आधा दर्जनभन्दा बढी कृतिका स्रष्टा ठाकुर शर्मा नेपाली साहित्यिक आकाशका त्रिवेणी हुन् । यिनको कलम कविता विधामा जति सक्रिय देखिन्छ त्यत्ति नै सक्रिय देखिन्छ सम्पादन र समालोचनाका क्षेत्रमा पनि । उनको अध्ययन-अध्यापनको विषय साहित्यसँग सम्बन्धित भए तापनि कार्य क्षेत्र भने साहित्यभन्दा पृथक नै देखिन्छ । ठाकुर शर्माको आफ्नै प्रतिछायाँ कृतिहरूमा छर्लङ्ग उतारिएको पाइन्छ । कृतिगतरूपमा हेर्दा विमर्शन पाँचौ कृतिका रूपमा देखिन्छ भने विधागतरूपमा हेर्दा यो उनको पहिलो कृति हो । अघिल्ला तीन कवितासङ्ग्रह पछि एउटा चम्पुकाव्य तथा केही संयुक्त रचनाहरू पनि भेटिन्छन् । उनको पहिलो समालोचनात्मक कृति भए तापनि अघिल्ला कृतिहरूझैँ रसिलो, पोटिलो, चोटिलो र खँदिलो छ ‘विमर्शन’ समालोचनात्मक सङ्ग्रह ।
ठाकुर शर्मा कवि, सम्पादक तथा समालोचक पनि हुन् । विमर्शन उनको त्यो समालोचनात्मक ग्रन्थ हो । यस सङ्ग्रहलाई आयामका दृष्टिले मध्यम नै मान्नुपर्छ । यसमा पूर्व प्रकाशित र अप्रकाशित गरी जम्मा ३८ वटा समीक्षा, समालोचना तथा लेख रचनाहरू समावेश गरिएको छ । यसको अग्रभागमा वसन्तकुमार शर्मा ‘नेपाल’, प्रा. गोपीकृष्ण शर्मा, सह प्रा. माधव घिमिरे र स्रष्टा स्वयम्को मन्तव्य रहेको छ, जसले यसमा गरिमा बढाएको छ ।
ठाकुर शर्माद्वारा लिखित ‘विमर्शन’मा फरक फरक समयमा लेखिएका फरकफरक समालोचनाहरू समावेश गरिएको छ । यसमा सैद्धान्तिक र अन्य प्रायोगिक समालोचनाका चौतीसवटा लेख-रचनाहरू समावेश गरिएका छन् । कतै समालोचनासम्बन्धी धारणाहरू प्रस्तुत भएका छन् भने कतै पूर्वीय शास्त्रीय मान्यताबाट रीतिलाई चिनाउने कामसमेत भएको पाइन्छ । त्यसैगरी कतै निबन्ध र संस्मरणसम्बन्धी कृतिका समालोचनात्मक लेखहरू समावेश गरिएका छन् भने कतै कथासङ्ग्रहको समीक्षा पनि गरिएको छ ।
ठाकुर शर्माको ‘विमर्शन’ समालोचना सङ्ग्रह नेपाली समालोचना कृतिहरूमा शृङ्खलाबद्ध रहेको नौलो प्रस्तुति हो । कवितासुलभ संवेदनशीलताले ठाकुर शर्मालाई सफल समालोचक बन्न सघाउ पुर्याएको देखिन्छ । उनको प्रस्तुति पनि सरल, सहज र सरस हुनुका साथै इन्द्रावती नदीझैँ सलल बगेको छ । भाषाशैली ज्यादै स्वादिलो हुनुका साथै प्रसाद गुणले मुक्त छ । शीर्षक भने अभिधा अर्थमै पूर्ण सार्थक देखिन्छ ।
कृति ः विमर्शन (समालोचनात्मक सङ्ग्रह)
कृतिकार ः ठाकुर शर्मा
प्रकाशक ः दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल
प्रकाशन ः २०६६
पृष्ठ ः १८२+१४
मूल्य ः रु. १००।-
