आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ । यो बुद्धिवृत्ति छ अर्थात् यसमा बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ, यो जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र संस्कार सिकाउने वैज्ञानिक शिक्षाको एकीकृतरूपमा छ । यो खासगरी कुनै धर्म विशेषको मन्त्र नभई सम्पूर्ण जीवको बुद्धि सत्मार्गमा लाग्न निर्देशित होस् भन्ने एउटा कामना तथा सदिच्छाको रूपमा छ । यसले जीवनलाई परम आनन्दमा परिणत गरी सार्थकता प्रदान गर्दछ । गायत्री मन्त्रका अक्षर विशेष, शब्द विशेष छुट्टाछुट्टै र समग्र रूपमा एकीकृत सारले यसको पुष्टि गरेका छन् ।
गायत्री मन्त्रमा परमात्मको उल्लेख गरेको छ र स्थायी सुख (आनन्द) र परमात्मको सम्बन्ध देखिएको छ । यसैले यसको जानकारी जरुरी देखिन्छ । स्थायी सुख (आनन्द) का लागि सुक्ष्म मननको प्रयास आवश्यक हुन्छ । यसका लागि अनेक विवेक लगाउनुपर्ने हुन्छ । संसारमा अनेकौँ प्राणी भए पनि विवेक गर्न सक्ने क्षमता मानिसमा मात्र हुन्छ । विवेक गर्नु भनेको कुनै विषयवस्तु उपर विभिन्न दृष्टिकोणबाट मनन गर्नु हो र यथार्थ पहिल्याउनु हो । यसका लागि तत्त्वज्ञान जान्नुपर्ने, परम पुरुषार्थमा लाग्नुपर्ने हुन्छ । परम भनेको त्यस्तो अन्तिम विन्दुको अवस्था हो जसभन्दा पछि अरू थप प्राप्त गर्न बाँकी रहँदैन । आध्यात्मिक अर्थमा पुरुष भनेको जीवात्मा हो, अर्थ भनेको यस मानेमा प्रयोजन वा लक्ष्य हो । अर्थात् परम पुरुषार्थ भनेको जीवात्माको जीवनको त्यस्तो अन्तिम विन्दुको लक्ष्य वा प्रयोजन हो जुन पछि उसको अरू कुनै लक्ष्य वा गन्तव्य बाँकी रहँदैन । बुद्धिको अधिष्ठान व्यापक महत्व हो, महतत्वको अधिष्ठान प्रकृति हो, प्रकृतिको अधिष्ठान सर्वव्यापक चैतन्यस्वरूकप परब्रहृम हो । यही ब्रहृमलाई शरीरभित्र रहेर जीवनलाई चेतना प्रदान गर्ने अवस्थामा आत्मा भनिने हो । यही सर्वअधिष्ठान हो । परमात्म तत्त्वज्ञानसँग सम्बन्धित हुन्छ । तत्त्वज्ञान र परमानन्द (परम आनन्द) प्राप्ति एक अर्काका पर्यायवाची हुन् । तत्त्वज्ञान नभई परमानन्द प्राप्ति हुँदैन र परमानन्द प्राप्तिको अवस्थामा स्वभावतः तत्त्वज्ञान हुन्छ । यी दुबैका लागि दुःख निवृत्ति हुनु आवश्यक हुन्छ । नित्य अर्थात् सत्/चित्मा मात्र परम सुखको अनुभूति हुन्छ । मानिस विवेकयुक्त प्राणी भएकाले विवेकको प्रयोगबाट परम आनन्दको यथार्थता पहिल्याउनु र त्यसैमा स्थित हुनु मै उसको जीवनको सार्थकता ठहर्छ ।
गायत्री मन्त्र ”ॐः भूर्भुवः स्वः तत् सवितुर्वरेण्यंः भर्गाे देवस्य धीमहि धियो यो नः प्रचोदयात् (यजुर्वेद ३६-३)) को भावः
ॐ
ॐ लाई प्रणव भनिएको छ । प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो । त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो । यसले निराकार तत्त्व (परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ । यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ । यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ । ॐ ले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो । त्यसैले यो नित्य छ । ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ ।
त्यसैगरी ॐ चित् हो । चित् भनेको चेतनस्वरूप हो । उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ । त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ । त्यही चैतन्य नै चित् हो । चित् ज्ञानस्वरूप हुन्छ ।
भूर्भुवः स्वः
भूर्भुवः स्वः ले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ । व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकालेे यस
(भूर्भुव ः स्वः) लाई गायत्री मन्त्र भित्र पारिँदैन । ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन्ः दृष्टि र द्रष्टा । भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने (प्रज्ञान) द्रष्टा हो । दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन् । ती सबका सब थाहा पाउने द्रष्टा हो । संसारमा दुईथरी कुरा ः दृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जड र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि । भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन् ।
तत् सवितुर्वरेण्यं
तत्ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ । सविताले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ । यहाँ वरेण्यंको अर्थवरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ । महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ । सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ । सूर्य सर्वद्रष्टा हुन् । उनको तेजको पहुँच सर्वत्र छ । उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन् । आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ । यसरी साकारमा सूर्य महान् छन् । उनै जगत्का सञ्चालक हुन् । उनै जगत्का प्रकाशक हुन् । सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ । सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन । त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ ।
भर्गो देवस्य धीमहि
भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ । जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ । तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ । त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ । भर्गाे देवस्यलाई जनाउनेे प्रतीक ॐ हो ।
देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ । सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गाे देवस्यबाट निराकारको फाँटमा पुर्याइएको छ । त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ । त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान्को सङ्केत भर्गोलाई गर्दछ ।
गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ । धीमहिको अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ । ध्यान गर्नु भनेको तप गर्नु हो । तपको दायरामा भक्ति, उपाशना, सेवा, अर्पण, चिन्तन, दास्यभाव आदि सबै पर्दछन् । यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन् । दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो । जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन् । यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार सूक्ष्म शरीरमा बस्दै जान्छ । यस्तो संस्कारले अन्तःकरणका दूषित मलिनता हट्नमा बल मिल्दछ ।
यस्ता दूषित मलिनता पूर्व जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन । परिस्कृत संस्कार बसेपछि यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन् । यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो । त्यही ध्येय तत्त्व परमात्म चैतन्य तेज एवं सोको शक्ति उपर केन्दि्रत हुनु पर्दछ । आफ्नो यथार्थ स्वरूप तत् अर्थात् त्यो दैवी तेज नै हो । त्यही तेज नै आफ्नो चेतना हो र चेतना नै सर्वस्व हो । यसको अनुपस्थितिमा शरीर मृत नै हुन्छ । दूषित विकारीपनमा सञ्चित कर्म र क्रियमाण कर्म स्थापित रहेको हुन्छ । सञ्चित कर्म र क्रियमाण कर्मको समुच्च रूप नै प्रारब्ध हो ।
धियो यो नः प्रचोदयात्
धियो भनेको बुद्धि हो । यो ले दैवी शक्तिमा लक्ष्यित गरेको छ । नः भनेको हाम्रो भन्ने बुझिन्छ । प्रचोदयात् भनेको अभिपे्ररित होओस् वा उन्मुख होओस् वा उत्प्रेरित होओस् भन्ने अर्थ लाग्छ अर्थात् हाम्रो बुद्धिवृत्ति सोही परमात्म तेजतर्फ उन्मुख होओस् भन्ने बुझिन्छ । अतः यहाँ बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ ।
यसरी गायत्री मन्त्रको छोटकरी अर्थ हुन आउँछ ः आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौं । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।
गायत्री मन्त्रको आनन्द र जीवनसँगको अन्तर्सम्बन्ध
आत्मचैतन्य जव अन्तःकरणमा पर्छ त्यसको प्रतिविम्ब स्वरूप एउटा आभास निस्कन्छ । त्यसलाई चिदाभास भनिन्छ । चिदाभास अन्तःकरणको मलिनताका आधारमा प्रकाशित हुने हुँदा आत्म चैतन्यजस्तो सफा स्थितिमा हुँदैन तर शरीर सञ्चालन यसैका आधारमा हुन्छ । यसै आभासको अवस्था नै जीव हो । अन्तःकरणको मलिनता हट्ने हो भने आत्माको पूर्ण प्रकाशबाट शरीर सञ्चालन हुने अवसर मिल्दछ । अनि आनन्दघन आत्मामा दुःख हुँदैन किनकि दुःखको उद्गमस्थल अन्तःकरणको मलिनतामा हुन्छ । अन्तःकरणमा मलिनता भएसम्म सुख दुःखको कर्ता-भोक्ता रूपको जीवभाव रहन्छ । अन्तःकरणको मलिनता हटे चिदाभास र परमात्म चैतन्यमा भिन्नता हुँदैन । दुबै एकै भए जीवभाव आत्मामा एकाकार हुन जान्छ । अर्थात् जीवभाव आत्मामा विलिन हुन्छ । यसरी आत्मचैतन्यबाट सोझै शरीर सञ्चालन हुन्छ । यसपछि आनन्दघन आत्मचैतन्यबाट दुःख हुँदैन । यसरी सबैले खोज्ने परम सुख मिलेपछि लक्ष्य पूरा हुन्छ । यही कारण गायत्री मन्त्रमा परमात्म तेजतर्फ उन्मुख हुने सदिच्छा जीवको रहेको हो । यस प्रकारले मलिनता घट्नु, हट्नु वा बढ्नुमा बुद्धिकै प्रधानता भएको स्पष्ट छ । बुद्धिमा विवेक प्रयोग गरे मलिनता घट्दै जाने र बुद्धिमा विवेकहीन अवस्था भए अहङ्कारको आवरणले छेकिएर विपरीत कर्म हुन जाँदा अन्तःकरणमा मलिनताको मात्रा बढ्छ । अन्तःकरणमा जति बढी मलिनताले छाउँछ त्यति दुःखका बीजहरू अङ्कुरित हुन्छन् । यस्तो अवस्थामा तमोगुणको हावी, चिड्चिडे स्वभाव, दम्भ, अहङ्कारजस्ता कुरा तुरुन्तै बढ्छन् र बेचैनी जीवन बिताउन बाध्य हुनुपर्ने हुन्छ । यो नै दुःख हो ।
जीवात्मलाई आत्मामा एकाकार गराउनमा बाधक अन्तःकरणको मलिनता हुन आउँछ । त्यो बाधा फुकाउन प्रतिबद्धतासाथ लाग्ने प्रयोजन नै गायत्री मन्त्र जप्नुमा रहन्छ । गायत्री मन्त्र त्यस्तो माध्यम वा पुल हो जसले दुःख भोग्न बाध्य जीवात्मालाई त्यसबाट छुटकारा दिलाएर अखण्ड आनन्दमा स्थापित गराउँछ । परमात्मामा स्थापित अर्थात् ऐक्य भएपछि अखण्ड आनन्द मात्र मिल्दछ । यो नै सार्थक जीवनको अवस्था हो ।
मधुपर्क २०६७ मंसिर

om gunja
OM GUNJA spritual touch to all soul for peace progress and welfare to all people of the world. GUNJA OM