Skip to content

डब्लिन, साहित्य र चतुरे

  • by


काठमाडौ, आश्विन २२ –
साहित्य पढेको आधारमा बुझिएको भृ्मि अतिरञ्जक हुन्छ । तर त्यसरी हिँडेको भूमि वा थलो एउटा मञ्च हुन्छ । त्यसमाथि हिँड्ने जो पनि एक आफ्नै मनको नायक हुन्छ । त्यस अर्थमा यही सन् दुई हजार दसको अक्टोबरको पहिला तीन दिनसम्म मैले हिँडेको गणतन्त्र आयरल्यान्डको राजधानी डब्लिन मेरो रङ्गमञ्च भएको थियो । म त्यसमाथि हिँड्ने एक पाठक यात्री थिएँ । म त्यो सहर आयरल्यान्डका ठूला लेखक जेम्स ज्वायसको विश्वप्रसिद्ध उपन्यास ‘युलिसस्’को मूल नायक लियोपोल्ड ब्लुमजस्तो भएर हिँड्न चाहँदो रहेछु त्यहाँ । त्यो ढड्डु उपन्यासभित्र आफैं धेरै अघि मुस्किलले पसेको थिएँ । मैले पढेको र पढाएको त्यो उपन्यासमा म नायक होइन, एक आफैं अनुकृति भएँ डब्लिनमा । एक व्यापारी लियोपोल्ड ब्लुम यो उपन्यासमा डब्लिनभित्र आफ्नो एक दिनको महायात्रा गर्छ । ऊ होमरको महाकाव्य ओडिसीको आधुनिक नायक ओडिसिअस् हुन्छ । रोमनहरूले ओडिसिअस्को नाम युलिसस् राखे । त्यो ट्रवायको दसवर्षे युद्ध जित्ने कला जानेको चतुर नायक बीस वर्षपछि फर्केको थियो । उसको महायात्रा साहित्यिक मिथक भएको छ । लियोपोल्ड ब्लुम उस्ौको आधुनिक रूपान्तरण हो । ज्वायसले कला र साहित्यमा चाख नराख्ने एक शक्तिशाली वर्गलाई व्यङ्ग्य गर्न रचेको पात्र हो ऊ ।

म त्यो घमाइलो डब्लिन सहर हेर्न निस्केको भन्नु एउटा पाठमाथि हिँड्नु थियो । मैले हिँड्ने साहित्यका पाठभूमि र परम्परा अरू पनि छन् । तर अङ्ग्रेजी साहित्यको अध्ययन अध्यापनमा उत्तर औपनिवेशिकै सही आफ्नो जीवनका धेरै वर्ष बिताएको छँदो मैले बुझेँ मलाई मन पर्ने धेरैजसो त्यताका लेखकहरूमा आयरल्यान्डका नै पर्दा रहेछन् । मलाई थाहा भएकै हो । धेरैको घर डब्लिन थियो । अहिले पनि कवि सिमस् हिनी, नाटककार ब्रायनफिल् र अरू केही प्रसिद्ध लेखक डब्लिनमै बस्छन् । आफूले पढेका र मन परेका नामसँग यात्रा गर्नु छ । अन्तर्राष्ट्रिय नाट्य रङ्गमञ्चमाथि सेन्सरको विषयमा भएको सम्मेलनबाट दक्षिण एसियाली र नेपाली खण्डको विषयमा एउटा ‘किनोट’ वा मूल सङ्कथन प्रस्तुत गर्नर् ेनिम्तामा गएको थिएँ । अरू दुई जना ‘किनोट’ दिनेमा पहिले जेनरल फ्रेङ्कोको अत्याचारी शासनबाट भागेर प्यारिसमा बसीआएका अस्सी वर्षका स्पेनी अभाँ गार्द नाटककार फर्नान्डो अराबाल र बेलायती नाट्यनिर्देशिका लुसी गोल्डमन् थिए । अराबालले भयानक अराजक भाषण दिए । मैले तिनलाई जेन भिक्षु भनेर बोल्दा निकै जनालाई अनौठो लाग्यो ।

महायात्रामा फर्किन्छु । मलाई ज्वायसको ‘युलिसस्’को प्रभाव अनिलियोपोल्ड ब्लुमको डब्लिन यात्राले प्रभाव पारेको कुरा स्वीकार गर्छु । म काठमाडौ आउँदा थुप्रै सपनाका धोक्रा बोकेको युवक थिएँ । ती सपना खोज्न म काठमाडौंका सुन्दर कलात्मक सहरका जङ्गलमा पसेको थिएँ । विदेशबाट आएका युवायुवतीका भाषा, शैली र गतिमा खोजेँ सपना । क्रान्तिकारी चिन्ताहरूमा खोजेँ । आखिर यसरी यात्रा गर्ने सबै स्वप्नधारी युलिसस् नहुने रहेछ । त्यो एक ब्लुममा रूपान्तरित हुँदो

रहेछ । बीस वर्ष एक दिन हुने रहेछ उसको ब्लुमको जस्तै । मैले अङ्ग्रेजीमा ‘काठमाडौं ओडिसी’ अथवा काठमाडौं महायात्रा लेखेँ । अरुण गुप्तो र सजग राणाको निर्देशनमा २०५३ मा काठमाडौंमा एकैपटक प्रस्तुति गर्‍यौँ । निकै जना भएर आआफ्ना महायात्रा खोज्यौँ त्यसमा । डीपी भण्डारीसमेत मञ्चमा आएर हामीसँग खेले । मञ्जुल र म पनि खेल्यौँ अरू कलाकारहरूसँग । त्यो बेलायो उत्तरआधुनिक प्रस्तुति भयो भनेर प्रेसमा विद्वान्हरूले लेखे । ज्वायसको ‘युलिसस्’ मालियोपोल्ड आधुनिक हो । उत्तरआधुनिक होइन । ऊ हामी सबै हुन्छ अनि हामी ऊ हुन्छौँ, जर्ज अर्वेलले लेखे ।

साहित्यकारको कलेबरमा संस्कृति रचना गरेको सहर डब्लिनजस्तो मैले अरू देखिनँ । पेरिसले लन्डनभन्दा बढी गरेको छ । म पढिबसेको सहर एडिनबरा पनि संस्कृति र नगरलाई मिलाउँछ । तर साहित्यकारसँग होइन । काठमाडौंमा नेवारहरूले धेरै काल राणाशासनबाट उत्पीडित भएको कारण साहित्य र सहरको कलेबर रचना गर्न सकेनन् ।

हिँड्दै गएँ । लेखकहरूका सम्झना तिनका मूर्तिहरूमा राखिएका छन् । बिचरा ती महान साहित्यकार ओस्कर वाइल्डको घरथलोतिर गएँ । अमेरिकी महाविद्यालयको छेउको तिनको थलो अहिले सबैले हेर्छन् । तिनलाई समलिङ्गी भनेर दुई वर्ष कडा परिश्रमसहित जेल सजाय दिए । ती निस्केपछि नुन खाएका कुखुराजस्ता भए । नूर गिर्‍यो तिनको । ती शङ्कर लामिछाने दाइजस्तै मेनेन्जाइटिस भएर १९०० मा मरे । तिनको पत्थरशिलामाथि बसेको मूर्ति छ । ‘खस्रे ढुङ्गामा बसेको समलिङ्गी’ भनेर तिनको नाम लेखेको छ । सबै लेखकहरूलाई त्यस्तै नाम लेख्ने गाईजात्रा चलन रहेछ डब्लिनको । डब्लिनका अति धेरै चर्चित लेखक जेम्स ज्वायसको लठ्ठी टेकेको मूर्ति रहेछ येटस्हरूले खोेलेको लेखक म्युजियममा । यसो चुस्स परेका तिनको नाम ‘लठ्ठी बोकेको चतुरे’ भन्ने रहेछ । ‘प्रिक्’लाई चतुरे भनें मैले । प्रिक्को अर्थ नेपालीमा खुला छाप्न नमिल्ने लिङ्ग पनि हुन्छ । छक्कै परेँ । डब्लिनका ठूला कवि प्याटि्रक कभानागलाई ‘नदीकिनारको सन्काहा’ भनेको रहेछ भने टमस मुरलाई ‘पानीमिलन’ र अर्द्ध मिथकीय प्रसिद्ध मछुई मोलिमलोनीलाई ‘गाडावाल्नी टाँटर’ भनेको रहेछ । डब्लिनवासी मायाले उपनाम राख्ने रहेछन् । डब्लिन सहरले आफ्ना लेखकहरूलाई यसरी मायाले नाम राखेर नागर सभ्यता अनि राजनीतिका बाँध फोरेको रहेछ ।

म डब्लिनको प्रसिद्ध जेल हेर्न गएँ । मैलेकवि डब्लु बी येट्सको प्रसिद्ध कविता ‘इस्टर विद्रोह १९१६’ पढ्ने सिलसिलामा यो इतिहास पढेको थिएँ । विद्रोहीहरूलाई अङ्ग्रेजले फाँसी दिएको र थुनेको इतिहास छ । मलाई लेखकका थलो र स्मृतिहरूको यात्रा गर्नु थियो । सत्रौँ शताब्दीका आयरल्यान्डका लेखक जोनाथन स्विफ्टले केही पैसा जम्मा गरेका थिए । तिनलाई पागल देखेपछि करुणा लाग्ने रहेछ । तिनको नाममा उनले अस्पताल खेाल्न त्यो पैसा दिएछन् । त्यो अस्पताल हेर्न गएँ । एउटा सुन्दर र शान्तपरिवेशमा बनेको त्यो अस्पतालले स्विफ्टले लेखेका कविताका हरफलाई जीवन्त राखेको छ । उनले आफैँमाथि लेखेको कविता छ, ‘ऊसँग भएको सानो धन/मूर्ख र पागलको निम्ति घर बनाउन उसले दियो/ एक व्यङ्ग्यको स्पर्शले उसले देखायो/कुनै राष्ट्रलाई यसको यति ख्ााँचो परेको देखिएन ।’ विशाल फिनिक्स पार्कको छेउमा रहेको अस्पतालको परिवेश हेर्दा मलाई स्विफ्टका व्यङ्ग्य र मानवताको दोभान भएका रचना मनभरि छाए ।

मैले कवि येटस् र साथीहरूले १९०४ तिर बनाएको अबी थिएटर र यसको परिवेश हेरेँ । यो रङ्गमञ्चमा मलाई मन पर्ने आयरल्यान्डका नाटककार सन् ओ केसीको ‘हलो र तारा’ भन्ने नाटक देखाउँदा दर्शकले अण्डा हानेका थिए । अङ्ग्रेजलाई गाली गर्न सकेन भनेर ती रिसाएका थिए । जोन मिलिङ्टन सिङ्को ‘पश्चिम भेकको झिल्के’ भन्ने नाटकमा किसानलाई उपहास गर्‍यो भनेर बाहिर जुलुस भएको थियो । मैले भेटें र भ्याएसम्म्ा लेखकका चिह्न र मूर्ति हेरेँ । मलाई विसङ्गत नाटककारको नाममा लिथी नदीमाथि बनेको ‘टमस बेकेट पुल’माथि हिँड्दा आनन्द र मजा लाग्यो । ‘गोदोको प्रतीक्षा’ विसङ्गत नाटकमा कुनै एक पुल तरेर जीवनका भ्रमबाट निस्कन नसक्ने पात्रका जनक यिनको नामको पुल एक मजाको विम्ब थियो । यहाँ ठाउँ छैन अरू लेख्न । आफ्ना लेखक बर्नाड श, येट्स्, बेकेट, हिनी, कभानाग, स्विफ्ट, ओस्कर वाइल्ड, पलमल्दुन, टमस मुरका किताब टन्न राखेका किताब पसल अनि त्यत्रो सुन्दर सहरमा यत्रतत्र छरिएका लेखकका स्मृतिहरूले भन्छन् एक राष्ट्रको अस्मिता र पहिचान साहित्यिक रचना अनि तिनका रचनाकारका नाम र कामका संस्कारले बनाउनुजत्रो ठूलो कुरा केही रहेनछ ।

तर सोध्छौँ, धेरै ठाउँका लेखकमारा,अत्याचारी र सठहरूले यो कुरा बुझिआएका छन् त ? उत्तरमा इतिहास पत्थरजस्तो मौन बस्छ ।

प्रकाशित मिति: २०६७ आश्विन २३ १०:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *