प्रस्तुत कार्यपत्रमा गोरखापत्र संस्थानबाट प्रकाशित नेपाली साहित्य र विविध विषयको मासिक पत्रिका मधुपर्कका विशेषाङ्कले नेपाली साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गरिएको छ । यसका लागि २०२९ सालदेखि २०६७ सालसम्ममा मधुपर्कले प्रकाशित गरेका जम्माजम्मी ४३ ओटा विशेषाङ्कको सर्वेक्षण र विश्लेषण गरिएको छ । यसले साहित्यिक विधा, सान्दर्भिक विषय र अन्तरविषयक अध्ययनलाई प्रोत्साहन गर्ने गरी विभिन्न विशेषाङ्कहरू प्रकाशित गरेको पाइयो । प्रारम्भमा राजा-रानीको जन्मोत्सवलाई विशेषाङ्क प्रकाशनको अवसर बनाए पनि २०५० सालदेखि यसले आफ्नो अङ्क एक सुरु हुने जेठ महिनालाई मुख्य आधार बनाउन खोजेको देखिन्छ । समसामयिक नेपाली साहित्यलाई अग्रगामी बनाउने, विविध विधा, विषय र स्रष्टाहरूको अवस्था, योगदान र भूमिकाप्रति पाठक, समालोचक, साहित्येतिहासकार, सम्बन्धित निकाय र स्रष्टा स्वयम्लाई प्रेरित गर्ने, प्रोत्साहन गर्ने, सामग्रीको अभिलेखन गर्ने र सचेत पार्ने काममा मधुपर्कका विशेषाङ्क निकै महत्त्वपूर्ण साबित भएका छन् । समकालीन नेपाली साहित्यलाई गतिशील बनाउनका लागि मधुपर्कका विशेषाङ्कले विधागत रचना, समालोचनात्मक विमर्श र अन्तरविषयक अध्ययनमा दिएको योगदान विशिष्ट रहेको निष्कर्ष यस कार्यपत्रमा निकालिएको छ ।
१. परिचय
मधुपर्क साहित्यिक र विविध विषयको पारिवारिक पत्रिका हो । विविध विषययुक्त मासिक प्रकाशनका रूपमा प्रथम प्रकाशन वि.सं. २०२५ जेठ ३० गते गोर्खापत्र कर्पोरेसनबाट भएको यस पत्रिकाका सुरुका सम्पादक गोपालप्रसाद भट्टराई र सहायकहरूमा नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल रहेका देखिन्छन् । वि.सं. १९५५ मा प्रकाशित मानिने सुधासागरपछि सुन्दरी, माधवी, नेपाली साहित्य सम्मेलन पत्रिका, शारदा, प्रगति, इन्द्रेनी, रूपरेखा पत्रिकाहरूले योगदान गर्दै अघि बढाएको नेपाली साहित्यको आधुनिक कालको उत्तरार्धमा यो पत्रिका देखा परेको हो । सामान्य अङ्कका अतिरिक्त यसले साहित्यिक र साहित्येतर विषयमा विशेषाङ्कहरू प्रकाशित गर्दै आएको छ । मधुपर्कले प्रारम्भदेखि हालसम्मको अवधिमामा केकस्ता प्रकृतिका विशेषाङ्कहरू प्रकाशित गरेको छ र तिनले नेपाली साहित्यमा केकस्तो योगदान गरेका छन् भन्ने दुईओटा समस्यामा यो कार्यपत्र केद्रित रहेको छ । त्यसैअनुरूप यहाँ मैले मधुपर्क पत्रिका २०६७ साल माघमा पूर्णाङ्क ५०० प्रकाशन हुने सुअवसरमा यसले विगत ४२ वर्षमा प्रकाशित गरेका विशेषाङ्कहरूको पुस्तकालयीय पद्धतिबाट सामान्य सर्वेक्षण गरी तिनले नेपाली साहित्यमा पुर्याएको योगदानको सङ्क्षिप्त आकलन गरेको छु । यसमा कुन विधा र विषयको भूमिका सर्वाधिक महत्त्वपूर्ण रहेछ भन्ने प्रश्नले मलाई सूक्ष्मतामा पुग्न हौस्याएको हो । यस कार्यपत्रलाई चार चरणमा बाँडेर अध्ययनलाई सहज पारिएको छ ः परिचय र पृष्ठभूमि, विशेषाङ्कहरूको सर्वेक्षण र विश्लेषण, विधागत प्रतिनिधित्व र योगदानको मूल्याङ्कन तथा निष्कर्ष ।
२. पृष्ठभूमि
साहित्यिक पत्रिकाको उद्देश्य क्षमतावान्, ऊज्र्ााशील तर कम पहुँच भएका प्रतिभाहरूलाई साहित्यमा परिचित गराउनुलाई मानिन्छ । यस्ता पत्रिकाले धेरैजसो मूल धारमा आउन अविरल सङ्घर्ष गरिरहेका विभिन्न विधाका साहित्यकारका रचनाहरूलाई स्थान दिएर तिनको भिन्न शैलीलाई प्रक्षेपण गर्ने, परिष्कारका निम्ति प्रेरित गर्ने र लेखनको माहौलमा स्वीकृत गराउने कामलाई महत्त्व दिएका हुन्छन् । यिनको रुचि समसामयिकतासित जोडिएको हुन्छ तर नयाँ प्रवृत्तिलाई स्थापित गर्नमा यिनको भूमिका निर्णायक हुन सक्छ । कोलिनी (सन् २०१०) ले अङ्ग्रेजी साहित्यमा ‘मोडर्निज्म’लाई नवीन प्रवृत्तिका रूपमा स्वीकार गराउनमा बेलायत र अमेरिकाका पोइट्री, दि इगोइस्ट, क्राइटेरियन आदि पत्रिकामार्फत टी.एस्. इलियट र एज्रा पाउन्डले खेलेको निर्णायक कार्यको प्रशंसा गरेका छन् । नेपाली साहित्यमा पनि आधुनिकताको प्रतिपादनमा शारदा र प्रयोगवादी साहित्यलाई स्थापित गर्नमा रूपरेखा पत्रिकाको महत्त्व विशिष्ट देखिन्छ । पञ्चायती शासनको उत्कर्षका बेला नेपाली साहित्यमा अधिकांशतः दुरुह ठानिने प्रयोगवादी रचनाको बाहुल्य भइरहेका सन्दर्भमा पाठकअनुकूलको अन्तरविषयक तर सरल र सरस साहित्यप्रधान मधुपर्कको प्रकाशनले विशेष महत्त्व राखेको छ । प्रथम अङ्कको सम्पादकीय ‘हाम्रो पृष्ठ’ स्तम्भमा भनिएको छ ः
अभिव्यक्ति र जिज्ञासापूर्ति दुबैको सुगम माध्यम साधारणतः पत्रिकाहरू नै हुन सक्ने हुँदा सरकारी एवम् गैरसरकारी दुबै तहमा साहित्यिक, सांस्कृतिक, व्यावसायिक विभिन्न मासिक द्वैमासिक र त्रैमासिक पत्रिकाहरू बढ्दा छन् । यसै शृङ्खलामा गोर्खापत्र कर्पोरेसन पनि आफ्नो चौथो उपहारको रूपमा मधुपर्क अघि सार्दै छ । मधुपर्क नामैले बताउँछ- यो कुनै एक विषयमा सीमित नभई विविध रस र मिठासको सम्मिश्रणमा सार्थक हुन्छ ।(१०६)
सम्पादकहरूको उपर्युक्त भनाइसित ऐक्यबद्धता देखाउँदै बालकृष्ण समले मधुपर्कको वर्ष १ अङ्क १ मा सङ्कलित ‘मधुपर्क’ शीर्षकको कवितामा लेखेका छन् ः ‘… दुराचारको भोको र हिंसाको प्यासो यस संसारको हृदय परिवर्तन गर्न आफू असमर्थ भए पनि मेरो मन यस्तो मधुपर्क चाहन्छ, जसको सम्पर्कले जीवन मधुमय बन्न सकोस् ।’ (५)
सम्पादकीय र समको अभिव्यक्तिमा मधुपर्कको उद्देश्य र महत्ता प्रकट भएको छ । त्यसै उद्घोषलाई प्रमाणित गर्दै प्रकाशन प्रारम्भ भएको चौथो वर्ष (२०२९) मै यसले कला विशेषाङ्क प्रकाशित गरेर सौन्दर्य, जीवन र समाजलाई जोड्न कोसिस गरेको पाइन्छ । यो कार्यपत्र लेख्दासम्म यसका तेत्तीसओटा विशेषाङ्क र दसओटा स्रष्टाविशेषसित सम्बन्धित सामग्रीयुक्त अङ्कहरू प्रकाशित भइसकेका छन् । प्रस्तुत कार्यपत्र स्रष्टाविशेष सामग्री भएका अङ्कहरूको सामान्य उल्लेख गरेर विविध विधा र विषयका अङ्कहरूको विश्लेषणमा केन्द्रित रहेको छ । विश्लेषणका लागि यसमा लिखित अभिलेखलाई मात्र आधार बनाइएको छ ।
३. मधुपर्कका विशेषाङ्कहरूको सर्वेक्षण र विश्लेषण
साहित्यिक पत्रिकामा कुनै विधा वा पक्षलाई विशेष महत्त्व प्रदान गर्नका लािग नियमित अङ्कका अतिरिक्त विशेषाङ्कहरू पनि प्रकाशित हुन्छन् । मधुपर्कले पनि पाठकहरूको रुचि, चाहना र समसायिक साहित्यिक परिवेशमा आवश्यकता अनुभव गरिएका विषयहरूमा विभिन्न विशेषाङ्क प्रकाशित गरेको छ । २०२९ साल पुसदेखि २०६७ साल भदौसम्मका विशेषाङ्कहरूको विवरण यहाँ दुई वर्गमा छुट्ट्याएर प्रस्तुत गरिएको छ ः
३.१. साहित्यि विधा र विविध विषयका विशेषाङ्कहरू
मधुपर्कले सम्बन्धित विधा वा विषयका पूरै विशेष सामग्री दिएर प्रकाशित गरेका विशेषाङ्कहरू ३३ ओटा छन् । तिनमा स्थायी स्तम्भबाहेक अन्य सामग्रीको संयोजन सामान्य अङ्कमा भन्दा फरक ढङ्गले गरिएको छ । तिनको समयक्रम, वर्ष र अङ्क निम्नलिखित रहेको छ ः
क्र.सं. विषय साल, महिना वर्षःअङ्क
१ कला २०२९, पुस ५ः८
२. कथा २०३०, वैशाख-जेठ ५/६ः१२/१
३. कथा-योजना २०३७, जेठ १३ः१
४. कविता २०३८, कार्तिक-मङ्सिर १४ः६/७
५. कला-संस्कृति ३०३८, पुस १४ः८
६. नारीलेखन २०४१, कात्तिक १७ः६
७. युवा-लेखन २०४१, पुस १७ः८
८. युवा २०४२, असार १८ः२ ९ हास्यव्यङ्ग्य २०४२, भदौ १८ः४
१० सङ्गीत-नृत्य २०४२, पुस १८ः८
११. मधुपर्कको सन्दर्भसूची २०४२, माघ १८ः९
१२. नेपालबाहिरको नेपाली साहित्य- १ २०४३, असार १९ः२
१३. नेापालबाहिरको नेपाली साहित्य- २ २०४३, साउन १९ः३
१४. समाजसेवा २०४३, असोज १९ः५
१५. अन्तर्राष्ट्रिय शान्तिवर्ष २०४३, पुस १९ः८
१६. कथा २०५०, मङ्सिर २६ः७
१७.निबन्ध २०५१, भदौ २७ः४
१८.संस्मरण २०५२, भदौ २८ः४
१९.नाटक २०५३, भदौ २९ः४
२०.हास्यव्यङ्ग्य २०५४, भदौ ३०ः४
२१.समालोचना २०५५, भदौ ३१ः४
२२.लघुकथा २०५६, भदौ ३२ः४
२३.गोर्खापत्र शताब्दी २०५७, जेठ ३३ः१
२४.लोककथा २०५९, भदौ ३५ः४
२५.यौनकथा २०६०, भदौ ३६ः४
२६.नियात्रा २०६१, भदौ ३७ः४
२७.नारीलेखन २०६२, भदौ ३८ः४
२८.लोकसाहित्य २०६३, भदौ ३९ः४
२९.हास्यव्यङ्ग्य २०६४, जेठ ४०ः१
३०.जनयुद्ध साहित्य२०६४, फागुन ४०ः१०
३१.कथा २०६५, जेठ ४१ः१
३२.महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की २०६६, कात्तिक ४२ः६
३३. आत्मपरपरक निबन्ध २०६७, जेठ ४३ः१
३.२. स्रष्टाविशेषको सङ्क्षिप्त चर्चा भएका अङ्कहरू
मधुपर्कले स्थायी स्तम्भलगायत विधागत सामग्रीसमेत जस्ताको तस्तै राखी निश्चित पृष्ठ मात्र विशेष सामग्रीका रूपमा दिएका १० अङ्कहरू यसमा सूचीबद्ध छन् ः
क्र.सं. विषय साल, महिना वर्षःअङ्क
१. सम २०३८, माघ-फागुन १४ः९/१०
२. कविशिरोमणि लेखनाथ पौड्याल
२०४१, भदौ १७ः४
३. सूर्यविक्रम ज्ञवाली २०४२, पुस १८ः१०
४. गोविन्द ‘गोठाले’ २०६३, माघ ३९ः९
५. डायमनशमशेर २०६३, चैत ३९ः११
६. सत्यमोहन जोशी २०६४, साउन ४०ः३
७. मोहन कोइराला २०६४, वैशाख ३९ः१२
८. महाकवि देवकोटा २०६५, कात्तिक ४१ः६
९. रमेश विकल २०६६, पुस ४२ः८
१०. कृष्णचन्द्रसिंह प्रधान २०६७, भदौ ४३ः४
३.३ समयसन्दर्भ र मधुपर्कका विशेषाङ्कहरूको प्रकाशन
मधुपर्कको प्रथम विशेषाङ्क कला विषयमा छ र त्यसको प्रकाशन तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका सन्दर्भमा गरिएको जानकारी सम्पादकीयबाट पाइन्छ । २०५० सालपूर्वका अधिकांश विशेषाङ्कहरू राजा वीरेन्द्रको जन्मोत्सव पुस महिना, रानी ऐश्वर्यको जन्मोत्सव कात्तिक महिना र युवराज दीपेन्द्रको जन्मोत्सव असार महिनामा आएका छन् । तत्कालीन परिस्थितिमा ज्ञान, विज्ञान, कला र साहित्यको स्रोत नै राजा र राजपरिवारिलाई ठानिने व्यवस्थाको सोचअनुरूप सरकारी स्वामित्वको संस्थानले त्यसो गर्नु स्वाभाविकै पनि थियो । त्यसै अनुसार वीरेन्द्रको कलाव्यक्तित्वलाई समेत उद्घाटन गर्ने उद्देश्यले कलाको विशेषाङ्क प्रकाशन गर्नु सान्दर्भिक भयो । ‘हाम्रो पृष्ठ’ मा भनिएको छ ः
… प्राचीन कलाकृतिहरूले पुनरुद्धारको मौका पाएका छन् । कला प्रदर्शनी र शिक्षणका विभिन्न अवसरहरू आएका छन् । यी सबैले कलासाधकहरूका शताब्दीयौँदेखि उपेक्षित छिना र कुचीहरूमा नयाँ जीवनको सञ्चार भएको छ, नेपाली कलाको इतिहासमा नयाँ वसन्त आएको छ । (२०२)
यसबाहेक कला-संस्कृति, युवालेखन, सङ्गीत-नृत्य, अन्तर्राष्ट्रिय शान्तिवर्ष गरी पाँचओटा विशेषाङ्कहरू पुस महिनामै प्रकाशित छन् र तिनमा सम्पूर्ण प्रेरणाको स्रोत राजालाई मानिएको छ । कविता र नारीलेखनका विशेषाङ्क ऐश्वर्यको जन्मोत्सवको अवसरमा प्रकाशित भएका हुन् । ऐश्वर्यलाई कवि, गीतकारको उच्च चुली र प्रेरणास्रोत स्वीकारिएका लेखहरूसमेत ती अङ्कहरूमा प्राप्त हुनुले पनि यसलाई पुष्टि गर्दछ । त्यसै गरी युवा र नेपालबाहिरको नेपाली साहित्य- १ विशेषाङ्क असार महिनामा प्रकाशित भएका छन् र पहिलोको आवरणमै दीपेन्द्रको फोटो राखिएको छ । यसबाट तत्कालीन समयमा विशेषाङ्क प्रकाशनको मूल सन्दर्भ राजपरिवारका सदस्यहरूको जन्मोत्सव भएको देखिन्छ । यसबाट नयाँ काम थालनी गर्ने दिशामा सम्पादकहरूले प्रयास गर्दा व्यवस्थाका पक्षधरहरूको आँखामा छारो हाल्ने उद्देश्य लिएको पनि हुन सक्छ किनभने तिनमा रचनाहरूको चयन गर्दा राजपरिवार र व्यवस्थाको वकालतलाई मात्र महत्त्व दिइएको पाइँदैन । २०४२ सालको गाईगाजात्राका अवसरमा हास्यव्यङ्ग्य, सामाजिक सेवा दिवसका अवसर पारेर असोजमा समाजसेवा, माओवादीको ‘जनयुद्ध’ सुरुवात भएको महिना फागुनमा जनयुद्ध साहित्य तथा देवकोटाको जन्ममहिना कात्तिकमा महाकवि देवकोटा विशेष वा देवकोटाको जन्म भएको १०० वर्ष पुगेको अवरमा शतवाषिर्की विशेषाङ्क प्रकाशन हुनुलाई पनि समयसान्दर्भिक नै मान्नुपर्छ ।
मधुपर्कका अन्य विशेषाङ्कहरूको प्रकाशनमा यसको प्रारम्भवर्ष जेठ महिनालाई पनि प्राथमिकता दिइएको छ । २०५० अघिका कथा, कथा-योजना तथा २०५० पछिका गोरखापत्र शताब्दी, हास्यव्यङ्ग्य, कथा, आत्मपरक निबन्ध आदिको प्रकाशनले यसको औचित्य पुष्टि भएको छ किनभने यसै महिनाबाट मधुपर्कको वर्ष परिवर्तन भई अङ्क १ आरम्भ हुन्छ । यस समयका एघारओटा विशेषाङ्कहरू भदौ महिनामा प्रकाशित छन् र यो मधुपर्कको विशेषाङ्क महिनामा स्थिर हुन खोजेको देखिन्छ ।
दिवङ्गत स्रष्टाविशेषका अङ्कचाहिँ मत्यु भएको महिना वा पछिल्लो महिना तथा जीवित स्रष्टाको अङ्क जन्म महिनालाई आधार बनाएर प्रकाशन गरिएको छ । प्रारम्भका सम, लेखनाथ र सूर्यविक्रम ज्ञवालीमा केन्द्रित अङ्कका तुलनामा पछिल्लो समयमा प्रकाशित स्रष्टाविशेष अङ्कहरू हतारमा तयार गरिएका, फितला र नाम मात्रका पनि देखिन्छन् ।
४. विशेषाङ्कमा विविध विधा तथा विषयको प्रतिनिधित्व र नेपाली साहित्यमा तिनको योगदान
४. १. साहित्यका विधाहरू
साहित्यलाई सिर्जना र समालोचनामा वर्गीकरण गर्न सकिन्छ किनभने सिर्जना रागात्मक हुनाले अनुभूतिप्रधान हुन्छ भने समालोचनाचाहिँ ज्ञानात्मक हुनाले तर्कप्रधान हुन्छ । सिर्जनात्मक साहित्यका पनि आख्यान, कविता, निबन्ध र नाटक गरी चारओटा मुख्य विधाहरू छन् । समग्रतामा साहित्यभित्र समालोचनालाई समेत समावेश गर्दा जम्मा पाँच विधाहरू देखा पर्छन् । कथा र उपन्यास आख्यानअन्तर्गतकै रचना प्रकारहरू हुन् । मधुपर्कमा आख्यानका उपन्यासबाहेक अन्य धेरैजसो फुटकर विधाका विशेषाङ्कहरू प्रकाशन भएका छन्, जसको सङ्क्षिप्त विश्लेषण तल गरिएको छ ।
४.१.१ कथा
कथा घटनाशृङ्खलालाई गद्यात्मक रूपमा कथन गरिने छोटो रचना हो । मधुपर्कमा कथा विधाका सातओटा विशेषाङ्कहरू सबैभन्दा धेरै सङ्ख्यामा प्रकाशित छन् । कथाका चार विशेषाङ्कहरू २०३०, २०३७, २०५० र २०६५ सालमा, लघुकथाको २०५६ र लोककथाको २०५९ सालमा तथा यौनकथाको विशेषाङ्क २०६० सालमा आएका देखिन्छन् । यीमध्ये कथाका चारओटा अङ्कहरू निकै प्रभावकारी छन् । २०३० सालको कथा अङ्कमा भनिएको छ ः
यो अङ्कको यो प्रयत्न हाम्रो रहर मात्र हो । तर यो एउटा रहर मात्र पनि होइन । वस्तुतः नेपाली साहित्यको भावधारामा केही थपौँ, आफ्नो वाङ्मयको श्रीवृद्धिका निम्ति केही गरँौँ भन्ने हाम्रो भावनाको उपज हो यो । साहित्यका विविध विधामा कथा सम्भवतः सर्वाधिक लोकपि्रय विधा हो । त्यसैले विशेषाङ्क प्रकाशनको क्रममा कथासाहित्यले दोस्रो अवसर लियो । (२७२)
यसमा भीमनिधि तिवारी, भवानी भिक्षु, इन्द्रबहादुर राई आदि अग्रजका साथसाथै देवेन्द्रप्रताप शाहसम्मका २८ कथाहरू, कथाकारको फोटो र सङ्क्षिप्त कृतिगत परिचय सङ्कलित छन् । रत्नध्वज जोशी र तारानाथ शर्माका कथासम्बन्धी समालोचना यसको महत्त्वपूर्ण पक्ष हो । यसमा सफल कथाकारहरू जगदीश घिमिरे, पुष्कर लोहनी, शैलेन्द्र साकार, हरि अधिकारी, ध्रुव सापकोटा आदिको पहिचान भएको छ । नेपालभित्र र बाहिर, पाका र नवप्रवेशी जस्ता भए पनि सम्भावना भएका कथाकारहरू यसमा समाविष्ट छन् । यसमा छापिएका देवकुमारी थापाको ‘मोती हुन नसकेको आँसु’ र रामलाल अधिकारीको ‘कान्छा मिजारको नेपाल यात्रा’ उनीहरूका मास्टरपिस नै बनेका छन् । तत्कालीन समसामयिक परिस्थितिका मर्मस्पर्शी जीवनकथा समेटिएका यसका कथामा कथा, अकथा, यौनकथा सबैको प्रस्तुति पाइन्छ ।
२०३७ सालको विशेषाङ्कलाई ‘कथा-योजना’ नाम दिइएको छ, जसमा दुई अनुवाद र २८ मौलिक गरी जम्मा ३० कथा सङ्कलित छन् । यसमा नेपाली कथाका विविध स्वरूप देखाउने सम्पादकहरूको लक्ष्य ‘हाम्रो पृष्ठ’ प्रकट भएको छ ः ‘२०३० सालको कथा अङ्क र यस अङ्कमा अर्को एउटा अन्तर देखा पर्नेछ । यसपालि हामीले कथाविधा अन्तर्गत पर्ने अकथा, लघुकथा, अनुवादकथा, आञ्चलिक कथालाई पनि प्राप्तिअनुसार बान्कीकै लागि भए पनि समावेश गरेका छौँ ।’ यसमा अधिकांश स्तरीय कथाहरू छन् ः दौलतविक्रम विष्टको ‘आसक्ति ः एक मिथक’ सशक्त अकथा हो, जसमा असन्तुष्ट अनुभूतिलाई तीव्रतापूर्वक प्रस्तुत गरिएको छ । रमेश विकलको ‘एक मुठी माटो’, ध्रुवचन्द्र गौतमको ‘द्रुतविलम्वित’, अनिता तुलाधरको ‘अनिश्चित’, किशोर पहाडीको ‘विशुदाइ’, हरि अधिकारीको ‘बिकुलाल कुसाथा’ यसमा सङ्गृहीत समकालीन चेतनाका परिष्कृत कथा हुन् । ध्रुव मधिकर्मीका तीनओटा लघुकथालाई यसमा ‘केही अकथा’ भनी छापिएको छ, जसले अकथाबारे सम्पादकमा रहेको अलमल देखाउँछ । नवकथाबारे वासु रिमाल ‘यात्री’को विचारोत्तेजक समालोचना यसको अर्को विशेष प्राप्ति हो ।
वि.सं. २०५० को कथा अङ्क विधागत लोकपि्रयताका आधारमा प्रकाशित भएको जानकारी पाइन्छ । यसमा ३४ कथाहरू छन्, जसमध्ये तारिणीप्रसाद कोइराला, मदनमणि दीक्षित, भुवन ढुङ्गाना, मनु ब्राजाकी, राजेन्द्र विमल, राजव, नयनराज पाण्डेका कथाहरू निकै उत्कृष्ट छन् । ११ लघुकथामा दुर्लभलाल सिंह, रुद्र ज्ञवाली, विजय वजिमयका रचनामा तीव्रता, आकस्मिक अन्त्य र सारवस्तुको घनत्व रहेको छ । यसमा सङ्कलित ४ समालोचनाहरूमा तीनओटा सामान्य स्तरका छन् भने कृष्ण प्रधानको ‘नेपाली कथा ः महिला प्रतिभामा पाइने प्रवृत्ति’मा चाहिँ अध्ययनको सूक्ष्मता देखिन्छ । सात वर्षको अन्तरालमा मधुपर्कको विशेषाङ्क प्रकाशनको सुरुवात पुनः हुनुलाई यसको अर्को उपलब्धि मान्नुपर्छ ।
वि.सं. २०६५ को कथा विशेषाङ्क प्रकाशनमा पाठकीय रुचि र साहित्यकारहरूको सल्लाह नै प्रमुख आधार रहेका छन् । साहित्यिक पत्रकारिताका लागि यो निकै महत्त्वपूर्ण पक्ष हो । यसमा ३८ ओटा कथाहरू, ६ ओटा समालोचना तथा ‘नेपाली कथाको वाचनसभा’सम्बन्धी विमर्श प्रस्तुत गरिएको छ । राजेन्द्र विमलको ‘ऐँजेरु’मा पाइने तराई आन्दोलनले निम्त्याएको सन्त्रासमय विभेद, सरुभक्तको ‘टेस्टट्युब बाबु’मा अभिव्यञ्जित मूल्यसमाप्तिको भय, महेशविक्रम शाहको ‘मिक्की माउस’ले दिने आयातित संस्कारको बाहुल्यले उब्जाउने निरीहता, किशोर पहाडीको ‘मासुको रस’मा पाइने विडम्बना, रत्न प्रजापतिको ‘बाबुुसाहेबको बुसप्रेम’मा रहेको प्रतीकात्मक व्यङ्ग्य, बबिता बस्नेतको ‘विशेष’ले प्रकट गर्ने मोहक अनुभूति प्रस्तुत विशेषाङ्कका महत्त्वपूर्ण पक्ष हुन् । यसमा समाविष्ट धेरै कथाहरू समसामयिक चेतनाका वाहक भए पनि तिनमा गृहीत विषयको सूक्ष्मतामा पुगेर समस्या र चरित्रका भाव खोतल्ने धैर्यको अलि कमी देखिन्छ । समसामयिक कथाका विशिष्टतालाई मूर्त रूपमा देखाउन सक्ने समालोचनाको अभाव यसको मुख्य कमजोरी हो ।
मधुपर्कले २०५६ सालमा लघुकथाको विशेषाङ्क प्रकाशित गरेको छ । यसको औचित्यका बारे ‘हाम्रो भन्नु’मा यसरी पुष्टि गरिएको छ ः ‘नेपाली वाङ्मयमा निश्चित स्थान ग्रहण गरिसकेको परिप्रेक्ष्यमा लघुकथा लेखनको यथोचित मूल्याङ्कन, विवेचना र सैद्धान्तिक पृष्ठभूमिको अभावमा यसले एउटा स्पष्ट दिशाबोध लिन सकेको थिएन । यिनै वास्तविकतालाई दृष्टिगत गरी मधुपर्कले यस वर्षको विशेषाङ्कलाई ‘लघुकथा अङ्क’का रूपमा प्रकाशन गर्ने अठोट गरेको सहर्ष जानकारी गराउँछौँ ।’ यो भनाइ रचना र समालोचनामा वास्तविक ढङ्गले सफल पनि भएको छ । मौलिक र अनूदित गरी यसमा २०० लघुकथाहरू सङ्कलित छन् । विनयकुमार कसजू, ओममणि शर्मा, गोरखबहादुर सिंह, दुर्लभलाल सिंह, अमोद भट्टराई, जनार्दन जागरुक, रवीन्द्र समीर, खड्गसेन ओली, कमला पराजुली आदिका लघुकथामा विषय र शिल्पको प्रभावकारिता पाइन्छ । त्यस्तै, रवीन्द्रनाथ टैगोर र खलिल जिब्रानका कथामा दार्शनिकता र बेधक प्रभावसामथ्र्य देखिन्छ । यसमा सङ्कलित १० ओटै लेखरचनाहरू सशक्त छन् र तिनमध्ये पनि लघुकथाको इतिहासम्बन्धी दयाराम श्रेष्ठको, सैद्धान्तिक सन्दर्भमा लक्ष्मणप्रसाद गौतम र रोशन थापा ‘नीरव’का, नेपालीमा लघुकथाको कृतिप्रकाशनसम्बन्धी विस्तृत जानकारी दिने श्रीओम श्रेष्ठ ‘रोदन’का समालोचनाहरू विशिष्ट छन् । यिनले नेपालीमा लघुकथाको प्रारम्भ, तिनको रचनाकारिताको शास्त्रीय र समकालीन आधार, परम्परा तथा विस्तारलाई बलियो टेवा प्रदान गरेका छन् । लघुकथा लेखनबारे विनयकुमार कसजू, किशोर पहाडी र इन्दिरा प्रसाईका व्यावहारिक विचारहरू पनि निकै उपयोगी देखिन्छन् ।
हाम्रा परम्परागत जनश्रुति एवम् किम्बदन्तीहरू विस्थापित होलान् कि भन्ने आशङ्कालाई केन्द्रमा राखेर वि.सं. २०५९ सालको मधुपर्कलाई लोककथा अङ्क बनाइएको छ । यसमा नेपालका विभिन्न जातजाति र भाषाभाषीका ३८ मौलिक र ८ अनूदित गरी जम्मा ४६ लोककथाहरू समावेश गरिएको छ । विभिन्न कोणबाट नेपाली लोककथाको अध्ययन गर्ने पद्धति, ढाँचा र पक्षलाई यसका १६ ओटा लेख-रचनाहरूले प्रतिनिधित्व गरेका छन् । सत्यमोहन जोशी, चूडामणि बन्धु, जनकलाल वैद्य, मोतीलाल पराजुली, जीवेन्द्रदेव गिरी, रत्नाकर देवकोटा आदिले सैद्धान्तिक एवम् सङ्कलन, सम्पादन र विश्लेषणका विविध प्रसङ्गका ‘मोडेल’ तयार पारेका छन् । सम्बन्धित क्षेत्रमा गएर आफैँ ती कार्यमा संलग्न यस्ता विद्वान्हरूका समालोचनाले लोककथाको भावी अध्ययनलाई समेत मार्गनिर्देशन गर्दछन् । सङ्कलित लोककथामा आफैँले रचना गरेजस्तो ढङ्गले लेखकको नाम दिनु भने यसको कमजोर पक्ष हो । यसलाई सम्पादकीयमा स्वीकार गरिएको छ, तर त्यतिले दोषबाट पन्छिन मिल्दैन । यसका कथाहरूमा विषयगत विविधता छ तर तिनमा क्षेत्र, जाति र संस्कृतिअनुरूप भाषा र प्रस्तुतिको मौलिकता भने रहेको पाइन्न । मैथिली, अबधी, किराँत लोककथामा पनि शुद्ध नेपाली भाषाको संवाद र एकै किसिमको संस्कृति पाइनु सङ्कलनकर्तामा कुशलता नहुनुको परिणाम हो ।
मधुपर्कको कथाशृङ्खलामा यौनकथा विशेषाङ्क २०६० मा प्रकाशित छ । यसमा २९ कथा र १८ लघुकथा सङ्कलित छन् । प्रस्तुत अङ्कबारे सम्पादकीय भनाइ यस्तो छ ः ‘आजको बदलिँदो खुला विश्व परिस्थितिका कारण समाजमा बढ्दै गएको अश्लील र छाडापनले नेपाली साहित्यलाई पनि अछुतो राख्न सकेन । जसले गर्दा मधुपर्कमा प्राप्त रचनाहरू पनि साहित्यको नाममा अश्लील छाडा तथा ठाडो संवाद र शैलीले गाँजेको पाइयो । यसै वास्तविकतालाई दृष्टिगत गरी मधुपर्कले नेपाली कथा विधामा कस्ता यौनकथाहरूको स्थान हुनुपर्छ भन्ने उद्देश्यले… ।’ यसबाट बुझिन्छ- यौनकथा लेखनलाई सही दिशानिर्देश गर्नका लागि यो अङ्क बजारमा ल्याइएको हो तर यसमा सङ्कलित सामग्रीले यसलाई स्तरीय, कलात्मक र श्लीलताको परिधिमा खासै उकाल्न सकेका छैनन् । कथामा यौनको उपयोग गर्नेभन्दा पनि यौनकथा लेख्ने धूनमा जबर्जस्ती यौनक्रियाकलाप र यौनाङ्गहरूको वर्णन गरेर कथा बन्न सक्तैन, त्यो यौनउत्तेजना फैलाउने सस्तो र भद्दा ‘पोर्नोग्राफी बन्ने सम्भावना रहन्छ । यस दिशातिर नेपाली कथाकारहरू कम सचेत भएको प्रमाण यो यौनकथा अङ्कले दिएको छ । ध्रुवचन्द्र गौतमको ‘हेल्लुस’मा यौनलाई प्रतीकात्मकता दिइएको छ, त्यति कलात्मकता अरूमा कमै पाइन्छ । यसका लघुकथाहरूमा त कलात्मकताको महक झनै भेटिन्न । ६ ओटा लेखमध्ये रोशन थापा ‘नीरव’को ‘नेपाली यौनकथाको परिदृश्य’ समालोचना निकै मिहिनेतपूर्वक तयार पारिएको छ तर रामदयाल राकेशको हिन्दी यौनकवितासम्बन्धी लेख भने कथाविशेषाङ्कमा अलि अप्रासङ्गिक नै देखिन्छ ।
४.१.२ कविता
कविता भावमूलक विचारको लयात्मक अभिव्यञ्जना हो । यसका हाइकु, मुक्तक, गीत, गजलदेखि फुटकर कविता तथा खण्डकाव्य र महाकाव्य गरी विभिन्न स्वरूपहरू छन् तर २०३८ सालको मधुपर्कमा फुटकर कवितासित केही गीत र गजलको मिश्रण गरेर एक मात्र विशेषाङ्क प्रकाशित भएको पाइन्छ । यसमा ५० फुटकर कविता, ५ गीत र ८ गजल सङ्कलित छन् । यसको प्रारम्भमा चाँदनी शाहका केही गीतहरू समावेश गरिएको छ । अग्रज कविहरू केदारमान व्यथित, मोहन कोइराला, ईश्वरवल्लभ, भूपि शेरचनदेखि समसामयिक धाराका धेरै कविका कविता यसमा पढ्न पाइन्छ । हरि अधिकारी, अशेष मल्ल, कणाद महषिर्, दिनेश अधिकारी, विष्णुविभु घिमिरे, गणेश विषम, पूर्णविराम, उषा शेरचन, प्रहृलाद पोखरेल आदिलाई यसमार्फत स्तरीय कवि पहिचान गरिएको छ । समालोचनाहरूमा कवितासम्बन्धी अभि सुवेदी र मोहनराज शर्माका, गीतबारे रामदयाल राकेशको तथा गजलबारे रमा शर्माको रचना विश्लेषणात्मक मूल्ययुक्त छन् । विजय चालिसेले ६ जना कविहरूसित समसामयिक सन्दर्भमा लिएको अन्तर्वार्ताले धेरै जानकारी दिन्छ । त्यसमा भूपिले भनेका छन् ः ‘पुरानो पुस्ताको मूल्यमान्यता र आस्थाहरूबाट बेग्लै आफ्नो समयको मूल्य, मान्यता र आस्थाहरूलाई साहित्य सिर्जना गरेर सशक्त अभिव्यक्ति दिन नयाँ पुस्तालाई केही वर्ष वा दशक समयको दरकार पर्दछ ।’ (२००) यसले तत्कालीन स्थितिमा नेपाली कविताको नवीन प्रवृत्ति स्थापित हुने क्रममा रहेको र त्यो कवि र समालोचकहरूबाट स्वीकृत पनि भइरहेको देखाउँछ ।
४.१.३ निबन्ध
निबन्ध भावना र विचारलाई आत्मपरक तर आग्रहपूर्वक स्वीकार गर्न लगाइने सङ्क्षिप्त आकारको गद्यविधा हो । यसमा स्वतन्त्र अस्तित्व प्राप्त नभइसकेका आत्मतत्त्वप्रधान संस्मरण, नियात्रा, निवार्ता, आत्मकथा, दैनिकी, रिपोर्ताज, चिठी, स्केच, फिचर आदि पत्रकारिताको संयोजनबाट उन्नत मिश्रति रचनाहरू पनि अटाउँछन् । मधुपर्कले २०५१ सालमा निबन्ध, २०५२ सालमा संस्मरण, २०६१ सालमा नियात्रा र २०६६ सालमा आत्मपरक निबन्ध गरी चारओटा विशेषाङ्क प्रकाशित गरिसकेको छ । यसबाट कथापछि निबन्धलाई नै मधुपर्कले प्राथमिकता दिएको पाइन्छ ।
वि.सं. २०५१ सालको मधुपर्कको निबन्ध विशेषाङ्क नवीन प्रतिभाहरूको खोजी र सुषुप्त साधकहरूलाई बिउँझाउने उद्देश्यबाट प्रेरित देखिन्छ । सम्पादकीय भनाइ ‘निबन्ध विधा खडेरी परेकै हो त ?’ शीर्षकमा प्रकट भएको छ ः ‘… नेपाली साहित्यमा निबन्ध विधा खडेरी परेको होइन, केवल हामीहरूले यसका साधकहरूलाई घचघच्याउन नसकेका रहेछौँ ।’ यस विशेषाङ्कमा आत्मपरक निबन्धसँग हास्यव्यङ्ग्य, संस्मरणात्मक तथा यात्रानिबन्धलाई पनि समेटिएको छ । जम्मा ५७ निबन्धमध्ये केशवराज पिँडाली, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, तारानाथ शर्मा, मोदनाथ प्रश्रति, किशोर नेपाल, गंगाप्रसाद उप्रेती, निर्मोही व्यास, सुधा त्रिपाठी, युवराज नयाँघरे आदिका रचनामा विषयचयन र शिल्पगत मधुरता ज्यादा छ । व्यङ्ग्यको तीक्ष्णता श्रीधर खनाल र रुद्र खरेलका निबन्धमा पाइन्छ । यसमा समाविष्ट विधागत समालोचना पनि प्रभावशाली छन् । समसामयिक निबन्धबारे राजेन्द्र सुवेदी, नेपाली नियात्रा साहित्यको इतिहासबारे कृष्ण प्रधान र नेपाल भाषाका निबन्धबारे इन्द्र मालीका समालोचनाहरूले विषयको व्यापकता र मूल्याङ्कनात्मक दक्षता देखाएका छन् ।
जीवनका रोचक र अविस्मरणीय भोगाइको अङ्कनबाट पाठकहरूलाई मनोरञ्जन, रचनात्मक विचार, भावना र सूचना प्रवाह गर्नका लागि मधुपर्कले २०५२ सालमा संस्मरण विशेषाङ्क प्रकाशित गरेको हो । प्रस्तुत अङ्कमा विभिन्न क्षेत्रका स्रष्टाका ७२ ओटा रोचक-घोचक संस्मरण समावेश गरिएको छ । संस्मरणका नाउमा नियात्रालाई पनि यसमा स्थान दिइएको छ । साहित्य, कला, राजनीति, पारिवारिक जीवनमा आधारित स्वदेश तथा विदेशका यी संस्मरणहरूमा रोमाञ्चकताको मात्रा अत्यधिक पाइन्छ । हुन पनि अलिकति स्मृति उपयोग गरेर कुतूहलसहित भाषामा प्रवाह गर्न सक्ता यस्तो सुन्दर रचना सिर्जना हुन सक्छ र त्यसले कति इतिहास रच्छ, कतिलाई प्रेरणा दिन्छ र कतिलाई विचारमा दृढ तुल्याउँछ । यसमा राजेन्द्र सुवेदीको ‘संस्मरण साहित्यको सैद्धान्तिक परिचय ः संक्षिप्त अध्ययन’ शीर्षकको एउटा मात्र समालोचना प्रकाशित छ । यसले संस्मरणका तत्त्वहरूको छोटकरी चर्चा र निकटस्थ विधाहरूको परिचय दिई नेपाली संस्मरण साहित्यको संक्षिप्त जानकारी दिएको छ । यस अङ्कका साह्रै छोटा संस्मरणले भने विषयको पुष्टि तथा पाठकको रुचिलाई सन्तुष्ट पार्न सक्तैनन् । मधुपर्कले प्रारम्भमा निकै महत्त्व दिएको स्मरण गर्दै रेग्मी (२०४२) भन्छन्- ‘मेरा दुःखका दिन स्तम्भ सञ्चालन गरेर मधुपर्कले नेपाली साहित्यका वरिष्ठ साहित्यकारसँग संस्मरणात्मक लेख लेखाउने चलन चलाएको थियो । करिब एक वर्ष चलेर यो स्तम्भ पनि बिलायो ।’ (१५५)
मधुपर्कले २०६१ सालमा प्रकाशन गरेको नियात्रा विशेषाङ्क ३८ ओटा नियात्रा र ४ ओटा समालोचना समेटिएका छन् । सिद्धिचरण श्रेष्ठका अतिरिक्त तारानाथ शर्मा, रमेश विकल, देवीचन्द्र श्रेष्ठ, मञ्जुलजस्ता वरिष्ठ नियात्राकारदेखि सुधा त्रिपाठी, जय छाङ्छा, रामप्रसाद पन्त आदिका लोमहर्षक नियात्रा यसमा पढ्न पाइन्छ । तारानाथ शर्मा र निर्मोही व्यासका सैद्धान्तिक समालोचना सर्जक र अध्येताका लागि निकै लाभदायक छन् । विचारमञ्चमा गङ्गाप्रसाद उप्रेती, सुधा त्रिपाठी र देवीचन्द्र श्रेष्ठका महत्त्वपूर्ण सिर्जना अनुभव र विधागत विचार समेटिएको छ । यसमा सङ्कलित कतिपय सिकारु लेखकका स्थानगत संस्मरण, यात्राटिपोट र वस्तुगत वर्णनलाई पनि ‘नियात्रा’ भनेर छापेको देख्ता भने अलि उदेक पनि लाग्छ ।
आत्मपरक निबन्धको विशेषाङ्क २०६७ मा मधुपर्कले ३९ ओटा नयाँ र साभार गरिएका ३ ओटा निबन्धहरू प्रकाशन गरेको छ । यसमा निबन्धको सिद्धान्त, इतिहास र कृतित्वसम्बन्धी ६ ओटा समालोचना समावेश गरिएका छन् । कृष्णचन्द्रसिंह प्रधान, तेजेश्वरबाबु ग्वंग, अभि सुवेदी, निर्मोही व्यास, युवराज नयाँघरे, भीष्म उपे्रती, कुमारी लामा, भूपिन व्याकुल आदिका रचनामा भावसँग अनुनयको मात्रा मिलेको छ । निबन्ध र यसमा समेटिने रचनाहरूको स्वरूप देखाउन सफल लक्ष्मणप्रसाद गौतमको समालोचना सफल छ भने नेपाल भाषामा निबन्धको अवस्थाबारे जनकलाल वैद्यको लेखले विस्तृत जानकारी दिएको छ । नेत्र एटमको कृतिकेन्द्री समालोचनामा शङ्कर लामिछानेको निबन्धकारिताको सूक्ष्म विश्लेषण गरिएको छ भने विचारमञ्चमा देवकोटाको निबन्धकारिताबारे कुमारबहादुर जोशी र सुधा त्रिपाठीको संवादमा पनि विषयको सघन प्रस्तुति हुन सकेको छ । प्रसङ्वश स्तम्भमा कृष्णचन्द्रसिंह प्रधानसितको अन्तर्वार्ता निकै जानकारीमूलक, आहृलादक र ठोस रहेको छ । यस विशेषाङ्कको अर्को महत्त्वपूर्ण पक्ष यसमा भएका सबै पुस्तकसमीक्षाहरू निबन्धसितै सम्बन्धित छन् । त्यसैले यसलाई कथा विशेषाङ्कपछिको विशेष उपलब्धि मान्न सकिन्छ ।
४.१.४ नाटक
नाटक साहित्यका अतिरिक्त अभिनय कलामा समेत प्रस्तुत गर्न सकिने घटनाशृङ्खलाको द्वन्द्वात्मक र अन्तक्रिर्यामूलक अनुकरणको अभिव्यक्ति हो । एक अङ्कको छोटो नाटकलाई एकाङ्की वा लघुनाटक भनिने भए पनि त्यसको छुट्टै सौन्दर्यमूल्य हुँदैन । मञ्चनको सक्रियतासमेत आवश्यक पर्ने हुनाले नेपालीमा नाटकको रचना केही कम हुन थालेको आशङ्का भइरहेको बेला मधुपर्कले २०५३ सालमा नाटक विशेषाङ्क प्रकाशन गरेको छ । ‘सामूहिक शुभेच्छाको प्रतिफल’ शीर्षकमा यसको सम्पादकीय भन्छ- ‘नेपाली समाजमा विद्युतीय माध्यमको बढ्दो लोकपि्रयता र प्रभावकारिताले केही वर्षदेखि नाटक लेखन र मञ्चन पक्ष निकै ओझेलमा परेको अनुभूति सर्वत्र भएको छ । यसै तथ्यलाई आत्मसात् गरी नेपाली नाटक लेखनको आफ्नै प्रकारका विशेषता र मौलिकता छन् र यसले पनि पाठकमा आफ्नो स्थान ओगट्न सक्छ भन्ने उद्देश्यले… ।’ हुन पनि यसमा सङ्कलित ३१ नाटकहरूले समकालीन नेपाली नाटक जिउँदो जाग्दो नै छ भन्ने प्रमाणित गर्दछन् । गोविन्दबहादुर मल्ल ‘गोठाले’को ऐतिहासिक ‘सिंहदरबारको एक रात’, ध्रुवचन्द्र गौतमको समसामयिक आलोचनात्मक ‘कीर्तिमान’, शिव अधिकारीको भयमूलक प्रहसन ‘सिंहासन’, वेदकुमारी न्यौपानेको नारीसमस्यामूलक ‘कुल्चिएका फूलहरू’, महेन्द्र मलङ्गियाको विडम्बनापूर्ण जीवनको अभिव्यक्ति ‘एकछेउ खण्डित धागोको’ आदि यस अङ्कका विशिष्ट नाटक हुन् ।
प्रस्तुत नाटक विशेषाङ्कमा १४ समालोचनाहरू सङ्गृहीत छन् तर ऐतिहासिक दृष्टिकोणले मात्र पनि तिनको मूल्य सामान्य देखिन्छ । प्रचण्ड मल्लको राणाकालीन रङ्गमञ्चबारे, जनकलाल वैद्यको नेपाल भाषाका नाटकबारे, श्रीओम श्रेष्ठ ‘रोदन’को ज्यापू नाटकबारे र मदनदास श्रेष्ठको रेडियो नाटकको विकासबारेका रचनाको उपादेयता निकै छ । समसामयिक नाटकका पं्रवृत्तिबारे चर्चा नभएका तर व्यक्ति, कृति र पक्षमा केन्द्रित यसका कतिपय लेखहरू सामान्य टिपोट र टिप्पणी स्तरका मात्र छन् । समकालीन नाटकमञ्चनमा सक्रिय स्रष्टाका अनुभव राख्न सकेको भए त्यसले नवागन्तुकहरूमा केही ऊर्जा थप्ने थियो । साथै साहित्यमा फिल्म अध्ययनलाई पनि नाटकको क्षेत्रभित्र समेट्न आवश्यक छ ।
४.१.५ समालोचना
समालोचना भनेको कुनै कृति, लेखक, सिद्धान्त वा साहित्यिक इतिहासबारे मूल्यनिर्णय, व्याख्याविश्लेषण, सैद्धान्तिकीकरण तथा शोधपरकता आदि प्रयोग गरी सिर्जित गद्यरचना हो । हरेक विशेषाङ्कमा तत्सम्बन्धी विशेष समालोचना राख्दै आएको मधुपर्कले २०५५ सालमा आएर समालोचनाको विशेषाङ्क नै प्रकाशित गरेको छ । विशेष गरी २०३० सालपछिको नेपाली साहित्यको उपलब्धि सिंहावलोकन गर्ने उद्देश्य राखी उक्त अङ्क संयोजन गरिएको हो । यसमा नेपाली साहित्यसम्बन्धी ३७, समालोचनासम्बन्धी ३, पाश्चात्य साहित्य र समालोचनासम्बन्धी २ गरी जम्मा ४२ समालोचना सङ्कलन गरिएको छ । विषयगत विविधताले यसमा निकै महत्ता थपेको छ । कलासम्बन्धी दुई समालोचना छन् भने सङ्गीतको समालोचना पनि यसमा समाविष्ट छ । समकालीन साहित्यका विभिन्न पक्षहरू ः नाटकमा केशवप्रसाद उपाध्याय, उपन्यासमा राजेन्द्र सुवेदी, कवितामा गोपीकृष्ण शर्मा, कथामा सुधा त्रिपाठी, निबन्धमा रमेश भट्टराई, गजलमा अमर त्यागी, सहलेखनका उपन्यासबारे गोविन्द गिरी प्रेरणा, लघुकथाबारे शैलेन्दुप्रकाश नेपालका अन्वेषणमूलक समालोचना प्रकाशित छन् । विष्णु प्रभातको ‘प्रगतिवादी समालोचना ः सामान्य अवलोकन’ मा इतिहास र प्रवृत्तिको परिचय दिइएको छ । बाबुराम शर्मा ‘हेमन्त’को ‘राल्फा गीतहरूको वर्गीकरण र विश्लेषण’ मा तत्कालीन परिस्थिति, विचार तथा साहित्यिक रचनाकारिताको विश्लेषण भएको छ । यस विशेषाङ्कमा समावेश भएका कृष्णचन्द्रसिंह प्रधान, चूडामणि बन्धु तथा माधवप्रसाद पोखरेलका रचनाहरूमा नेपाली समालोचनामा पाइने कमजोरी, सर्जक र समालोचकको अन्तर्विरोध तथा भाषिक, शैलीगत, पद्धतिगत सुधारका उपायहरू प्रस्तुत गरिएको छ । महेश प्रसाईंले तारानाथ शर्मासित लिएको अन्तर्वार्ता जटिलताका कारण दुरुह बनेको छ तर रामचन्द्र गौतमले कमलमणि दीक्षितसँग लिएको अन्तर्वार्ता भने निकै विचारोत्तेजक छ । यसमा रहेका कतिपय समालोचनाहरू अत्यन्त प्रभावपरक तथा सामान्य कक्षाटिपोट स्तरका मात्र पनि छन् ।
४.२. साहित्यिक अन्तरविधाहरू
साहित्यिक जुनै विधामा पनि सिर्जना हुन सक्ने विषय, शैलीविशेष वा भाव अन्तरविधामा पर्न आउँछन् । यहाँ हास्यव्यङ्ग्य र लोकसाहित्यलाई अन्तरविधाका रूपमा राखी चर्चा गरिएको छ ।
४.२.१ हास्यव्यङ्ग्य
विडम्बनाको अनुभवबाट हाँसो उत्पन्न गरी आनन्द प्रदान गर्ने प्रवृत्ति हास्यव्यङ्ग्य हो । यसलाई लेखनको आलङ्कारिक उपकरण, साहित्यिक शैली वा परिस्थिति पनि मानिन्छ । मधुपर्कले २०४२, २०५४ र २०६४ साल गरी तीनपटक हास्यव्यङ्ग्य विशेषाङ्क निकालिसकेको छ । २०४२ सालको गाईजात्राको अवसर पारेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरेको हो । यसमा लोकेन्द्रबहादुर चन्दको एकाङ्की, रामकुमार पाँडे, श्रीधर खनाल, हरि बन्दी आदि १० जनाका निबन्ध सङ्कलित छन् । त्यसै गरी भरतराज पन्त, भूतको भिनाजु, हरिगोविन्द लुइटेल आदि ९ जनाका कविता तथा भैरव अर्याल, विष्णु नवीन र कृष्णप्रसाद चापागाईसित सम्बन्धित सम्झना पनि यसमा अटाएका छन् । दयाराम श्रेष्ठको ‘मोतीराम भट्टको हास्यप्रयोग’ समालोचनाले यसमा निकै ओज प्रदान गरेको छ । यसका सबै रचनाकारहरूको फोटोसहित सङ्क्षिप्त परिचय पनि दिइएको छ ।
वि.सं. २०५४ मा मधुपर्कले दोस्रो हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशित गरेको देखिन्छ । यसको उद्देश्य ‘हाम्रो प्रतिबद्धता’ शीर्षकमा प्रकटित छ- ‘वाङ्मयका विविध विधाका तुलनामा हास्यव्यङ्ग्य लेखन अलि ओझेलमा परेको यथार्थ सबैमा सर्वविदितै छ । यस क्षेत्रमा हामीले नयाँ लेखक र पुस्तालाई त्यति उजिल्याउन सकेका छैनाँै ।’ त्यसै अनुरूप यसमा ३५ निबन्ध, १६ समालोचनात्मक रचना, १९ कविता र ३ एकाङ्की समावेश भएका छन् । घटोत्कच शर्मा, श्रीधर खनाल, चोलेश्वर शर्मा, ध.च. गोतामे, मुकुन्द आचार्य, नरेन्द्रराज पौडेल, हरिमोहन झा, धीरेन्द्र प्रेमषिर् आदिका निबन्धमा स्तरीयता पाइन्छ भने रमेश खकुरेल, लक्ष्मण गाम्नागेको कविता तथा दीनबन्धु शर्माको एकाङ्कीमा समसामयिकताप्रति तीव्र व्यङ्ग्य र हास्यभाव सिर्जना भएको छ । व्यक्तित्व चर्चामा यसले भैरव अर्याल, केशवराज पिँडाली, मार्क ट्वेनका बारेमा जानकारी दिएको छ भने कृष्णचन्दसिंह प्रधान, रामकुमार पाँडे, जनकलाल वैद्य आदिका समालोचनामा नेपाली हास्यव्यङ्ग्यको परम्परा र वर्तमान अवस्थाको साङ्गोपाङ्ग चित्रण भएको छ ।
मधुपर्कको तेस्रो हास्यव्यङ्ग्य विशेषाङ्क २०६४ सालमा प्रकाशित भएको हो । यसमा ३५ निबन्ध, ३२ कविता-गीत-गजल, ६ लघुकथा, ३ अनूदित निबन्ध, एउटा एकाङ्की तथा ४ समालोचना सङ्कलित छन् । अनूदित रचनाका तुलनामा यी रचनामा हास्यको मात्रा कम पाइन्छ अनि त्यो पनि अलि भद्दा, अश्लील तथा लैङ्गिक रूपले आक्षेपात्मक भएको छ । राजनीतिक व्यङ्ग्यको मात्रा बढी हुनु नेपाली हास्यव्यङ्ग्यको पहिचान हो । यी रचनाहरू पढ्दा स्वतन्त्र परिवेशमा आइसकेपछि त हामीसित हास्यव्यङ्ग्यका पद्धतिहरू नै भुत्ते भइसकेका हुन् कि भनी शङ्का नै गर्नुपर्ने हुन्छ । समालोचनामा प्रमोद प्रधानको ‘नेपाली हास्यव्यङ्ग्य निबन्ध ः इतिहासदेखि वर्तमानसम्म’ विस्तृत भए पनि सर्वेक्षणात्मक मात्र छ, मूल्याङ्कनमा जान सकेको छैन । विष्णु प्रभातले चिनियाँ भाषाको र कृष्णराज सर्वहारीले थारू भाषाको हास्यव्यङ्ग्यको सर्सर्ती अवलोकन गरेका छन् । हास्यकलामा कार्टुनकला र दृष्टान्तचित्रको महत्त्वबारे विचारमञ्चमा उत्तम नेपाली, दुर्गा बराल तथा ज्ञानेन्द्र विवशले निकै बौद्धिक र समसामयिक ढङ्गले प्रकाश पारेका छन् ।
४.२.२ लोकसाहित्य
लोकसाहित्य भन्नाले मौखिक परम्परामा पुर्खाहरूबाट सर्दै आएका मिथक, दन्यकथा, गीत, उखान, टुक्का, नाटक, काव्य आदिलाई बुझिन्छ । प्रकृतिका रहस्य, जीवनका भय र चाहना प्रकट गरेर शिक्षा एवम् मनोरञ्जनका लागि लोकसाहित्य प्रयुक्त हुँदै आएको छ । लोकजीवनसित गाँसिएको यस्तो विषयमा २०६३ सालको मधुपर्ककोे विशेषाङ्क केन्द्रित छ । यसमा ९ गीत, २२ कथा, ३० समालोचना तथा एउटा नियात्रा सङ्कलित छन् । रचनामा जातीय र क्षेत्रीय विविधता पाइनु यसको विशेषता हो । लोकसाहित्यका विधाहरू कथा, कविता, गाथा, उखान, टुक्का, नाटक आदि तथा तिनमा पाइने संस्कार, संरचना, विश्वास, पद्धति, बाजा, समय र श्रमसितको सम्बन्ध आदिको विवेचना यसमा भएको छ । भीम राना ‘जिज्ञासु’को ‘लोकसाहित्यको झर्रो मूच्र्छना ः जुहारी अर्थात् दोहोरी गीत’ र डिल्लीराम मिश्रको ‘रोँदी र रोँदीघर परम्परा’ लेखहरूले स्थानगत जातीय लोकसंस्कृतिका पक्षलाई निकै राम्ररी चिनाएका छन् । लाल-श्याँकारेलु रापचाको ‘किराँती लोककथाहरूको संरचनागत तुलना’ मा लोककथा विश्लेषणमा भाषावैज्ञानिक पद्धतिको उपयोग गरी गम्भीर ढङ्गले शोधपरक समालोचना गरिएको छ । परिसंवादमा सत्यमोहन जोशी, पूर्णप्रकाश नेपाल ‘यात्री’, कृष्णप्रसाद पराजुली र चूडामणि बन्धुसितको कुराकानी वर्तमानमा गर्नुपर्ने कामको दिशाबोधका लागि निकै गहनतामा पुगेको छ । समाजको संरचनाअनुकूल उखान बन्ने र तिनमा अधिकांशतः महिलालाई भेदभाव गरिएको निष्कर्ष ओमी शर्माको ‘नेपाली उखानमा महिलाको बखान’मा पाइन्छ । गोपाल दहितको ‘थारू जातिमा गुरवा प्रथा र तन्त्रमन्त्र’ लेखमा थारू समाजमा गुरवाको सामाजिक, साङ्गठनिक, चिकित्सामूलक तथा धार्मिक भूमिका निकै सूक्ष्मतामा पुगेर केलाइएको छ । ‘नेपाली लोकसाहित्यमा कूटलोककथा’ लेखमा हंसपुरे सुवेदीले लोकबौद्धिकताको घुमाउरो र रमाइलोको चिनारी दिएका छन् । प्रसिद्ध डेउडागायक नन्दकृष्ण जोशीको ‘डेउडा गाउँदै गरिएका भ्रमण’ शीर्षकको नियात्राले लोकसाहित्य र लोकतान्त्रिक आन्दोलनलाई कसरी जोड्न सकिन्छ भन्ने देखाउँछ । क्षेत्रगत अवलोकनभन्दा किताबी सिद्धान्त र विश्लेषणमा केन्द्रित केही लेखहरू यसमा प्रकाशित भएका देख्ता चित्त बुझाउन गाह्रो पर्छ अनि लोकरचनालाई प्रकाशित गर्दा स्रष्टाले सङ्कलक भनी आफ्नो नाउ दिएको भए ठीक हुन्थ्यो भन्ने लागिरहन्छ ।
४.३. अन्तरविषयक साहित्यिक अध्ययन
अन्य विषयसित साहित्यलाई जोडेर हेर्नु, विश्लेषण र मूल्याङ्कन गर्नुलाई यहाँ अन्तरविषयक अध्ययन भनिएको हो । त्यसअन्तर्गत साहित्यसित लिङ्ग, उमेर, क्षेत्र र परिस्थिति आदि विषयहरू जोडेर मधुपर्कले प्रकाशित गरेका विशेषाङ्कहरूको चर्चा गरिएको छ ।
४.३.१ लिङ्ग र साहित्य
लिङ्ग भनेको जैविक प्रक्रियाका आधारमा गरिएको विशिष्टीकरण हो । यस आधारमा अहिले नारी, पुरुष र तटस्थ गरी तीन लिङ्ग स्विकारिएको छ । मधुपर्कले स्त्रीलिङ्ग अर्थात् नारी र नारीलेखनलाई महत्त्व दिएर २०४१ र २०६२ सालमा विशेषाङ्क प्रकाशन गरेको देखिन्छ । यो प्रक्रिया सकारात्मक विभेदीकरणबाट निर्देशित छ ।
मधुपर्कको २०४१ को नारीलेखन विशेषाङ्क तत्कालीन रानी ऐश्वर्यको गुनगानका लागि प्रकाशित गरिएकाले यो पञ्चायती व्यवस्था, रानीको भूमिका, उनको साहित्यिक योगदान आदिमा केन्द्रित रहेको छ । यसमा नारीका रचनाहरू मात्र सङ्कलित छन् तर कतिपय छद्मनाम वा बेनामे पनि देखिन्छन् । चाँदनी शाहको सेवाभावबारेको निकै लामो लेख यसमा सङ्कलित छ । चाँदनी शाह र नारी साहित्यबारे गार्गी शर्मा र देवी शर्माका समालोचना तथा विधागत रचनामा अनिता तुलाधरदेखि सीता पाण्डेसम्मका कथा, तोया गुरुङदेखि शारदा आचार्यसम्मका कविता, वानीरा गिरिको काव्यात्रा यसमा समेटिएका छन् । नेपाली महिला सङ्गीतकार, विश्वविख्यात नारीहरूबारे जानकारी, उपन्यासकार पर्ल एस्. बकको उपन्यासकारिता, नारी जासुसको चर्चा यसका महत्त्वपूर्ण सामग्री हुन् । तत्कालीन लोकसेवा आयोगकी सदस्य उमा पाण्डेसितको कुराकानीले सङ्घर्षशील नेपाली नारीहरूलाई निकै प्रेरणा दिन सक्छ ।
मधुपर्कको २०६२ सालको नारीलेखन विशेषाङ्कको उद्देश्य नारी साहित्यकेन्द्री रहेको छ । यसमा समालोचना ७, निबन्ध २, संस्मरण ५, कथा १७, लघुकथा ४, कविता २७, गीत-गजल आदि ७, एकाङ्की एउटा र व्यक्तित्वचर्चा २ रहेका छन् । ज्ञानेन्द्र विवशबाहेक नारीलेखका मात्र रचना समेटिए पनि पुरुष लेखकबारे उनीहरूले रचेका सामाग्रीहरू भने यसमा सङ्कलित छन् । नेपाली पत्रकारिता, साहित्य, बालसाहित्य, उपन्यास, गजल आदिमा नारीको योगदानको मूल्याङ्कनका कारण यसका समालोचनाहरू महत्त्वपूर्ण छन् । तिनमा पनि ज्ञानु पाण्डेको ‘नेपाली उपन्यासमा नारी स्रष्टाको उपस्थिति र वर्तमान अवस्था’ विश्लेषणको निकै गहिराइमा पुगेको छ । मोमिलाको ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ जस्तो उच्चकोटिको विद्रोही निबन्ध, डायस्पोरामा सक्रिय भारती गौतमको नवीन अनुभूति प्रकट गर्ने ‘श्रीमती स्मिथ र मेरो सारीपिन’ नियात्रा, माया ठकुरीको मर्मस्पर्शी ‘अवकाश’, भागीरथी श्रेष्ठको संवेदना पोखिएको ‘रातो गुलाफ’ वा ममता शर्मा नेपालको ‘बग्न नसकेको आँसु’ जस्तो नारीदृढतायुक्त कथा, विमला तुम्खेवाको तीक्ष्ण व्यङ्ग्ययुक्त ‘सजीवता रहेन यो समयसँग’ र सीमा आभासको सन्त्रास चित्रण गर्ने ‘लोग्ने बेचिएको देश’ कविता वा देवी सिग्देलको योगमायाको तथा प्रसङ्गवशमा ग्रेटा राणाको कृतित्वको चर्चा र वानीरा गिरिको सिर्जना-विचार यस अङ्कका गौरव हुन् । नारी कलाकार र तिनको कलाकारिताबारे ज्ञानेन्द्र विवशको समीक्षाले धेरै जानकारी दिएको छ ।
४.३.२ उमेर र साहित्य
उमेर भनेको व्यक्तिको जीवनअवधिको कुनै एक अवस्था हो । उमेरअनुसार शारीरिक ऊर्जा, उत्साह, सपना र जिज्ञासाहरू फरक खालका हुन्छन् । बाल, युवा, वृद्ध गरी जीवनलाई तीन खण्डमा बाँड्ने हो भने युवा भनेको सामान्यतया १८ देखि ४० वर्षको उमेरलाई मान्न सकिन्छ । मधुपर्कले २०४१ र २०४२ सालमा युवासित सम्बन्धित विशेषाङ्कहरू प्रकाशित गरेको छ ।
वि.सं. २०४१ सालको मधुपर्कमा युवा-लेखन विशेषाङ्क प्रकाशित भएको पाइन्छ । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका उपलक्ष्यमा प्रकाशित हुनाले यसमा राजाको प्रेरणासम्बन्धी लेखसहित सम्भवतः युवा साहित्यकारहरूका कथा, निबन्ध, कविता समावेश गरिएको छ । उक्त विशेषाङ्कबारे सम्पादकीय विचार यस्तो छ ः
साहित्यमै पनि यताको समयमा प्रशस्त युवरचनाकारहरू देखा परेका छन् । आज नेपाली युवाहरूमा साहित्यप्रति कत्तिको अभिरुचि रहेछ भन्ने कुराको गहिरो अनुभव हामीलाई भएको छ ।… यस अङ्कको आयोजना गरेर हामीले एउटा उपयोगी प्रयास गयौँ जस्तो लागेको छ किनभने यसले निश्चय नै युवा साहित्यिक प्रतिभालाई अघि बढ्न प्रोत्साहन गर्ने छ । (१४)
यस विशेषाङ्कमा ब्रजेश खनाल, आमोददेव भट्टराई, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, नयनराज पाण्डे, राजकुमार थापालगायत १२ जनाका कथा, एस्.पी. कोइराला, प्रतीक ढकाल आदि ६ जनाका निबन्ध र होमप्रसाद ‘गृहस्थी’ हस्त गौतम ‘मृदुल’, विदुर चालिसे आदि ९ जनाका कविता प्रकाशित छन् । कथामा यस अङ्कले क्षमतावान् प्रतिभाको पहिचान गर्न सकेको देखिन्छ ।
मधुपर्कको दोस्रो युवा विशेषाङ्क २०४२ सालमा भएको देखिन्छ । यसमा अन्तराष्ट्रिय युवावर्षसम्बन्धी विषयवस्तुका ११ ओटा लेख-निबन्धमध्ये साहित्यसित सम्बन्धित सुशीला द्विवेदीको ‘युवावर्गमा पढ्ने बानी’, ईश्वर बरालको रूपनारायण सिंहबारे समालोचना तथा भानुभक्तको अप्रकाशित कविता रहेका छन् । श्रीहरि फँयाल र एस्.पी. कोइरालाका कथा, र युवाबारेका ९ कविता यसले समेटेको छ । तीमध्ये पनि भरतराज पन्त, शैलेन्दुप्रकाश नेपाल आदिका कविता रोचक छन् । अन्तर्राष्ट्रिय युवा वर्षका उपलक्ष्यमा छापिएकाले यसलाई परिस्थिति र साहित्यअन्तर्गत पनि राख्न सकिन्छ ।
४.३.३ क्षेत्र र साहित्य
देशभित्र वा बाहिर रहेर भौगोलिक, राजनीतिक र सांस्कृतिक विशिष्टता भएको फरक तथा ठूलो भूभागलाई क्षेत्र भनिन्छ । एउटै नेपालसित मिल्ने भाषा, संस्कृति, भेषभूषा भएको भारतको दार्जिलिङ, आसाम, सिक्किम, देहरादून आदिलाई नेपालबाहिरको क्षेत्र मानेर मधुपर्कले २०४३ सालमा नेपालबाहिरको नेपाली साहित्य (१ र २) विशेषाङ्कहरू प्रकाशन गरेको छ । यी दुई अङ्कहरू उही शृङ्खलाका रूपमा आएकाले तिनमा प्रतिभाको पुनरावृत्ति पाइँदैन । पहिलो विशेषाङ्कको ‘हाम्रो पं्रयास’मा भनिएको छ ः
… साहित्यिक दृष्टिले यस्तो उज्यालो र विश्वासिलो नेपालबाहिरको नेपाली साहित्यको पृष्ठभूमिमा मधुपर्कको प्रस्तुत अङ्क र आगामी अङ्कमा समेत हामीले नेपाली भाषा तथा साहित्यको विकासमा कुनै न कुनै किसिमले सम्बन्धित नेपालबाहिरका दिवङ्गत प्रतिभाहरू र हाल यसै सत्कर्ममा कार्यरत साहित्यकारहरूको आफ्नै किसिमले सम्मान र अभिनन्दन गर्ने सानो प्रयास गर्न खोजेका हौँ । (१४)
प्रस्तुत पहिलो विशेषाङ्कमा ६ ओटा समालोचना, ५ ओटा कथा, ७ ओटा कविता समावेश गरिएका छन् । भाइचन्द्र प्रधान, लख्खीदेवी सुन्दास, इन्द्रबहादुर राईका समालोचनाले यसको मूल्य बढाएको देखिन्छ । राईले ‘समालोचनामा मूल्याङ्कनको मूल्याङ्कन’ शीर्षकमा उत्तरआधुनिक मान्यताअनुरूपको बहुलवादी समालोचना स्थापना गर्न खोजेका छन् । ग्राबियल राना र जगत् क्षेत्रीका कथामा विषय र शिल्पको मनोहर संयोजन पाइन्छ भने गुमानसिंह चामलिङ, पदम क्षेत्रीका कवितामा प्रवासको चेतना प्रकट भएको छ । भारती गौतमले ‘मुलुकबाहिर नेपाली लेखन’ लेखमा डायस्पोरा लेखनको परिस्थिति र महत्त्व औँल्याउँदै त्यसमा यथार्थको मात्रा धेरै रहने तथ्य अगाडि ल्याएकी छन् । नेपालबाहिरको नेपाली साहित्य- २ अन्तर्गत ३ ओटा निबन्ध-समालोचना, ४ ओटा कथा, ७ ओटा कविता समेटिएका छन् । तीमध्ये रामलाल अधिकारीका र ग्याल्पो लामाका निबन्धमा कलात्मक चेतना प्रबल छ भने मोहन दुःखुन र कमल थुलुङका कवितामा नेपालबाहिरको जीवनको संवेदना पाइन्छ । नरेशचन्द्र खातीले ‘जीवन-भित्र-बाहिर, सम्पूर्ण’ टी.ई हृयुमको शैलीमा चित्रकविता सिर्जना गरेका छन् । विक्रमवीर थापा र अविनाश श्रेष्ठका कथामा कथनको स्तरीयता छ । ‘मेघालयको आख्यान साहित्य’ समालोचनामा गोविन्दसिंह रावतले क्षेत्रीय साहित्येतिहासको ओजपूर्ण मूल्याङ्कन गरेका छन् । यी दुबै विशेषाङ्कमा दार्जिलिङकै प्रतिभाको प्रतिनिधित्व ज्यादा भए पनि यिनले नेपाली डायस्पोरा अध्ययनको ढोका भने खोलेका छन् ।
४.३.४ परिस्थिति र साहित्य
कुनै निश्चित समय र देश, समाज वा स्थानमा रहेको विशेष अवस्था, परिवेश वा घटनाहरूको समग्रतालाई यहाँ परिस्थिति भनिएको हो । साहित्यकार र साहित्यलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रभावित पार्छ । यसै सन्दर्भलाई स्विकार्दै मधुपर्कले २०४३ सालमा अन्तराष्ट्रिय शान्तिवर्ष र २०६४ सालमा जनयुद्ध साहित्य विशेषाङ्क प्रकाशित गरेको छ ।
तत्कालीन राजा वीरेन्द्रले नेपाललाई ‘शान्तिक्षेत्र घोषित गरियोस्’ भनी राखेको प्रस्ताव विश्वका धेरै मुलुकले स्वीकार गरिसकको अवस्थामा मनाइन थालेको शान्तिवर्षको भूमिकालाई समेटर यसमा १२ ओटा लेखहरू समावेश गरिएको छ । शान्तिसम्बन्धी ६ कवितामध्ये हेमचन्द्र पोखरेल, बमबहादुर थापा ‘जिताली’, कुलमणि देवकोटा र हीरा आकाशका कविता प्रभावकारी देखिन्छन् ।
नेकपा माओवादीको नेतृत्वमा सरकार बनेको बेला पारेर २०६४ सालमा मधुपर्कले जनयुद्ध साहित्य विशेषाङ्क प्रकाशन गरेको छ । यसमा नेकपा माओवादीले २०५२ देखि २०६२ सम्म सञ्चालन गरेको शसस्त्र युद्धको परिस्थिति, त्यस बेलाको युद्ध साहित्य, सौन्दर्यशास्त्र र गणतन्त्रात्मक नयाँ नेपालको निर्माणसम्बन्धी रचनात्मक सामग्री संयोजन गरिएको छ । परिस्थिति र साहित्यबारे ‘नेपाली साहित्यमा फड्को’ शीर्षकको सम्पादकीय अभिमत यस्तो छ ः
जनयुद्धकालीन साहित्य विशेषाङ्कमार्फत जनयुद्धको सिलसिलामा भएका बलिदान, साहस, संवेदना र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भावी पुस्ताका लागि नासोका रूपमा सुम्पने सांस्कृतिक माध्यम हुन पाएकोमा मधुपर्कले यसलाई आफ्नो उपलब्धि ठानेको छ ।
प्रस्तुत विशेषाङ्कमा मनऋषि धितालको कृष्ण सेन इच्छुकबारेको मूललेख छापिएको छ । राजनीतिक र साहित्यिक सहिदका रूपमा उनको सिर्जना र सक्रियताको उच्च मूल्याङ्कन यसमा पाइन्छ । माओवादी सशस्त्र युद्धका विषयसित सम्बन्धित ११ संस्मरण, ५ कथा, ९ कविता-गीत, ५ समालोचना तथा जनयुद्धको सौन्दर्यशास्त्रसम्बन्धी प्रचण्डको अन्तर्वार्ता यसमा समावेश गरिएका छन् । नयाँ नेपालको निर्माण र अबको साहित्यबारे ईश्वरचन्द्र ज्ञवाली, सुधा त्रिपाठी र गोविन्दराज भट्टराईका विचारलाई यसमा स्थान दिइएको छ । चैतन्य, गंगा श्रेष्ठ र ताराकान्त पाण्डेयका समालोचनामा तार्किकताको संयोजन पाइन्छ भने दीनानाथ शर्मा, प्रभाकर, हिसिला यमी, ईश्वरचन्द्र ज्ञवालीका संस्मरणमा यथार्थ सङ्घर्षशील परिवेशको चित्रण हुन सकेको छ । त्यस्तै, सी.पी. गजुरेल र पुन्य कार्कीका कथाले वैचारिक सारवस्तु बोकेका छन् अनि दुर्गालाल श्रेष्ठ, निभा शाह, राजकुमार कुँवर, कमलराज रेग्मी आदिका गीत-कवितामा सौन्दर्यको झलक पाउन सकिन्छ । यसका रचनामा ठोस यथार्थको मीमांसाभन्दा पनि अतिशयोक्तिको मात्रा अधिक देखिन्छ । सौन्दर्यभन्दा बढी विचारप्रधान रचना तथा लेखकीय चयनमा समेत एकपक्षीयता र राजनीति नै हाबी भएकाले यसलाई धेरै पाठकहरूले कम उपलब्धिपूर्ण ठान्न सक्ने सम्भावना पनि छ ।
४.४. प्रतिभाविशेषको योगदान
मधुपर्कले नेपाली साहित्य, संस्कृति र जातीयताका योद्धा, नेपाली गौरवका अभियन्ता तथा विशिष्ट प्रतिभाहरूबारे विशेष सामग्रीहरू प्रस्तुत गरेर उनीहरूकोे योगदानलाई ससम्मान अभिनन्दन गर्दै आएको छ । यस परम्पराको पं्रारम्भ बालकृष्ण समको मृत्युपछि २०३८ सालमा भएको हो । ‘सम विशेष’ नाम दिइएको यस विशेषाङ्कको औचित्यका बारेमा हाम्रो पृष्ठमा रहेको ‘समको सम्झनामा’ शीर्षकमा भनिएको छ ः
… समलाई चिनाउनुपर्नेे कुनै खास आश्यकता छैन, तापनि उहाँप्रति नेपालीहरूले राखेका श्रद्धा र आदरलाई उहाँको शेषपछि पनि साँच्ने प्रयत्नसम्म हामीले यसरी गरेका हौँ । प्रस्तुत अङ्कको योजना गर्दा हामीले भरसक उहाँको व्यक्तित्वका सबै पक्षलाई आलोकित पार्न सक्ने किसिमका रचना समावेश गर्ने प्रयत्न गरेका छौँ । (२३३-२३४)
यस अङ्कमा समका बारेमा सिद्धिचरण श्रेष्ठदेखि ध्रुव मधिकर्मीसम्मका रोचक संस्मरण, विश्लेषणात्मक समालोचना, जानकारीमूलक पत्रहरू समेटिएका छन् । यसमा अन्य अङ्कमा जस्तै कथा, कविता, नाटक आदि पनि छँदै छन् ।
मधुपर्कको दोस्रो स्रष्टाविशेष कविशिरोमणि लेखनाथ पौड्यालका बारेमा छ । पौड्याल दिवङ्गत भएपछि २०४१ मा आएको यस अङ्कमा लेखनाथबारेका १२ रचनामध्ये सिद्धिचरण श्रेष्ठ र पुण्यप्रभादेवी ढुङ्गानाका संस्मरण एवम् अभि सुवेदी, दयाराम श्रेष्ठ, मुरारीप्रसाद रेग्मीका गम्भीर विश्लेषणयुक्त समालोचना छन् । यसमा सङ्कलित ५ कवितामध्ये दुई लेखनाथकै अप्रकाशित कविता हुन् । २०२२ सालमा श्यामदास वैष्णव र जनार्दन समले रेडियोका लागि लिएको अन्तर्वार्ता यस विशेषाङ्कको महत्त्वपूर्ण दस्ताबेज हो । विभिन्न ठाउँमा भइरहेका साहित्यिक गतिविधिका बारेमा लेखनाथको प्रतिक्रिया निकै घतलाग्दो छ ः ‘यो बहुतै राम्रो कुरा हो । तर साहित्य साहित्यवादबाट लेक्चरवादमा नजाओस् भन्ने मेरो धारणा छ ।’ (१००)
वि.सं. २०४२ सालमा मधुपर्कको तेस्रो स्रष्टाविशेष अङ्क सूर्यविक्रम ज्ञवालीबारे प्रकाशित छ । ज्ञवालीको मृत्युपछि आएको यस अङ्कमा इतिहासकार तथा समालोचक ज्ञवालीका व्यक्तित्व र कृतित्वबारे ८ लेख छन् । चूडामणि बन्धु, धनवज्र बज्राचार्य, दयाराम श्रेष्ठ र लख्खीदेवी सुन्दासले उनको योगदानको विषद चर्चा गरेका छन् । कपिल घिमिरेको संयोजनमा विद्वान्हरूका आँखामा ज्ञवालीको व्यक्तित्वबारे मीमांसा भएको छ भने श्रद्धाञ्जलिसभामा अभिव्यक्त विचारहरू पनि यसमा समेटिएको छ ।
एक्काइस वर्षपछि मधुपर्कले स्रष्टाविशेष सामग्रीलाई निरन्तरता दिन २०६३ सालमा गोविन्द ‘गोठाले’ र डायमनशमशेरका बारेमा अङ्क प्रकाशित गरेको छ । मधुपर्कको अहिलेसम्मको जीवनकालमै सम्मान पाउने ‘गोठाले’ प्रथम प्रतिभा हुन् । यसको विशेषलेख स्तम्भमा गोठालेको सिर्जनात्मक व्यक्तित्वका बारेमा कृष्णचन्द्रसिंह प्रधान, कथाकार गोठालेको मनोसामाजिक धरातलका सम्बन्धमा दयाराम श्रेष्ठ तथा उपन्यास र नाटकमा योगदानबारे खगेन्द्रप्रसाद लुइटेलका समालोचनाहरू प्रकाशित छन् तर यिनमा संङ्क्षिप्त चर्चा मात्र भएको छ । मधुपर्कको अङ्क ४ बाट साभार गरिएको एउटा कथा पनि यसमा छापिएको छ । डायमनशमशेर विशेषमा चाहिँ उनका बारेका ४ लेख छन्, जसमध्ये मूललेखमा कृष्ण अविरलको नेपाली उपन्यासमा प्रयोगवादी धारसम्बन्धी समालोचना छापिएको छ । यसमा कुमारप्रसाद कोइराला र ज्ञानेन्द्र विवशका डायमनशमशेरको योगदानबारेका सामान्य समालोचना छन् भने केदार आचार्यको कलात्मक संस्मरण छ । त्यसै गरी २०६४ सालको मधुपर्क सत्यमोशन जोशी विशेष अङ्कका रूपमा आएको छ । यसमा पनि जोशीसम्बन्धी ३ विशेषलेख प्रकाशित छन् ः इन्द्र मालीको ‘बहुमुखी प्रतिभाका सगरमाथा ः सत्यमोहन जोशी’ले साहित्य, संस्कृति, नेपाल भाषाका निस्वार्थी सङ्गठक आदिका रूपमा उनलाई चिनाएको छ भने कमल दीक्षित र प्रचण्ड मल्लका लेखहरूले जोशीको विषयगत विविध योगदान तथा नेपाली र नेपाल भाषाका नाटकमा उनले दिएको विशिष्ट योगदानको रेखाङ्कन गरिएको छ । बाहिरी गातामै स्रष्टाको फोटो राखेर विशेष अङ्क भनी आएपछि पाठकीय अपेक्षा कमै मात्र सन्तुष्ट हुने हुनाले यी तीनै अङ्क अघिल्लाका तुलनामा महत्ताका दृष्टिले कमजोर नै देखिन्छन् ।
मधुपर्कले २०६४ सालको वैशाख अङ्कलाई मोहन कोइराला विशेष बनाएको छ । जीवितै हुँदा प्रकाशनको योजना बनाएको भए पनि संयोगले यो मृत्युपछि प्रकाशित भएको जानकारी सम्पादकीयमा पाइन्छ
विगत केही अङ्कदेखि मधुपर्कले नेपाली वाङ्मयमा विशेष योगदान गरी यद्यापि सक्रिय लेखनमा लागिरहनुभएका स्रष्टाहरूको विविध पक्षको विवेचना प्रकाशित गर्दै आएका छौँ । यही क्रममा वरिष्ठ कवि मोहन कोइरालाको विषयमा लेखिएका सामग्रीहरू २०६४ सालको वैशाख महिनाको अङ्कमा प्रकाशित गर्ने योजना पहिले नै तय गरिएको थियो तर समयले हामीलाई पर्खेन । उहाँ दिवङ्गत भएपछि यो प्रकाशित हँुदै छ ।
प्रस्तुत अङ्कमा दुई विशेषलेख र विचारमञ्च मोहन कोइरालका नाममा समर्पित छन् । तुलसी भट्टराईको ‘नीलो गहिरो दहझैँ कवि मोहन कोइराला’मा समालोचना, संस्मरण र विकीर्ण टिप्पाणीका आधारमा कोइरालाको व्यक्तित्व चिनाउने प्रयास गरिएको छ भने लक्ष्मणप्रसाद गौतमको ‘मोहन कोइराला ः काव्ययात्रा, प्रवृत्ति र योगदान’ मा उनको कवित्वको समग्र विश्लेषण र मूल्याङ्कन निकै मिहिनेतका साथ तयार भएको छ । रोचक घिमिरे, गोविन्दराज भट्टराई र जीवनाथ धमलाले विचारमञ्चमा मोहन कोइरालाका स्वभाव, विचार र लेखनको उपलब्धिबारे धेरै जानकारी दिएका छन् ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा मधुपर्कले देवकोटाको सम्मानमा दुईओटा विशेषाङ्कहरू प्रकाशन गरको छ । शतवाषिर्कीको प्रारम्भ हुँदा २०६५ सालको कात्तिक महिनामा ‘महाकवि देवकोटा विशेष’ नाम दिएर पहिलो विशेषाङ्क आएको छ । यो पूरै विशेषाङ्क नभएर स्रष्टाविशेष मात्रै हो । यसमा महाकवि देवकोटाबारे पाँचओटा सामग्री र दुई स्तरम्भ प्रकाशित छन् । रोचक घिमिरेले देवकोटाको इमानदार स्वभाव र उपचारका सिलसिलमा लिएको ऋणबारे निकै मर्मस्पर्शी संस्मरण ‘महाकविको गोप्य तमसुक’ लेखेका छन् । प्रकाशमणि दाहालले देवकोटाको मनस्थिति र कविताको सूक्ष्म विश्लेषण गरेका छन् भने खेमनाथ कोइरालाले देवकोटाको भाषिक ज्ञानको जानकारी दिएका छन् । त्यस्तै, विष्णु प्रभात र इद्रिस सायले देवकोटाका अप्रकाशित रचनाप्रकाशन गरेर पाठकहरूको मन जितेका छन् । विचारमञ्चमा चैतन्य, मोदनाथ प्रश्रति र नरहरि आचार्यको अभिव्यक्ति सटीक छ । शतवाषिर्की अन्तिम चरण २०६६ मा आएर मधुपर्कले पुनः महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की विशेषाङ्क प्रकाशित गरेर देवकोटाप्रति र समग्र लेखनप्रति नै श्रद्धाभाव प्रकट गरेको छ । यसको ‘शतवाषिर्कीको सन्देश’ मा भनिएको छ- ‘… बाँचुन्जेल उपेक्षा गर्ने र मरेपछि सम्मान गर्ने शासकीय प्रवृत्ति नै भएको छ । देशमा धेरैपटक व्यवस्था र सरकार परिवर्तन भइसके तर भाषासाहित्यप्रति भने शासकीय मानसिकतामा आजसम्म कुनै परिवर्तन आउन सकेको छैन ।’
प्रस्तुत विशेषाङ्कमा ३४ ओटा लेख, १४ कविता र स्तम्भहरू देवकोटाको सम्मानमा समर्पित छन् । देवकोटाकै हस्ताक्षरमा अन्तिम कविता तथा प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रकवि माधव घिमिरेका अभिव्यक्तिले यस विशेषाङ्कको गरिमा बढाएका छन् । गोविन्द भट्टको ‘महाकवि देवकोटाको लोकपि्रयता र त्यसका आधारहरू’मा देवकोटाको ऐतिहासिक मूल्यनिर्णय र सामयिक योगदान निक्र्यौल गरिएको छ । मदनमणि दीक्षितले देवकोटाको क्जबपगलतबबि भ्उष्अ लाई विश्वसाहित्यको विशिष्ट रचना प्रमाणित गरेका छन् । मोदनाथ प्रश्रतिको ‘महाकवि देवकोटा र माक्र्सवाद’ मा २००६ सालदेखि देवकोटा माक्र्सवादतिर उन्मुख र रहेका र २०१५ सालसम्ममा उनको समाजवादी वैचारिकता सशक्त बनेको निष्कर्ष निकालिएको छ । रोचक घिमिरेले ‘पागलको परिमार्जन र महाकविप्रति मनपर्दी’ शीषक लेखमा पागल कविताको पाठालोचन गर्दै इन्दे्रनी पत्रिकाको पाठलाई उपयुक्त एवम् स्तरीय ठहर्याएका छन् । ‘देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण’ समालोचनामा ऋषिराज बरालले देवकोटाको भाषणलाई ऐतिहासिक र वैचारिक रूपले मूल्याङ्कन गर्दै उनको कलाचेत र सौन्दर्यचेतले माक्र्सवादी प्रभावतिर फड्को मारेको प्रमाण ठानेका छन् । नेपाली ‘मुनामदन’ र नेवारी ‘जि वया ला लाछि मदुनि’ को तुलनामा ननर्मदेश्वर प्रधानले नयाँ विवेचना नगरी दयाराम श्रेष्ठको लेखको सार मात्र खिचेका छन् । देवकोटाका गणेशकवि श्यामदास वैष्णवसित श्रीओम श्रेष्ठले लिएको अन्तर्वार्ता निकै जानकारीमूलक छ भने विचारमञ्चमा पनि विद्वान्हरूले देवकोटाको योगदान र समसामयिक परिस्थितिबारे गम्भीर मूल्याङ्कन गरेका छन् । कुमारबहादुर जोशी, बैरागी काइँला, शिव रेग्मी, जनकलाल वैद्य, पुरुषोत्तम बस्नेत आदिका संस्मरण र निबन्धमा देवकोटाका विभिन्न पक्षहरू समेटिएका छन् तर सङ्कलित कवितामा भने खासै नवीनता पाइँदैन ।
मधुपर्कले २०६६ सालमा रमेश विकल विशेष अङ्क प्रकाशित गरेर नेपाली साहित्यका आख्यानका शिरोमणिप्रति सम्मान प्रकट गरेको छ । यसको सम्पादकीयमा लेखिएको छ ः
न्याय र समानताका लागि आफनो जीवनलाई साहित्यमा समर्पित गर्नुभएको कारण रमेश विकल नेपाली साहित्यको इतिहासमा मात्र नभएर आमनेपाली पाठकका हृदयमा अमर-अजर रहनुभएको छ । यस्ता शीर्षस्थ आख्यानस्तम्भ हाम्रोमाझ नरहनुभएको एक वर्ष पुगको अवसर पारेर उहाँका केही अप्रकाशित रचनासहित यस अङ्कलाई श्रद्धा र सम्मानका साथ उहाँमा समर्पित गरेका छौँ ।
यसमा विकलका एक-एकओटा कथा र संंस्मरणसहित विभिन्न लेखकका कविता, निबन्ध, संस्मरण र समालोचना छापिएका छन् । प्रगतिवादी लेखन र विकलको प्रवेशमा आधारित श्यामप्रसादसितको वार्ताले निकै तथ्यहरू सार्वजनिक गरेको छ । विकलका उपन्याससम्बन्धी विस्तृत विवरण रामप्रसाद ज्ञवालीको समालोचनामा पाइन्छ ।
स्रष्टाविशेषका बारेमा मधुपर्कले अहिलेसम्म निकालेको अन्तिम अङ्क २०६७ सालको हो र यो कृष्णचन्द्रसिंह प्रधानका बारेमा छ । यसमा प्रधानबारे २ कविता र ८ संस्मरण प्रकाशित छन् अनि विचारमञ्चमा ध्रुवचन्द्र गौतम, माधवप्रसाद पोखरेल र पुस्तुन प्रधानसितको कुराकानी प्रस्तुत गरिएको छ । विचारमञ्चबाट केही क्षतिपूर्ति भए पनि कवि, निबन्धकार र समालोचक पं्रधानको गम्मीर मूल्याङ्कन गर्ने समालोचना दिन नसक्नु यस अङ्कको कमजोरी हो ।
४.५. कला र संस्कृति
कला भनेको विविध विषय र प्रयत्नहरूबाट सिर्जित सुन्दर वस्तु हो । यसलाई संस्कृतिको जटिल पक्षका रूपमा पनि लिइन्छ । कलाअन्तर्गत दृश्यात्मक, प्रदर्शनात्मक, साहित्यिक आदि सम्पूर्ण प्रस्तुतिहरू पर्दछन् । मधुपर्कले कला र संस्कृतिलाई समेटेर २०२९, २०३८ र २०४२ सालमा गरी तीनओटा विशेषाङ्कहरू प्रकाशित गरेको छ ।
‘कला अङ्क’ नाम दिइएको २०२९ सालको विशेषाङ्कमा चित्रकला, नृत्य, सङ्गीत, मूर्ति, स्थापत्य आदि कलाविषयक ३२ ओटा लेख, निबन्ध, शब्दचित्र र एउटा अन्तर्वार्ता समेटिएका छन् । यस विशेषाङ्कको आवश्यकताबारे ‘हाम्रो पृष्ठ’मा भनिएको छ ः ‘… प्राचीन कलाकृतिहरूले पुनरुद्धारको मौका पाएका छन् । यी सबैले कलासाधकहरूका शताब्दीयौँदेखि उपेक्षित छिना र कुचीहरूमा नयाँ जीवनको सञ्चार भएको छ, नेपाली कलाको इतिहासमा नयाँ वसन्त आएको छ ।’ (२०२) लैनसिंह बाङ्देल, बालकृष्ण सम, वत्सगोपाल वैद्य, रामशरण दर्नाल, माधव घिमिरे, सत्यमोहन जोशी आदिका स्तरीय रचनाको समावेश भएका छन् । यस अङ्कमा कलाका विविध विषयको सौन्दर्यसित सम्बन्धित रचनाहरू प्रकाशित छन् ।
‘कला-संस्कृति अङ्क’ नाम दिइएको २०३८ सालको मधुपर्कमा वातावरण, सङ्गीत, सांस्कृतिक अवस्था, जातजातिका कला, नृत्य, परम्परा, ललितकलाको इतिहास आदिमा केन्द्रित २२ लेखहरू समेटिएका छन् । विजय चालिसे, मनुजबाबु मिश्र, प्रचण्ड मल्ल, देवेन्द्रराज उपाध्याय, साफल्य अमात्य, मेदिनीप्रसाद शर्मा आदिका रचनाले नेपाली जनजीवनका सौन्दर्यमूल्य, दृष्टिकोण र संस्कारको प्रतिनिधित्व गरेका छन् । केशव दुवाडीको ‘ललितकलामा नेत्र-सौन्दर्यको वर्णन’ यसमा छापिएको विचारोत्तेजक लेख हो । यसले इसारा, अभिनय, चेष्टा र आकृतिका आधारमा आँखाको सुन्दरताको मूल्याङ्कन गरेको छ ।
मधुपर्कको कलासम्बन्धी तेस्रो विशेषाङ्क ‘संगीत-नृत्य अङ्क’ शीर्षकमा २०४२ सालमा प्रकाशित भएको छ । यसमा सङ्गीत, लोकगीत, र नृत्यसम्बन्धी ११ लेखहरू रहेका छन् । तीमध्ये चन्द्रकुमार उपाध्याय, नरराज ढकाल, अम्बर गुरुङ, रामशरण दर्नाल, बेटी बज्राचार्य, भैरवबहादुर थापा आदिले आफ्ना विषयमा निकै मिहिनेत गरेका छन् । भेटघाट-चिनारी’ स्तम्भमा नृत्यनायक कान्छाबुद्ध बज्राचार्य र सङ्गीतशिखर यज्ञराज शर्मा तथा मोजार्ट र माइकल ज्याक्सनको परियच प्राप्त हुन्छ । अम्बर गुरुङको ‘संगीतमा प्रविधिकरण’मा पाश्चात्य वाद्ययन्त्रको प्रयोगबाट नेपाली सङ्गीतमा थप्न सकिने मिठासको चर्चा भएकाले यो सर्वाधिक उपलब्धिपूर्ण छ । यसको उद्देश्य अन्य विशेषाङ्कको भन्दा फरक छ भन्ने कुरा ‘समय सन्दर्भ’को अभिव्यक्तिबाट थाहा पाइन्छ ः ‘यस अंकले नृत्य र संगीतको क्षेत्रसँग सम्बन्धित निकायको ध्यान आकषिर्त गर्न र विशेष गरी संगीतकारहरूमा परस्पर बढी सङ्गठित भएर काम गर्न उत्साह उत्पन्न गर्न सकेमा हाम्रो यो सानो प्रयास सार्थक हुनेछ ।’ (१४) साहित्य पनि कलाभित्रकै अंश भएको र यसले संस्कृतिसित गहिरो सम्बन्ध राख्ने हुँदा यसप्रकारका अन्तरविषयक अध्ययन बढी महत्त्वपूर्ण हुन्छन् । यसबाट मधुपर्कले विशेषाङ्क प्रकाशित गर्दा निकै दूरदर्शिता अपनाएको देखिन्छ ।
४.५.२ पत्रकारिता
पत्रकारिता भनेको विविध खालका पाठकश्रोतासमक्ष गरिने घटना, समस्या र प्रवृत्तिको खोजी तथा रिपोर्टिङ हो । यसको मुख्य काम आमजनतालाई सुसूचित गर्नु हुन्छ । मधुपर्कले आफ्नै पत्रकारिता र विगत अङ्कबारे पाठकहरूलाई सुसूचित गर्ने उद्देश्यले २०४२ सालमा ‘मधुपर्कमा अठार वर्षभित्र प्रकाशित भएका सामग्रीको सन्दर्भसूची’ छापेको छ । यसको सङ्कलन र प्रस्तुतीकरणको सम्पूर्ण कार्य सम्पादकको आग्रहअनुसार साहित्यकार तथा पत्रिकाप्रेमी शिव रेग्मीले गरेका छन् । ‘यस अङ्कका सम्बन्धमा केही कुरा’ मा लेखिएको छ ः
अठार वर्षका मधुपर्कका अंकहरूले झन्डै दुई दशकको नेपाली साहित्यको प्रतिनिधित्व गर्दछन् । त्यसो हुँदा नेपाली साहित्यका समालोचक र इतिहासकारका लागि वर्तमानको नेपाली साहित्य अनुशीलन गर्न मधुपर्क मनग्गे सहायक भई आएको छ भने भविष्यमा नेपाली साहित्यको इतिहास लेख्नेहरूका लागि पनि यसले पर्याप्त सामग्री स्रोतलाई साँच्दै आएको छ । (१५६)
प्रस्तुत विशेषाङ्कमा शिव रेग्मीको ‘मधुपर्क- अंक १ देखि १९९ सम्म- एक सर्वेक्षण’ शीर्षकको सात पृष्ठ लामो लेख पनि समावेश गरिएको छ । त्यसमा मधुपर्कमा प्रकाशित सामग्रीको सर्सरती चर्चा भएको पाइन्छ ।
गोरखापत्र पत्रिकाले सय वर्ष पूरा गरेको अवसरमा यसले नेपाली भाषा, साहित्य र वाङ्मयलाई गरेको सेवाको महत्त्व स्विकार्दै मधुपर्कले २०५७ सालमा गोरखापत्र शताब्दी विशेषाङ्क प्रकाशन गरेको छ । यो पूर्ण रूपमा विशेषाङ्क पनि बन्न सकेको छैन किनभने यसमा २७ लेखरचना, २८ कविता-गीत-गजल, ११ कथा-लघुकथा र एउटा व्यङ्ग्य छापिएका छन् । लेखरचना पनि सबै गोरखापत्रसित सम्बन्धित छैनन् । शिव रेग्मीले गोरखपत्रका साहित्यिक रचनाको स्तरबारे राम्रो विवेचना गरेका छन् । त्यस्तै, खिमानन्द आचार्यको ‘नेपाली भाषा-साहित्यको विकासमा गोरखापत्र’, जयदेव भट्टराईको ‘गोरखापत्र, स्रष्टा र सिर्जनाका साइनो’, हरिहर भण्डारीको ‘माध्यमिककालीन गद्य साहित्यको विकासमा गोरखापत्र’, हेमराज पाण्डे ‘अभागी’को ‘नेपाली साहित्यको उत्थानमा गोरखापत्र’ र जनकप्रसाद हुमागाईंको ‘बालसाहित्यको उत्थानमा गोरखापत्र’ आदि साहित्यसित जोडिएका छन् । यसमा समाविष्ट गोरखापत्रको पत्रकारिता र नेपाली बौद्धिकजगत्को सम्बन्धका बारेमा तुलसी भट्टराईको विश्लेषण ज्यादै सामयिक छ । जयपृथ्वीबहादुर सिंह, रामराज पन्त, गोपालप्रसाद भट्टराई आदि गोरखापत्रका विशिष्ट सम्पादकहरूको जीवनीगत परिचर्चा पनि यसमा समेटिएको पाइन्छ ।
४.५.३ समाजसेवा
व्यक्ति तथा समुदायको कल्याण र सामाजिक परिवर्तनका निम्ति गरिने कार्यको प्राज्ञिक विषयलाई समाजसेवा भनिन्छ । मधुपर्कको इतिहासमा पूर्णतः साहित्येतर विषयको विशेषाङ्क समाजसेवाबारे २०४३ सालमा तयार पारिएको छ । यसमा पुस्तक/पत्रिका स्तम्भमा बाहेक अन्य रचनामा साहित्य, सङ्गीत, कलाका कुनै पक्ष पनि छोइएको छैन । १५ ओटा लेखरूमा अधिकांशतः तत्कालीन रानी ऐश्वर्यको गुनगान तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सामाजिक सेवाका विभिन्न सन्दर्भहरू उद्घाटन गरिएको छ । विविध विषय समावेश गर्ने भए पनि साहित्यबाट पूरै निरपेक्ष रहेकाले नेपाली साहित्यमा यस विशेषाङ्कको कुनै भूमिका देखिँदैन ।
५. निष्कर्ष र सुझाव
मधुपर्क पत्रिकाले प्रारम्भमा अन्तरविषयकतालाई प्राथमिकता दिएर विशेषाङ्कहरू प्रकाशन गरेको देखिए तापनि २०५० सालदेखि यसका विशेषाङ्कहरूमा साहित्यप्रधानता पाइन्छ । माथिको विश्लेषणका आधारमा यसका विशेषाङ्कहरूले नेपाली साहित्यमा दिएको योगदानलाई निष्कर्षका रूपमा यसरी बुँदाबद्ध गर्न
सकिन्छ ः
१.मधुपर्कले विशेषाङ्कमार्फत साहित्यका कुनै विधा, उपविधा, विषय वा पक्षलाई विशिष्ट महत्त्व प्रदान गर्ने साहित्यिक पत्रिकाको परम्परालाई निरन्तरता दिएको छ ।
२.यसले स्रष्टाविशेष अङ्कका माध्यमबाट साहित्यमा गहन योगदान गर्ने प्रतिभाहरूको चर्चा गरेर तिनको कदर गरेको छ ।
३.यसले एकै स्थानमा देशभित्र र बाहिरका रचनाकारका रचना तथा तिनका विचार प्रकाशित गरेर साहित्यका स्थापित र नवीन पुस्ताका प्रतिभाहरूका बीचमा सिर्जनात्मक अन्तक्रिर्याको अवसर प्रदान गरेको छ ।
४. नियमित प्रकाशनबाट चित्त बुझाउन नसकेका पाठकहरूलाई व्यापक अध्ययनका लागि कुनै एक पक्षतिर आकषिर्त गरी त्यसको विशिष्ट प्रस्तुतिबाट सन्तुष्टि दिन यसले निकै प्रयत्न गरेको छ ।
५यसले साहित्यिक इतिहासका लेखकहरूलाई निश्चित कालखण्डका प्रवृत्तिहरू सिंहावलोकनको सुअवसर उपलब्ध गराएर आफ्नो दूरदर्शितापूर्ण सोच देखाएको छ । ६.पाठकहरू, समालोचकहरू र पत्रकारहरूलाई समसामयिक सिर्जना र समालोचनाका नयाँ पक्षको जानकारी दिने, विमर्श गराउने र सैद्धान्तिकीकरणतिर पनि केन्द्रित गर्नु यसका विशेषाङ्कहरूको लक्ष्य देखिन्छ ।
७.यसले हरेक विशेषाङ्कमा रचना र मूल्याङ्कन समावेश गरेर सिर्जना र समालोचनामा संवाद तथा समन्वय गर्न सकेको छ ।
८.कला, जीवन र सामाजिक सरोकारका विषय समावेश गरी यसले नेपाली विद्वान्हरूलाई अन्तरविषयक अध्ययनतिर अभिप्रेरित पनि गरेको छ ।
९ यसले सिर्जनाका कारक, प्रेरक र विषयवस्तुका रूपमा समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ एवम् परिस्थितिलाई आत्मसात गरेको पाइन्छ ।
१०.निकट अवधिमा दिवङ्गत तथा जीवित स्रष्टाहरूका नाममा पनि विशेष अङ्क नाम दिई तिनका बारेमा सघन सामग्रीहरू सार्वजनिक गरेर सम्बन्धित पक्षको ध्यानाकर्षण गनमा यसले योगदान गरेको छ ।
११.मधुपर्कका विशेषाङ्कमा अनूदित सामग्रीहरूले पनि स्थान पाएको हुँदा विश्वसाहित्यसित नेपाली साहित्यको तुलनात्मक अध्ययनका लागि यसले मार्गप्रशस्त गरेको छ । यसबाट विषय र प्रविधिका क्षेत्रमा आएका नयाँ चेतना, व्यापकताबोध र विस्तृत चिन्तनको विकास गर्न मद्दत पुगेको छ ।
१२.मधुपर्कका सम्पूर्ण विशेषाङ्कहरूमा कथा, कला, समालोचना, निबन्ध र नारी अङ्क तुलनात्मक रूपमा बढी सफल छन् । हरेक विशेषाङ्कमा समालोचना पनि समेटिएकाले यसको उपादेयता त्यसमा समाविष्ट समालोचनात्मक दृष्टिकोणबाट नै नियाल्नुपर्छ ।
नेपाली साहित्यको अनुशीलनमा मधुपर्कको महत्त्वपूर्ण योगदान छ तर यसका विशेषाङ्कहरूलाई अझै प्रभावकारी बनाउनका लागि निम्नलिखित बुँदाहरूमा ध्यान पुर्याउन आवश्यक देखिन्छ ः
१. कुनै पनि विशेषाङ्क साहित्य, कला, संस्कृतिको अन्तर्सम्बन्ध देखाउने गरी प्रकाशन गर्नु उपयुक्त हुन्छ । यसले सामाजिक दायित्व र अन्तरविषयकता प्रबर्द्धन गर्न तथा विषयहरूका बीच विमर्श बढाउन मद्दत पुग्छ । समाजसेवा अङ्कजस्तो साहित्य र सौन्दर्यबाट पूरै निरपेक्ष रहेको विशेषाङ्कले मधुपर्कको इज्जत धान्न सक्तैन । २. सस्तो लोकपि्रयताबाट मधुपर्क बच्न सक्नुपर्छ । पाठकीय रुचि भन्ने नाममा बजारिया यौनउत्तेजना फैलाउने पत्रिकाजसरी कथा, संस्मरण, हास्यव्यङ्ग्यमा यौनसामग्री पस्कनाले यसको विश्वसनीयतामा प्रश्नचिन्ह लाग्ने मात्र नभई स्तरसमेत कमजोर बन्न जान्छ ।
३. विशेषाङ्कहरूमा समालोचना राख्ता विशेषज्ञ चयन गरेर मात्र राख्नुपर्छ, एउटा स्रष्टाकोे रचनाबारे कक्षानोटमा टिपोट गरेजस्ता सस्ताखाले रचनाले विशेषाङ्कको गरिमा थाम्न सक्तैनन् ।
४. विधागत वा विषयगत विशेषाङ्कमा तत्तत् विषयसित सम्बन्धित विश्वसाहित्यमा देखा परेका नवीन प्रवृत्ति र तिनका दिशाहरूको निक्र्यौल गर्ने खालका रचनाहरू विद्वान्हरूलाई अनुरोध गरेर भए पनि लेखाउनुपर्छ ।
५. जसको रचना समावेश भएको छ, तिनै स्रष्टालाई विचारमञ्चमा ल्याएर वा अन्तर्वार्ता लिएर दोहोर्याउनु उपयुक्त हुँदैन ।
६. रचनाको आकार छोटो हुनुपर्ने र परिणाम धेरै हुनुलाई मधुपर्कले निकै जोड दिएको छ तर विशेषाङ्कको महत्त्व दीर्घकालीन हुने हुनाले विशेष रचनाका लागि पृष्ठगत सीमा हटाउनु पर्छ ।
७. विशेषाङ्कको महत्त्व बुझी तिनमा स्तम्भको पनि अनुकूल संयोजन गरिनुपर्छ । कथा विशेषाङ्कमा ‘यस अङ्कको कविता’ वा आँकुरामा कविताहरू नराखी सोही विधा वा विषयका रचनाहरू समावेश गर्नुपर्छ ।
८. विशेषाङ्कको छपाइ, बाइन्डिङ, आकार र सजावट केही बनाउन सक्ने हो भने त्यसले पाठकहरूमा फरक र नौलो चिन्तनको प्रभाव पार्छ । त्यसका लागि प्रत्येक पृष्ठमा तीन कोलमको सट्टा दुई कोलम बनाउनुपर्छ र लेखक र अन्य भद्दा फोटोहरूका ठाउँमा कलात्मक स्केच राख्नुपर्छ ।
९. विशेषाङ्कमा नाम राख्न मात्र छाप्ने रहरका वा साह्रै सिकारुका रचनाले स्थान पाउनु हुँदैन, नत्र सम्पादकको योग्यता र इमानदारितामा पनि शङ्का उत्पन्न हुन्छ ।
१०. मधुपर्कका विशेषाङ्कहरूको स्तर विगत दुई दशकमा केही खस्कँदै गएको हो कि भन्ने भान बेलाबेला यसका पाठक र अध्येताहरूलाई भएको छ । प्रारम्भिक कालकै अवस्थामा पुर्याउनलाई गोरखापत्र संस्थान र सम्बन्धित सम्पादकहरूले स्रष्टाहरूको सद्भाव, सहयोग विस्तार तथा आफ्नो आर्थिक दायित्वमा पनि समयानुकूल सुधार गर्नु आवश्यक छ । यसका लागि अन्तक्रिर्या, साहित्यिक यात्रा, सामूहिक चियापान, पाठक प्रतियोगिता तथा सम्मान आदिलाई नियमित गर्नु उपयुक्त हुन्छ ।
११. मधुपर्कले विशेषाङ्क प्रकाशनका नयाँ सम्भावनाहरू खोज्नुपर्ने हुन्छ, जस्तै ः डायस्पोरिक साहित्य, उत्तरआधुनिकता, नेपाली अनुवाद साहित्य, विश्वसाहित्य, अन्तर्वार्ता साहित्य, अन्तरविषयक समालोचना, क्षेत्रीय वा आञ्चलिक साहित्य, नेपालका राष्ट्रभाषाहरूको साहित्य आदि ।
सन्दर्भसामग्री
एटम, नेत्र.२०६२. सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा. काठमाडाँैः तन्नेरी प्रकाशन ।
कोलिनी, स्टेफन. “मडर्निज्म यान्ड दि लिटल म्यागाजिन्ज”.http://entertainment.timesonilne.co.uk/tol/arts_and_entertainment/the_tls/article686bW371.ece
घिमिरे, कृष्णप्रसाद. २०६५ जेठ-असार-साउन-भदौ. “मधुपर्क कथाविशेषाङ्क- २०६५ को मूल्याङ्कन”. तन्नेरी. ३०ः१, पृ.७९-१०३ ।
थापा ‘नीरव’, रोशन. २०५८ जेठ. “नेपाली वाङ्मयमा मधुपर्कको योगदान”. मधुपर्क. ३४ः१, पृ.८-१३ ।
बार्नेट, सिल्भन र विलियम ई. काइन. सन् २००६. अ सर्ट गाइड टू राइटिङ अबाउट लिटरेचर. नाइन्थ इडिसन्. डेल्हीः डोर्लिङ किन्डस्र्ली (इन्डिया) लिमिटेड ।
ब्रुलोट, ग्याटन र जोन फिलिप्स (सम्पा.) सन् २००६. इन्साइक्लोपिडिया अफ् इरोटिक लिटरेचर. न्यू योर्कः रटजेज ।
भट्टराई, शान्तदेव. २०६२ जेठ. “नेपालमा साहित्यिक पत्रकारिता”. मधुपर्क. ३८ः१, पृ.७-१५ ।
मल्ल कक्षपति, सावित्री. २०६२ कात्तिक. “अवलोकनात्मक दृष्टिमा मधुपर्क नारीलेखन अङ्क २०६२”. मधुपर्क. ३८ः६, पृ.३६-४० ।
मिकिक्स, डयाभिड. सन् २००७. अ न्यू हृयान्डबुक अफ लिटरेरी टम्र्ज. न्यू हृयाभन यान्ड लन्डनः येल युनिभर्सिटी प्रेस ।
रेग्मी, शिव. २०४२ माघ. “मधुपर्क- अङ्क १ देखि १९९ सम्म एक सर्वेक्षण”. मधुपर्क. १८ः९, पृ.१५१-१५७ ।
२०५२ भदौ. “मधुपर्कसँग गाँसिएका केही सम्झना”. मधुपर्क. २८ः४, पृ.८६ ।
२०६६ जेठ. “नेपाली साहित्यमा मधुपर्कको योगदानको मूल्याङ्कन”. मधुपर्क. ४२ः१, पृ.४-७ ।
गोरखापत्र संस्थान, मधुपर्कका प्रथम अङ्कलगायत ४३ ओटा विशेषाङ्कहरू ।
(२०६७ मङ्सिर १ को कार्यक्रममा प्रस्तुत कार्यपत्र)
