Skip to content

ब्यूँदछैन् मान्छेहरू….


जिन्दगीका परिभाषा खोज्दै
भौतारिरहेका पथिकहरू
धुवाँका मुस्लोहरूमा आकृति खोज्दै
नशानशामा अस्तित्व मेट्दै/भेट्दै
असमानताका पर्खालहरू
चेतनाका पाखुरीले भत्काउँदै
अन्तहिन भविष्य चियाउँदैछन् मान्छेहरू ।

समय सीमाभन्दा बाहिर
लम्बाइ चौडाई विहिन
रङ्ग स्थान विहिन
अमूर्त लक्ष्यहरूको चाङ्ग थुपारेर
बिचल्लित अनुभूतिहरूलाई
निरपेक्ष अस्तित्वबोधमा
मानवीय अन्तर्ज्ञानको जागृतिबाट
ब्युँझदैछन तिनै मान्छेहरू ।

कल्पनाका भवसागरमा डुबुल्किँदै
सामाजिक बन्धनहरू चुँडाएर
कमजोर मनस्थितिहरूमाथि
आइपरेका समस्याहरूको बावजूद
धैर्यताका ताँडो चढाउँन
अस्वस्थ समयको समाधान खोज्दै
अपरिभाषित जीवनलाई राम्ररी नियाल्न
विसँगतिका पराकाष्ठा भित्रै
सजिव चित्रण गर्दैछन् मान्छेहरू ।

जीवनका संभावित यात्रा
घातक बताइएका योजनाहरू
बिज्ञानको निषेधात्मक आज्ञाहरूको बिरूद्ध
दुरगामी मानसिकता बोकेर
असम्भब सिमाहरू छिचोल्दै
नौलो र जोखिमपूर्ण प्रयोगबाट
प्रेरणाका खुराक बन्दैछन् मान्छेहरू ।

पुरातनवादी समाजको एउटा पाटो
अर्धचेतनशील मान्छे,
अत्याधुनिक समाजको अर्को पाटो
पूर्ण चेतनाको दाबी गर्दै
काल्पनिक भर्याङ चढेर
बिज्ञानको शिलन्यास गर्ने
अर्का चेतनशील मान्छे,
यिनै बिचारहरूका हैसियत बोकेका
मान्छे मान्छेहरूको बीच
पूर्ण सत्यतालाई लत्याउँदै
समाजिक रूपान्तरणको
तितो अनुभव बटुलेर
अवचेतन, अर्धचेतन र चेतन अवस्थाका
मनहरूबाटै दिइएका
सकरात्मक सोचहरूको सूचनाहरूले
यथार्थताको निर्माण गर्दैछन तिनै मान्छेहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *