Skip to content


उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषधि ? यदि पाउने भए ऊ घिस्रदै जान्थी होला तर उसलाई थाहा छैन । बरू उसलाई उसको विगतले घिसार्दै पुर्‍याउँछ आफ्नो गाउँ इलाममा । जनयुद्धले देश जर्जर भएको बेला थियो । बन्दव्यापार केही चल्न सकेको थिएन । युवाहरू माझ छापामार हुनुपर्ने त्रासले दिनरात सताइरहन्थ्यो । भर्खर बिहे भएको थियो उसको प्रदीपसँग । गाउँघरमा माओवादीको जनयुद्धले नयाँनयाँ सन्त्रास फैलाइरहेको हुन्थ्यो । कहिले आक्रमणको हल्ला, कहिले चन्दाको हल्ला, कहिले अपहरणको हल्ला । गाउँघरमा सबैभन्दा बढी युवाहरूलाई बस्न कठिन भएको थियो । उसको सासूससुरालाई आफ्नोभन्दा बढी लाउँलाउँ, खाउँखाउँ भएका भर्खर बिहे भएको छोराबुहारीको पिर थियो । सासूससुराको सल्लाहअनुसार दुवैजना काठमाडौँ आएर व्यवसाय गर्ने सल्लाह भयो । सासूससुराले केही रकम व्यवसाय गर्न दिएपछि दुवैजना काठमाडौ आए – प्रदीप र सिर्जना ।

एकछिनमा मोबाइलको घण्टी बज्छ ।

‘हेलो, सिर्जना !’

‘हेलो आरती दिदी !’

‘तिमीलाई कस्तो छ ?’

‘ठीक भइसकेको छैन ।’

‘हेर न ! आज फेरि एउटा डिमान्ड छ, तिमी विमारी छौ । सङ्गीता र रोजी पनि पोखरा गएका छन् । तिमी जान सक्छौ कि ?’

‘हुन्न हुन्न दिदी म जान सक्दिनँ । अरू कसैलाई पठाउनु ।’

यति भनिसकेर उसले मोबाइल अफ गरी ।

उसलाई आरती दिदीदेखि भित्रदेखि नै रिस उठेर आयो । यो सब घटनाको प्रेरणास्रोत तिनै थिइन् । तिनीसँग भेट नभएको भए आज उनले यो दिन देख्नुपर्ने थिएन तर आरती दिदीप्रतिको आक्रोश ऊ कतै व्यक्त गर्न सक्दिनथी । ऊ कुण्ठित मन लिएर पश्चातापको आगोमा जलिरही । उसको जलन धूवाँधूवाँ भएर स्मृतिको आकाशमा यसरी फैलन थाल्यो ।

पहिलापहिला मोबाइलको घण्टी बज्ने गर्दथ्यो । ऊ उठाउँथी ।

‘हेलो सिर्जना !’

‘हेलो आरती दिदी !’

‘अँ हेर न आज तिमीले होटल र्‍याडिसनमा जानुपर्ने भएको छ ।’

उसले कतिचोटि भनिसकेकी थिई आरती दिदीलाई, अब ऊ यो पेसा गर्दिन भनेर तर आरतीदिदीले पटक्कै मानेकी हैनन् – ‘हेर् सिर्जना, मिस्टर यादव र उसका साथीहरूको माग तिमी नै छौं । अरूको नाम लिँदा उनीहरू नाक खुम्चाउँछन् । तिम्रो नाम लिने बित्तिकै उनीहरू खुसी हुन्छन् । जाउ न आज एक पल्टलाई ।’

यसो गर्दागर्दै ऊ लाचार भएर यो पेसा छोड्न सकेकी थिइन । यो पेसामा लाग्नाले नै आज उसले यो हविगत भोग्नु परिरहेछ । उसले दुई दिन अगाडि ठूलो दुर्घटना बेर्होनु परेको थियो । त्यसैले उसको मन भारी छ, तन भारी छ । त्यो भारी बिसाउने यत्रो संसारमा उसले कतै ठाउँ भेटेकी छैन । वन डढेको सबै देख्छन् तर मन डढेको कोही देख्दैन भनेको यही रहेछ । हुन त उसको वन नै डढेको भए पनि देख्नेवाला कोही थिएनन् । आफ्नै लोग्नेले यत्रो नाटक गरेर उसको जीवनको पर्दा नै च्यातिदिएपछि अरू कुरा नै के बाँकी रह्यो र ? यो नाटकको पात्र कोको

थिए ? नाटक कसरी रिहर्सल भयो कहाँ भयो ? उसले केही थाहा पाउन सकिनँ । उसलाई मात्र यो थाहा छ यो नाटकको प्रमुख पात्र उसको लोग्ने हो र यो नाटक वियोगान्त हो ।

गाउँबाट काठमाडौँ आएपछि उसको लोग्ने र ऊ भएर जुत्ता पसल खोलेका थिए । नयाँ ठाउँमा बजार भाउ बुझ्न नसक्दा, व्यवसायको अनुभव पनि नबटुलेको उनीहरूलाई पसल चलाउन हम्मेहम्मे भयो । दिन पर दिन पसल घाटामा जान थाल्यो । अब अन्य विकल्प केही थिएन । युवाहरू विदेशिने भाइरल रोगले उसको लोग्नेलाई पनि छोयो । जेनतेन रिन काढेर उसको लोग्ने अरब गयो । अब सिर्जना एक्ली भई । हावा खाँदा पनि पैसा तिर्नुपर्ने काठमाडौँमा सिर्जनालाई बाँच्न धौधौ भयो । त्यसपछि उसले आफूलाई जीवित राख्न डिपार्टमेन्ट स्टोरमा काम गर्न थाली । अब उसको दैनिकी डिपार्टमेन्ट स्टोरमा बित्न थाल्यो ।

एक दिन अचानक डिपार्टमेन्ट स्टोरमा एउटा घटना घट्यो । उसले सामान राम्रोसँग मिलाएर नराखेको भनी साहूले निकै झपार्‍यो । त्यहीबेला डिपार्टमेन्टमा सामान किन्न आएकी ग्राहक आरतीदिदीसँग उसको भेट भएको थियो । आरतीदिदीले यो सब देखिरहेकी थिइन् । उनले बोलाएर सोधिन् – ‘तिमी अन्त काम गर्छौ ?’ उसले सजिलै भनिदिएकी थिई ‘गर्छु’ भनेर । त्यसपछि आरतीदिदीले फोन गर्न उसलाई भिजिटिङ कार्ड छोडिदिएकी थिइन् । यसरी आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले नै उसलाई खानबस्नका लागि कोठा मिलाइदिएकी थिइन् । ऊ आरती दिदीसँग होटलतिर घुम्न र रमाउन थाली । राम्राराम्रा लुगा, मीठोमीठो खानेकुरामा नशा बस्दै गयो । वास्तवमा जीवन पनि त एउटा नशा नै त हो नि । नशामा लागेको बेला मानिसले केके गर्छ उसैलाई होश हुँदैन रहेछ । अहिले ऊ सोच्दैछ, नशामा लागेको बेला कुन बेला उसले यो पेसा अपनाई उसलाई पत्तै भएन ।

पहिलो दिन आरती दिदीले उसलाई तीन हजार हातमा राखिदिँदै भनेकी थिइन् – ‘लौ हेर सिर्जना ! तिमीले डिपार्टमेन्टमा काम गर्दा महिना दिनको तलब एकै पल्टमा । फेरि फाल्टो टिप्स अनि फाइभ स्टार होटलको खाना, खाउ मोज गर ।’

उसले ती नोटहरू हातमा लिएर निकैबेर हेरिरही । हजारका नोट यसरी हातमा नपरेको धेरै भइसकेको थियो उसको । अहिले आरती दिदीको पैसामा नै खाने, बस्ने र घुम्ने गरिरहेकी थिई । उसको लोग्नेले कमाएको पैसा सीधै साहूलाई पठाउँथ्यो जहाँबाट उसले ऋण लिएको थियो । उसले कसरी गुजारा गरिरहेकी छे भनेर घरकाले कहिले सोधेनन् भने लोग्नेले पनि कुनै चासो नै राखेन । ऊ सोच्दथी माइतकाले त पाले पुण्य मारे पाप भनेर जिम्मा लगाएका उसलाई घरकाले त पक्कै सोध्नुपर्ने हो नि ‘सिर्जना काठमाडौँको ठाउँमा के गरी बाँचेकी छौ ?’ भनेर । तर प्रश्नको ठेलीबाट उठेको उत्तरको पहाडले आफैलाई किच्ला भन्ने डरले कसैले साधेनन् । त्यो अभाव र गरिबीको पहाड आफैले बोक्ने निर्णय गरी । त्यसैले उसले आफूलाई निरीह बनाइ कसैको अगाडि हात फैलाउन चाहिन ।

अहिले उसलाई निकै गारो भइरहेको थियो ती कागतका नोटहरू समाउन । लाग्थ्यो ती कागतका नोट होइन् उसको जीवन तवाह गर्ने बम हुनुपर्छ । त्यसैले ऊ उचाल्न सकिरहेकी छैन । त्यहीबेला उसको कानमा आरती दिदीको उच्चस्वर बम पड्केकोझैँ गरी पड्किन पुग्यो -‘आनाकानी होइन अब यो कोठाको भाडा, खानेव्यवस्था तिमी आफैले मिलाउनुपर्छ । हेर् काठमाडौँको ठाउँमा बाँच्न सजिलो छैन ।’ ऊ झसङ्ग भएर झस्की । आरती दिदीप्रतिको कृतज्ञताले उसले केही बोल्न सकिनँ । उसले केही बोल्न खोजी तर बोल्नलाई वाक्यहरू अनशन बसेझै लाग्यो उसलाई । ऊ आरती दिदीप्रति यति अनुग्रहित थिई कि उसले आरतीलाई नकरात्मक शब्द बोल्न अघि आफनो धडकन छाम्नु पर्दथ्यो । त्यो वाक्यले कतै चलिरहेको धडकन बन्द हुने हो कि भनेर सयौँ पटक सोच्नुपर्दथ्यो ।

साँच्चै हो काठमाडौँको ठाउँमा बाँच्न सजिलो छैन । पाइलाभन्दा अघि पैसा दौडिसक्छ । पैसा छैन भने शरीर मूर्तिवत् हुन्छ अनि जड भैदिन्छ जीवन । अनि कसरी चलायमान हुन्छ जीवन । साँच्चै ती हजारका नोटहरूले उसको जीवन चलायमान बनाउन थाल्यो । चलायमान मात्र होइन नयाँनयाँ स्वाद र रङ्गनि दिनहरूमा दिन उड्न थाले । सुरूसुरूमा उसलाई निकै गारो भयो । मध्यमवर्गीय परिवारमा हुर्केकी ऊ, समाजमा एक प्रकारको सम्मानित जीवन थियो उसको । ऊ आफ्नो इज्जत, सम्मानमा बाचेकी थिई ।

पहिलो दिन एक्कासि परपुरुषको अगाडि नाङ्गिनुपर्दा निकै नर्भस भएकी थिई । तर उसको यो सौभाग्य थियो कि पहिलो ग्राहक बौद्धिकस्तरको निकै परिपक्व व्यक्ति परेको थियो । उसले सिर्जनासँग उसको मनोविज्ञान बुझेर भावानात्मक सम्बन्ध राख्यो । उसले सिर्जनाकोअगाडि आफूलाई अलिकति खोलिदियो जसले गर्दा सिर्जनाबाट विश्वास र सहानुभूति पाउन उसलाई गारो भएन । सिर्जनालाई उसले आफूप्रति आकषिर्त गरेको थियो । ऊ स्वास्नी विदेश गएकी गैर सरकारी संस्थामा काम गर्ने अधवंैसे पुरुष थियो । उसले सिर्जनामा आफ्नो छाप यसरी छोडेको थियो घर फर्केपछि पनि सिर्जना उसैको कुरा सम्झिरहेकी थिई । पहिलो भेटमा उसले सिर्जनालाई कुनै फिजिकल टच गरेको थिएन, मात्र आफ्ना बारेमा केही कुरा सुनाएको थियो र प्रशस्त जोक्सहरू सुनाएको थियो । पहिलो दिनको डर उसको तिनै जोक्सहरूमा हाँसोसँगसँगै उडेको थियो । त्यसपछि सिर्जना आफंै ऊप्रति तानिँदै गई । उसलाई भेटेर आएको पहिलो दिन उसलाई सहीनसक्नु भएको थियो । भित्र कतै आगो बलेजस्तो ऊ रातभर सुत्न सकेकी थिइन । उसले आगो कम गर्न उत्तेजित भिडियोका रिमिक्स गीतहरू हेरेर रात बिताएकी थिई । लोग्नेले छोडेर गएको डेढ वर्षमा कतिपय रातहरू उसले यसरी नै बिताएकी थिई ।

भोलिपल्ट उही पुरुषले बोलाओस् भन्ने उसले चाहेकी थिई । नभन्दै उसले नै सिर्जनालाई नै फोन गर्‍यो । सिर्जनाको शरीरभरि अतृप्त यौनले विष फैलाइसकेको थियो । अब उसले आफूलाई तृप्तिको अग्निमा आफूलाई हामिदिने विचार गरी । यही सोच बनाएर ऊ अधवैंसेलाई भेट्न होटलमा गई । ऊ आफू पनि केही पढे लेखेको भएर होला ग्राहकसँग डिल गर्ने तरिका सिक्दै थिई । उक्त अधवैंसेलाई स्त्रीहरूलाई रिझाउने कला निकै आउँदथ्यो । शायद ऊ यो कुरामा पोख्त पनि थियो । त्यसैले पनि पहिलो भेटमा नै उसले सिर्जनाको खुट्टादेखि लिएर शिरसम्म प्रशंसाको बाढीले पुरेको थियो । आज पनि उसले पहिलो भेटमा नै सिर्जनाको सकुञ्जेल र भ्याएसम्म प्रशंसा गयो । सिर्जना रोमाञ्चकताको बायुयानमा उडान भरिरहेकी थिई । उसका अङ्गहरू सिरिङ्गसिरिङ्ग गर्दै थिए । यस्तो अनुभूति उसले आफ्नो लोग्नेबाट पनि पाएकी थिइन् । ऊ आफ्नो अतृप्त यौनआकाङ्क्षा उही अधवैंसेबाट तृप्त पार्न चाहन्थी । ऊ आफ्नो शरीर सुम्पन आतुर थिई । कुनबेला उक्त पुरुषले आफूलाई यौनका लागि आमन्त्रण गर्ला भनेर प्रतीक्षामा अधीर थिई । कुन बेला आफ्ना शक्तिकुण्डलाई उसका अग्निजस्ता ब्रम्हस्त्र प्रहारगरी शान्त पर्ला भन्ने आकाङ्क्षामा थिई । केही छिनको वार्तालापपछि उक्त पुरुषले उसका मुलायम हातहरू समाएर मुसार्नर् थाल्यो । यसो गर्दा उसको शरीरमा हजारांै भोल्टको विद्युत् ऊर्जा उत्पन्न भएझैँ लाग्यो । त्यसपछि उसले आफूलाई थाम्न सकिनँ । स्वयम् नै अधवैंसेको गलामा कस्सिएर बेरिइसकेकी थिई । अधवैंसेलाई के चाहियो र ऊ त यही समयको प्रतिक्षामा थियो । उसका आँैलाहरू सिर्जनाका प्रत्येक अङ्गअङ्गमा सल्बलाउन थाल्यो । ठूलो बाढी थामेर बसेको बाँध अहिले भत्केको थियो । केही समयको अस्तव्यस्ततापछि सिर्जनाले ठूलो तृप्ति पाएको महसुस गरी । यसरी उसलाई पहिलो चाटिको अनुभूतिले आनन्दको शिखर चढाएको थियो । त्यसपछिका कतिपय घटनामा उसले यस्तो अनुभूति पाउन सकेकी थिइन । त्यसबेला आफू बेचिनु परेको भान हुन्थ्यो उसलाई र सारै नरमाइलो लाग्दथ्यो तर पनि ऊ पेसेवर नभएकी हुनाले ग्राहकसँग एउटा समझदारी हुन्थ्यो जसले गर्दा उसलाई बेचिएको होइन बरू आफूले आत्मसन्तुष्टि लिइरहेको महसुस गर्ने गर्दथी । त्यसकारणले पनि उसँग आउने ग्राहकले पनि ऊबाट भरपुर आनन्द लिन्थे । त्यसैले पनि उसको डिमान्ड हुने गर्दथ्यो । ऊ विभिन्न किसिमको ग्राहकसँग यौनको नयाँनयाँ स्वाद लिँदै गई ।

उसले सोचेकी थिई केही दिनको कुरा हो सब ठीक भइहाल्छ । प्रदीप आउञ्जेल सब ठीक हुनेछ । यसरी ऊ दलदलमा फस्दै गई । न त उसलाई समय उडेको पत्तो भयो न त उसको जीवनले कुनै नौलो नियतिको खेल खेल्दै छ भन्ने महसुस भयो । बस ऊ जीवनको रङ्गमा प्रत्येक दिन होली खेल्दै गई त्यसमा पनि नयाँ नयाँ चोली फेर्दै । विभिन्न प्रकारको ग्राहकसँग डिल गर्ने क्रममा एकपल्ट उसले अनौठौ ग्राहक भेट्टाएकी थिई । उक्त ग्राहक मात्र छब्बीस सत्ताईस वर्षको लाग्दथ्यो । उसले उसलाई नगरकोटको एउटा रिसोर्टमा लगेको थियो । सिर्जनाले भनेजति पैसा उसले चुक्ता गरिसकेको थियो । ऊ सिर्जनासँग धेरै बोल्न चाहेको थिएन । किन हो सिर्जनालाई यो कुराले अचम्म लागेको थियो । धेरै समय खाने र केही समय औपचारिक गफ गर्नेमा बितेको थियो । अन्त्यमा उसले एउटा प्रस्ताव राख्यो । त्यो थियो सिर्जनाको नग्न शरीर हेर्ने । यो कुरा सिर्जनालाई कुनै प्रधानमन्त्रीको चुनाव थिएन यो अति सजिलो थियो त्यसै पनि परपुरुषको अगाडि नागिनुमात्र नभई यौनप्यास बुझाउनुपर्ने पेसामा यो कुनै गाह्रो थिएन तर सिर्जनालाई यो कुरा निकै रहस्यमय लागि रहेको थियो । अहिलेसम्म उसले यस्तो ग्राहक भेटेकी थिइन । प्रायः सबै यौनका लागि कामातुर मात्र भेटेकी थिई तर यो सजिलो काम पनि उसलाई निकै गाह्रो लागिरहेको थियो त्यो के थियो भने उसको दाहिने छातीमा रहेको कालो कोठी कसरी लुकाउने भनेर उसलाई ठूलो समस्या परेको थियो । प्रायः ऊ त्यो कोठी लुकाउने गर्दथी । यौन उन्मादमा आतुर रहेका ग्राहकहरू त्यो कोठीको खासै चासो पनि राख्दैनथे तर उक्त पुरुषले किन आफ्नो नग्न शरीर हेर्न खोज्यो यो उसलाई निकै रहस्यमय लागेेको थियो । एकातिर उत्त पुरुषले आफूले चुक्ता गर्नुपर्ने पैसा चुक्ता गरिसकेको हुनाले नदेखाउने कुरा नै हुँदैनथ्यो ।

उसले शरीरको सम्पूर्ण भाग देखाई तर दाहिने छातीको भने कपडाले छोपिरही । उक्त पुरुषले आफँै आएर कपडा हटाएर हेर्‍यो । यस कुरालाई उसले नकार्न सकिनँ । पछि उसले खासै केही गरेन र केही भनेन पनि मात्र यति भन्यो ‘म स्त्रीको नग्न शरीरको चित्र बनाउँदैछु त्यसैले तपाईंको शरीर हेर्न चाहेको हुँ । माफ गर्नु होला मेरो अरू कुनै उद्देश्य छैन ।’ यति भनेर ऊसले घर र्फकने इच्छा व्यक्त गर्‍यो ।

घर आएपछि सिर्जनालाई कताकता यो घटनाले बिथोलिरह्यो । कतै यसमा कुनै षड्यन्त्र छ कि भनेर ऊ निकै गम्भीर बनेकी थिई । कतै उसैको श्रीमान्ले जासुसीको रूपमा उक्त व्यक्तिलाई पठाएको हो कि ? उसलाई निकै शङ्का लागेको थियो । यो कुराले उसको दिमागमा धेरै दिनसम्म खेलिरह्यो तर उसले आफ्नो सम्पूर्ण जीवन नै दाउमा लगाएर अपनाएकी पेसामा विलेनलाई हराइदिई र त्यो तनावलाई पूर्णरूपले दिमागबाट डिलिट गरिदिई । उक्त घटनालाई उसले विस्मृतिको सागरमा लगेर अर्घ दिइसकेकी थिई र त्यो किनारा लागिसकेको थियो तर यस घटनाले भित्रभित्रै आफ्नो जाल फिजाइसकेको उसले थाहा पाउन नै सकिन । अब त्यो रहस्यमय घटनाका रहस्यहरू बिस्तारै पर्दामा देखिन तम्तयार थिए । उसका रहस्यका पर्दाहरू यसरी उघ्रेका थिए ।

अस्ति भर्खरको कुरा थियो ।

आरती दिदीले फोन गरिन् – ‘सिर्जना तिमी ब्यु एन्ड हाइटमा जानुपर्छ । कोठा नम्बर १०२ हो ।’ सिर्जनालाई लागेको थियो, भनिदिऊ – ‘दिदी, अब म यो पेसा छोडिदिन्छु । प्रदीप पनि आउँदैछ । अरू कसैलाई पठाइदिनुहोस् । आफ्नो मान्छेहरूले पनि चियोचर्चा गर्न थालेका छन् ।’ तर उसका मुखबाट यी कुरा निस्कन नपाउँदै आरती दिदी कड्केर बोलिन् –

‘ल तिमी छिटै जाऊ । बेर नगरीकन । मिस्टर यादवको मिल्ने साथी हो । उसले तिमीलाई नै उताबाट फोन गरेर विशेष अफर गरेको छ । बरू ढिला नगरी जाउ अनि अलि शृङ्गारिनु । उसलाई केटीहरूले कालोसाडी लगाएको मनपर्छ, सेक्सी लाग्छ रे ।’

सिर्जनाले मोबाइलमा एकोहोरो सुनिरही । उसले आरती दिदीको कुरा काट्न सकेकी थिइनँ । उसले सोची आजको दिन उसको यो पेसाका लागि अन्तिम दिन हुनेछ । त्यसपछि ऊ भूमिगत हुनेछ । कसैले थाहा नपाउने गरी । उसले अर्कै ठाउँमा डेरा खोजिसकेकी थिई । अब आउने महिनाको सुरूमा ऊ नयाँ डेरामा, नयाँ मोबाइल लिएर, नयाँ विचार, नयाँ पाइलाका साथ प्रदीपसँग नयाँ जीवन बाँच्ने छ तर किन होला प्रदीपले धेरै दिनदेखि फोन गरेको पनि थिएन । ऊ आउने खवर पनि उसले उसका साथीहरू म्ाार्फत थाहा पाएकी थिई । कतै प्रदीपले यो सब थाहा पाइसकेको छ कि ? ऊ कहिलेकाही झस्कन्थी तर उनीहरूका सबै कामहरू गोप्य हुने हुनाले थाहा पाउने कुरा नै हुन सक्दैनथ्यो । त्यसैले ऊ निर्धक्क आफ्नो दैनिकी चलाइरहेकी थिई । अहिले पनि ऊ आफूलाई पूर्णत विश्वस्त भएर तयार हुन थाली ।

उसले कालो जापनिज सिफनको साडीमा हल्का बुट्टा भएको रोजी । साडीमा मिल्ने ब्लाउज लगाई । वास्तवमा नै ऊ साडीमा निकै सेक्सी देखिन्थी । मेकअप आफ्नै किसिमले गरेकी थिई । आँखामा आइ लाइनर, सानो टीका, ओठमा लिपइ लाइनर, अनि लिपिस्टिक, घाँटीमा सानो मोतीको माला अनि साडीसँग मिल्ने सेण्डिल र ब्याग ।

उसको छनोट प्रक्रियाले पूर्णविराम पाएपछि ऊ कोठाबाट बाहिर निस्की । ट्याक्सीमा होटल ब्यु एन्ड हाइट पुग्न उसलाई कति समय पनि लागेन । रूम नम्बर १०२ उसलाई कण्ठ थियो । ऊ सीधै रुम नम्बर १०२ मा पुगी । स्विच थिची । ढोका खोलिएपछि ऊ हेरेको हेर्यै भई । अगाडि उसको आफ्नै लोग्ने थियो । ऊ बेहोश भएर भुइँमा लडी । त्यसपछि उसले आफूलाई अस्पतालको बेडमा पाएकी थिई ।

अहिले उसको टाउको दुख्नको कारण त्यही थियो । ऊ दलदलमा भासिएकी थिई । उसलाई लागिरहेको थियो, अब यो दलदलबाट बाहिर निस्कन उसले अर्को जन्म लिनु पर्नेछ । अहिले उसको जीवनमा विराम मात्र होइन पूर्णविराम नै लागिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *