रोशन आमाबाबुको एक्लो छोरो हो । ऊ अहिले १२ वर्षको भयो । रोशन आफ्ना आमाबाबु र फुपू दिदीका साथ राजधानीमा बस्छ । उनीहरूको पुख्र्यौँली घर यहाँ होइन । उनीहरू खोटाङबाट १० वर्ष अगाडि बसाइ सरेर यहाँ आएका हुन् रे । यो कुरा उसले आफ्ना बाबुबाट सुनेको हो ।
रोशनका आमाबुबा दुबै शिक्षित छन् । बुबा ‘रोयल क्यासिनो’ मा काम गर्छन् । आमा घरछेउको विद्यालयमा शिक्षिका छिन् । रोशनकी फुपू दिदी विश्वविद्यालय
(क्याम्पस)मा डिग्री पढ्दैछिन् । रोशन कक्षा ६ मा पढ्छ । घरका सबै परिवार शिक्षित भएकाले रोशनको पढाइ राम्रो छ । परिवारका सबै सदस्यहरू दिनभरि आ-आफ्नै काममा व्यस्त रहन्छन् । बिहान बेलुकाको समयमा भने सबैजना भेला हुन्छन् । सँगै खाना खान्छन् । रमाइला गफ गर्छन् । रोशनलाई गृहकार्य गर्नका लागि सघाउँछन् । फुर्सदको बेला रोशनलाई बुबाले घुमाउन पनि लैजान्छन् ।
घरमा रोशनलाई केही कुराको अभाव छैन । उसले मागेका हरेक कुरा उपलब्ध गराउन आमाबुबा कोसिस गर्छन् । उसका राम्रा कामका लागि स्याबासी दिन्छन् भने उसका गल्तीहरू सकभर ढाकछोप गरिदिन्छन् ।
घरका सबैले रोशनलाई धेरै माया गर्थे । यही कारण ऊ बिस्तारै परिवर्तन हुन थाल्यो । उसलाई आफू मात्र जाती राम्रो र गतिलो छु भन्ने लाग्न थाल्यो । जे मागे पनि आमाबुबाले पूरा गरिदिनु हुन्छ भन्ने ठान्न थाल्यो रोशन ।
हिजोसम्मको ज्ञानी र भलादमी रोशन क्रमशः परिवर्तन हुन थाल्यो । चाहिँदा नचाहिँदा माग राखेर ऊ बारम्बार झगडा गर्न थाल्यो । भनेको कुरा नकिनिदिएर घरै थर्काउने गरी रुन कराउन थाल्यो ।
कक्षामा पनि ऊ बेग्लै रूपमा प्रस्तुत हुन थाल्यो । गृहकार्य गर्न मन गर्दैनथ्यो । साथीभाइसँग पनि सङ्गत गर्न छोड्यो । रोशन क्रमशः एक्लो हुँदै गयो, उदण्ड हुँदै गयो । बिस्तारै ऊ विद्यालय जान मनै नगर्ने भयो ।
हिजोसम्मको जाती र ज्ञानी रोशन घमण्डी र उद्दण्ड बनेको देखेर उसका आमाबुबालाई ठूलो चिन्ता पर्यो । के कारणले रोशन यस्तो भएको होला भनी सोचे तर समस्याको केही कारण पत्ता लाउन सकेनन् उनीहरूले । रोशनको बुबा विद्यालय-सम्म गए । विद्यालयमा कुनै नराम्रो घटना घटेको कारण रोशनमा परिवर्तन आएको हो कि भनेर शिक्षकहरूसँग सोधे । रोशनका साथीहरूसँग पनि भेटे तर कसैसँग केही झगडा नपरेको थाहा पाए ।
आफ्नो एकमात्र सन्तान यसरी एकलकाँटे र बदमास बनेको देखेर रोशनका बुबा धेरै दुःखी भए । एकदिन उनले रोशनलाई बोलाएर सम्झाउन खोजे तर रोशन त उल्टै बुबासँग झगडा गर्न तम्स्यो । त्यसैदिन साँझको खाना खाने बेलामा रोशनले आमासँग पनि झगडा गर्यो । सागको तरकारी खान्न भन्दै ऊ छततिर गयो ।
पूणिर्माको दिन थियो । आकाशमा टहटह जून लागिरहेको थियो । घरिघरि कताकताबाट उडेर आउने बादलले जूनलाई छेक्दा बादलसँगसँगै जून पनि दौडिरहेको झैँ देखिन्थ्यो । यस्तो दृश्य देखेर रोशन औधी खुसी भयो । जून हिँडिरहेको देखेर ऊ खुसीले चिच्यायो र जूनसँगसँगै हिँड्न थाल्यो तर केही पाइला हिँडेपछि ऊ छतबाट खस्यो ।
केही वस्तु झरेको सुनेर रोशनका आमाबुबा दौडिँदै हेर्न गए । त्यहाँ रोशन लडिरहेको देखेर उनीहरूले तत्कालै रोशनलाई अस्पताल पुर्याए ।
रोशनको हात मर्किएको रहेछ, टाउकोमा चोट पनि लागेको रहेछ । डाक्टरले टाउकोमा चारवटा टाँका मारिदिए र हातमा पट्टी बाँधिदिए ।
रोशनको बुबाले रोशनको बानी व्यवहारका बारेमा डाक्टरलाई बताए । कुरा सुनी सकेपछि डाक्टरले भने- “तपाईँको छोरा परिवारका सबै मान्छेको माया पाएर मात्तिएको रहेछ । तपाईंहरूले उसले राखेका सबै माग पूरा गरिदिनु भएकोले ऊ त्यस्तो बदमास भएको हो । उसलाई मैले जे बोले पनि राम्रो हुन्छ, जे गरे पनि ठीक हुन्छ र जे मागे पनि पाइन्छ भन्ने छाप परेको छ । यस्तो छाप नहटेसम्म तपाईंको छोरा ज्ञानी बन्न सक्दैनन् ।”
डाक्टरको यस्तो कुरा सुनेपछि रोशनको बुबाका आँखा खुले । आफू शिक्षित भएर पनि आफ्नै छोरालाई उचित शिक्षा दिन नसकेकोमा उनलाई दुःख लाग्यो । छोराका गलत माग पनि सुनेकोमा पछुतो गरे । उसका गल्ती ढाकछोप गर्न नहुने रहेछ भन्ने लाग्यो उनलाई ।
डाक्टरले रोशनलाई पनि सम्झाए ः- “आफ्ना आमाबुबालाई अनावश्यक माग राखेर दुःख दिन हुँदैन । रिसले आफैँलाई हानि गर्छ । साथै आमाबुबा, साथीभाइ र समाजसँगको सङ्गत पनि छुटाउँछ । आवेगमा आएर निर्णय गर्दा पछिसम्म पछुताउनु पर्नसक्छ । जसको कारण विभिन्न दुर्घटनाहरू हुन सक्छन् ।”
त्यसपछि रोशनले अब कहिल्यै त्यस्तो गल्ती नगर्ने वाचा गर्दै आमाबुबासँग माफी माग्यो । यस्तो महìवपूर्ण कुरा बताएकोमा डाक्टरलाई धन्यवाद दियो । त्यही दिनदेखि रोशनले कहिल्यै नरिसाउने र कसैसँग झगडा नगर्ने प्रण पनि गर्यो ।
