Skip to content

उफ् : एउटी गाउँले चेलीको पीडा सम्बन्धी कथा


‘‘पास भयौ भने उतै बसेर पढ्न आउनु है नानी,” गएको दशैमा घर आउदा अंकलले भनेका यी वाक्य कोपिलाले झट्ट सम्झी। उसको मुहारमा पास हुनुको खुसीभन्दा पीडा देखिन्थ्यो । पहिलो श्रेणीमै एसएलसी उतिर्ण गरेकी उसले अब कसरी क्याम्पस पढ्ने, पढ्ने कि नपढ्ने जस्ता अनुत्तरित प्रश्नले दिनहुँ सताउथ्यो । ऊ एक्लै घोत्लिन्थी, रातभर यही कुराले बिताउँथी । मनमा उठेका एक पछि अरु प्रश्नले ऊ अवाक बनेकी थिई । एक मनले भन्छ – उतै अंकलकै कोठामा बसेर पढ्नु । लगत्तै अर्को मनले भन्छ- शहरमा कहाँ अरुको कोठामा सधैं पाहुना हुन भयो र ? मन बरालिरह्यो । घरको दयनीयता र शहरमा अंकल सिवाय अरु नहुनुले उसको अब पढ्ने इच्छा लगभग मरिसक्यो । समय न हो, यो खोला सरी बगिरहन्छ, झरना सरी झरिरहन्छ । न कसैले रोक्न सक्छ न त छेक्न नै । तर खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आफ्नो साथीहरू सबै शहर गईसकेको र आफ्नो अझै दोधारपन भएकाले घरमा सल्लाह गरी । अन्ततः अंकलकै कोठामा बस्ने निधोका साथ उज्ज्वल भविष्यका इच्छा, चाहना अनि मनभरिको पीडा वोकेर ऊ धूवाँमय शहर पसी ।

कोपिलाको आगमनले अंकलको परिवारमा तबसम्म खुसी छायो जबसम्म उनले ल्याएका कोसेलीको पोको रहिरह्यो । एउटा सानो कोठामा तीन जना कोचिएर बसेको अंकलको परिवारमा अब ऊसहित चार जना भए । अंकलले त उसलाई छोरी सरह व्यहार देखाउथे किनकी उसको एक छोरा मात्रै थियो । तर आन्टी भने कोपिलाको आगमनदेखि नै रिसाएकी थिई । अभाव र महंगी शहरमा कोपिलालाई समेत पाल्नु पर्दा आन्टीको कन्सेरी तात्नु अस्वभाविक थिएन । ऊ कहिले छोरालाई पिट्थी, कहिले भाँडाकुँडा फाल्थी । यसरी नै अप्रत्यक्ष रुपमा अनेक बहाना बनाउदै तँ-तँ र म-म गर्थी । अंकलसँग बारम्बार झगडा गर्ने गरेको कोपिलालाई सह्य भएन । आफ्नो कारणले आन्टीले रिस देखाएको कुरा कोपिलालाई राम्रै संग थाहा थियो ।

एक दिन ऊ क्याम्पसबाट आउँदै थिई । त्यसै बखत आन्टीले भन्दै थिई, ‘‘कि उसलाई निकाल्नु कि मलाई” । यो कुरा उसले तल्लो तल्लाबाटै सुनी । उसले सोची- यसरी बस्नुभन्दा बरु घरमै जान्छु । तर पनि ऊ सरासर माथी कोठामा गई ।

उसले देखी – अंकलको मुख निन्यारो पारेर झोक्राएर बसेका थिए । उसलाई असह्य भयो । नारी मन न हो, कति न सहन सक्छ ? विचरा रुन थाली । उसको रुवाई सायद आन्टीले पनि सुनी । तर उसलाई कोपिलाको रुवाईसँग केही सरोकार थिएन । अँझ भनौं कोपिलाको लागि ऊ महान शत्रु बनेकी थिई । एक छिन पछि ऊ माइत गई । आफू आएरै अंकल र आन्टी विच फाटो आएपछि कोपिलाको मनमा ठुलो चोट आइपर्यो । उसले आँशु पुछ्दै अंकललाई भनि,‘‘अंकल! सरी, मैले गर्दा आज तपाईंहरू बिच यत्रो विवाद भयो । सक्नुहुन्छ भने एउटा जागीर मिलाईदिनुस्, नभए म घरमै गएर बस्छु” ।

हुन त छोरी सरहकी कोपिला । तर पनि आफ्नो श्रीमतीको चाला देखेर दिक्क हुँदै निराश भावमा अंकल बोल्यो,‘‘ नानु तिमी मेरो छोरी हौ । म तिमीलाई यहीं राखेर पढाउन चाहन्थें । तर आन्टी शत्रु बनेर आई । घर जानुभन्दा बरु केही जागीर गरेर यतै बस्नु । म खोजी हेर्छु ।”

मनभरि पीडा राखेर दुवै जनाले खाना खाइओरी आ-आफ्नै काममा लागे ।

अंकलले उसलाई सरासर एकजना साहुकहाँ लाग्यो र सबै वेदना पोख्यो । साहुले सहानुभूति दिंदै जागीर पक्का भएको कुरा गर्यो । साहु धेरै बैंक र नीजि संस्थाको महत्वपूर्ण पदमा रहेका व्यक्ति थियो । चाकडीवाद शहरी परिवेशमा चाकडीको पुतली बनी कोपिला, पैसाकै लागि । भोलिपल्टदेखि नै कोपिलाको जागीर पक्का भयो । घरमा काम गर्ने मान्छे पनि चाहिएकाले दुवैतिर तलब दिने भनेर साहुकै घरमा बस्ने व्यवस्था मिलाईदियो। मनभरि पीडा र छटपटी रहे पनि बाहिरी मुस्कान छरेर त्यो दिन बिताई उनले ।

कोपिलाका लागि पढाईभन्दा पैसा ठुलो थियो । दुवैतिरको तलवले आम्दानी पनि राम्रै थियो । मन आनान्दै थियो उसको । भर्खैरै फुलेको फूलको कोपिला जस्ती उनले गरेको काम र मिहेनत देखी छिमेकी पनि दंग थिए ।

उफ्… ! गरीबीको कर्म, कोपिलाको हुर्कंदै गरेको जवानीमा एक दिन साहुको छोरा रमेशको गिद्धेदृष्टि लाग्यो । एउटै घरमा उठ बस भएकाले नजिकिन त्यति गाह्रो थिएन । त्यसमाथि आफ्नो घरमा काम गर्न बसेकी कोपिला रमेशका लागि दास जस्तै थिई । उसले कोपिलालाई बनावटी मायाजालमा फसायो । के गर्नु, भर्खैरै बढेको उमेरमा रमेशको भावना बुझ्ने शक्ति थिएन कोपिलासँग। उसले रमेशका कुरा सही ठानी । आखिर यहाँका मानिसले गरिबमाथि हेर्ने नजर कहाँ दयालु थियो र ? रमेशले तबसम्म बिहेको आश्वासन दिईरह्यो जबसम्म उसको उत्तेजना मेटिएन जबसम्म कोपिलाको शरीर रजाईं गर्न पुगेन । विडम्बना कोपिलालाई रनभुलमा फसाएर उसको शरीरमाथि पिङ मच्चियो । त्यो पनि एक पटक होईन, दुई पटक होईन, दिनहुँ जसो ।

अब त रमेशका लागि कोपिला फोहोरमा फालिएको मिठाई जस्तै भईसकेकी थिई । ऊ बिस्तारै कोपिलाबाट टाढिदै गयो । कोपिला भने रमेशले बाँडेका आश्वासनका पोकाहरू सम्झीरही । ऊ सोच्थी, यो कुरा घरमा भनुँ कि ? फेरि सोच्थी – भने पनि अर्काको घर, आफनो जागीर पनि जोखिममा, भो नभनुँ । अबदेखि मान्दिन । ऊ एकलाएक्लै टोलाएर आफ्नो प्रश्नको उत्तर आफै दिईरही ।

एक दिन घर सुनसान थियो । साहुनी पनि कारणवश माइत गएकी थिई । घरमा साहु र कोपिला मात्रै थियो । त्यो दिन साहुले मौका ठान्यो । उसले एकान्तमा मुख खोल्यो, ‘‘कोपिला जागिर कस्तो छ ?”

कोपिला आफूलाई चित्त बुझेको जवाफ फर्काई । त्यसपछि साहुले कोपिलालाई आफ्नो बेडरुममा बोलायो । यतिबेलासम्म आफ्नो पीडा बुझेर जागीर लगाईदिने साहुप्रति कोपिलाको कुनै शंका लागेको थिएन । ऊ सामान्य अवस्थामै थिई । जब ऊ कोठामा छिरी, साहुले चुकुल लगायो । तब कोपिलाको मनमा अनेक शंकाले डेरा जमायो । उसले रमेशको विगतका कुरा सम्झन पुगी ।

साहुले बिस्तारै, कोपिलाको हात समाउँदै आफ्नो काखमा बसाल्यो । उसलाई अब निश्चित भयो कि, साहु भनाउँदा ती पापीले आफूलाई खेलौना सरी नचाएर आफ्नो यौन सन्तुष्टि पुरा गर्दैछ भनेर । अब ऊ कराउन सक्ने अवस्थामा थिएन । तै पनि बोली, ‘‘ हैन सर के गरेको यस्तो ?” साहुनामी त्यो नरपिचासले उसको कुरा सुन्ने आँट गरेन । जंगलमा बाघले भेटाएको बाख्रालाई जस्तै झम्टिरह्यो । कोपिलासँग मुक्त हुने कुनै उपाय थिएन । भएभरको शक्ति लगाएर अघाएपछि शिथिल हुँदै साहु नामका त्यो पिचासले सोध्यो, ‘‘कस्तो लाग्यो नानु ” ?

कोपिलासँग जवाफ थिएन । ऊ निन्याउरो मुखमै भुईंमा टुसुक्क बसी । उसलाई पीडाले सताइरह्यो । गरीबीको पीडासँग जागीरको नाममा आफ्नो शरीर पटक पटक बेच्न बाध्य भई कोपिला उफ् …..! साहुनामी मायाँजाल ।

1 thought on “उफ् : एउटी गाउँले चेलीको पीडा सम्बन्धी कथा”

  1. दुख्खकै कथा भए पनि राम्रो
    दुख्खकै कथा भए पनि राम्रो लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *