Skip to content


तिहारका विभिन्न आकर्षणमध्ये दीपावलीमा हालिने रेखी एक हो । लक्ष्मीपूजाको दिन घरआँगन र पूजाकोठामा हालिने विभिन्न प्रकारका रेखीले दीपावलीलाई रौनक दिइरहेका हुन्छन् । यसैगरी नेवारी समुदायले ‘हृमःपूजा’ गर्दा र नेपाल संवत्अनुसारको नयाँ वर्ष मनाउने क्रममा हालिने रेखीले यी पर्वहरूलाई आकर्षक बनाउँछन् । दीपावलीमा आकर्षक रेखी नेपालमा भन्दा भारतमा बढी प्रचलनमा छ ।

दीपावलीलगायत कुनै पनि माङ्गलिक कार्य (विवाह, ब्रतबन्ध आदि) कार्यमा पूजा स्थलमा अग्निस्थापना (होम), रुद्री, सत्यनारायणको पूजा आदिमा पनि चामलको पिठो अविर(रातो), केशरी (पहोलो)ले रेखी हालेर मात्र पूजाको सुरुआत गरिन्छ । पुराणमा ६४ प्रकारको कला जसमध्ये रेखी पनि एक कला हो । रेखीलाई संस्कृतमा रङवली भनिन्छ ।

नेपाली संस्कृतिमा रेखी हाल्ने कला विभिन्न स्थानअनुसार आ-आफ्नै किसिमको छ । अग्निस्थापना अनुसार रेखी हाल्दा बीचमा अष्टकोण बनाई आठै दिशामा लामो रेखा तानी पद्म र त्रिशूलका रेखी हालिन्छ । यसैगरी रुद्राभिषेक गर्दा द्वादश लिङ्ग बनाएर त्रिशूल पद्म, स्वस्तिक चिहृनको रेखी हालिन्छ । यसैगरी सत्यनारायण आदिको पूजामा बीचमा पद्म र त्रिशूल, पद्म र स्वस्तिक आकारका रेखी हाल्ने गरिन्छ । यसप्रकारका रेखीमा विशेषगरी चामलको पिठोको प्रयोग हुन्छ । चामलको पिठोको विकल्पमा गहुँको पिठोको प्रयोग गर्न सकिन्छ । पिठोमा अविर मिसाएर पनि हाल्ने चलन पनि छ । अलि आकर्षक बनाउन पिठो अविर र केशरी छुट्टाछुट्टै हाल्ने गरिन्छ । रेखीलाई कति आकर्षक बनाउने भन्ने कुरा रेखी हाल्नेको सीपमा भर पर्दछ । सबैभन्दा आकर्षक रेखी ठूल्ठूला माङ्गलिक कार्य गर्दा हलिने गरिन्छ यसलाई सर्वतोभद्र भनिन्छ । पूजा अनुष्ठानमा रेखी हाल्ने काम विशेषगरी ब्राहृमण पुरोहितहरूकै हुन्छ । नेपालको पश्चिमी क्षेत्रमा महिलाहरूले चामलको पिठोलाई पानीमा घोलेर पातलो पारी औंलाले कोरेर रेखी हाल्ने चलन छ, जसलाई ऐपन भनिन्छ । नेवारी संस्कृतिमा ‘हृम पूजा’ गर्दा परिवारका प्रत्येक सदस्यहरूको छुट्टाछुट्टै मण्डल बनाइएको हुन्छ, जसमा विभिन्न रङको प्रयोगले मनमोहक बनाउँछ ।

रेखी हालेर भूमि सजाउने कलाको सुरुआत कसरी भयो भन्ने कुरामा चित्रलक्षण नामक ग्रन्थमा रोचक कथा छ, जसमा ज्ञानमूर्ति नामक एक पुरोहितका छोराको मृत्युको कारण त्यहाँका राजाप्रजा सबै शोकमग्न थिए । सबैले ब्रहृमाजी कहाँ गएर पुरोहितका छोराको जीवनदान मागे । ब्रहृमाजीले पनि पुरोहितलाई आफ्नो छोरोको चित्र जमिनमा बनाउन लगाए । पुरोहितले बनाएको चित्रमा ब्रहृमाजीले फुकिदिएपछि पुरोहितको छोरा पुनः ब्यूँझिइए । यसप्रकार भूमिचित्रको रूपमा रङ्गीविरङ्गी कला अस्तित्वमा आयो । युधिष्ठरले आफ्नो राजधानी इन्द्रप्रस्थमा गरेको राजसूर्य यज्ञमा गरिएको दीपावलीमा पूरै नगरलाई रेखीको कलाद्वारा सजाएका थिए । त्यसैले आज पनि लक्ष्मीपूजाको दिन रेखी हालेर घर सजाउने चलन कायम नै छ ।

विशेषगरी रेखी ज्यामितीय आकार प्रकारमै हुने गर्दछ । त्यसैले पनि ज्यामितीय गणित पनि यसै कलाद्वारा उत्पत्ति भएको मान्न सकिन्छ । रेखीमा स्वस्तिक, पद्म, कोण आदिको साथै माछा, पशुपक्षी सूर्यचन्द्र आदिका चित्र पनि बनाइन्छन् । परम्परागत रूपमा हालिने रेखीमा चामलको पिठो र अविर केशरीको प्रयोग हुन्छ । ठाउँअनुसार अरू निलो, हरियो आदि रङको पनि प्रयोग गरिन्छ ।

भारतको उत्तरी भागमा होली र दीपावलीमा मात्र रेखी हाल्ने चलन भए पनि दक्षिण भारतमा दिनहुँ रेखीद्वारा घर सजाउने चलन छ । विशेषगरी तमिल, तेलगु, कन्नड मलयालमी क्षेत्रमा प्रत्येक दिन आँगन करेसा सफा गरी रेखी हालेर घर सजाउने गरिन्छ । मराठी काङ्कणी अञ्चलमा पनि दैनिक रङ्गीबिरङ्गी हाल्ने गरिन्छ । बङ्गाली परिवारमा आँटाको पिठोद्वारा बनाइएको रेखीलाई अल्पना भनिन्छ । भारतको गुजरात प्रान्तमा कमल आकृतिसँग सम्बन्धित रेखी बनाइन्छन् । दीपावलीमा हालिने कमलको रेखीलाई यहाँ ज्यादै शुभकारक मानिन्छ । राजस्थानको ‘माङ्गडा’ नामक रेखी सबैभन्दा विविधतायुक्त रङको संयोजन भएको रेखी मानिन्छ । मगधमा बनाइने मण्डल, केरलको फूल कोमल आदि प्रसिद्ध रेखी मानिन्छन् । फूलकोमल रेखी विभिन्न किसिमका फूलहरू बनाइन्छन् । विशेषगरी मन्दिरहरूको प्रवेशद्वारमा सजाइन्छन् । तमिलनाडुमा दीपावलीमा बनाइएको फूलमा दीप बालिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *