पैँसठ्ठी सालमा मधुपर्कबाट ‘सम्मान ग्रहण गरिपाऊँ’ भन्ने विजुलीमार्गी निम्ता मलाई आएथ्यो । सम्मान, त्यो पनि सरकारी पत्रिका मधुपर्कको ! अनौठो निम्ता थियो त्यो । मधुपर्कसँग मेरो के नै पो नाता छ र मलाई केका लागि सम्मान ? त्यसैत्यसै रनभुल्ल परेँ म । जोडा मिलाएर सम्मान दिइने अर्का निम्तालु रहेछन् वैरागी काइँला । पद्यतर्फको सम्मान उनलाई रे, गद्यतर्फको मलाई । त्यो मधुपर्कको वाषिर्क कर्मकाण्ड रहेछ क्यार । केरकार गर्दा कुरो बुझेँ, त्यो मधुपर्कमा लेख-रचना छापिएबापत आलोपालो गरी गुथाइने पगरी रहेछ । तिमीहरू थियौँ र नै मधुपर्कले अर्थपूर्ण र दीर्घजीवन पायो भन्ने गुणग्राही भावको अभिव्यक्ति रहेछ त्यो । लोकतान्त्रिक आन्दोलनका सडकछाप अगुवा वैरागी दाइको छेवैमा उभिनु सम्मानकै कुरा हो भन्ने लाग्यो र मैले ‘हुन्छ’ भनेँ । सम्मानका सरजाम फूलमाला, रेडीको बर्को, रकमको सानो थैलो र प्रशंसाका केही गुलिया वचन थिए क्यार ।
अतीततिर फर्केर गम्दा लाग्छ, मधुपर्क मेरा लागि साहित्यलेखनको यात्रामा टुकुटुकु हिँड्दादेखिको एउटा पटके चौतारी रहेछ । पच्चीस सालको कुरा हो । मधुपर्कमा मेरो शब्दभित्र बाफिएको सुस्केरा भन्ने कथा छापियो । त्यो भावुक रुमानीभाव बुनिएको कथा थियो । त्यो छापिनु मेरालागि अलिकता नामको कुरा थियो, अलिकता दामको कुरा थियो । म त्रि-चन्द्रमा बीएको विद्यार्थी थिएँ । त्यो कथाबाट म कक्षामा लेखक कहलिएँ । साहित्यानुरागी निकैजना सहपाठीहरूका नजरमा मेरो उचाइ एक सुता बढ्यो र मेरो नाक भयो घिरौँलोजत्रो । त्यो उचाइ र त्यो घिरौँले नाकको अर्थ लेखनमा मेरो उत्साह र जाँगरको बढोत्तरी थियो । ऊबेला साहित्यिक प्रकाशन थोरै थिए । मासिक रूपरेखा थियो । भन्नलाई त्रैमासिक, हुनलाई अनिश्चित मासिक भानु थियो । गोरखापत्रको शनिवासरीय पातोमा साहित्य छिटफुट छापिन्थ्यो । यी सीमित प्रकाशनमा पहुँच पुग्नु र ठाउँ पाउनु ठट्टा थिएन ।
मलाई डोर्याएर गोरखापत्र र मधुपर्कमा पुर्याउने उदारमना मानव भैरव अर्याल थिए । म काठमाडौँमा बिरानो थिएँ र काठमाडौँ मेरा लागि बिरानो थियो । मलाई जता पनि, जेमा पनि धक लाग्थ्यो । भित्र कताकता हूलमा म कतै हराउने पो हुँ कि भनी नजानिँदो डर पनि लाग्थ्यो । नाउँ चलेका लेखक रहस्य र भयमिश्रति मिथ भएर मेरो कल्पनामा आउँथे । तिनको छेउ पर्न, तिनलाई छुन र तीसँग बात मार्न मलाई रहर त लाग्थ्यो नै तर धकले सधैँ मेरो बाटो छेकिदिन्थ्यो तर भैरव दाइ सरल, सीधा र सजिला मानिस थिए । मलाई भेटेइपिच्छे के लेख्दैछौ भाइ भनेर ती मलाई सोध्थे । म फूलबारीको कलिलो कोपिलोजस्तो थिएँ, ती पुष्पप्रेमी मालीजस्ता थिए । मेरो आरम्भिक लेखनलाई तिनले उद्वीपन, उमङ्ग, मलजल, गोडमेल केमात्र दिएनन् र ? ती सेतु भए, म भएँ त्यसमाथि हिँड्ने यात्री र मधुपर्क भयो हाम्रा रचनाहरूको गन्तव्यको साझा चौतारी ।
अलिपछि मधुपर्कमा मेरो तमोर नदीको किनारै किनार नामक कथा छापियो । त्यो मैले सुदूरपूर्वको आफनो विकट गाउँतिरबाट ल्याएको कथा थियो । मख्खिचुस सामन्तको क्रूर मनोवृत्ति र निजको चुसाइबाट आक्रान्त एक भरियाको कारुणिक कथा थियो त्यो । त्यो कथा मेरो आख्यानको गोरेटोमा एउटा अपेक्षाकृत दिगो पदचिन्ह बन्यो । त्यसले मलाई फुच्चे कथाकार बनायो । आखिर मधुपर्क थियो र न यो सब सम्भव भयो ।
मेरो चिन्तन र सिर्जनामा वागी वामपन्थको रङ चढ्दै गयो र मधुपर्कमा शाही संस्कृतिको राग बढ्दैगयो । म लेखनमा मुखर र वाचाल हुन चाहन्थेँ । मधुपर्कको साँगुरो पेटमा त्यसलाई ठाउँ थिएन । अब शैलीगत चातुर्य र भाषिक कूटनीतिको आवरणभित्र मात्र मधुपर्कमा मेरो विचार छिर्न सक्ने भयो तर त्यो शैली र त्यो सीप मसँग थिएन । त्यसैले निर्दलीय पञ्चायतकालभरि मधुपर्क र मेरो पाचुके भयो । छयालीस सालको उत्ताल आँधीबेरीले जब शाही निरङ्कुशतालाई एक चरण घुँडा टेकायो, खुला परिवेशमा मधुपर्कको दैलो मेरालागि फेरि घुरुक्क उघि्रयो । त्यसयता सङ्ख्याका हिसाबले मधुपर्कमा मेरा निकैवटा रचना छापिए तर दुईटा भने गुणका हिसाबले पनि केही न केही कामलाग्दाको गन्तीमा पर्दा हुन् भन्ठान्छु म । ती हुन् – जीवनको त्यो क्षण ः सर्प र बिच्छीहरूको जङ्गलमा भन्ने लामो संस्मरण र बलिदानको भर्याङमास्तिर भन्ने कथा ।
अहिले मुद्रण बजार एकदमै फराकिलो भएको छ । बजारमा अब्बल लेख-रचनाको माग र गुणवत्ताको प्रतिस्पर्धा भयङ्कर छ । तथापि मेरालागि रोजी-छाडी प्रकाशनहरू छन् । प्रकाशनको यो सहजकालसँग अभ्यस्त हुँदै जाँदा ‘आ… नाथे प्रकाशन भन्ने चीज के नै पो हो र ?’ भन्ने दम्भी भाव जागृत हुनसक्छ तर आफू अनाम र पहिचानविहीन छँदा जसले आरोहण गर्ने सानो भर्याङ दियो, त्यसलाई बिर्सनु ठूलो कृतघ्नता हो ।
यस अर्थमा लेखनको शैशलकालमा मलाई टुकुटुकु डोर्याउने भैरव दाइ र मलाई भर्याङ दिने मधुपर्कप्रति म सदैव कृतज्ञ छु ।
