नेपाली साहित्यमा पुरुष साहित्यकारहरूको तुलनामा नारी साहित्यकारहरूको उपस्थिति गुणात्मकरूपमा पछिपरेको त त्यसै पनि छँदैछ भने सङ्ख्यात्मक रूपमा पनि कम अनुभव हुँदै आएको हो । स्थापित अघिल्लो पुस्तालाई छोडेर पचासको दशकदेखि कलम चलाउन थालेर आफ्नो दरिलो उपस्थिति देखाइसकेका केही महिला साहित्यकारहरू विधागतरूपमै स्थापित भइसकेका छन् । कथाकार तृष्णाराज्यश्री कुँवर पनि यसैमा पर्छिन् र उनको भर्खरै प्रकाशित कथासङ्ग्रह ‘सेराज अहमद’ ले उनलाई महिला कथाकारको सूचीमा दर्ता गराएको मात्र नभएर सिङ्गो कथाविधामै दरिलो उपस्थिति सावित गराएको छ ।
‘सेराज अहमद’ मा तृष्णाका वि.सं. २०५७ देखि २०६६ सम्मका कथाहरू समेटिएका छन् । जम्मा १९ शीर्षकमा रहेका कथाहरूमा ‘सेराज अहमद’ सङ्ग्रहको पहिलो कथा हो । उनका अधिकांश कथाहरूमा आञ्चलिक परिवेशको गन्ध, भाषिक एवं सांस्कृतिक एकत्वको मर्मबोध, मधेसी संस्कृति र भूगोलको जानकारी, मुस्लिम समुदायको कट्टर संस्कारलगायतका सन्दर्भहरू विषयवस्तु बनेर आएका छन् । शीर्षकीय कथा ‘सेराज अहमद’ मा कथाकारले पेसाप्रति इमान्दार र सन्तुष्ट एक मुस्लिम पात्रसँगको संवाद एवं नारीसुलभ सङ्कोचको वर्णन गरेकी छन् । यसै कथामा उनले भारतसँगको खुल्ला सीमाका कारण हुने गरेको आपराधिक क्रियाकलापको दोहोरो संलग्नताको उल्लेख पनि गरेकी छिन् । मुस्लिम समाजमा नारीप्रतिको दृष्टिकोण कस्तो छ भन्ने चित्रण बुर्का, चुनाव, न्यौतालगायतका कथाले देखाएका छन् । मुस्लिम समाजमा प्रचलित बुर्काप्रथाले यतिबेला विश्वमै चर्चा पाएको छ भने पुरुषवादी समाजका कारण भोट हाल्ने अधिकारसम्म पनि नारीलाई थाहा नहुनु मुस्लिम समाजको अर्को विडम्बना हो । तृष्णाका यी कथा यथार्थको धरातलबाट झाङ्गिएका छन् । उनी कतै विकासे कर्मचारी बनेर पसेकी छिन्, कतै मानवअधिकारकर्मी, कतै पत्रकार, कतै महिलाअधिकारकर्मी, कतै जागिरे । यसकारण पनि उनका केही कथा पत्रकारिताको रिपोर्टिङशैलीमा, केही कथा मानवअधिकारकर्मीको रिपोर्टशैलीमा र केही कथा नारीपीडा र वेदनाको वर्णनमै मात्र सीमित पनि छन् ।
कमाउने, सक्षम भएर पनि माइत बसेकी छोरीचेलीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको यथार्थ बोझ र वर चाहियो शीर्षकमा, बच्चाको मनोविज्ञानको प्रस्तुति आमाको बिहेमा, पुत्रमोहले पीडित नारीवेदना प्रश्न शीर्षकमा, विदेशिएका युवाहरूको पारिवारिक पीडा बन्धक शीर्षकमा, लाउनेखानेको लोभमा लुटिएका गरिब चेलीहरूको तीतो यथार्थ छैकल कथामा, डान्स रेस्टुराँहरूमा हुने नाङ्गो नाच र यसभित्रको नारी बाध्यता नाङ्गो इज्जत कथामा ‘सेराज अहमद’ भित्र चित्रण गरिएको छ । इमान्दार कर्मचारीलाई घूसखोरीहरूले टिक्न नदिने यथार्थ बोलेको कथा ‘काज फिर्ता’ हो भने कालो दिन र फोरिएको चुलोले तराई-मधेसको आन्दोलन र पहाडेको पीडा मात्र बोलेका छैनन्, सद्भाव कायम गर्न दुबै पक्षका लागि गरेको परिणाममुखी समाधान पनि खोजेकी छिन् कथाकारले ।
यस सङ्ग्रहका दुई कथा-भोग्न नपाएको जिन्दगी र प्रतिशोध चाहिँ अलिक अतिशयोक्तिपूर्ण लाग्दछन् । एउटा उच्च धनाढ्यको सानो परिवार भएको घरमा सात/आठ जना कामदार भएको र त्यसबाट पनि घरकी गृहिणीले झन् सास्ति व्यहोर्नुपरेको कथा भोग्न नपाएको जिन्दगी छ भने अर्को कथा प्रतिशोधले लोग्नेस्वास्नीका बीचको सहमतिको हदैसम्मको स्वतन्त्रतालाई पाठकले पचाउन सक्ने छैनन्, भलै रमाइलो मान्नु बेग्लै कुरा हो ।
तृष्णाको कथाकारितामा मुस्लिम संस्कृति र संस्कार, अवधीभाषाको प्रभाव, नारी स्वतन्त्रता, अस्मिता र उन्मुक्तिलगायतका कुराहरू आएका छन् । उनको कथाकारिताको संवादात्मक शैलीले मिठास दिलाउँछ भने केही कथाको वर्णनात्मक शैलीले पट्यार पनि लगाउँछ ।
कृतिः सेराज अहमद (कथासङ्ग्रह)
कथाकारः तृष्णाराज्यश्री कुँवर
प्रकाशकः साझा प्रकाशन
प्रकाशनः २०६६
पृष्ठः १००
मूल्यः रु.१६०।-
