Skip to content

मान्छेः समय, परिस्थिति र निर्णयको बन्दी


पात्र परिचयः-

नायक – वर्ष २८, खलनायक १- वर्ष ५५
नायिका- वर्ष २६, खलनायक २- वर्ष ४८
सूत्रधार, खलनायक ३- वर्ष ३५

(रङ्गमञ्चमा पर्दा खुल्छ । मञ्चमा चूक घोप्ट्याएझैं अँध्यारो हुन्छ । विस्तारै मधुरो प्रकाश छरिन्छ । मञ्चको बीच भागमा चहकिलो प्रकाश पर्छ । त्यही चहकिलो प्रकाशमा सूत्रधार देखापर्छ । सूत्रधार दर्शकहरूलाई सम्बोधन गर्न थाल्छ )

सूत्रधारः- त दर्शकवृन्द ! आज मबाट ठूलो गल्ती भएको छ । त्यसका लागि मलाई क्षमा गर्नुहोला । तपाईंहरू सबै नाटक हेर्न आउनु भएको छ र म नाटक देखाइहाल्न नसक्ने भएको छु । प्राविधिक गडबडीहरू छन् । माफ पाउँ दर्शकवृन्द ! माफ पाउँ । (झुकेर प्रमाण गर्छ । दर्शकदीर्घाबाट हल्लाखल्ला आउँछ ।) शान्त ! दर्शकवृन्द, शान्त । यौटा खुसीको खबर छ । नाटक सुरू नहुञ्जेलसम्म हामी तपाईंहरूलाई एउटा जीवनको विज्ञापन देखाएर मनोरञ्जन प्रदान गर्ने छौँ । जीवन आहाहा ऽऽऽऽऽऽऽ सुन्दर शान्त जीवन !

(मञ्चको प्रकाश मधुरो हुन्छ । सूत्रधार हराउँछ । मधुरो प्रकाशमा काला दुई आकृतिहरू विपरीत दिशाबाट मञ्चको बीच भागमा आउँछन् । दुवै आकृतिको मञ्चको बीच भागमा भेटभएपछि उज्यालो प्रकाश गोलाकाररूपमा दुई आकृतिमाथि पर्छ र दर्शकहरू दुई आकृतिलाई प्रस्टरूपमा देख्छन् । यहाँ सजिलोका लागि पुरुष आकृतिलाई नायक र महिला आकृतिलाई नायिका भनी सम्बोधन गरिएको छ ।)

नायिका ः- (नायिकतिर हेर्दै) किन बोलाएको मलाई यहाँ ? मलाई तिमीसँग भेटेर कुनै गफ गर्नु छैन । तिमी किन मलाई यसरी दुःख दिइरहन्छौ ? अब तिम्रो र मेरो सम्बन्ध नै के बाँकी छ र ?

नायक ः- (दर्शकदीर्घातिर हेर्दै) हो, तिम्रो र मेरो कुनै सम्बन्ध छैन । तिमी अर्काकी स्वास्नी र म अर्काको लोग्ने । तर…..तर…..किन मेरो प्रत्येक श्वासमा तिम्रो गन्ध आउँछ ? किन मेरो हरेक सपना तिम्रो हुन्छ ? तिमी किन हाँसीहाँसी अदृश्य हुन्छ्यौ सपनामा ? (टाउको समाउँछ र आकाशतिर हेर्छ ।)

नायिका ः- तिमी पागल भइसकेका छौँ निर्मल । तिमीले नचाहिँदो कुरा गरिरहेका छौं । हाँसीहाँसी त मेरो जीवनबाट तिमी गयौं । कति सजिलै गयौं- वर्षातको खहरेजस्तो । उर्लेर आयो-गयो । के तिमीले बिर्सियौ ? (रूञ्चे स्वर हुन्छ) सम्झना छ- तिमीलाई ती दिनहरू ? हामीले खाएका कसमहरू ??? (सुँक्क, सुँक्क रून थाल्छे ।) कस्तो झूठो सपना देखाएका थियौं ? धोकेबाज…….

(बीचैमा रोकिन्छे ।)

नायक ः- हैन सरला ! म धोकेबाज हैन । समय साक्षी छ । सत्य साक्षी छ । म धोकेबाज हैन । समयले नराम्रो झापड हान्यो । तिमीले बुझ्ने कोसिसै गरिनांै ? ममाथि समयले कत्रो बज्रप्रहार गर्‍यो । तिमीले कति सजिलै सोच्यौं – म मरेँ भनेर । अनि…….अनि…..एकरफि – अस्वीकार नगरीकन त्यो केटासँग बिहे गर्‍यौं । सात फन्को लियौं । (नायकको स्वर भासिन्छ ।) तिमीलाई थाहा छ ? म त्यही थिएँ । सारा संसार नाँचिरहेझैँ लाग्थ्यो र म आँखाभरि आँसु बनाएर मनभरि रहिरहेको थेँ । (लामो श्वास लिन्छ । अनुहार अलि हँसिलो बनाउँछ ।) साँच्चै तिमी बेहुली हुँदा साह्रै राम्री देखिएकी थियौं । मेरो सपनाकी राजकुमारीजस्तै । (नायिक मञ्चमा थ्याच्च बस्छे । सुँक्कसुँक्क रून्छे । नायक मञ्चमा यताउति गर्छ । मञ्चको प्रकाश क्रमशः परिवर्तन भएर रातो हुन्छ । रातो प्रकाशमा नायिका मधुरो स्वरमा बोल्छे ।)

नायिका ः- मेरो अरू के उपाय थियो र ? जीवन सिङ्गै थियो । म आफैँ निर्णय गर्न सक्दिनथेँ । समयको पिँजडामा कैदी बनेकी थिएँ । बाबाले निर्णय गर्नुभयो । तिम्रो कुनै टुङ्गो थिएन । फेरि तिम्रो बच्चा मेरो पेटमा हुर्कंदै थियो । त्यसको सकुशल अवतरणका लागि पनि समयले मलाई अगाडि धकेल्यो । मैले समयलाई तिरस्कार गर्न सकिनँ । तिमीलाई देखेपछि लाग्छ-समय खलनायक थियो । अब……..(रोकिन्छ ।)

नायक ः- (गम्भीर बन्छ ।) तिम्रो मतलव त्यो बच्चा मेरो हो ? तिम्रो र मेरो प्रेमको प्रतीक ! राहुल मेरो छोरो हो ? (नायिका चुपचाप बस्छे । नायक हँसिलो हुन्छ । रङ्गमञ्चमा भ्वाइलिनको मधुरो धुन सुनिन्छ । नायक र नायिकामाथि परेको उज्यालो रातो प्रकाश क्रमशः विलाउँदै जान्छ र रङ्गमञ्च पूर्ण अँध्यारो हुन्छ । अँध्यारो रङ्गमञ्चमा कतैकतै उज्यालो प्रकाशका किरणहरू छरिन्छन् । त्यस प्रकाशमा एउटा कालो आकृति सल्बलाएको देखिन्छ । यहाँ त्यो आकृति खलनायक-१ हो । बिस्तारै मञ्चमा भ्वाइलिनको धुन सुनिन छोड्छ ।)

खलनायक – (अट्टहास गर्छ ।)

हाँ….हाँ….हाँ…..हाँ…. म समय हुँ । म रोग, भोक, माया, दया केही जान्दिनँ । धेरैले मलाई चिन्दैनन् । म खतरनाक छु- काम गर्नेलाई पनि र काम नगर्नेलाई पनि । हाँ….हाँ……हाँ……..मलाई चिनेन निर्मलले । मेरो सदुपयोग गर्न जानेन । गाउँमा भएका आतङ्ककारी भगाउन सेनाले गाउँको बीचमा बम पड्कायो । कोही भागेनन् । निर्मलले आफूलाई मात्र देख्यो । सोच्न सकेन । समय बुझेन, भाग्यो । जङ्गलै जङ्गल भाग्यो । सेनाले ऊ भागेको पत्तो लगायो । ऊ भागेको भाग्यै भयो । कति रात जङ्गलमा बितायो । न आतङ्ककारीसँगै मिल्यो, न गाउँ र्फकन सक्यो । मेरो जित भयो, उसको हार । हाँ…..हाँ……हाँ……हाँ……। म समय हुँ म कसैको पीरमर्का बुझ्दिनँ । यही बीचमा मैले उसकी प्रेमिकाको बिहे गरिदिएँ । ऊ झन् नराम्रोसँग थला पर्‍यो । एकाएक उसले नायकको रूपलियो । आत्मसमर्पण गर्‍यो । आखिर उसले जित्यो । खुलेर गाउँ गयो । आज प्रेमिकालाई भेट्दै छ । हाँ…….हाँ…..हाँ…। तर….तर म त्यसलाई त्यसै छोड्दिन । (खलनायक रातोपीरो हुन्छ । दाह्रा किट्छ । रङ्गमञ्चमा चूक घोप्ट्याएजस्तो अन्धकार हुन्छ । नेपथ्यमा घोडाहरू हिँडेको र हिनहिनाएको आवाज सुनिन्छ । नेपथ्यको आवाज क्रमशः मधुरो हुँदै जान्छ र मञ्चको सबै भागमा चहकिलो प्रकाश पर्छ । एक कुनाबाट सूत्रधार हस्याङ्गफस्याङ्ग गर्दै दौडदै आउँछ ।)

सूत्रधार ः- के गर्ने ? दर्शकवृन्द ! जीवन नै दौडादौडमै सकिन्छ । आफ्नै कामले व्यस्त थिएँ । हेर्नुस् न, यहाँ मैले बयान नदिई नहुने भयो । यो गाँठो पनि मैले नै खोल्नुपर्ने छ, किनकि म नै निर्मल र सरलाको प्रेमको जिउँदो साक्षी हुँ । समयले खलनायक बनेर निर्मल र सरलालाई खुब दुःख दियो । एकअर्काबाट छुट्यो । एक अर्कालाई असाध्यै माया गर्ने जोडी एक्कासि यसरी छुट्टनिु पर्दा मलाई पनि साह्रै नरमाइलो लागेको थियो । फेरि, जीवन बाँच्नेक्रममा ……. (हिक्क गर्छ । खोक्छ)…..भयो दर्शकवृन्द ! म कथा भन्दिनँ । तपाईं आफैँ हेर्नुहोस् । अगाडि के भयो । (सूत्रधार मञ्चको बीच भागबाट क्रमशः पछिल्तिर सर्दै जान्छ र त्यही गतिमा मञ्चमा अँध्यारो बढ्दै जान्छ । अन्त्यमा मञ्च अन्धकार हुन्छ ।) मञ्चको अँध्यारोमा बीचबीचमा बन्दुक पड्केको आवाज आउँछ, झिलिकझिलिक प्रकाशका किरणहरू आउँदै, हराउँदै गर्छन् । कहिलेकाहीँ देखापर्ने उज्यालोमा मान्छेका आकृतिहरू यताउता कुदेको जस्तो देखिन्छ । मञ्चमा एैया…..एैया…..भाग्..भाग्..हान्..हान्….वान्…टु..व्याक..मुभ्…मुभ्…आदि आवाजहरू आइरहन्छ, बन्दुक पड्किन्छ । मञ्च भयावह बन्छ । दर्शकहरू आतङ्कित हुन्छन् । विस्तारविस्तार आवाज टाढिँदै जान्छ । मञ्चमा मधुरो प्रकाश पर्छ । मधुरो प्रकाशमा तीनचार जना सिपाइहरू एउटा लाश घिसार्दै लगेको देखिन्छ । मञ्चमा भ्वाइलिनको एकतमासको नमीठो धुन बजिरहन्छ । मधुरो प्रकाश समेटिँदै गएर गोलाकार रूपमा मञ्चको बीच भागमा पर्छ । दुई आकृतिहरू दुई विपरीत दिशाबाट गोलाकार प्रकाशमा छिर्छन् । ती दुवै आकृतिमा उज्यालो परेपछि दर्शकहरू नायक र नायिका चिन्दछन् ।

नायक ः- (हडबडाउँदै) तिमी….यहाँ ? मेरो बाटोमा अकस्मात्…..यसरी ? मैले त सोचेको थिइनँ-यत्रो समयपछि पनि हाम्रो भेट हुन्छ भनेर ।

नायिका ः- (मधुरो स्वरमा) हो, म । मलाई पनि तिमीलाई भेट्छु जस्तो लागेको थिएन । तर….तर, भेट्नैपर्ने भो त्यसैले ।

नायक ः- (आश्चर्य मान्दै) अझ पनि तिमीले मलाई भेट्नु पर्छ र ? तिम्रो जिन्दगी सुरक्षित छ । मैले कहिल्यै तिम्रो जिन्दगीलाई बाधा गर्न आएँ र ?

नायिका ः- (आँखाबाट आँसु झार्दै) आएनांै । तिमी कहिल्यै आएनांै । तिमी ……. तिमी आएनौं र पनि बारबार आइरह्यांै । अञ्जानमै आयौं । तिम्रो पनि केही दोष छैन र मेरो पनि केही दोष रहेन । परिस्थिति त्यस्तै बन्दै गयो । परिस्थिति झन्झन् जटिल बन्दै गयो । (हिक्कहिक्क गर्दै) यति जटिल बन्यो कि मैले पार लगाउनै सकिनँ । (मञ्चमा मधुरो धुन बज्छ ।)

नायक ः- (अनुहार गम्भीर हुन्छ ।) तिमी के भन्दैछ्यौं ? मैले तिम्रो कुरा बुझिनँ । सीधा भन । मलाई हतार छ । म सीधै युद्ध भूमिबाट आउँदैछु । मलाई हेडक्वाटरमा रिपोर्ट पठाउनुछ । (नायकको मोबाइल सेटमा घण्टी बज्छ । मोबाइल हातमा लिन्छ र कुरा गर्न थाल्छ ।) यस सर….., आर.के. रिपोर्टिङ सर, एक जनाको लाश फेला पर्‍यो सर । ओ.के.सर । (मोबाइल बन्द गर्छ ।)

नायिका ः- (दबिएको स्वरमा) हो, तिमी देश र जनताको रक्षार्थ खटिएको बहादुर सिपाही हौं । तिमी सिपाही भएर खटियौं र म विना सिपाहीको भेषमा युद्ध लडिरहेँछु । कतिपल्ट ढाँटे, कति कहर काटेँ, कति आँसु बगाएँ । यो जिन्दगीको यु्द्धमा कतिकति गुमाएँ । हो निर्मल म हारेँ । (मञ्चमा थ्याच्च बस्छे । निर्मल सरलालाई समाउँछ । विस्तारै मञ्चको प्रकाश र भ्वाइलिनको धुन हराउँछ । मञ्च शून्य र चूक घोप्ट्याएजस्तो अँध्यारो हुन्छ । विस्तारै मञ्चमा नीलो र पहेँलो प्रकाश छरिन्छ । मधुरो प्रकाशमा एउटा भीमकाय आकृति देखापर्छ । त्यस आकृतिलाई यहाँ खलनायक-२ भनिएको छ ।)

खलनायक-२ ः- (मञ्चमा एताउति हिँड्दै) बुझेनन् मलाई बुझेनन् । मान्छेहरूले मलाई बुझ्दै बुझेनन् । बुझ्नुपर्थ्यो-बुझेनन् र दुःख पाएँ । (टाउकोमा हात राखेर रुन थाल्छ ।) जीवन सधैं सुखको बाटो कहाँ समाउँछ र ? सुखमा दुःख र दुःखमा सुख मिसाउन सक्नुपर्ने हो तर मान्छेहरूले सकेनन् । (चर्को स्वरमा रून्छ ।) हे भगवान् ! म कति दया गरूँ ? (अट्टहास गर्छ ।) हाँ…….हाँ…..हाँ….म परिस्थिति हुँ । जसले परिस्थितिलाई बुझ्दैन उसले दुःखको भँुमरीबाट पार पाउँदैन । निर्मलले परिस्थितिलाई बुझेन । सरलाले परिस्थिति बुझिन । त्यसैले दुवै दुःखको भाषमा छन् । दुःखको दलदलमा छन् । म छोड्दिन । मेरो ख्याल नगर्नेलाई म छोड्दिन । हाँ…….हाँ…..हाँ…हाँ…. (मञ्चको प्रकाश हराउँदै जान्छ । आकृति मञ्चको पछाडि सर्दै जान्छ र अन्त्यमा मञ्च अन्धकार हुन्छ । मञ्चमा चहकिलो प्रकाश पर्छ । मञ्च खाली हुन्छ । त्यतिखेरै मञ्चको दायाँ कुनाबाट सूत्रधार आउँछ । मञ्चको सबै कुनातिर हेर्छ । केही खोजेजस्तो गर्छ । केही बोलेजस्तो गर्छ । आवाज सुनिँदैन । विस्तारै प्रकाश मधुरो हुँदै जान्छ र सूत्रधारको आवाज सुनिन थाल्छ ।)

सूत्रधार ः- खोइ सरला ? कहाँ गइछे ? मैले कतिचोटि भनेँ परिस्थितिको ख्याल गर । तिम्रो जिन्दगी सिङ्गै छ भनेर । तर….तर उसले मानिन । आफ्नो लोग्नेलाई सबैथोक भनिदिई । परिस्थिति अनुसार सत्यलाई लुकाउनु पर्थ्यो तर मानिनँ, सकिनँ । एक किसिमले दर्शकवृन्द ! उसको हिम्मतलाई म मान्छु । ऊ स्वाभिमानी नारी हो । उसले सुख रोजिन । हाँसीहाँसी दुःखलाई स्वीकारी । भो, म केही भन्नै सक्दिनँ । (मञ्चमा थ्याच्च बस्छ । टाउकोमा हात राख्छ । दर्शकदीर्घाबाट आवाज आउँछ । ‘……..अनि के भयो ? सूत्रधार ! तिम्रो नायक/नायिकालाई के भयो ?’ सूत्रधार मञ्चबाट उठ्छ । केही बोल्दैन । विस्तारै प्रकाशसँगै हराउँछ । तत्काल मञ्चमा मधुरो प्रकाश पर्छ । मञ्चको नेपथ्यबाट मधुरो भ्वाइलिनको धुन बज्छ । मञ्चमा पुरुष र महिला आकृति सल्बलाएको देखिन्छ । बिस्तारै मञ्चको प्रकाश चहकिलो हुन्छ र दर्शकहरू नायक र नायिकालाई छुट्याउँछन् ।)

नायिका ः- (रूञ्चे स्वरमा) निर्मल ! मैले सकिनँ । म गलेँ । (हिक्कहिक्क गर्छे ।)

नायक ः- के भयो सरला ? तिमी किन यस्तो कुरा गरिरखेकी छ्यौ-मसँग ?

नायिका ः- हो, निर्मल म थाकेँ । अब जीवनको यो भारी बिसाउन चाहन्छु ।

(रून्छे ।)

नायक ः- तिमी यो के भन्दैछ्यांै ?

नायिका ः- हो, मैले समय र परिस्थितिलाई बुझेर सही निर्णय गर्न सकिनँ । (हिक्कहिक्क गर्छे ।) मैले मेरो लोग्नेलाई सबै कुरा भनिदिएँ । राहुल तपाईंको छोरो हैन भनिदिएँ । हाम्रो प्रेमको इतिवृत्तान्त भनिदिएँ । (सुँक्कसुँक्क गर्छे ।)

नायक ः- (के गरौँ, के गरौँको भावमा ) तिमीले यो के

गर्‍यांै ? मैले कैल्यै आफ्नो छोरो मागेको थिएँ-तिमीसँग ? तिम्रो जिन्दगी सुखमय होस् भनेरै म सधैँ तिमीबाट टाढिएँ । तर….तर…., तिमी आफैँले आफ्नो जिन्दगीलाई……(बीचैमा रोकिन्छ । हिक्कहिक्क गर्छ ।)

नायिका ः- हो, मैले त्यसै गरेँ । त्यो देवतालाई म कहिलेसम्म ढाँट्न सक्थेँ ? हाम्रो प्रेम त पारदर्शी थियो । उसका साथीहरूले सुनाउँथे तर ऊ सुनेर पनि मलाई केही भन्दैनथ्यो । छिमेकीहरूले के जानेर हो-छोराको अनुहार त बाउसँग मिल्दैन भन्थे । म झस्किन्थेँ । ऊ फिस्स हाँसेर टार्थ्यो । तर….तर…., एक दिन सहिनसक्नु भएपछि साथीहरूसँग झगडा गरेर आएछ । मैले के भयोभन्दा उसले सबै कुरा भन्यो । अनि …..(रोकिन्छे ।)

नायक ः- अनि….अनि के भयो ?

नायिका ः- अनि…..अनि भनिदिएँ -यथार्थ । ऊ नराम्रोसँग रोयो । मैले केही भन्नै सकिनँ । त्यस रात खाइपिई सुतेको ऊ हरायो । आजसम्म फर्किइको छैन । आज अठार वर्ष भयो-ऊ कहाँ गयो, कसैलाई पत्तो छैन । मैले दुःखले राहुललाई हुर्काएँ तर उसले पनि दुई वर्षअघि मलाई छोडेर जङ्गल पस्यो ।

नायक ः- (अत्तालिन्छ) जङ्गल पस्यो ? राहुल जङ्गल पस्यो ??

नायिका ः- हो, राहुल जङ्गल पस्यो र, बिहान सुनेँ-साथीहरूलाई जोगाउँदै जोगाउँदै आफँै युद्ध भूमिमा ढल्यो । राहुल ……(स्वर दबिन्छ) हाम्रो छोरो । हो, निर्मल हाम्रो छोरो मर्‍यो । (आवाज कठोर हुन्छ ) सही निर्णय गर्न नसक्दा एक चोटि मैले मारे-राहुललाई र आज गलत निर्णयले तिमीले मार्‍यौं-राहुललाई । एउटा युवा मर्‍यो । हाम्रो जवानीको उमङ्ग मर्‍यो……..(क्वाँक्वाँ रून्छे) हो, राहुल मर्‍यो । (मञ्चमा विरक्तको धुन बज्न थाल्छ । प्रकाश मधुरो हुन्छ । मधुरो प्रकाशमा दुई सिपाहीले घिसार्दै एउटा युवाको लाशलाई ल्याएर नायक-नायिकाको अगाडि राखिदिन्छन् र सल्युट मारेर जान्छन् । नायक-नायिका दुवै लाशलाई अङ्कमाल गर्दै रून्छन् । मञ्चमा अन्धकार छाउँछ र विस्तारै धमिलो प्रकाश पर्छ । धमिलो प्रकाशमा एउटा डरलाग्दो कालो आकृति आउँछ । त्यस आकृतिलाई यहाँ खलनायक-३ भनिएको छ ।)

खलनायक-३ (अट्टहास गर्छ ।) हाँ…….हाँ…..हाँ….! म निर्णय हुँ । मलाई सही ढङ्गले उपयोग गरे म सबैको भलाइ गर्छु । इज्जत, प्रतिष्ठा बढाइदिन्छु । नत्र…..नत्र, म सबलाई डढाइदिन्छु । हाँ…….हाँ…..हाँ…। म निर्णय हुँ……निर्णय । मेरो अभावमा कति मान्छेको घरबार उडेको छ । मगन्ते महाजन र महाजन मगन्ते भएका छन् । त्यस्तै सरलाले निर्णय गर्न सकिनँ । आज ऊ यो दशा भोग्दैछे । हाँ…….हाँ…..हाँ….

(खलनायक-३ बेजोडले, हाँस्छ । मञ्चको दायाँ र बायाँबाट क्रमशः खलनायक-१ र खलनायक-२ पनि निस्किएर अट्टहास गर्दै मञ्चको बीच भागमा आउँछन् ।)

खलनायक -१ ः- म समय हुँ ।

खलनायक-२ ः- म परिस्थिति हुँ ।

खलनायक-३ ः- म निर्णय हुँ ।

सबै ः- र, मान्छे ः- समय, परिस्थिति र निर्णयको बन्दी हाँ…..हाँ……हाँ……।

(विस्तारै मञ्चमा अन्धकार छाउँछ । नेपथ्यमा रोएको……,राहुल…..राहुल, भनेको आवाज आउँछ । विस्तारै आवाज हराउँदै जान्छ । मञ्चमा चहकिलो प्रकाश पर्छ । मञ्चको एक कुनाबाट सूत्रधार हस्याङ्फस्याङ गर्दै मञ्चको अग्रभागमा आउँछ ।)

सूत्रधार ः- माफ गर्नुहोस् दर्शकवृन्द ! नाटक देखाउन साहै्र ढिलो भयो । अब भने म नाटक देखाइहाल्ने भएको छु । तपाईंहरूले जीवनको विज्ञापन त हेरिहाल्नु भयो, अब नाटक हेर्नुहोस् । आजको नाटक……(गएर मञ्चको भित्ताको व्यानरको पर्दा हटाउँछ । व्यानरमा लेखिएको हुन्छ-मान्छे – समय, परिस्थिति र निर्णयको बन्दी । सूधत्रार आफैँ ताली बजाउँछ र दर्शकपट्ट िफर्केर(‘दर्शकवृन्द ! जोडले ताली बजाउनोस्’ भन्छ तर दर्शकहरू पहिल्यै गइसकेका हुन्छन् ।) हे भगवान् ! आजकलका दर्शकहरू किन यति छिट्टै भाग्छन् । विज्ञापन र नाटक पनि छुट्याउँदैनन् कि क्या हो ?

(बिस्तारै मञ्चबाट हराउँछ । मञ्चको अग्रभागमा पर्दा लाग्छ ।)

1 thought on “मान्छेः समय, परिस्थिति र निर्णयको बन्दी”

  1. namaskar
    tapai ko natak dherai lagyo. school leval ko compition ko lagi yauta yakanki natak upalabdha garauna saknu hunchha?
    ma tapaiko madat ko adh ma chhu

Leave a Reply

Your email address will not be published. Required fields are marked *