Skip to content


नेपाली साहित्यलाई समृद्ध तुल्याउन यस साहित्यमा भए गरिएका उत्कृष्ट उपलब्धिहरू अन्य भाषा संसारसम्म पुर्‍याउनु र अन्य भाषाका अजम्बरी निधिलाई नेपाली भाषामा ल्याउनुपर्ने टड्कारो चेतनाको तीब्र अनुभूति अहिले गरिँदैछ । जबसम्म हामीले अन्य भाषाका चिर उपलब्धिहरूलाई ग्रहण गरेर आफ्नो भाषामा रूपान्तरित गर्न सक्तैनौं तबसम्म हामीले आफ्नो सिर्जनात्मक धरातलको भूगोल नापेर आफ्नो औकातको असली आँकलन गर्न सक्तैनौं भन्ने भावाधिवोध सघनरूपमा बढिरहेको बेला श्याम प्रधानद्वारा अनुदित प्रेमचन्दका उत्कृष्ट कथा प्रकाशित हुनु एउटा ठोस र प्रेरणादायी सत्कार्य हो ।

हिन्दी साहित्यका ख्यातनामा वागदेवीका उपासक हुन् प्रेमचन्द । विशेषतः ग्रामीण विपन्न वर्गहरूको उत्पीडनको आलो गाथालाई सजीवरूपमा र सुमधुर शैलीमा बक्त्याउन सक्ने सीप भएका कथाकार प्रेमचन्दका गोदान, कर्मभूमि, गवन, कफन, रङ्गभूमिजस्ता उत्कृष्ट आख्यान, कर्वला, रणभूमिजस्ता नाटक र मानसरोवरमा सङ्कलित सयौं कथाहरूका साथै निबन्धहरू पनि प्रकाशित छन् । मानवीय मूल्य मान्यता र चेतनाका उपाशक प्रेमचन्द साँच्चै भन्नु पर्दा हिन्दी-साहित्यका ठूला वटवृक्ष हुन् । उनका राम्रा-राम्रा तेह्र कथाहरूलाई नेपालीमा अनुवाद गरेर अनुवादक श्याम प्रधानले ठूलो गुन लगाएका छन् ।

अनुवाद आफैँमा एउटा जटिल विधा र कला पनि हो । मूल लेखको अन्तिम चुरोसम्म नपुगी गरिने कुनै पनि उल्था हास्यास्पद र सतही हुने गर्दछ तर अनुवादक श्याम प्रधानले प्रेमचन्दको मूल रचना र त्यसको नेपाली अनुवादलाई रिठ्ठो नबिराई जस्ताको तस्तै र त्यही स्वाद, शैलीमा नेपालीमा अनुवाद गर्नु पनि उनको ठूलो तपस्या र योगदान मान्नुपर्छ ।

प्रेमचन्दका सर्वोत्कृष्ट हिन्दी कथाबाट ‘कात्रो, दिदीबहिनी, नशा, मिस पद्मा, ईदगाह, बुद्धिचालका खेलाडी, आत्माराम, मनोवृति, हलगोरुको कथा, पुसको रात, लेखक, मोटेरामजी शास्त्री, जरिमाना’ लाई प्रेमचन्दका उत्कृष्ट कथाको आकारमा नेपाली साहित्यमा प्रवेश गराउने स्तुत्य काम श्याम प्रधानले गरेका छन् । किनभने प्रेमचन्दका यी चुनिएका कथाहरू हिन्दीको मात्र नभएर दक्षिण एसियाली साहित्यकै उत्कृष्ट उपलब्धि हुन् । गरिबी, ईष्र्या, दम्भ, प्रणय, करुणा, स्नेह, चरित्र विघटन, अन्धविश्वास, विसङ्गतिबोधक विषयवस्तुमा कथाकारले समस्त विपन्न वर्गको जिउँदो तस्बिर खिचेर पाठकलाई मन्त्र मुग्ध तुल्याएका छन् ।

किताबको उपादेयता अमूल्य छ । आकर्षक साजसज्जा, कागज, पि्रन्ट र आवरण पनि अत्यन्त लोभ लाग्दा छन् । कथा जस्तै । यस्ता पठनीय र सङ्ग्रहणीय ग्रन्थ रत्न पुस्तक भण्डारले पुनः पुनः प्रकाशित गरी रहे साहित्यानुरागी, पाठक र अध्येतासमेत आभारी हुनेछन्-जन्मजमान्तरसम्म ।

कृति ः प्रेमचन्दका उत्कृष्ट कथा
अनुवादक ः श्याम प्रधान
प्रकाशक ः रत्न पुस्तक भण्डार
प्रकाशन ः २०६६ असार
मूल्य ः रु. १९५।-
पृष्ठ ः १३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *