Skip to content


सर्दूखोलासितको मेरो सङ्गत त्यसवेलादेखि ह्वात्तै बढ्यो जुनवेलादेखि म पढ्ने गरेको भगवती मिडिल स्कूल जेठा बाँस्तोलाको घरको छिँडीबाट आफ्नै नवनिर्मित भवनमा सर्‍यो।

भवन बनेको ठाउँ हाम्रो टोलभन्दा केही पर थियो। हामीले खरायो, बट्टाई खोजिहिँड्ने त्यस ठाउँका बुटा-बुट्यान र सानातिना रूखहरू फाडेर सफा पारिएको थियो। एक हिसाबले स्कूल भवन बुट्यानहरूबीचमै ठडिएको थियो भन्दा हुन्छ। त्यसवेला म तीन कक्षामा थिएँ।

नयाँ स्कूल पछिल्तिरको एक फोगटो काटेपछि सर्दूखोलाको डिलमा पुगिन्थ्यो। जाडो, गर्मी, वर्षात् जे सुकै होस् मौका पाउनासाथ हामी साथीसँगीसित सर्दूको फाँटिलो बगरमा पुग्थ्यौं। ठूला-ठूला ढुङ्गाहरूमा ठोक्किँदै नागबेली ढाँचामा बग्ने सङ्लो पानीको सर्दूले हामीलाई नै निम्त्याइरहे झैं लाग्दथ्यो।

सर्दू त्यतिविघ्न ठूलो खोला होइन। महाभारत डाँडाको कोखबाट निस्केको सर्दू धरानबजारको पश्चिमतिरबाट बग्दै चतरा जाने सडकलाई प्रभावित पारेर चारकोसे झडीमा पस्छ, त्यसपछि त्यतै कतै विलाउँछ। कुनै ठूलो नदी, सरोवर या समुद्रमा मिसिँदैन।

टन्न थिए सर्दू किनारमा खयरका रूख र बयरका झयाङहरू। पहेँला परजीवी लहराले छोपेका सिमालीका छिप्पेका बुटाहरू पनि प्रशस्त थिए। सर्दूपारि त बाक्लो जङ्गलै थियो। हामी याम अनुसार कुसुम, जामुन, बयर टिपी खान जान्थ्यौं सर्दूखोलाको बगर र छेउको वनमा। बर्खेझ्रीसँगै उम्रने झ्री च्याउ र जिब्री साग बटुल्नु पनि उत्तिकै रमाइलो काम हुन्थ्यो। हातमा केही उपयोगी चिज बोकेर घर जाँदा घण्टौंदेखि बेपत्ता भएकोमा झपु खानुपर्ने अवस्था टार्न सजिलो हुन्थ्यो।
सर्दूमा दुवाली छेकेर माछा मार्ने गाउँलेहरू वेलाबखत देखा पर्थे। हामी उनीहरूको देखासिखी गर्थ्यौं र कहिले हिले, कहिले साना बुदुना समात्न सकेकोमा मख्ख पर्थ्यौं। ढुङ्गाको चेपतिर गँगटा पनि फेला पर्थे, तर समाउने ढङ्ग नपुग्दा तिनले औंलामा चोट पनि पुर्‍याउँथे। त्यसरी पाएको सिकारलाई झयासझुस बालेर पोलिखान पाउँदा मिल्ने तृप्ति अर्कै हुन्थ्यो।
कसैले हामीलाई अनेक रङ्गका पुतली समातेर सङ्कलन गर्नुपर्छ भनेर उल्क्याइदिएको थियो। भोर्लाका पात, कपडाको टालो इत्यादि उपयोग गरेर पुतली समाती पनि हिँड्यौं। अनेक यत्नले समातेर ल्याएको मृत पुतलीलाई जोगाएर राख्ने ज्ञान भने हामीसँग थिएन। केही दिनमै पुतलीका सुन्दर पङ्ख धुलाका कण भई उडेर हराउँथे।

हिउँदमा शान्त र हानिरहित देखिने सर्दूले वर्षायाममा रौद्र रूप देखाउँथ्यो। कालो-पहेंलो भेलले आफ्नो मार्गमा पर्ने काठपात, मुढा आदि पछार्दै ल्याउँथ्यो। कहिले निर्दोष पशुहरू पनि सर्दूको रोषको सिकार बन्थे। फुस्रे बजारपश्चिमको ठाडो भीर सर्दूको उद्दाम र विनासकारी अतीतको निशानी थियो। हामीलाई भने त्यसरी फिँज काढेर गडगडाउँदै बगेको सर्दूको स्वरूप बडो रोमाञ्चकारी लाग्थ्यो। जस्तापाताको छाना र झयालमा फलामे डन्डीबाहेक झयाल, ढोका दुवैमा खापा नभएको हाम्रो स्कूल

हावाहुरी आए, धेरै चिसो भए वा बेस्सरी दर्के पानी परे छुट्टी भइहाल्थ्यो। सरहरू छुट्टीको घोषणा गरेर अफिसमा गफिन कुँडुलो पर्नुहुन्थ्यो। पानी परेको छुट्टी भएको वेलामा हामी कापीकिताबलाई गाराको खटप्वाल वा कुनै चेप्टो ढङ्गाको तमा लुकाएर लाग्थ्यौं सर्दूखोलातिर। उर्लेको सर्दूको भङ्गालो फाटेर गहिरो ठाउँमा पर्नाले बनेको दहमा पौडी खेल्थ्यौं। हामीले खेल्ने अर्को खतरनाक खेल बाढी साँघुरिएर वेगसित बगेको ठाउँबाट उफ्रेर पार गर्ने जम्प थियो। कतै उफ्रिने साथी सन्तुलन बिग्रेर पानीमा पर्ला कि भनेर अरू साथीहरू पल्लोपट्टि समात्नलाई तम्तयार बसेका हुन्थे। हाम्रो त्यस साहसिक तर मूर्खतापूर्ण खेलमा भाग्यवश कुनै दुर्घटना भएन। कथम् दुर्घटना भएको भए त्यो प्राणघातक सावित हुनेथियो।

हामीबाट सर्दूखोलामा अर्को मूर्खतापूर्ण र निरर्थक काम पनि भएको थियो। फुस्रेबजारको पारि किनारको पहरा डोजर, क्रेन र सयौं श्रमिक लगाएर फोरिएको थियो। भीमनगरमा सप्तकोशी बाँध बनाउन त्यहाँको रोडा-ढुङ्गा लैजान त्यसो गरिएको थियो। पहरा फोरिएको ठाउँको रोडा-ढुङ्गालाई घिर्लिङबाट घोपामा बनाइएको सानो रेल स्टेसनसम्म पुर्‍याइन्थ्यो। त्यहाँबाट सानो रेलले चकरघट्टी हुँदै बाँध निर्माणस्थल भीमनगरमा रोडा-ढुङ्गाको खेप लगाउँथ्यो।

सर्दूखोलाको विचरण गर्ने क्रममा हामीले त्यही घिर्लिङको एउटा ट्रली वा कन्टेनर डब्बा जमिनमा गिरेको अवस्थामा फेला पार्‍यौं। चारपाङ्ग्रे त्यो ट्रली हाम्रो लागि एउटा गाडीसरह थियो। हामी ५-६ जनाको झुण्ड त्यसलाई ठेलेर बगरमा गुडाउन लाग्यौं। गेगर, रोडा र बालुवायुक्त बगरमा फलामका ती पाङ्ग्रा गुडाउन खोज्नु चानचुने कुरा थिएन। असलमा ती फलामको लिकमा मात्र गुड्ने पाङ्ग्रा थिए। तर हामीले हार मानेनौं।

गर्मीको लामो दिन थियो। असिनपसिन भएर ठेल्दै तान्दै घिसार्दै बगरबाट सर्दूको डिलको उकालो पनि कटायौं। त्यसपछि केही तेर्सो कच्ची उबडखाबड भएर ट्रलीलाई स्कूलनेर पुर्‍याउँदा साँझ् पर्न लाग्यो। त्यसलाई त्यहीं छाडेर हामी आ-आफ्ना घरतर्फ लाग्यौं, एक तमासको विजयभाव बोकेर। हामीलाई लागेको थियो, त्यस फलामे ट्रलीलाई झ्न्डै झ्न्डै घरसम्मै पुर्‍याएर कसैले गर्न नसकेको ठूलो काम गरेका थियौं।

अर्को दिन स्कूल लाग्दा सबैले त्यस ट्रलीलाई देख्ने नै भए। हाम्रो कर्तुत थाहा पाउनेहरूले अब तिमीहरूलाई पुलिसले पक्रेर लैजान्छ भनेर डर देखाए। हामी थर्कमान। त्यस फलामे ठाँडोलाई न खानु, न गाल्नु। हामीले किन त्यत्रो भुक्तमानले त्यसलाई त्यहाँ पुर्‍याएको? पछुतोसँगै सरहरूले ढाड सेक्ने डरले छुलछुल थियौं। तर त्यसको दुई तीन दिनपछि ट्रली त्यहाँ थिएन। सुन्यौँ, प्रोजेक्टका भारतीय कर्मचारीहरूले लिएर गए रे! बल्ल उडेको हंस फर्केर आयो।

उसवेला वनभोजका लागि जाने ठाउँ सर्दूखोला नै थियो। मिडिल स्कूलमै छँदा हामी पनि चार-पाँच जना दौंतरी मिलेर सर्दूमा पिकनिक गएका थियौं। चामल, मासु, मरमसाला, कराइ, डेक्ची, डाडुपन्यु सबै लिएर गएका थियौं। खोला किनारमा बयरको झडीले घेरिएको एकान्त ठाउँलाई हामीले वनभोजस्थल बनायौं। मिलिजुली पकाई-तुल्याई गरेर खाने वेलामा थाल बोक्न बिर्सिएको चाल पायौं। डेक्चीको ढक्कन र कराइ उपयोग गर्दा पनि नपुगेपछि केहीले चिल्ला ढुङ्गालाई धोइपखाली त्यसैमा भात र मासु खाएका थियौं जसको स्वाद अझै बिर्सन सकेको छैन, जिब्रोले।

सर्दूसितको लसपस यति गहिरो हुँदाहुँदै पनि केटाकेटीमा हामी एक्लैदुक्लै त्यता जान भने डराउँथ्यौं। खासगरी घाम डुब्ने वेलामा पटक्कै नजान र गएमा सिंहे लाग्ने चेतावनी पाएका थियौं घरबाट। किनभने सर्दूको बगरमा चिहानहरू टन्न थिए। हुनेखाने र सक्नेले सद्गतका लागि मुर्दालाई चतरा पुर्‍याउँथे, निम्छराहरू लासलाई सर्दूको बगरमै गाडेर आफन्तको सद्गत गर्थे। कोही कोही लासलाई जलाउँथे पनि। पाँच वर्षमुनिका शिशुको लास गाड्न अनिवार्य थियो। बाँसका घारा, अधकल्चो जलेका मुढा र कात्रोका टालाहरू यत्रतत्र असरल्ल हुन्थे। तामाङ लामाहरूको अन्त्येष्टि भने विशेष खालको हुने गर्थ्यो। काठमाडौंमा देउतालाई खटमा राखेर घुमाए झैं छत्रसहितको खटमा मुर्दालाई बसाएर अघिल्तिर ढ्याङ ढयाङ् बाजा बजाउँदै अन्त्येष्टि यात्रा निकालिन्थ्यो। मुर्दालाई सर्दूखोलाको अग्लो डिलमा झुरुप्प रूख भएका ठाउँमा पोल्ने गरिन्थ्यो।

अन्त्येष्टि मात्र होइन धार्मिक अनुष्ठान सम्पन्न भएपछि पूजासामग्रीहरू सेलाउने काम पनि सर्दूमै हुन्थ्यो। सरस्वती पूजापछि हामी पनि टीका गुरुको नेतृत्वमा इलिएका फूल, केराका थाम र सरस्वतीको तस्बिरलाई बग्दो पानीमा सेलाउन पित्तलको घन्टी ठोक्दै, शङ्ख बजाउँदै सर्दू पुग्ने गर्थ्यौं। सरस्वतीको मूर्ति स्थापना गर्ने चलन आइसकेको थिएन र हाम्रो दीन-हीन स्कूलको त्यसो गर्ने सामर्थ्य पनि थिएन।

स्कूलमै छँदा हामीलाई कम्बाइन्ड स्टडीको रोगले छोयो। त्यसको थलो पनि हामीले सर्दूपारिको पाखालाई नै बनाएका थियौं। रूख, लहरा र असारे काँडाका झयाङले छोपेको ठाउँमा चार-पाँच जना बस्न हुने मचान जस्तो बनायौं। स्याउलामाथि पुरानो दरी बिछ्याउँदा त्यो आरामदायी ठाउँ बन्यो। टारजन फिलिमको प्रभाव हामी सबैमा परेको थियो। घरमा बाले कामका लागि ल्याउनुभएको मोटो डोरी रूखका हाँगामा बाँधेका थियौं। मचानमा उक्लँदा र र्झ्दा टारजनले जसरी त्यही डोरी प्रयोग गर्थ्यौं। दिनभरि सर्दू बगेको हेर्दै दुई-तीन हप्ता त्यस ठाउँमा कम्बाइन्ड स्टडी गरेका थियौं।

एसएलसी जाँच दिने वेलासम्ममा सर्दूसितको हाम्रो सम्बन्धमा केही परिष्कार आइसकेको थियो। खोलामा निर्बस्त्र भएर नुहाउन, माछा मार्न, निरुद्देश्य बरालिन छाडिसकेका थियौं। मर्निङ वाक् जाने, शौचादि कर्मपछि सिमाली वा पैलेटीको दतिवनले दाँत माझदै खेतमा लगिएको सर्दूको कुलोमा मुख धुने र खुला ठाउँमा व्यायाम गर्ने बानी बसालेका थियौं। अनि कलेजमा पदार्पणसँगै लोकनृत्य संघमा लागेपछि घनिष्ठ दौंतेरी गोविन्द बोहोरा (पछि कवि गोविन्द विकल) र म नृत्य अभ्यासका लागि पनि बिहान-बिहान सर्दूमै पुग्ने गर्थ्यौं। बेलुकी सर्दूको डिलमा बसेर माछामारा डाँडामा घाम डुबेको हेर्थ्यौं।

सारा धरानबजारलाई पानी ख्वाउने सर्दूको काया अब ५० वर्षअघिको जस्तो रहेन। खोलाको पानी धेरै तल पुग्दैन। किनारका वनजङ्गल गायव छन्। लामो बगर सुकुम्बासीहरूको स्थायी आश्रयस्थल बनेको छ।

काठमाडौं बस्न थालेको धेरै वर्षपछि मैले हर्मन हेसको सिद्धार्थ पढेको थिएँ, जसको मुख्य पात्र सिद्धार्थले लामो विछोडपछि आफ्नो मित्र गोविन्दलाई भेट्दा बगिरहेको नदीसित जीवनलाई तुलना गर्दै भन्छ, “हाम्रो जीवन नदीजस्तै हो।” नाउमा वारपार गर्नुपर्ने नदी त सर्दूखोला होइन।

तर जब म जिन्दगीलाई दार्शनिक दृष्टिले हेर्ने चेष्टा गर्छु जति पानी भए पनि त्यसलाई बोकेर एकनास बगिरहेको सर्दूखोलाकै तस्बिर मेरो दिमागमा आउँछ। सर्दूखोलाको नियति नदी या सागरसित मिसिनु नभई यात्रामै कतै हराउनु थियो। त्यो थाहा पाउँदा पाउँदै पनि सर्दू बगिरहन्थ्यो, क्षीण काय नै सही अहिले पनि बगिरहेकै छ। सोच्छु, हाम्रो जीवन र सर्दूखोलामा कति सादृश्य छ। कतै नपुगेर पनि जीवन बगिरहन्छ, सर्दू जस्तो।

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *