Skip to content


काठमाडौ, आश्विन १४ –

बाउले सौतेनी आमा ल्याए । दुवैजना मिलेर आमालाई रातदिन कुट्न थाले । जग्गाजमिन पनि सबै उनीहरूले नै कब्जा गरे । छेउको सानो गोठमा आमा, म र भाइबहिनी गरी चार जनाको शरीर ओत लागेको थियो । आमा अर्काको बनिबुतो गर्न जानुहुन्थ्यो । त्यहाँ खाजा खान दिएको रोटीका टुक्रा वा अलिकति च्युरा पोल्टामा पोको पारेर हामीलाई ल्याइदिनुहुन्थ्यो । आमालाई देख्दा हामी चारो लिएर आएको चराका बचेरा झैं खुसीले नाच्थ्यौं । अलिकति भए पनि सास आउँथ्यो । उता सौतेनी आमाको भान्छामा मासु-भात पाक्थ्यो । बाउ कान्छी स्वास्नीसँग बसेर भुँडी भर्थे । हामी बास्ना (गन्ध !) सुँघेर अघाउँथ्यौं ।

आमाले मेलापातबाट र्फकंदा खानेकुरा ल्यादिने गरेको सौतेनी आमाले सुइँको पाइछन् । त्यसपछि त घर नआइपुग्दै लुछ्न थालिन् । खानेकुरा छरछार पारिदिन्थिन् । हामी त्यो पनि टिपेर खान्थ्यौं । उनी भने आफ्ना साना छोराछोरीलाई ‘चेईचेई…’ भन्न लागाएर हामीलाई ‘कुकुर’ बनाई मनोरञ्जन गर्थिन् । यस्तो देख्दा हामीलाई असह्य पीडा हुन्थ्यो, विचरा आमाको छाती कति चिरिन्थ्यो होला !

एक साँझ दाउरा बिसाउन खोज्दा आमा पनि भारीसँगै भुक्लुक्क लडिन् । ‘ऐय्या’ सम्म भन्न नपाई उनको प्राण उड्यो । टीबी लागेर पनि उनले न उपचार पाइन् न आराम । विचरा कलकलाउँदो उमेरमै गइन् मेरी आमा ! त्यति बेला म १० वर्षको थिएँ । भाइ-बहिनी सानै थिए । बाउले पनि गोहीका आँसु चुहाएर शोक परेको नाटक गरे । मेरो मनमा अचानक विद्रोहको ज्वाला बल्यो । मलामी जान उठेका बाउलाई ठूलो ढुंलो टिपेर बजारेँ । उनी त्यहीँ ढेले । मेरो भाग्य बलियो, धन्न मरेन रहेछन् ।

आमाको काम सकियो । अब मेरो काँधमा भाइबहिनी थिए । आमाले जस्तै बनिबुतोमा गएर भाइबहिनी पाल्न थालें । म विस्तारै विद्रोही भइसकेको थिएँ । एक दिन ठूलाघरे साहुले काम गरेको ज्याला दिन आलटाल गरे । मेरो पालो दुई बक्सिङ हानेको चारवटा दाँत झारिदिएँ । अब गाउँमा मलाई कसैले हेप्न सक्दैन थियो । बाउको जग्गा आधा चिरेर जोत्न थालें । सौतेनी आमा फ्रँदै आइन् । गोरु कुट्ने लौराले हानेको, एउटा खुट्टो ठ्याङ्ग्य्राङ्गै भाच्चिएछ । ढुंगाले हानेदेखि बाउ त मसँग बोल्न पनि सक्दैन थिए । कसैले कसैलाई हेपेको देख्दा मेरो मुखभन्दा पहिले हात अघि बढ्थे । म साह्रै ज्याद्रो भइसकेको थिएँ ।

एक दिन भूमिगत साथीहरू मेरो घरमा आए र बास मागे । रातभर उनीहरूले मलाई फकाए । गरिब, दुःखी र पीडितका लागि लड्ने हो भने ‘ठीकै छ’ भनेर म पनि उनीहरूसँग हिँडिदिएँ । जंगलमा लगेर बन्दुक चलाउन सिकाए । मारकुटका कुरा म सजिलै टिप्थें- चाँडै सिपालु भएँ । मोर्चामा म नै अगाडि हुन्थें । धेरै युद्ध लडियो, धेरैलाई बन्दुकले उडाइयो ।

समय फेरियो । संविधानसभाको चुनाव भयो । मैले पनि टिकट पाएँ, जितेँ । कहिल्यै नटेकेको काठमाडौं म पनि उत्रिएँ । त्यो खुसीको क्षणमा आमालाई सम्झें- आँखाभरि आँसु भए । बाउलाई सम्झें- रिस उठ्यो । सौतेनी आमालाई सम्झें- घृणा लाग्यो । फेरि कल्पें- उनीहरू नभएको भए म कसरी यत्रो सभासद् हुन्थें होला र ! मलाई विद्रोही उनीहरूले बनाए । त्यही भएर त म सभासदसम्म भएँ । यत्रो देशको संविधान बनाउने ठाउँमा पुर्‍याए । सलाम छ ती पापीहरूलाई !

मनले सोच्न थाल्यो- संविधान कसरी बनाउने होला ? सभामुखले उठाएर ‘लौ भन्नुस् तपाईं संविधानमा के-के राख्न चाहनुहुन्छ ?’ भनेर सोधे भने के ! हाहाहा… आफ्नै मन हाँस्यो- ‘केही त थाहा छैन के भन्नु !’ तर पनि मलाई हिम्मत थियो किनकि संविधानसभामा मजस्ता धेरै थिए । अरूको हालत जे हुन्थ्यो, मेरो पनि त्यही त हुन्थ्यो !

हेर्दाहेर्दै संविधानसभाको बैठक सुरु भयो । मैले सोचेजस्तो सभामुखले उठाएर कसैलाई केही सोधेनन् । केही नआउने म र मजस्ता धेरै सभासदलाई कुनै अप्ठ्यारो परेन । त्यहाँ पनि मेरो गाउँको जस्तै झगडा सुरु भयो । कहिले के, कहिले केको निहुँमा अवरोध भइरहे । काम नपाएर सभासदहरू फुर्सद भए र चर्दै हिँडे । कोही घुस खाँदा समातिए । कसैले कर्मचारीलाई कुट्न थाले । कोही भेडाबाख्राजस्तो किनबेच भए । प्रधानमन्त्री छान्न नसकेर विश्वकै सामु मुख देखाउन नमिल्ने अवस्थामा पुर्‍याए ।

पराजित प्रधानमन्त्रीका उम्मेदवारबीच आठौंपल्ट निर्वाचन भयो । प्रधानमन्त्रीको चुनाव त विद्यार्थीको ‘हाजिरी जवाफ प्रतियोगिता’ जस्तो हुनुपर्ने हो- सके जितिहाल्ने नत्र अर्कालाई ‘पास’ गर्ने ! यत्रो देश चलाउने विषयमा संविधानमा कस्तो खेलाँची व्यवस्था गरिएको होला ? जतिपल्ट हारे पनि जित्ने मौका दिइरहने ! जतिपल्ट र जति ठाउँमा हार्नेले पनि उठ्ने अवसर पाइरहने ! भित्रका क्रियाकलाप देख्दादेख्दा मलाई त हरुवाहरूको बोलवाला भएकाले यो देशैले हारिसकेजस्तो लाग्न थालेको छ । यहाँ जितुवा, योग्यता, क्षमता र दक्षता भएकाको कुनै अर्थ छैन । हामी सभासदलाई नै हेर्नुस् न- ६० हजार तलब खाने हैसियतका कति जना छौं होला र !

मलाई लाग्छ- संविधान बनाउने नाममा उडुसले जस्तो हामी यो देश चुसिरहेका छौं । लाज, घिन पचाएर जनतासामु विभिन्न नौटंकी गरिरहेका छौं । बेफ्वाँकमा कमाइ भएकाले सबैजसोले मोजमस्ती ठाने पनि मलाई किन-किन एक दिन अपच होलाजस्तो लाग्न थालेको छ । मेरी आमाको कसम, मलाई त यो नजान्ने र पार लाउन नसक्ने काममा अल्झिरहनुभन्दा गाउँ फर्केर हलै जोत्नु उत्तम लागिरहेको छ ! भन्नुस्- म के गरौं ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *