महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुआयामिक व्यक्तित्वका धनी भएका हुँदा उनी नेपाली भाषासाहित्यका सगरमाथा भए । लक्ष्मी पूजाको दिन जन्मेर पनि सरस्वतीका वरदपुत्र बनेका महाकवि देवकोटालाई नचिन्ने नेपाली विरलै होलान् । नेपाली भाषासाहित्यलाई संसारका सर्वोत्कृष्ट भाषासाहित्यहरूको दाँजोमा उभ्याउने उनको प्रयासको जति प्रशंसा गरे पनि कमै हुन्छ । महाकवि देवकोटाले कविता, खण्डकाव्य, महाकाव्य लेखे, गीत-गजल, कथा, उपन्यास, नाटक लेखे र निबन्ध- प्रबन्धमा नयाँयुगको सिर्जना गरे । निरङ्कुशता विरुद्धको सङ्घर्षमा क्रूर शासकहरूबाट दण्डसजाय पाए । जीवन सङ्घर्षमा जागिर खाए, ट्युसन पढाए, प्राध्यापक भए, मन्त्री भए, एकेडेमीका सदस्य भए तर आर्थिक बोझ थपिँदै गयो । रोग भोकको परवाह नगरी नेपाली भाषासाहित्यको भण्डार भर्दै रहे । उनको प्रज्ज्वलित प्रतिभा देखी डाहले छटपटाउनेहरू छटपटाउँदै रहे । आफ्ना सारा दुःख पीडाहरूलाई विना परवाह अन्त्यसम्म झेल्दै रहे । यस्ता श्रद्धेय “महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषासाहित्यका प्रसिद्ध लोकप्रिय तथा युगान्तकारी स्रष्टा (मोदनाथ प्रश्रित)” को सन्दर्भमा कवि, निबन्धकार समालोचक एवं वार्ताकार प्रा. डा. कुमारबहादुर जोशीद्वारा प्रस्तुत महाकवि देवकोटा ः अनेकका आँखामा नामक कृतिमा नाटककार बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, समालोचक सूर्यविक्रम ज्ञवाली, आख्यानकार भवानी भिक्षु, समालोचक डा. ईश्वर बराल, कवि केदारमान व्यथित, समालोचक कृष्णचन्द्रसिंह प्रधान, साहित्यकार भीमनिधि तिवारी, राष्ट्रकवि माधव घिमिरे, प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रति, कलाकार मा. रत्नदास प्रकाश, देवकोटाका ट्युसन छात्र धनमणि आचार्य, देवकोटाकी कान्छी दिदी देवेन्द्रकुमारी देवकोटाका काहिँला भाइ मधुसूदन देवकोटा, देवकोटाका ठाहिँला भाइ मित्रनाथ देवकोटा, देवकोटाका “ममेरा भाइ” वसन्तकुमार शर्मा, देवकोटाका भानिज कोमलनाथ पौडेल, देवकोटाका साहिँला छोरा पद्मप्रसाद देवकोटासमेत बीस जना लब्धप्रतिष्ठित व्यक्तित्वहरूसँग महाकवि देवकोटाबारे संवाद गरेका छन् । साथै पुस्तकमा महाकवि देवकोटाबारे एक परिचयात्मक चर्चा, प्रकाशकीय र प्राक्कथनसमेत २३ वटा मोतीहरू समावेश गरिएका छन् । पुस्तकमा महाकवि देवकोटा एवं अन्य विविध विषयमा रहस्योद्घाटन भएका छन् । पुष्कर शमशेरको चरित्र, एकेडेमीमा उपकुलपति बालचन्द्र शर्माद्वारा महाकविलाई सताइएको तथ्य स्पष्टरूपमा उल्लेख भएका छन् । आफ्ना रचनाहरूको परिस्कार र परिमार्जन नगर्ने एवं कमाएको आयलाई लापरवाह गर्ने बानी भएका महाकवि देवकोटाबारे यस पुस्तकले धेरै भन्दा धेरै नयाँ नयाँ तथ्यहरू जानकारी दिन त सफल छछ त्यसमाथि सम्वादमा संलग्न बीस जना व्यक्तित्वहरूको परिचय पनि बडो मीठो तरिकाले समावेश गरेर वार्ताकारले नेपाली भाषासाहित्यलाई गुन लगाएका छन् । सबै नेपाली भाषासाहित्यप्रेमी नेपालीहरूले सङ्ग्रह गर्नैपर्ने र पढ्नैपर्ने पुस्तकको निम्ति मैले यसै पुस्तकको गाताको अन्तिम पृष्ठमा छापिएको प्रसिद्ध समालोचक प्रा. डा. यदुनाथ खनालका शब्दहरूप्रति हुवहु सहमति जनाउँदै यस्ता उत्कृष्ट कृतिको निम्ति वार्ताकार प्रा. डा. कुमारबहादुर जोशी प्रति हार्दिक बधाई ज्ञापन गर्दछु ।
कृति ः महाकवि देवकोटा ः अनेकका आँखामा
वार्ताकार ः प्रा. डा. कुमारबहादुर जोशी
प्रकाशक ः महाकवि देवकोटा शताब्दी महोत्सव
संस्करण ः पहिलो २०६६
पृष्ठ ः ३२४
मूल्य ः रु. ३००।-
