्छन्, नगर्ने कामको के कुरा गर्नु ! तपाईंले यसोभन्दा मलाई एउटा अनौपचारिक तथ्याङ्कको याद आयो -‘तेस्रो विश्वका सरकारी कार्यालयहरूमा २१ प्रतिशत समय गफ गरेर, १७ प्रतिशत समय वैठक बसेर, १९ प्रतिशत समय व्यक्तिगत काम गरेर, १६ प्रतिशत समय कार्यालयको काम गरेर, २७ प्रतिशत समय सिफारिस र फोन गरेर बित्छ’ भनिएको रहेछ । तथ्याङ्क प्रस्तोताको तर्क छ ‘कार्यालयमा छोटो कुरा गरौँ कामको मात्र कुरा गराँैं । सिफारिस होइन दक्षता बढाऔँ !’ एक दिन मेरो कार्यालयको कम्प्युटर शाखामा गई हाम्रो जस्तो विश्वको ‘थर्ड क्लास’ मा परेको विकासोन्मुख मुलुकलाई विकासे बाटोमा लग्ने अचुक अश्त्र भनिएको, गोष्ठी, सेमिनारमा खुव चर्चा हुने गरेको, कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताको खल्ती नरम बनाइरहेको ‘ई-गभर्नरमेन्ट’ के रहेछ भनी इन्टरनेटबाट कम्प्युटर स्त्रिmनमा च्याउँदैजाँदा यी गभरमेन्ट अभियानको छोटो चिनारीको पृष्ठभूमिमा माथि उल्लेखित तथ्याङ्क उल्लेख भएको रहेछ । यो तथ्याङ्क घत लाग्यो । हेर्दा कम्तीमा मेरो पालामा काममा नआउने जिनिस भएकाले दोहोर्याई तेहर्याई पढेँ र मुखाग्र पारेँ । जब म कार्यालय पुग्छु अनि यही तथ्याङ्क सम्झन्छु ।
जीवनको ज्यूँदो भावना, मान्छेको संवेदनालाई समेत यान्त्रिक सञ्जालभित्र बन्दी बनाउन अध्ययन अनुसन्धान हुन थालेको पश्चिमा विकसित कति देशका को को व्यक्ति र कुन कुन मूल्य-मान्यता बोकेका के-कस्ता संस्थाहरूलाई झुक्याई डलर पच पार्ने कसरत कहाँ कहाँबाट भएको होला ? कल्पनाको समेत छेउटुप्पो पत्ता नलाग्ने यस्ता थाङ्ने तथ्याङ्कले हामीजस्ता दाम्रा र चाम्रा नेपालका कर्मचारीलाई केही लछार्दैन ।
जनताको सेवा गरेर केश पाकेपछि लोकतन्त्रले बल्लतल्ल दिएको एउटा पिउसो पदोन्नतिलाई खिसी गरेर ‘पोके बढुवा, टिके बढुवा, पानी बढुवा, लोकतान्त्रिक बढुवा, होलसेल बढुवा’ भनेर निजामती सेवालाई होच्याउनेहरूले नै गरुन् काम । आफू त अब गइन्छ स्वेच्छिक अवकाशमा । ‘उसै त कुन अन्तरीबूढीको कानमा सुन’ भन्या जस्तो उसै त तेस्रो विश्वका देशहरूको पुछारमा रहेको हाम्रो मुलुकको मुलुकी प्रशासन, त्यसमा झन् लोकतान्त्रिक गणतन्त्रको प्रारम्भको अन्तरिम काल भएर होला बढुवा भएका झण्डै तेह्र हजार कर्मचारीले सुन्दै ‘एलर्जी’ हुने पुरानै पदमा बसेर, पुरानै काम गर्नु भन्ने आदेश आएबाट के बुझिन्छ थाहा छ ? काम गर्नु पर्दैन भन्ने बुझिन्छ ।
कामको सिन्को भाँच्न नपरे नि अफिसले हिसाव -किताब नगरी ‘ए फोर’ साइजको फोटो कपी कागज, सेलो डटपेन जति चाहिए नि दिएकै छ । त्यसैको दुरूपयोग गरी काममा व्यस्त देखाउन लेख्न मात्र बस्छु अचेल । कहिले भने अभिनयको लागि लेखी पनि टोपल्छु तर आफूलाई जिम्मा दिइएको जनताको काम आयो भने झर्को लागेर आउँछ । झर्को फर्को देखाउन नहुने हुनाले मन भित्रै थुनी दिन्छु र एकछिन पर्खनुस् भन्दै दिन बिताइ दिन्छु । यसैमा मलाई रमाइलो लाग्छ । मेरो मात्र हैन नानीदेखि लाग्दै आएको हाम्रो यो बानीमा भरखर आएको गणतन्त्रले पानी खन्याउला जस्तो छेकछन्द देख्दिन म । अनि आफूभित्र वनमारा बनेर झाङ्गिएको त्यो बानी, जिन्दावाद ! भन्दै भोलि गर्दिमला, भोलि आउनुस् भन्ने बानी लागेकोले नानीदेखि नै लागेको बानी कल्ले छाड्या छन् र मैले छाड्नु तर यो ठग बानी रै’छ । यो बेइमान बानी मेरो लेखकीय भावनामा कम्प्युटरमा भाइरस पसेझैँ पसेको थाहै पाइँन मैले । अहिले त त्यो सुपरग्लु बनेर चपक्क टाँसिएछ क्यार, लेख्न बसे पनि बुढेसकालमा सांवाअक्षर लेख्न सिक्याजस्तै भइदिन्छ । अनि त घ्यू लाग्ने केही लेख्नै सकिन्न भन्या । जनता-जनार्दन लाखापाखा लाग्या बेला कहिलेकाहीँ यसो ‘मुड’ चल्या चाल पाउँछु अनि केही लेखी टोपल्छु तर लेखोटको छेउटुप्पै मिल्दैन । ‘यनी हाउ’ अरूको नजरमा घ्यू ठहरिएको यो जागिर बचाउ रणनीति अँगाल्या छु आजकाल मैले । त्यसैको सङ्गतले होला ‘जिब्रोमा बसेकी सरस्वती’ ठस्केर भावनाको ढोका खोल्ने सुर गरेकी छैनन् ।
आज पनि त्यस्तै संवाद्जति बज्याथ्यो होला म लेख्न बसेँ । के लेखौँ होला भनी मनको अन्तरकुन्तर लेख्ने भावभङ्गी र कला खोज्दै लेखिने कुराको स्वागतार्थ पर्खिरहेको थिएँ । सेलो म्याक्सराइटर कलमलाई दायाँ हातको माझी औँलामा अडेस लगाई चोर औँलाको आडमा बूढीऔँलाले थिचेर लेख्न ठीक्क परेँ तर मेरो दिमागको लेखनी शाखा भने सरस्वतीले खुलाउन सकिनन् । त्यसैले लेख्ने विषयवस्तुको अत्तोपत्तो भएन ।
मेरो दिमागले योचाहिँ लेख भनेर वाईसीएलले निमुखा जनतालाई दिने गर्या जस्तो जनवादी आदेश दिन सकेन । यतिञ्जेल पद्य वा कविताचाँहि होइन गद्य विधाको कथा, लघुकथा, टिप्पणी, निबन्ध, नियात्रा, संस्मरणमध्ये कुनै एउटा लेख्ने अनुमति भने मैले प्राप्त गर्या थिएँ । कछुवा गतिमै सही आखिर शिकारू लेखक न हुँ, कलम च्यापेर लेखाइमाग्ने सेतो कागजको सिरानको झण्डै बिचोबीच लेखको शीर्षकको न्वारान गर्न आँटेको के थिएँ – टेवुलमा त्यतिञ्जेल चुपो लागेर थच्चिएको प्यानाफोन नाम गरेको रातो रङको टेलिफोन टिरिङटिरिङ करायो । फोनको कर्कस आवाजले अलिक झस्कन पुगेँछु । सुरुमा त टेवुलको अर्को छेउमा राखिएको पियन बोलाउने टेवुलको घन्टी आफैंले थिचेँछुजस्तो लाग्यो तर होइन रहेछ । धन्न मेरो कार्यकक्षमा अरू कोही नभएकोले मेरो घरिघरी झस्कने र आफैंभित्र हराउने कमजोरी कसैले थाहा पाएनन् । फोन बजी नै रहेकोले अमिलो मन पारी लेख्न ठीक्क परेको कलम टेबुलमाथिको शिशामा फ्यात्त राखेर रिसिभर उचालेको मात्र के थेँ, भरखरै लिएको मोबाइल नयाँ नेपालको नयाँ राष्ट्रिय गानको धुनमा बोल्यो । मोबाइल पाइन्टको दायाँ खल्तीभित्र नयाँ राष्ट्रिय गान गाइरहेको थियो तर एकै चोटि दुवै हातमा लड्डु भएकोले हठात मेरो मनले फुत्त फ्याँक्यो -‘खाए खा नखाए घीच’ भन्या जस्तो यो ठाँडोलाई पनि यति नै बेला कराउनु पर्ने ?’ यसरी नयाँ नेताहरूले भन्ने गर्या जस्तो क्रमभङ्ग भयो मेरो लेख्ने ‘मुड’ । मेरो लेखकीय भावनामाथि दुईथरी फोनका घन्टीहरूले शाहीकालका दुईथरी अतिवादले जनताको थाप्लोमा परेड खेले जसरी परेड खेलेकाले मैले आज केही लेख्न सकिनँ ।
यसरी मेरो दिमागी गर्भमा उमि्रएको लेख्ने मोहको भ्रूणको हत्या गरियो । त्यतिबेला मलाई टाउको दुखे जस्तो भयो, वाक्वाकी आउन खोज्यो । किनकि मभित्रको महत्त्वपूर्ण चीजको मैले महसुस नै गर्न नपाई हराएको पत्तै पाइनँ । मैले अक्षरको रूपमा सिर्जना गर्न नपाउँदै मेरो आत्मामा अङ्कुराएको लेखनीको भ्रूण आफूभित्रै कतै बिलायो । मणि हराएको नागले मणि खोज्न दौडधूप गरे जसरी लेख्न बसेदेखि यतिखेरसम्म खोज्याखोज्यै छु । एक मनले म भित्रै त्यो मर्यो कि जस्तो लाग्या छ तर अर्को मन पत्याउन तयार छैन ।
घुतुमुने छोरो पाउने आशले बिजारोपण गर्या १३ हप्तामा अल्ट्रासाउन्ड गरी हेर्दा श्रीमतीको पेटमा छोरो नै देखिएकोले छोरो पाउने ढुक्क भएको बेलामा अधिग्रो गएको जस्तै भएको छु । मेरो चेतनपटको मलिलो भूमिमा टुसाउन ठीक्क परेको लेखनीको यो टुसोलाई छिर्के हानेर अवचेतनरूपी विशाल मरुभूमिमा कसले घचेटिदियो होला ? आजकाल म अनायास झोक्राउन थाल्याछु । अफिस समयमै एकोहोरो हुँदै गएको छु रे । अनि बेला न कुबेला सोचमग्न हुन थाल्या छु । चिन्तित पनि देखिएको छु रे । कहिले जानेरै एक्लै गुनगुनाउँछु । अनि वक्तृत्वकलामा भाग लिएझैँ अनायाश मेरा ओठहरू चल्छन् रे, घरीघरी । टाउको पनि कसैसँग वातमारेको भावमा कहिले दायाँबायाँ, कहिले तलमाथि हल्लने गर्छ रे तर मैले केही चाल पाएको छैन ।
मलाई किन यस्तो भएको होला ? कल्पनाको कावा खान चारैतिर भौँतारिने मनमस्तिष्कले मलाई डोर्याएर यस्तो भएको होला । कहाँ गयो मेरो चेतनाको ताजगीपन ? खै मेरो प्रतिभा कहाँनेर लुकेर रहेको छ ? मनको अन्तरकुन्तर निक्कै मन लगाएर खोजिरहेको छु तर अहँ अझै मैले फेला पार्न सकेको छुइनँ ।
