Skip to content


शुक्रबार सोखिन प्रकाशनले उत्कृष्ट बालबालिकालाई पुरस्कृत गर्ने कार्यक्रममा निम्त्याएको थियो ।

सहभागीहरू ७० जनाजति रहेछन्! ती प्रायः पुरस्कृत हुनेहरूका आफन्तजस्ता थिए । समारोह हल पनि राम्रै थियो । निमन्त्रणा-पत्र अनुसार कार्यक्रम अढाई बजे सुरु भएर साढे तीनबजे सकिनु पर्ने थियो । साढे दुई बजेपछि सिटमा बसेर कार्यक्रम उद्घाटनको प्रतीक्षा गर्दै सङ्क्षिप्त अभिलेख पल्टाउन थालियो । आयोजकहरू बेग्लै धुनमा तन्किरहेका देखिन्थे । प्रतीक्षारत सहभागीहरू औँला पट्काएर हाई काढ्न थाले । बेलाबखत लघुशङ्काका लागि बाहिरिन्थे पनि ।

साढे तीन बजे बल्ल कार्यक्रम सुरु भयो । सर्वप्रथम पुरस्कृत हुनेहरूको नाम घोषणा भयो । पन्ध्र वर्षमुनिका, बालसाहित्यतर्फ दुईजना, एकजना चित्रकला, त्यस्तै गायन, नृत्य, खेलकुद, रेडियो पत्रकारितातर्फ पनि एक-एक जना बोलाएपछि कोपिलातर्फ दस वर्षमुनिका गायन र नृत्यमा दुइटा नाम बोलाइयो । तिनीहरूलाई माला लगाइदिएर ड्यासमा बसाइयो ।

त्यसपछि संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मानार्थ अध्यक्ष, सदस्यसचिव र सदस्यहरू पनि ड्यासमा विराजमान भए । अनि सामान्य औपचारिकता निभाएर पुरस्कार वितरण गरियो ।

पुरस्कृत हुनेहरूले आ-आफ्नो कला प्रस्तुत गरे । अनि वक्तव्यको सिलसिला सुरु भयो ।

वक्ताहरू एक से एक धुरन्धर रहेछन् । उद्घोषकले दिएको परिचय नै श्रोतालाई प्रशस्त भए पनि वक्ताले आफ्नै बढाइ-चढाइ गर्न भुलिरहेका थिएनन् । मालुम हुन्थ्यो संस्थापकहरू ठूलै घरानाका हुन् । मनले चिताएको पुर्‍याउने दौलत त थियो नै, पढ्नलेख्नमा पनि उनीहरूका मनैले चाहेजस्तो हुने सुन्नमा आयो । त्यस संस्थामा आबद्ध भएकामध्ये केही यस्ता निस्के, जसले जुन कुरामा हात हाले पनि पहिल्यै स्थान ओगट्थे ।

यसैक्रममा एउटा नाम उद्घोषण भयो- डा. दुर्गा । यी प्रत्येक कुरामा पहिल्यै स्थान ओगट्नेमा परेछन् । उनी माइकतर्फ लम्केको देखेर म सोच्न थालेँ- कुन सालको एसएलसी बोर्ड टपर रहेछन् त ? कुनकुन कलेज टपेछन् ? कुन स्पोर्टमा ख्याति आर्जन गरेका रहेछन् त ? यस्ता प्रथम हुने डा. दुर्गाको नाम आजसम्म मेरा कानमा किन नपरेको ? म कुन संसारमा थिएँ त ?

डा. दुर्गाले माइक पक्रेपछि गायकले जस्तै यताउता हल्लिँदै भने- “यस संस्थाका सञ्चालकहरू मेरा हजुरबुबादेखि क्रमशः काकाकाकी हुँदै दाइभाइ र दिदीबहिनी पर्दछन् । उद्घोषक मेरो आन्टीले भन्नुभएको कुरा ध्रुवसत्य हो । पक्कै, मैले जीवनमा कहिल्यै प्रथम स्थान छोडिनँ ।”

आश्चर्य ! मैलै सोचेँ- यस्तो मान्छे संसारमै अर्को छैन होला । आजसम्म हाम्रो देशलाई विश्वकै तारा बनाइसक्नुपर्ने हैन ? जे होस्, आज जीवनमा सोच्दै नसोचेका कुराहरू देख्नेसुन्ने सौभाग्य प्राप्त हुँदै छ ? मेरो हौसला हृवात्तै बढ्यो । आँखाले उनैलाई केरिरहेका थिए भने कान उनको मुखबाट खसेका शब्दहरू छोप्नलाई एकाग्र भए । एक्कासि उनले ८ कक्षामा फस्ट आएको कुरा भने । त्यसपछि सीधै हामफालेर १२ मा पुगे! त्यहीँ सबैलाई पछारेछन् । अहिले आएर मेडिकल कलेजको थर्ड इयरमा स्टुडेन्ट रहेछन् । उनले डाक्टरी पेसा रोज्नुको कारण दीनदुःखीहरूको सेवा गर्नु रहेछ भन्ने चाल पाइयो ।

‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेजस्तो मेरो उत्साह सेलाउँदै गयो । माइकधारीले स्पोर्टस्को कुरा निकालेपछि मेरा कान फेरि त्यतै सोझिए । उनले भने- “चित्रकला, गायन, डान्स, टेबुल टेनिस खेल्थेँ र जहिल्यै प्रथम आउँथेँ । घरको कम्पाउन्ड निकै ठूलो हुनाले जोडीहरू मेरै घरमा जुट्थे! ती जहिल्यै पराजयको स्वाद चाख्थे ।”

यति भन्दै उनले आफ्ना दुई शब्द टुङ्ग्याएको घोषणा गरे । अब हलमा गुञ्जिने पालो तालीको आएछ, गडगडाहट भयो । म लाटोजस्तो ताली बजाउन छोडेर वर्तिर-पर्तिरका सँग मुखामुख गर्न थालेँ ।

उद्घोषकले अर्को नाम उद्घोषण गर्नुभन्दा अगाडि भूमिका बाँधे- “अब म त्यस्तो व्यक्तित्वको नाम लिदँै छु, जसले विश्वमै ख्याति कमाएका छन् । उनको निम्ति पहिलो स्थान भनेको गोजीबाट निकालेर देखाएजस्तो हुन्छ । त्यो नाम हो… प्राध्यापक डा. सूर्य ।”

उद्घोषकले पनि माइक छोडेर ताली ठोके । मानौँ मञ्चमा उपस्थित सबै ताली बजाउनलाई जम्मा भएका हुन्, हलमा धुलै उड्लाजस्तो गरी थपडी बज्यो ।

“धन्यवाद,” निकै भड्किलो स्वरले मेरो ध्यान माइकतर्फ तान्यो । लम्बाचौडा व्यक्तिले माइक पक्रेका थिए । उनलाई देख्दा मेरो मन डब्लूडब्लूएफतर्फ पुग्यो तर डब्लूडब्लूएफमा न यिनको नाम सुनिन्छ, न त कुनै यस्तो अनुहार देख्न पाइन्छ । त्यसपछि आफ्नो मन अरू खेलकुदतिर लगाएँ । नेपालीले वल्र्डकपमा गोल्ड मेडल जितेको सम्झना नै आएन । कुनै नोबेल पुरस्कार भित्र्याएको पनि मलाई थाहा छैन । उनकै मुखबाट सुनौँ न त भन्ने सोच्दै आफ्नो ध्यान ड्यासतर्फ पुर्‍याएँ । उनले औपचारिकताका नाममा सबैतिर आँखा घुमाए । लखकाट्न सकिन्थ्यो- उनी पनि त्यही संस्थाका खम्बा हुन् । उनले भने- “हो, पक्कै पनि डा. दुर्गा, तिमी नेपालमा मात्र हैन, संसारको कुनै पनि ठाउँमा, कुनै पनि कुरामा प्रथम नै हुन्छौ । यो मेरो शतप्रतिशत अनुभूति हो । मैले अमेरिकाको हार्वर्ड युनिभर्सिटीजस्ता संसारमा कहलिएका विश्वविद्यालयमा सेमिनार गरेँ, लेक्चर पनि दिएँ तर तिमीजस्तो प्रखर विद्यार्थीको कमी पाएँ ।”

उनले मनमा थुप्रिएका सानातिना कुराहरू नाकबाटै उडाइदिएजस्तो सास फेरे र अलि अल्छी पारा गर्दै भने- “दुई दिन त भयो, अमेरिकाको सेमिनार सकेर फर्केको । रिसोर्टमा बसेर त्यहाँका ठूलाबडाका वार्तालाप सुनेको । हाम्रा गाईबाख्रा चर्नेजस्ता डाँडाहरू देखाएर तिनीहरू खर्बौं डलरका तानाबाना बुन्छन् । त्यो देखेर मलाई हाँसो उठ्यो । तिनीहरूको खिसी उडाएको हैन । गौरवशाली हाँसो, हाम्रो प्रकृतिको देन सम्झेर । हामी पनि यही प्रकृतिका देन हौँ । त्यसैले हामी कुनै पनि कुरामा कमजोर हुने त सवालै पैदा हुँदैन ।”

विद्वान्को वक्तव्यले हुत्तिएको मेरो चेतना तीन वर्ष पुरानो साथीकहाँ पुग्यो । उसको नाम उज्ज्वल थियो । भन्थ्यो- “प्राकृतिक देनको लेखाजोखा लगाउने हो भने हामी नेपालीले नेपालमै स्वर्गको अनुभूति लिन सक्छौँ । संसारमै नपाइने जडीबुटीहरू हाम्रो देशमा पाइन्छन् । जलस्रोतको धनी पनि हामी नै छौँ । थाहा छ ? तिमी-हामीले टेकेको माटोले सुनजस्ता बहुमूल्य खनिज पदार्थहरू छोपेको छ ।”

उनको उत्साह एकाएक सेलाउँदै जान्थ्यो र च्व…च्व… मुख बजाउँदै भन्थे- “तर हामी नेपालीहरू औषधिको नाममा अङ्गे्रजी दवाई खान बाध्य छौँ । कलकल गर्दै उफ्रँदै दौडिने हाम्रा खोलाहरूले बिजुली दिने त कुरै नगरौँ, धीत मरुञ्जेल पानी खान पनि दिँदैनन् । हाम्रो देशको पेट्रोलियम पदार्थ जलेर धुवाँ भइरहेको छ । मान्छेहरू ज्वालादेवी भनेर पुज्छन् । सुनका कणहरू खोलामा भेटिन्छन् । मानौँ लटरम्म पाकेको हलुवावेदको रूखमुनि छौँ । त्यसलाई टिपेर खाने हाम्रो हुती छैन । कसैले आएर म टिप्छु, बाँडीचुँडी खाउँलाभन्दा हामी डराउँछौँ । हाम्रा बाजेबाबु पनि यस्तै कुरा गर्दथंे । समयअनुसार चाहिँदा-नचाहिँदा थुप्रै कुरामा अघि बढे पनि मानसिकस्तरको मामिलामा हामी पुर्खासँगै छौँ ।”

ती मित्र अब आएर नेता छन् । उनलाई हामी र हाम्रो प्रकृतिका बारेमा सोच्न सम्झनेे फुर्सदै छैन । उनी आफ्ना भाइभतिजालाई नोकरी दिएर सबै देशवासीको कल्याण गरिदिएँ भन्ठान्छन् । आफ्ना आँखा सधैँ नशामा डुबाइराख्छन् र सबै देशवासीहरू झुमेको देख्छन् । उनले पछाडि फर्केर हेर्नु भनेको आफूले नेतागिरी गर्न ढिलो भएछ भनी चुकचुकाउनु मात्र हो ।

आज हाम्रा विद्वान्को विचार पनि त्यही लाइनमा देख्दै छु । मानौँ तीभन्दा तल्लो स्तरका मान्छे नै होइनन् । भने म के हुँ, मेरा ती दाजुभाइ र दिदीबहिनी के हुन्, जसलाई बोडीको तरकारी खान भदौको महिना पर्खनुपर्छ, भात खान मङ्सिरको महिना, साग खान पुसको महिना, आलु खान माघ, नयाँ कपडा लगाउनुपरे परदेशिएका आफन्त र्फकन्छन् कि भनेर दसैँको बाटो हेर्नुपर्दछ ? मेरो देखाइ र सोचाइमा पूरा देशकै अवस्था एउटै छ, कुनै नेता विदेश गएर फर्किंदा के मागेर आए भन्दै हाँडाचिन्डा लिएर पत्रकार बन्धुहरू एयरपोर्टमै झुम्मिन पुग्छन् ।

ड्यासमा हाम्रा प्रखर विद्वान् छाती तन्काएर भन्दै थिए- “विश्वमा नेपालीहरूको शान बेग्लै छ । बहादुरीको गाथा पनि त्यस्तै उचाइमा छ ।”

विद्वान्को वक्तव्यले मलाई दौँतरी उदासको सम्झनामा पुर्‍यायो । ऊ आफ्ना जहान बच्चाहरूको पेटको आगो निभाउने सिलसिलामा घरखेत गरेर खाडी पुग्यो । जब ऊ स्वदेश फक्र्यो, उसको जीउको मासु हाड ढाक्न टाँसेको छालाजस्तो देखिन्थ्यो । उसको मुखमा घाँटी चिसाउने थुक थिएन, न गह भरिने आँसु नै थियो । खरी झरेको मादलझैँ उसको मुखबाट झरेका शब्दहरू यस्ता थिए- “बीस/पच्चीस मञ्जिल अग्ला घरमा चढेर झ्यालका सिसा धुनु, रङ लगाउनुपर्थ्यो । त्यस्तै अरू देशका मानिसहरूले गर्न हिचकिचाउने काम गर्नु र खाना खानुपर्दा त्यहाँको उँटजस्ता जनावरले खाने खाद्यले । अनि तनखा पनि भिख दिएझैं हेपेर दिन्छन् ।

म आफ्नो सम्झनाबाट ब्यूँझन्छु । माइकले मेरा कान आफूतिर तान्छ । विद्वान् नानीहरूलाई दिएको पुरस्कारका बारेमा भन्दै थिए- “यो पुरस्कार नोबेल पुरस्कारभन्दा निकै ठूलो छ ।”

मेरो सेलाउँदै गएको उत्साह झन् चिस्सियो । कारण हाम्रा नानीहरूलाई उत्साहित गर्न दिइएको पुरस्कार भए पनि पुरस्कृत गर्ने व्यक्तिको भनाइले नानीहरूलाई अगाडि बढ्ने ठाउँ नै राखेन । म सोच्थेँ- यस पुरस्कारले हाम्रा नानीहरूलाई नोबेल पुरस्कारसम्म पुर्‍याउने उत्साह जगाओस् । उनीहरूको कलालाई अग्रगति दिन टेवा मिलोस् । हाम्रा बच्चाहरूले विश्वमै नाम राख्न सकून् ।

हाम्रा विद्वान्लाई अझै पुगेको रहेनछ । भन्दै थिए- “हामी नेपालीहरू संसारभरि उज्यालो छर्न सक्छौँ ।”

हाम्रा विद्वान्हरूमा पनि नेताकै भूत चढेजस्तो लाग्यो । अवस्था हामी नेपालीहरूको कुनै गुफामा छौँ, जस्तो छ । अन्धकारमा भौँतारिएका हामी कहीँबाट उज्यालो छिरेजस्तो देखिएमा त्यहीँ गएर झुम्मिन्छौँ । कोही बाटो बनाउन अगाडि बढ्छ भने अर्कोले उसको खुट्टा तानेर आफू चढ्न खोज्छ । यस तानातानले गुफाको अन्धकारमै रुमलिएका छौँ ।

पररररर… ताली बज्यो । हाम्रा विद्वान्ले आफ्नो भनाइ टुुङ्ग्याएछन् । उद्घोषकले भने- “भर्खरै सुन्नुभयो हाम्रा प्रखर विद्वान््, महाविद्वान् प्रा.डा. सूर्यज्यूको मन्तव्य ।” प्रा.डा. सूर्य पूर्ववक्ता डा. दुर्गाका काका रहेछन् भन्ने खुलासा पनि तिनै उद्घोषकबाट भयो ।

हाम्रा प्रखर विद्वान्हरूको वक्तव्य मेरो दिमागमा घुस्नै सकेन । अझ त्यस संस्थाका टाउकेहरूको करामत सुन्न बाँकी नै थियो । मेरा आँखा घडीमा पुगे । ५ बज्दै गरेको देखेर कामको सम्झना आयो ।

बिस्तारै उठेर बाहिरिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *