‘‘पास भयौ भने उतै बसेर पढ्न आउनु है नानी,” गएको दशैमा घर आउदा अंकलले भनेका यी वाक्य कोपिलाले झट्ट सम्झी। उसको मुहारमा पास हुनुको खुसीभन्दा पीडा देखिन्थ्यो । पहिलो श्रेणीमै एसएलसी उतिर्ण गरेकी उसले अब कसरी क्याम्पस पढ्ने, पढ्ने कि नपढ्ने जस्ता अनुत्तरित प्रश्नले दिनहुँ सताउथ्यो । ऊ एक्लै घोत्लिन्थी, रातभर यही कुराले बिताउँथी । मनमा उठेका एक पछि अरु प्रश्नले ऊ अवाक बनेकी थिई । एक मनले भन्छ – उतै अंकलकै कोठामा बसेर पढ्नु । लगत्तै अर्को मनले भन्छ- शहरमा कहाँ अरुको कोठामा सधैं पाहुना हुन भयो र ? मन बरालिरह्यो । घरको दयनीयता र शहरमा अंकल सिवाय अरु नहुनुले उसको अब पढ्ने इच्छा लगभग मरिसक्यो । समय न हो, यो खोला सरी बगिरहन्छ, झरना सरी झरिरहन्छ । न कसैले रोक्न सक्छ न त छेक्न नै । तर खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आफ्नो साथीहरू सबै शहर गईसकेको र आफ्नो अझै दोधारपन भएकाले घरमा सल्लाह गरी । अन्ततः अंकलकै कोठामा बस्ने निधोका साथ उज्ज्वल भविष्यका इच्छा, चाहना अनि मनभरिको पीडा वोकेर ऊ धूवाँमय शहर पसी ।
कोपिलाको आगमनले अंकलको परिवारमा तबसम्म खुसी छायो जबसम्म उनले ल्याएका कोसेलीको पोको रहिरह्यो । एउटा सानो कोठामा तीन जना कोचिएर बसेको अंकलको परिवारमा अब ऊसहित चार जना भए । अंकलले त उसलाई छोरी सरह व्यहार देखाउथे किनकी उसको एक छोरा मात्रै थियो । तर आन्टी भने कोपिलाको आगमनदेखि नै रिसाएकी थिई । अभाव र महंगी शहरमा कोपिलालाई समेत पाल्नु पर्दा आन्टीको कन्सेरी तात्नु अस्वभाविक थिएन । ऊ कहिले छोरालाई पिट्थी, कहिले भाँडाकुँडा फाल्थी । यसरी नै अप्रत्यक्ष रुपमा अनेक बहाना बनाउदै तँ-तँ र म-म गर्थी । अंकलसँग बारम्बार झगडा गर्ने गरेको कोपिलालाई सह्य भएन । आफ्नो कारणले आन्टीले रिस देखाएको कुरा कोपिलालाई राम्रै संग थाहा थियो ।
एक दिन ऊ क्याम्पसबाट आउँदै थिई । त्यसै बखत आन्टीले भन्दै थिई, ‘‘कि उसलाई निकाल्नु कि मलाई” । यो कुरा उसले तल्लो तल्लाबाटै सुनी । उसले सोची- यसरी बस्नुभन्दा बरु घरमै जान्छु । तर पनि ऊ सरासर माथी कोठामा गई ।
उसले देखी – अंकलको मुख निन्यारो पारेर झोक्राएर बसेका थिए । उसलाई असह्य भयो । नारी मन न हो, कति न सहन सक्छ ? विचरा रुन थाली । उसको रुवाई सायद आन्टीले पनि सुनी । तर उसलाई कोपिलाको रुवाईसँग केही सरोकार थिएन । अँझ भनौं कोपिलाको लागि ऊ महान शत्रु बनेकी थिई । एक छिन पछि ऊ माइत गई । आफू आएरै अंकल र आन्टी विच फाटो आएपछि कोपिलाको मनमा ठुलो चोट आइपर्यो । उसले आँशु पुछ्दै अंकललाई भनि,‘‘अंकल! सरी, मैले गर्दा आज तपाईंहरू बिच यत्रो विवाद भयो । सक्नुहुन्छ भने एउटा जागीर मिलाईदिनुस्, नभए म घरमै गएर बस्छु” ।
हुन त छोरी सरहकी कोपिला । तर पनि आफ्नो श्रीमतीको चाला देखेर दिक्क हुँदै निराश भावमा अंकल बोल्यो,‘‘ नानु तिमी मेरो छोरी हौ । म तिमीलाई यहीं राखेर पढाउन चाहन्थें । तर आन्टी शत्रु बनेर आई । घर जानुभन्दा बरु केही जागीर गरेर यतै बस्नु । म खोजी हेर्छु ।”
मनभरि पीडा राखेर दुवै जनाले खाना खाइओरी आ-आफ्नै काममा लागे ।
अंकलले उसलाई सरासर एकजना साहुकहाँ लाग्यो र सबै वेदना पोख्यो । साहुले सहानुभूति दिंदै जागीर पक्का भएको कुरा गर्यो । साहु धेरै बैंक र नीजि संस्थाको महत्वपूर्ण पदमा रहेका व्यक्ति थियो । चाकडीवाद शहरी परिवेशमा चाकडीको पुतली बनी कोपिला, पैसाकै लागि । भोलिपल्टदेखि नै कोपिलाको जागीर पक्का भयो । घरमा काम गर्ने मान्छे पनि चाहिएकाले दुवैतिर तलब दिने भनेर साहुकै घरमा बस्ने व्यवस्था मिलाईदियो। मनभरि पीडा र छटपटी रहे पनि बाहिरी मुस्कान छरेर त्यो दिन बिताई उनले ।
कोपिलाका लागि पढाईभन्दा पैसा ठुलो थियो । दुवैतिरको तलवले आम्दानी पनि राम्रै थियो । मन आनान्दै थियो उसको । भर्खैरै फुलेको फूलको कोपिला जस्ती उनले गरेको काम र मिहेनत देखी छिमेकी पनि दंग थिए ।
उफ्… ! गरीबीको कर्म, कोपिलाको हुर्कंदै गरेको जवानीमा एक दिन साहुको छोरा रमेशको गिद्धेदृष्टि लाग्यो । एउटै घरमा उठ बस भएकाले नजिकिन त्यति गाह्रो थिएन । त्यसमाथि आफ्नो घरमा काम गर्न बसेकी कोपिला रमेशका लागि दास जस्तै थिई । उसले कोपिलालाई बनावटी मायाजालमा फसायो । के गर्नु, भर्खैरै बढेको उमेरमा रमेशको भावना बुझ्ने शक्ति थिएन कोपिलासँग। उसले रमेशका कुरा सही ठानी । आखिर यहाँका मानिसले गरिबमाथि हेर्ने नजर कहाँ दयालु थियो र ? रमेशले तबसम्म बिहेको आश्वासन दिईरह्यो जबसम्म उसको उत्तेजना मेटिएन जबसम्म कोपिलाको शरीर रजाईं गर्न पुगेन । विडम्बना कोपिलालाई रनभुलमा फसाएर उसको शरीरमाथि पिङ मच्चियो । त्यो पनि एक पटक होईन, दुई पटक होईन, दिनहुँ जसो ।
अब त रमेशका लागि कोपिला फोहोरमा फालिएको मिठाई जस्तै भईसकेकी थिई । ऊ बिस्तारै कोपिलाबाट टाढिदै गयो । कोपिला भने रमेशले बाँडेका आश्वासनका पोकाहरू सम्झीरही । ऊ सोच्थी, यो कुरा घरमा भनुँ कि ? फेरि सोच्थी – भने पनि अर्काको घर, आफनो जागीर पनि जोखिममा, भो नभनुँ । अबदेखि मान्दिन । ऊ एकलाएक्लै टोलाएर आफ्नो प्रश्नको उत्तर आफै दिईरही ।
एक दिन घर सुनसान थियो । साहुनी पनि कारणवश माइत गएकी थिई । घरमा साहु र कोपिला मात्रै थियो । त्यो दिन साहुले मौका ठान्यो । उसले एकान्तमा मुख खोल्यो, ‘‘कोपिला जागिर कस्तो छ ?”
कोपिला आफूलाई चित्त बुझेको जवाफ फर्काई । त्यसपछि साहुले कोपिलालाई आफ्नो बेडरुममा बोलायो । यतिबेलासम्म आफ्नो पीडा बुझेर जागीर लगाईदिने साहुप्रति कोपिलाको कुनै शंका लागेको थिएन । ऊ सामान्य अवस्थामै थिई । जब ऊ कोठामा छिरी, साहुले चुकुल लगायो । तब कोपिलाको मनमा अनेक शंकाले डेरा जमायो । उसले रमेशको विगतका कुरा सम्झन पुगी ।
साहुले बिस्तारै, कोपिलाको हात समाउँदै आफ्नो काखमा बसाल्यो । उसलाई अब निश्चित भयो कि, साहु भनाउँदा ती पापीले आफूलाई खेलौना सरी नचाएर आफ्नो यौन सन्तुष्टि पुरा गर्दैछ भनेर । अब ऊ कराउन सक्ने अवस्थामा थिएन । तै पनि बोली, ‘‘ हैन सर के गरेको यस्तो ?” साहुनामी त्यो नरपिचासले उसको कुरा सुन्ने आँट गरेन । जंगलमा बाघले भेटाएको बाख्रालाई जस्तै झम्टिरह्यो । कोपिलासँग मुक्त हुने कुनै उपाय थिएन । भएभरको शक्ति लगाएर अघाएपछि शिथिल हुँदै साहु नामका त्यो पिचासले सोध्यो, ‘‘कस्तो लाग्यो नानु ” ?
कोपिलासँग जवाफ थिएन । ऊ निन्याउरो मुखमै भुईंमा टुसुक्क बसी । उसलाई पीडाले सताइरह्यो । गरीबीको पीडासँग जागीरको नाममा आफ्नो शरीर पटक पटक बेच्न बाध्य भई कोपिला उफ् …..! साहुनामी मायाँजाल ।

दुख्खकै कथा भए पनि राम्रो
दुख्खकै कथा भए पनि राम्रो लाग्यो।