मदनलाई मेडिकेयर अस्पताल चाँडै पुग्नु पर्ने थियो । नेपालगञ्जबाट बिरामी मामालाई त्यहाँ ल्याइएको रहेछ । सातदोबाटोबाट मदन माइक्रोबसमा चढ्यो । मनमा कुरा खेलाउँदै एक सुरमा रहेको बेला – नमस्ते मदनदाइ ! – यौटा नारी आवाजले झस्काई दियो । उसले देख्यो – आफूसँगैको सिटमा बसेकी यौटी अधवैंसे महिला आफूलाई नमस्ते मुद्रामा हाँसिरहेकी थिई ।
ठ्याम्मै चिन्न नसके पनि कहीं कतै देखे चिनेजस्ती ती महिलालाई आफ्ना दुवै हात जोडेर नमस्ते फर्काउँदै मदनले भन्यो – तपाईं … ?
महिलाले हाँस्दै भनी – ल ! चिन्नु भएन मलाई ? म पोखरा, रूपादिदीकी बहिनी – शारदा !
मदनलाई अझै स्पष्ट हेक्का भएन तर भन्यो – रूपादिदी त पोखरा हाम्रो अफिसमा हुनुहुन्थ्यो ! अनि तपाईं नि ?
छ्या ! मदनदाइ तपाईं त ! – म शारदा भन्या शारदा ! – महिलाले हाँस्दै भनी – रानीपौवा हाम्रो घरमा तपाईंहरू पटकपटक आइरहनुहुन्थ्यो । नास्ता बनाएर ख्वाउने त मै हुँ नि तपाईंहरूलाई !
बल्ल मदनको स्मृतिको पटल खुल्यो ! – ए ! शारदा ! तिमी ! सानी पातली थियौ त ! कस्तो फरक देखेँ त !
अहिले भने शारदा चुप लागी । उसको अनुहारको हाँसो पनि हरायो ।
माइक्रो आफ्नै रफ्तारमा गुड्दै – रोकिन्थ्यो । यात्रु ओर्हाल्थ्यो – राख्थ्यो । मदनले शारदालाई राम्रोसँग हेर्यो । सिउँदो उजाड थियो । हातमा चुरा थिएनन् । वैधव्य महिलाको पहिरन थियो तर अनुहारमा तेज थियो ।
अनि तिमी यहाँ कहाँ नि ? – मदनले सोध्यो ।
रसाएका जस्ता आँखा लिएर भुइँतिर हेर्दै शारदाले भनी – अब मेरो घर यतै छ । एक्लै छु । उहाँ पनि हुनुहुन्न ।
मदन एकछिन बोल्न सकेन । प्रसङ्ग मिलाउने सिलसिलामा सोध्यो – रूपादिदी कहाँ हुनुहुन्छ ?
दिदी पोखरामै हुनुहुन्छ – शारदाले जवाफ दिई ।
के गर्दै हुनुहुन्छ ? – मदनले सोध्यो ।
दिदीको घरजम राम्रो भएन । यहीँ काठमाडौँ भेँडासिंमा बिहा भएको थियो । बिहा भएको दुई वर्षपछि माइती आए घर फर्कन मान्नु भएन । घर तर्फबाट भिनाजुहरूले पनि लिन आउनु भएन ।
बच्चाबच्ची छैनन् त रूपादिदीको ? – मदनले सोध्यो ।
भएनन् – शारदाले जवाफ दिई ।
यति बेलासम्म माइक्रो कोटेश्वर आएर केही बेर रोकिएको थियो । यात्रुहरू झर्ने र चढ्नेक्रम यथावत थियो ।
एक्ली छु भन्छ्यौ त ? – मदनले सोध्यो ।
अँ, एक्ली छु । मेरा पनि बच्चाबच्ची भएनन् – शारदाले जवाफ दिई ।
एकछिन दुवै मौन बसे । माइक्रो कोटेश्वरबाट गुड्यो ।
अनि ज्वाइँसाहेबलाई के भएको थियो र ? – मदनले कुरा जोड्यो ।
म भन्दा पहिले पनि श्रीमती रहिछिन् । तिनको मृत्युपछि मलाई बिहा गर्नु भएको रहेछ । मैले पछि थाहा पाएँ – शारदाले भनी – जेठीबाट पनि बच्चा भएनन् ।
डाक्टरलाई देखाएनौ र ? – मदनले सोध्यो ।
देखाएको हो । दुवैको ठीक छ भन्थे – शारदाले जवाफ दिई ।
अनि कति भयो त ज्वाइँ बित्नु भएको ? – मदनले सोध्यो ।
अस्तिको चैतले ५ वर्ष पूरा भएर ६ वर्ष लाग्यो – शारदाले जवाफ दिई ।
अनि तिमी के गर्छ्यौं ? – मदनले सोध्यो ।
चावहिलमा खुद्रा सामानको व्यापार गरिरहेकी छु – शारदाले भनी ।
म पनि चावहिलमा मेडिकेयर अस्पताल जान हिँडेको – मदनले भन्यो ।
राम्रै भयो – मेरो दुकानमा चिया पिएर एकछिन कुरा गरौँला नि हुन्न दाइ ?- शारदाले प्रस्ताव राखी ।
हुन्छ ! – मामा बिरामी हुनु भएर नेपालगञ्जबाट यहाँ ल्याउनुभएको रहेछ – मदनले भन्यो ।
दुकानमा विशाल दाइको छोराले सहयोग गरेको छ – शारदाले भनी – ऊ क्याम्पस जान्छ । म १० बजे दुकान पुगी सक्नु पर्छ ।
कुरा गर्दागर्दै माइक्रो चाबहिलमा आइपुग्यो । माइक्रोबाट झरेर शारदाले मदनलाई आफ्नो दुकानमा लगी । उनीहरू दुकानमा पुग्नासाथ शारदाको भदा क्याम्पस टाप कसिहाल्यो ।
दुकान सानै भए पनि दैनिक उपभोगका बस्तुहरू टनाटन भरिएका थिए । चावहिल चोकैनेर भएको हुँदा ग्राहकहरू आइरहने रहेछन् ।
एकै छिन है दाइ ! – शारदाले भनी र दुकान बाहिर गएर तुरुन्त फर्किहाली ।
एकै छिनपछि चिया र दुई ओटा उमालेको अण्डा लिएर १२/१३ वर्षकी तामाङनी केटी देखा परी ।
मदनले भन्यो – भर्खर नास्ता लिएर मात्र आएको तर शारदा मान्ने खालकी थिइन । मदनलाई जबरजस्ती दुई ओटा अण्डा र एक कप चिया ख्वाएरै छाडी ।
चिया र अण्डा खाएपछि मदन उठ्यो र भन्यो – शारदा ! म अहिले मामालाई भेट्न जान्छु । फर्कदा तिमी कहाँ पस्छु, हुन्न ?
हुन्छ दाइ ! – शारदाले भनी – पक्कै आउनुहोला ।
अनि मदन मेडिकेयर अस्पतालतर्फ लाग्यो ।
—
मामालाई चौथो तलाको केबिनमा राखिएको रहेछ । बेडमा पुगेर मामालाई ढोगेपछि मदनले मामाका छोरा भाइ तेजेन्द्रलाई सोध्यो – कहिले ल्याएको मामालाई ?
हिजो साँझ ल्याई पुर्याएको – तेजेन्द्रले भन्यो – पिसाब नभएर सार्है दुःख पाउनु भयो बुबाले । हिजो साँझबाट औषधि ख्वाएर सलाइन दिएपछि पिसाब पनि खुलेको छ । सबै चेक गरिसकेका छन् । साँझसम्म रिपोर्ट आउँछ ।
मामासँग कुरा गर्न लाग्यो मदन । मावलीहरूलाई भाञ्जाहरूले बिर्सन थाले भन्ने मामाको गुनासोको जवाफ दियो मदनले – व्यस्त भनाँै भने खास काम छैन । कामै छैन भनौँ भने फुर्सद पनि छैन । यस्तै छ मामा ! मौका मिलेको बेलामा नेपालगञ्ज हजुरहरूकहाँ पुगेकै छु । संयोगले यहाँ पनि भेट भयो ।
बिरामी कोठामा एकछिन हाँसो भयो ।
एक घण्टा मामासँग बसेपछि मदन भोलि फेरि आउँछु भनेर बिदा भयो ।
—
मदन शारदाको दुकानमा फर्क्यो । शारदा खुशी भई र भनी – मलाई त दाइ आउनुहुन्न होला कि जस्तो लागेको थियो ।
तिमीलाई जे लागे पनि म आई हालेँ । आउँछु भनेको थिएँ – मदनले जवाफ दियो र सोध्यो – काठमाडौँमा घर कहाँ हो तिम्रो ?
किलागल हो घर त ! – तर अहिले त्यहाँ छैन – सातदोबाटोको भित्रपट्ट िढाई आनामा बनेको भुइँ तले चारकोठे घर किनेर बसेकी छु – शारदाले भनी ।
सेन्टरको घर किन बेच्यौ त ? – मदनले सोध्यो ।
बेच्न त मन थिएन – शारदाले भनी – चार वर्ष भयो बेचेको । देवरका साइँदुवा छोराहरूले अंशै दिन्नौ भनेर कत्रो जात्रा गरे तर नातेदारहरूको अगाडि उनीहरूको केही लागेन ।
किन अंश दिन्न भनेका नि ? – मदनले सोध्यो ।
किन भन्ने नि । मेरा सन्तान छैनन् रे ! – शारदाले भनी – सन्तान नभएकालाई किन चाहियो सम्पत्ति ? हामी खानलाउन दिई हाल्छौँ । बिरामी भए औषधिमूलो गरिहाल्छौँ । त्यसैमा सन्तोष गरेर बस भन्थे तर मैले मानिनँ । झगडा गरेँ । नातेदारहरूलाई बोलाएर उनीहरूका कुरा र मैले अंश पाउनु पर्ने कुरामा न्याय दिन हात जोडँं । धेरै लामो छलफलपछि नातेदार र छिमेकीहरूको जोडले मैले बरोबर अंश पाएँ ।
अंश पनि दिन्नौ भन्ने कस्ता पापी रहेछन् त मोराहरू ? – मदनले जिज्ञासा राख्यो ।
कस्ता भन्ने ? – शारदाले भनी – डर लाग्दाछन् दाइ ! – भतिजाहरू । जे मन लाग्यो त्यहीँ गर्छन् । सधैँ मारपिटका कुरा गर्छन् । उनीहरूसँग प्रशासन र पुलिस पनि डराउँछन् ।
अनि कसरी माने त नातेदार र छिमेकीहरूका कुरा ? – मदनले सोध्यो ।
नातेदारहरू पनि हक्की थिए । अर्काकी छोरी ल्याएर अंश दिन्न भन्न पाइन्छ ? छरछिमेकहरूलाई बोलाएर छलफल गराए – शारदाले भनी – नातेदार र छरछिमेकहरूको दबाबमा छोराहरूलाई उचाल्ने देवर खुम्चनु परेपछि छोराहरू पनि चुप लागे ।
शारदाले थपी – कुरा टुङ्गिएको भोलिपल्ट डिल्लीबजार मालअड्डामा गएर अंशवण्डा भयो । चार पाँच महिनापछि मैले आफ्नो भागको घर जग्गा तिनै साइँदुवाहरूलाई बजारभाउभन्दा केही कममा दिएँ । त्यही पैसाबाट सातदोबाटोको भित्री भागमा बनेको ढाई आनाको भुइँतले घर किनेर बसेकीछु । त्यहाँ दुकान राख्न मिल्दैन, त्यसैले यहाँ दुकान खोलेँ । यो घर पनि हामै्र पोखरेली शेरचन दाइहरूको हो ।
कुरा गरिरहँदा बीचबीचमा ग्राहकहरू आए पनि शारदा सजिलै व्यापार र कुरा गरिरहेकी थिई । मदन अचम्म मानेर शारदाको व्यापारकला हेरेर कुरा सुनिरहेको थियो । मदनले पहिलो पल्ट शारदालाई देख्दा ऊ ७ कक्षामा पढ्थी । त्यो बेला मदन पोखराको यौटा अफिसमा भर्खर जागिरे भएर गएको थियो । त्यही अफिसमा शारदाकी दिदी रूपा टाइपिस्ट थिइन । शारदासँग मदनको चिनजान स्टाफकी बहिनीको नाताले भएको थियो ।
मदन अतीतमा पुग्यो । अफिसमा एक दिन रूपादिदीले भनिन् – शनिबार डुल्दै हाम्रो घर रानीपौवातिर पनि आउनुस् न मदनभाइ !
हुन्छ ! आँउला नि दिदी – मदनले पनि भन्यो ।
यसरी रूपादिदीको घरमा आउन जान सुरु भयो मदनको । रूपादिदीको घरमा बूढीआमा, दुई भाइहरू र यौटी बहिनी शारदा गरी पाँच जनाको परिवार थियो । पछि ठूलो भाइले पोखराकी गुरुङसेनी केटी बिहा गरेर छुट्टै बसेपछि घरपरिवारमा चार जना मात्र भए ।
करिब एक वर्ष आवतजावत भइसकेपछि एक दिन रूपादिदीले आउने शनिबार उनको घरमा बिहानको खाना खान निम्तो दिइन । पहिले मदनले आनाकानी गरे पनि रूपादिदीको हठको कारण हुन्छ भन्न कर लाग्यो । शानिबारको दिन रूपादिदीले विशेष परिकारसहित खाना ख्वाइन् । फर्कने बेलामा घर पछाडिको करेसाबारीमा मदनलाई लगेर बिस्तारै तर प्रस्ट रूपमा भनिन् – भाइ तपाईंको आचरण देखेर हामी खुशी छौँ । त्यसैले हाम्री बहिनी शारदा तपाईंलाई दिने इच्छा हाम्रो छ ! तपाईंको विचार के छ ? स्पष्ट भनिदिनु होला ।
मदन जिल्ल पर्यो । अकमक्कियो तर सम्भालिएर भन्यो – दिदी ! मेरो संसार अर्कै छ । गार्हो नमान्नु होला । तपाईंले जस्तै शारदालाई मैले पनि आफ्नै बहिनी सम्झेको छु । अनि सोध्यो – शारदालाई यो कुरा थाहा छ ?
छैन ! – रूपादिदीले भनिन् – तपाईंको राय लिएपछि मात्र उसलाई भन्ने भन्न हाम्रो परिवारको सल्लाह थियो ।
धन्यवाद दिदी ! – मदनले भन्यो ।
रूपादिदीको घरबाट मदन मोहरियाटोल डेरामा पुग्यो । उसलाई मनमा कस्तो कस्तो अफ्ठेरोअफ्ठेरो भइरहेको थियो ।
भोलिपल्ट आइतबार अफिस समयपछि मदन सरासर रूपादिदीको घरमा पुग्यो । बूढीआमालाई नमस्कार गरेपछि शारदालाई एकछिन बाहिर निस्कने सङ्केत गरेर आफू घर पछाडिको करेसा बारीमा गयो । शारदा पनि आई ।
मदनले पैन्टबाट पर्स निकाल्यो र पर्सको पकेटबाट यौटा फोटो निकालेर शारदालाई दिँदै भन्यो – भन त यिनी को होलिन् ?
शारदाले फोटो हेर्दै हाँस्दै भनी – मलाई के थाहा ?
कोसिस गर न ! – मदनले भन्यो ।
हुनेवाला भाउजू हो ! – उज्यालो अनुहार बनाएर शारदाले भनी ।
बल्ल चिन्यौ ? – मदनले हाँस्दै भन्यो ।
के नाउँ हो नि भाउजूको ? – शारदाले सोधी ।
रमा ! – मदनले हाँसेर जवाफ दियो ।
त्यही बेला अफिसबाट रूपादिदी पनि टुप्लुप्क घर आई पुगिन् ।
हातमा रहेको फोटो रूपा दिदीलाई देखाउँदै शारदाले भनी – हेर्नुस् त दिदी ! मदनदाइको हुनेवाला रमा भाउजू !
रूपादिदीले केही बोल्नुअघि नै शारदाले रूपादिदीको हातमा फोटो राखी दिई ।
फोटो हेरेर रूपादिदीले भनिन् – हिसी परेकी रहिछिन् । कहाँकी हुन् ?
मदनले अलि लजाएझैं गरेर हाँस्दै भन्यो – नेपालगञ्जकी ? बुहारी मन पर्यो दिदी ?
रूपादिदीले भनिन् – फोटोमा त सार्है राम्री छिन् । तपाईंलाई सुहाउँछिन् !
केही बेर रूपादिदी कहाँ बसेर चिया पिएर प्रफुल्ल हृदय लिएर मदन डेरा फर्क्यो ।
यस घटनाको करिब एक महिनापछि मदनको सरुवा नेपालगञ्जमै भयो । त्यसपछि शारदा र मदनको भेट भएको थिएन ।
मदनलाई टोल्हाइरहेको देखेर – शारदाले ठूलो स्वरले प्रश्न गरी – मदनदाइ ! कहाँ हराउनु भयो तपाईं ? मदन झसङ्ग भयो । शारदालाई हेर्दै हाँस्दै भन्यो – नीलो फ्रक र सेतो सर्टमा नीलो झोला बोकेर हतारहतार स्कुल गइरहेकी मेरी सानी बहिनी शारदालाई सम्झिरहेको थिएँ ।
शारदा लज्याएजस्तै गरी मुसुक्क हाँसेर भनी – यो दाइ त कहिलेको कुरा सम्झिरहनु भएछ !
मदनले भन्यो – छोड यी कुरा ! अनि फेरि भन्यो – तिमीमा आत्मबल छ शारदा ! यो आत्मबल नै तिम्रो योग्यता र सफलता हो, यही आत्मबलले नै तिमीले दुःखका पहाडहरू पार गर्यौ । आफूमा सदा यही आत्मबल कायम राखी राख ।
दाइ ! तपाईंहरूजस्तै आत्मीयजन र आफन्तहरूकै आशीर्वाद हो म यसरी बाँच्न सक्नुमा पनि – शारदाले भनी ।
साँझ साँझ पर्न लागिसकेको थियो । मदनले उठ्ने तरखर गर्दै भन्यो – आज म जान्छु । भोलि आउँछु । मामालाई पनि भेट्नुछ ।
हुन्छ ! – शारदाले भनी अनि जिब्रो टोक्दै सोधी – रमा भाउजू सञ्चै हुनुहुन्छ ?
तिम्रो भाउजूलाई ठीक छ – यौटा छोरा, यौटी छोरी । दुवैको बिहा भइसकेको छ । छोराको तर्फबाट नाति र छोरीको तर्फबाट नातिनी छे । छोरा धनगढीमा नोकरी गर्छ । छोरी भरतपुर घरमा । हामी बूढाबूढी बुटवल घरमा ।
भाग्यमानी हुनुहुन्छ तपाईंहरू त ! – शारदाले हाँस्दै भनी – कहिले ल्याउनु हुन्छ भाउजूलाई ?
अहिले म काठमाडौँ एक्लै आएको छु – मदनले भन्यो – अर्को पाली तिमीजस्ती बहादुर बहिनीसँग भेट गराउनको निम्ति पनि रमालाई ल्याउने छु ।
शारदाले हाँस्दै भनी – भो ! धेरै फुल्याउनु पर्दैन ।
मदन उठ्यो ।
हात्तीवन फर्कनु थियो । शारदाको पसलसँगै बसस्टप थियो । सातदोबाटोको माइक्रोमा चढ्न शारदालाई बाइबाई ! गर्दै बिदा भयो ।
